‘आउटर सिग्नल’जस्तो जीवन


जनकपुरको थापा चोकमा उभिएर एक ई–रिक्साको खोजतलास गर्दै छु । जानुपर्ने मोडल कलेज हो । भदौको उखरमाउलो गर्मीमा यात्रा गर्नु आफैँमा कठिन कार्य हो ।

जनकपुरको थापा चोकमा उभिएर एक ई–रिक्साको खोजतलास गर्दै छु । जानुपर्ने मोडल कलेज हो । भदौको उखरमाउलो गर्मीमा यात्रा गर्नु आफैँमा कठिन कार्य हो । अनुहारबाट तप–तप पसिना चुहिरहेछ । गम्छाले निधारको पसिना पुछ्दै छु । पिँडारी चोकतिरबाट एक खाली ई–रिक्सा आउँदै गरेको देखेपछि हातले इसारा गरेँ, रोकियो ।

जीवनमा सबै कुरा कहाँ पहिले नै तय हुन्छ र ? तपाईंले खोजेको बेला कुन ई–रिक्सा चालक भेटिन्छ, त्यो ठेगान हुँदैन । बाटोमा जो देखा प¥यो, जो खाली रह्यो वा तपाईंलाई चढाउन खोज्यो, त्यही ई–रिक्सामा चढ्ने मौका पाइने हो । यो प्रायः पूर्वनिर्धारित हुँदैन । चिनेजानेको कसैलाई फोन गरेर बोलाएको अवस्था बेग्लै हो । फेरि आफू चढ्न खोजेको ई–रिक्साका सबै चालक गफ गर्ने स्वभावका हुन्छन्, हुँदैनन, निश्चित हुँदैन ।

कोही गफ गर्न चाहने पनि हुन सक्छ । तर, मुखमा पानपराग, गुट्खा राख्ने चालक परे भने त्यस्ता चालक कुरा गर्नुभन्दा पनि गाडी गुडाउँदा गुडाउँदै यसो टाउको बाहिर निकालेर प्याच्च थुक्दा रहेछन् । कोही मजाले गफिँदै हिड्छन् । हुन सक्छ, तिनले आफूलाई सहरको घुम्ती सूचना केन्द्रका रूपमा स्थापित गरेको होस् । सहरमा ताजा घटनाक्रम के छ, स्थानीय राजनीतिमा के छ ? यस्ता कुरा त बताउँछन् नै । कुन मल, कुन अस्पताल कस्तो छ ? कुन मन्दिर कति बजेसम्म खुला रहन्छ ? मीठो खाना कहाँ पाइन्छ ? यस्ता सूचनाहरू तिनको कारोबारकै हिस्सा हो ।

चालकहरू गफिएर आफ्नो निःशुल्क मनोरञ्जन गरिरहन्छन । सहरलाई जान्ने–बुझ्नेहरू यो पनि भन्ने गर्छन्, ‘यी ई–रिक्सा चालकहरू अस्पतालबाट कमिसन पाउँछन् रे । जसले कमिसन दिन्छ, यात्रु त्यहीं पु¥याउँछन् रे ।’

तर के सबै यस्तै हुन्छन् ? हुँदैनन् । अधिकांशका आफ्नै कथा हुन्छन् । ‘स्विच अन’ (कुरा सुरु) गर्न मात्रै पर्छ, आफैँ सलल बग्न थाल्छन् ।

म चढेको ई–रिक्शा मधेस भवनको अगाडि बाट गुजिँ्रदै थियो । म आफ्नो स्वभावअनुसार गफ गर्न खोजें ।

–यो गाडी आफ्नै हो ?
–हो, ऋण लिएर किनेको चार वर्ष भयो ।
–अनि कर्जा चुक्ता भयो त ?
–हजुर, गरिसकेँ ।

उनको नाम रहेछ, तरखेब मुखिया । विदेश पुगिसकेका । तर, खासै केही गर्न नसकेर फर्किए । नेपाल आएपछि केही दिन यस्तै उस्तै गरेर हल्लिए । पछि ई–रिक्साको आइडिया आयो र चार वर्षदेखि निरन्तर यसैमा जोतिएका छन् । उनका चारवटी छोरी छन् । एउटीको बिहे गरिदिइसके । दाइजो पनि टन्नै दिनुपर्ने हुन्छ । त्यो एटिएम हुन्छ नि ? हो ? त्यसैगरि कमाएर बचत गरेको जति फरर्र हुन्छ ।

हामी गफ गर्दै जनक चोकबाट अगाडि बढ्यौँ । सोधे, यो धन्धा कस्तो चलिरहेछ ? ‘ए सर, अब निकै ‘कम्पिटिसन’ बढ्यो । हूलका हूल ई–रिक्सा थपिएका छन् । यहाँ पनि आ–आफ्नो भाग्यअनुसारको कमाइ छ,’ उनले जवाफ दिए । मलाई पनि त्यस्तै लाग्छ, परदेशभन्दा आफ्नैतिर कमाएको जाती ।

उनका छोराछोरी सँगै हुर्किंदै छन् । एउटा छोरो सरकारी स्कुलमा पढिरहेको छ । ऊ लगातार आफ्नो कुरा पस्किँदै गरेको छ । लाग्छ, उखरमाउलो गर्मीपछि आकाश चुहिन थालेको छ । त्यति सहज छैन । सडकमै गुडिरहने दैनिकी बनेको छ । पानी र ट्वाइलेटको व्यवस्था सरकारले गरिदिएको छैन ।

यता प्रचण्ड गर्मी र कठ्याङ्ग्रिने शीतलहरका माझ गाडी चलाउनुपर्छ । अरूका लागि छुट्टीका दिन होला, हाम्रो त सधैँ ड्युटी । नकमाए घर गृहस्थीको हिसाब नै बिग्रिने डर ।

नगराइन नगरपालिका, गंगौलीका बासिन्दा ५४ वर्षीय तबरेख मुखिया भन्छन्, ‘जोखिमका बाबजुद म बेकार बस्न सक्दिनँ । यो जीवनयापनको सवाल हो । म आफ्नो परिवारमा कमाउने एक्लो सदस्य हु ।’

अर्को दिन अर्का ई–रिक्सा चालकसँग कुरा भयो । उनी थिए, नन्दलाल सहनी (घद्द) । उनी उत्साहित नै थिए, इ–रिक्सा फापेकोमा । भन्दै थिए, जनकपुरका भित्री सडक त्यति चिल्ला छैनन् । उबडखाबडमा गाडी कुदाउन गाह्रो छ । तर, दुःख गरेर पनि राम्रै गुजारा भएको छ । दैनिक हजार–बाह्र सय कमाइहाल्छु । दुई वर्षमै गाडीको पुँजी निकाले । पुरानो गाडी छ, तर आफैँ चलाउने हुँदा ठीकसँग साथ दिएको छ ।’

तबरेख र नन्दलाल त एक प्रतीक पात्र मात्रै हुन् । यस्ता सयौँ पात्र छन । अब त देहातमा समेत बाटो बनेसँगै ई–रिक्सा दौडेको छ । ई–रिक्सा आएपछि टाँगा र रिक्सा बिस्तारै विस्थापित भएको छ । रिक्साभन्दा ई–रिक्सा चलाउन सजिलो र सम्मानजनक रहेको उनीहरू बताउँछन् । हिजो जो रिक्सा चलाउन चाहँदैनथे, आज उनीहरू ई–रिक्सा तिनका लागि बलियो सहारा भएको छ ।


जाँडरक्सी वा नसालु पदार्थको कुलत लागेका चालक आर्थिक र शारीरिक दुवै हिसाबले जोखिममा छन् । बृहत् समाजको फराकिलो परिवेशमा यस्ता अनेक भोगाइ र आकस्मिकताले ई–रिक्सा चालकका कथाव्यथा के–कति बुझ्न सकियो, त्यो यकिन गर्न सहज छैन ।

जनकपुरको समाजमा विगत करिब एक दशक यता क्रमशः चल्न थालेको सामाजिक परिवर्तन, विस्तारित राजनीतिक अधिकार, बहुजन हिताय विकासबारेका कार्यक्रममा ई–रिक्सा चालक, जसले सामान्य जनको छोटो दूरीको ओहोरदोहोरलाई सहज बनाइदिएका छन्, तिनका बारे छलफल, बहस विरलै सुनिन्छ ।

जब स्थानीय मिडिया केवल सत्ताको वरिपरि परिक्रमा गर्नुलाई नै आफ्नो मूलमन्त्र ठान्न थाल्छ, भुइँमान्छेका लागि कसले बोल्ने ? तिनका कुरा कसले कहने ? तर, भुइँमान्छेहरूसँग गफिँदा यो कुरा स्पष्ट हुन थाल्छ । उनीहरू स्वयंसँग निकै कुरा भन्नुपर्ने, सुनाउनुपर्ने छ । उनीहरू स्वयं पनि आफ्नो आवाज आफैँ छन् । किनकि कोही पनि आवाजविहीन हुँदैन । न त कसैलाई हाम्रो आवाजको खाँचो छ । हामी केवल माध्यम हौँ र हामीलाई ती आवाजसमक्ष पुग्न आवश्यक छ । मिडियामा आएका यी आवाजलाई जसले साझेदारी गर्छन्, तिनले यस्ता आवाजलाई तागत दिइरहेका हुन्छन् ।

मलाई त यी भुइँमान्छे रेलवे स्टेसनका आउटर सिग्नलजस्ता लाग्छन् । जनकपुर रेलवे सेवा पाएको सहर हो । रेलसेवाको यहाँ लामो इतिहास छ । यसैले ट्रेनसँग जोडिएका विम्बहरूले यहाँको जनजीवनलाई नजिकबाट स्पर्श गर्छ । रेलवे स्टेसनभन्दा अलि अगाडि रेलवे लाइनको छेवैमा आउटर सिग्नल हुन्छ । यसले घामपानी खाँदै उपेक्षित रहँदै अहर्निश आफ्नो ड्युटीमा मौजुद रहन्छ । एक्लै आफ्नो संघर्ष आफैँ लडिरहेको हुन्छ । सत्ता विमर्शमा यिनको भूमिका वा हैसियत कुनै विस्थापित आउटर सिग्नलजस्तो लाग्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *