थालको कथा


किङ्ग्स कलेज, बानेश्वरमा स्नातक पढिरहेका सुजल श्रेष्ठ (२१) जब आफूलाई ऐनामा हेर्छन्, उनी आफैँ प्रश्न गर्छन्, के म त्यही सुजल हु, जो चार वर्षअघि थिएँ ? यो प्रश्न उनको मनमा किन आउँछ भने चार वर्षअघिका सुजल र अहिलेका सुजलमा ठूलो भिन्नता छ । ओभरवेट भएर कलेज जानसमेत हच्किन्थे उनी । बाहिर खेल्न ननिस्कने, गितार बजाउँदै…

किङ्ग्स कलेज, बानेश्वरमा स्नातक पढिरहेका सुजल श्रेष्ठ (२१) जब आफूलाई ऐनामा हेर्छन्, उनी आफैँ प्रश्न गर्छन्, के म त्यही सुजल हु, जो चार वर्षअघि थिएँ ? यो प्रश्न उनको मनमा किन आउँछ भने चार वर्षअघिका सुजल र अहिलेका सुजलमा ठूलो भिन्नता छ । ओभरवेट भएर कलेज जानसमेत हच्किन्थे उनी । बाहिर खेल्न ननिस्कने, गितार बजाउँदै घरमै बस्ने, अनि जङ्कफुड— चाउमिन, बर्गर, पिज्जा, गुलियो पेयमा लट्ठ हुन्थे, उनी । भन्छन्, ‘गुलियो र जङ्कफुड त नशाजस्तै रहेछ, जति खायो उति खाऊँ–खाऊँजस्तो लाग्थ्यो ।

टिनएजमा प्रवेश गरेपछि जब साथीहरू स्लिम, स्टाइलिस र एक्टिभ देखिन थाले, तब सुजललाई आफ्नो शरीरप्रति असजिलो महसुस हुन थाल्यो । ‘कलेजमा मोटो शरीर लिएर जान गाह्रो लाग्थ्यो, लुक्सप्रति पनि कन्सेस हुन थालेँ,’ उनी भन्छन् ।

त्यसपछि उनी १७ वर्षकै उमेरमा जिम जान थाले । तर, जिम गएर मात्रै तौल नघट्ने रहेछ । तौल घट्ने र स्वस्थ शरीरको रहस्य त खानामा लुकेको रहेछ भन्ने कुरा उनले त्यसपछि थाहा पाए । अनि सुरु भयो, योजनाअनुसार खानपान अर्थात् डायट प्लान ।
‘पहिले खानामा कुनै ध्यान थिएन, जे देख्यो त्यही खाइहाल्ने । अहिले लो–क्यालोरी तर हाई भोल्युम खानेकुरा रोज्छु,’ उनी भन्छन्, ‘प्रोटिन, क्यालोरी मिलाएर खाने बानी बसेको छ, मलाई थाहा भइसकेको थियो— शरीर र मन दुवैलाई पेटले नियन्त्रण गर्ने रहेछ ।’

जीवनशैली परिवर्तनले सुजललाई केवल स्लिम र स्वस्थ मात्रै बनाएको छैन, आत्मविश्वासी पनि बनाएको छ । भर्खरै सम्पन्न मोडल हन्ट प्रतियोगितामा उनले बेस्ट पर्सनालिटीको उपाधि जितेका छन् ।

नायिका छुल्ठिम गुरुङको पनि सुजलको जस्तै कथा छ । १७ वर्षअघि उनको तौल ७० किलोभन्दा बढी थियो । बिहान–बेलुका थालभरि भात खान मन पराउने छुल्ठिम खानाकी सौखिन थिइन् । बिहान, बेलुका दाल–भात–तरकारी नछुटाई खाने उनी दिउँसो मःम, चाउमिन, चटपटे, पानीपुरी, चाउचाउ, चिप्स, कोल्ड ड्रिङ्क, जे भेट्यो त्यही खान्थिन् । चलचित्र क्षेत्रमा आउने कुनै सोच थिएन, त्यसैले सायद शरीरप्रति उनी कुनै कन्सस थिइनन् ।
एफएममा काम गर्न थालेपछि साथीहरूले ‘मोटी’ भनेर जिस्क्याउन थालेपछि बल्ल आफ्नो मोटोपन र स्वस्थ शरीरप्रतिको मोह जाग्यो उनमा । अनि, सुरु गरिन्, व्यायाम । भन्छिन्, ‘त्यतिबेला ‘फुड’ भन्नासाथ मेरो दिमागमा पिज्जा, बर्गर, पास्ता, मःम, चाउमिन, बिरयानी आउँथ्यो । तर, बढ्दै गएको वजनबाट चिन्तित मैले त्यही बेला फिट हुने सङ्कल्प गरेँ । तौल घटाउन एक वर्ष लाग्यो ।’

जिम गरेर पुग्दैनथ्यो, जीउ घटाउन । त्यसैले उनले जिमसँगै स्वास्थ्यवद्र्धक खाना मिलाएर खान थालिन् । उनको रेसिपीबाट चिल्लो, पिरो, मैदा सबै हट्न थाले । हरियो सलाद, फलफूलमा जोड दिन थालिन् । पहिलो चलचित्र ‘नोभेम्बर रेन’मा अभिनय गर्ने बेलासम्म त उनी ४३ केजीकी स्लिम नवनायिका बनिसकेकी थिइन् । भन्छिन्, त्यसयता मैले सन्तुलित भोजनको नियम तोडेकी छैन । त्यसैले आफूलाई मानसिक रूपमा पनि उत्तिकै फिट महसुस गर्छु ।’

मेकअप आर्टिस्ट सृष्टि पुरी भने अहिले पहिलेजस्तै फिट रहने सङ्घर्षमा छिन् । उनी सधैँ शरीर र स्वास्थ्यप्रति सचेत थिइन् । कलेज पढ्दादेखि सन्तुलित आहार दैनिक डायट प्लान बनाएर खाने हेल्थ कन्सस थिइन् ।

तर, गर्भावस्थाको समयमा उनको नियमित डायट प्लान भङ्ग भयो । ‘मुख मीठो भएर जे देखिन्थ्यो, त्यही खाइहाल्थेँ,’ उनले मुस्कुराउँदै भनिन् । आमा बनेपछि उनको तौल ८० किलो पुग्यो । सुत्केरी समय सकिएपछि भने सृष्टिले फेरि आफ्नो अनुशासित जीवनशैलीमा फर्किने निर्णय गरिन् । उनले आफ्नो पुरानो डायट प्लान पुनः अनुसरण गर्न थालेकी छन् । कार्बोहाइड्रेटलाई कम गर्दै, उनले अहिले प्रोटिन र फाइबरयुक्त खानालाई प्राथमिकता दिइरहेकी छन् । सृष्टि अहिले पनि तौल घटाउने प्रक्रियामा निरन्तर लागिरहेकी छन् ।
यी केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । अहिले हरकोहीका लागि चिन्ताको विषय हो, के खाने, कसरी खाने ? सबैलाई स्वस्थ रहन मन पर्छ । आकर्षक शरीर र चम्किलो आत्मविश्वासी व्यक्तित्व सबैले खोज्छन् । खानपान र स्वास्थ्य जीवनशैलीमा सन्तुलन मिलाउन सक्नु अहिलेको समयको सबैभन्दा ठूलो चुनौती हो ।

हामीले प्रस्तुत गरेका यी केही उदाहरणभन्दा कैयौँ गुणा मोटोपनले पीडित मान्छेहरू छन्, दुनियाँमा । विश्व समाजकै लागि यो समस्या बनेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार मोटोपन र डायबिटिज यो २१ औँ शताब्दीको महामारी रोग हो । यसको कारण हो, जङ्कफुडको बढ्दो प्रयोग । जङ्कफुडको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गर्दै सचेत रहन वकालत गर्नेमध्येकी एक अभियन्ता हुन्, डा. अरुणा उप्रेती । उनी भन्छिन्, अब त टिनएजरहरूमा पनि ओभरवेट बढ्न थालेको छ । यो सबै जङ्कफुडको बढ्दो प्रयोगले र हाम्रो निष्क्रिय जीवशैलीले नै हो ।’

हात–हातमा ग्याजेट, न व्यायाम, न योगा, त्यसमाथि असन्तुलित भोजन, बालकदेखि वृद्धसम्म अनेक रोगको सिकार बन्दै गएका छन् । डाइटिसियन कविता महर्जन भन्छिन्, ‘हाम्रो पाचन क्रिया राम्रो र स्वस्थ भयो भने हामी स्वस्थ हुने हो । हरेक रोगको मुख्य जड नै यही पेट हो । पुट्ट पेट बढ्नु हरेक रोगको कारक हो ।’

‘खासमा हामी प्रोटिनभन्दा धेरै कार्बोहाइड्रेट खाइरहेका छौँ’, डाइटिसियन रश्मि बजिमय भन्छिन्, ‘यस्तो असन्तुलित आहारले दीर्घकालीन रूपमा हाम्रो स्वास्थ्यमा असर पारिरहेको छ ।’

त्यसो भए के खाने त ? भोक लाग्यो भनेर जसरी त्यसले पेट भर्ने होइन, ध्यान दिएर, स्वाद लिएर, उपस्थित भएर खाने हो । यस्तो खानपानको अभ्यासलाई अचेल ‘माइन्डफुल इटिङ’ भन्छन् । नेपालमा पनि यो प्रवृत्तिको विकास हुँदै गएको छ ।

जब हामी खाना खान्छौँ, तब हामीलाई यो खाना हाम्रो मुखभित्र जाँदै छ भन्ने थाहा हुन्छ । यसलाई माइन्डफुल इटिङ पनि भनिन्छ । हातले खाना खानुलाई चम्चा र काँटाले खानुभन्दा बढी स्वस्थप्रद मानिन्छ । जुन हामीले परापूर्वकालदेखि गरिआएको अभ्यास हो, अहिले भर्खरै हो काँटा, चम्चाले खाने अभ्यासमा जुटिरहेका छौँ । माइन्डफुल इटिङका विभिन्न फाइदा छन् । हातले खाना खानाले पोषक तत्व बढ्नुका साथै पाचन क्रिया सुधार हुन्छ ।
छुनु हाम्रो शरीरको सबैभन्दा प्रभावशाली अनुभव हो । जब हामी हातले खाना खान्छौँ, तब हाम्रो मस्तिष्क हाम्रो पेटलाई अब हामी खाना खाँदै छौँ भन्ने सङ्केत दिन्छ । जसले हाम्रो पेट भोजनलाई पचाउनका लागि तयार हुन्छ ।

डा. अरुणा उप्रेतीको सुझाव छ, हामीले थालमा पस्केको भात, दाल, तरकारी, अचार, सागलगायतका परिकारहरूले केवल स्वाद मात्र होइन, पोषण र सन्तुलन पनि दिन्छन् । हामीसँग फापर, कोदो, सातु, गेडागुडी कति छन् । घरमा खाने खानालाई मात्रै मिलाएर खान जान्यौँ भने अरु डायट प्लान गर्ने पर्दैन ।’

संस्कृतविद् तेजेश्वरबाबु ग्वंग हाम्रो नेवारी खानाजस्तो ब्यालेन्स डाइट अरू केही नहुने बताउँछन् । सबै कुरालाई मिलाएर बनाइएको हुन्छ । ग्वंग भन्छन्, ‘नेपाली समाजमा खानाहरू केवल भोजनका लागि मात्रै होइन, यो जातीयता, धर्म, संस्कार, आर्थिक अवस्था, भूगोल र भावनाको गहिरो सङ्गम हो । यसले हाम्रो पहिचान र परम्पराको सजीव र जीवित प्रतिविम्ब प्रस्तुत गर्छ । थालमा पस्किने भोजन हाम्रो इतिहास, संस्कृति र भित्री मूल्यहरूको प्रतिविम्ब बनिरहेको छ ।

गाउँघरको चुलोमा पकाएको ढिँडो, सिन्की, गुन्द्रुकले भरिएको थालमा केवल खाना मात्र हुँदैन, त्यो प्रेम र स्नेहको स्वाद हो । उता, सहरका रेस्टुरेन्टमा पाइने प्लेटहरूमा आधुनिकता र प्रस्तुतिको आकर्षण त हुन्छ, तर आत्मीयताको स्वादमा कमी हुन्छ ।

आज हामी भोजनमा विविधता खोज्दै छौँ— भेगन, अर्गानिक, लोकल, इन्टरनेसनल । यो राम्रो पक्ष हो, स्वाद र स्वास्थ्यको सन्तुलन खोज्नु युगको माग हो । तर, स्वादको त्यो यात्राभित्र परम्परा, संस्कार र इतिहास गुम्नु हुँदैन । अहिलेका पुस्ताले आफ्ना परम्परा, संस्कृतिलाई आत्मसात् गर्न खोजेका छन्, जसको प्रतिफल अहिले रैथाने खानाका रेस्टुराँहरू बढ्दै जानु पनि हो ।

कोभिडपछि इन्टरनेटको बढ्दो प्रयोग र सर्वप्रथम स्वस्थ हुनुपर्छ भन्ने धारणाले आजभोलि मानिसमा स्वास्थ्यप्रतिको जागरुकता बढ्दो छ । व्यस्त जीवनशैलीसँग जुध्न धेरैले डाइटमा ध्यान दिन थालेका छन् । किटो डाइट, इन्टरमिटेन्ट फास्टिङ (१६ घण्टा उपवास) र लो–कार्ब डायटजस्ता ट्रेन्डहरू चलेका छन् । कसैले डाइटिसियनको सल्लाहमा यी अपनाइरहेका छन् भने केहीले युट्युब वा टिकटक हेरेर आफैँ डायट बनाउने गरेका छन् ।

तर सबै डायट विधि सबैका लागि उपयुक्त नहुन सक्छ । डाइटिसियन कविता भन्छिन्, ‘धेरै मानिस १६ घण्टा उपवास गर्छन् तर तौल घट्दैन भन्ने गुनासो गर्छन् । किनभने उनीहरू बाँकी आठ घण्टामा जे खाए पनि हुन्छ भन्ने भ्रममा हुन्छन् ।’ तर इन्टरमिटेन्ट फास्टिङ पनि अनुशासनसहितको खाने तरिका हो । त्यस अवधिमा पनि शरीरको आवश्यकताअनुसार सन्तुलित र पोषिलो खाना आवश्यक पर्छ ।

हाम्रो दैनिक आहार केवल पेट भर्ने कुरा होइन, यो हाम्रो जीवनशैली र स्वस्थ संस्कृतिसँग जोडिएको विषय हो । त्यसैले ट्रेन्ड हेरेर होइन, आफ्नै शरीर बुझेर, सन्तुलनमा आधारित डाइट अपनाउनु नै दीर्घकालीन स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय हो ।

लन्डनबाट न्युट्रिसियन एड्भाइजर सर्टिफिकेट प्राप्त फिटनेस इन्स्ट्रक्टर सौगात श्रेष्ठ आजका दिनमा थुप्रै सेलिब्रेटीको व्यक्तिगत फिटनेस र न्युट्रिसन सल्लाहकारको रूपमा परिचित छन् । आफ्नो अनुभव र अध्ययनको आधारमा उनले एउटा सरल तर प्रभावशाली कुरा जोड दिँदै भन्छन्, ‘हामीले सधैँजसो बाहिरको खानालाई दोष दिन्छौँ, तर मुख्य समस्या घरमै कसरी खाना बनाइन्छ भन्ने हो ।’

सौगातका अनुसार, फिट रहन र रोगसँग लड्न शरीरलाई सक्षम बनाउन चाहनेहरूका लागि सबैभन्दा पहिले घरको भान्साबाटै परिवर्तनको सुरुवात हुनुपर्छ । ‘तपाईं बाहिर जति नै सुप वा सलाद खानुहोस्, यदि घरमा बनाइने खानाको गुणस्तर सुधारिएको छैन भने त्यसले दीर्घकालीन असर पार्दैन,’ उनी भन्छन् ।

सौगातले घरेलु खानामा विशेष ध्यान दिनुपर्ने दुई प्रमुख तत्वका बारेमा चर्चा गर्छन्— तेल र कार्बोहाइड्रेट । ‘हामीकहाँ प्रायः गह्रौँ तेलमा पकाइने परिकार र चामल तथा आलुजस्ता अत्यधिक कार्बोहाइड्रेटयुक्त खानेकुराहरू बढी प्रचलनमा छन् । यिनको सन्तुलन ठीक नहुँदा शरीरमा बोसो जम्ने, मधुमेह, उच्च रक्तचापजस्ता समस्याहरू बढ्छन्,’ उनी स्पष्ट पार्छन् ।

उनको सुझाव छ, एक्स्ट्रा भर्जिन कोकोनट ओइल र एक्स्ट्रा भर्जिन ओलिभ ओइलजस्ता स्वस्थ विकल्पहरू प्रयोग गर्ने । यी तेलले शरीरमा नकारात्मक बोसो कम गर्न मद्दत गर्छन् र पाचन प्रणालीलाई पनि सुदृढ बनाउँछन् ।

‘खाना पकाउने शैलीमा सुधार ल्याउनु भनेको मात्र स्वस्थ तेल प्रयोग गर्नु होइन, खाने समय, मात्रा, संयोजन र विधिमा पनि अनुशासन अपनाउनु हो’, उनी भन्छन्, ‘बेलुकी ढिलो गरी गह्रौँ खाना खाने, बिहान नखानेजस्ता बानीहरूलाई त्याग्नु आवश्यक छ ।’

उनका अनुसार, एक व्यक्तिको सम्पूर्ण फिटनेस यात्रा केवल जिममा पसिना बगाउने अभ्याससम्म सीमित छैन । ‘फिटनेस भन्नाले शारीरिक मात्र होइन, भान्साको अनुशासन पनि हो,’ भन्छन् सौगात ।

आजकाल विश्वभरि अनेक मुभमेन्टहरूले हाम्रो खानपानको शैलीमा गहिरो प्रभाव पारिरहेका छन् । स्लो फुड मुभमेन्टदेखि लिएर डिजिटल डिटोक्स डाइनिङसम्मका चलनहरूले भोजनको परिपाटीलाई पुनः परिभाषित गर्दै छन् । स्लो फुड मुभमेन्ट अर्थात् खाने बेला खानामा ध्यान दिएर खाने । हातले खाना मुखमा राख्दै, स्वाद लिँदै, चपाउँदै खानु । अहिले बच्चादेखि सबैजसो उमेरकाहरू खाने बेला पनि मोबाइल हेर्दै खाने बानी छ, यसलाई पूर्ण रूपमा निषेध गरेर खानुपर्छ भन्ने धारणा आएको छ । डिजिटल डिटोक्स डाइनिङ परिपाटीलाई हटाउँदा पनि खाना सही तरिकाले पच्ने उल्लेख गरिएको छ । यी सबै प्रवृत्तिको मूल सन्देश एउटै छ— भोजन केवल भोक मेटाउने साधन होइन, यो हाम्रो जीवनशैली, मानसिकता, परम्परा र सांस्कृतिक पहिचानको अभिन्न हिस्सा हो ।

नेपालमा पनि अर्गानिक खानपान, भेगन कल्चर र मौसमी खाद्यवस्तुहरू प्रयोग गर्ने लहर तीव्र गतिमा बढ्दै छ । मास्टर्सेफ सन्तोष शाह भन्छन्, ‘हामी थालीलाई केवल रेसिपीको सवालमा हेर्छौं, तर त्यो थाल कुन माटोबाट आएको हो भन्ने बिर्सिन्छौँ । खाना स्वादको मात्र विषय होइन, त्यो माटोको सुगन्ध, किसानको पसिना र परम्पराको संवाहक पनि हो । थालमा पस्केको प्रत्येक व्यञ्जनमा न केवल स्वाद, तर उत्पत्तिको कथा पनि मिसिएको हुन्छ । त्यसैले, जब हामी भोजन गर्छौं, त्यो क्षण केवल शरीरलाई तृप्त पार्ने होइन, आत्मालाई पनि जोड्ने अवसर हो । त्यो थाल, त्यो स्वाद, त्यो सुगन्ध— यी सबै मिलेर एउटा यात्रा बनाउँछन्, जुन किसानको खेतदेखि हाम्रो मनसम्म आइपुग्छ ।’
कस्तो हुनुपर्छ तालिका ?
स्वास्थ्यका लागि धेरै पटक तर थोरै–थोरै खानु उपयुक्त मानिन्छ । थोरै–थोरै दिनमा चार वा पाँच पटक खानु राम्रो हो । हरेक छाकमा सकेसम्म भिन्नाभिन्नै खानेकुरा सेवन गर्नुपर्छ । यसले गर्दा शरीरलाई आवश्यक पोषण तत्वको सन्तुलन मिल्छ । शरीरलाई विभिन्न किसिमको पोषक तत्व आवश्यक हुन्छ । भिटामिन, मिनरल्स, क्याल्सियम, फलाम, फाइबर सबै कुरा खानाकै माध्यमबाट प्राप्त हुन्छ ।

खानपानको तालिका तयार गर्दा ब्रेकफास्टबाट सुरु गर्नुपर्छ । ब्रेकफास्टलाई प्राथमिकतामा राख्नुपर्छ । बिहानको नास्ता गर्नु स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । साथै, ब्रेकफास्ट भरपेट वा पर्याप्त लिनुपर्छ । त्यसपछि साँझसम्म तीन पटक खानु राम्रो हो ।
खानाको मात्रा
भनाइ नै छ, बिहानको खाना आफूले खानु । मध्याह्नको खाना साथीसँग बाँढेर खानु । साँझको खाना शत्रुलाई दिनु ।

दिनभर काम गर्नका लागि हामीलाई ऊर्जा एवम् शक्ति चाहिन्छ, जुन बिहानको ब्रेकफास्टबाट प्राप्त हुन्छ । जबकि राति हामी शारीरिक रूपमा निष्क्रिय हुन्छौँ । त्यसैले राति खानाको खास काम हुँदैन । राति धेरै खाना खाइयो भने त्यो पच्दैन र बोसोको रूपमा शरीरमा जम्मा हुन्छ । मोटोपन बढ्ने कारण यही हो ।

के–के खाने ?
दैनिक खाने खानामा चामल, दाल, गेडागुडी, तरकारी त हुन्छ नै । त्यससँगै सागपात, सलाद, फलफूलको मात्रा पनि मिलाउन सकिन्छ । केही गेडागुडी भिजाएर राख्न सकिन्छ, जो अङ्कुराउन थालेपछि दैनिक थोरै मात्रामा सेवन गरे हुन्छ । त्यस्तै केही बदाम, काजु, किसमिस, ओखर, नरिवलजस्ता ड्राई फ्रुट्स पनि खान सकिन्छ ।
अन्डा, माछा, मासु, दूधजन्य परिकार पनि निश्चित मात्रामा सेवन गर्न सकिन्छ । दैनिक खानेकुरामा दूध, दही, मोही सामेल गर्नुपर्छ । साथै ग्रिन टी, कागती पानी सेवन गर्नुपर्छ ।
०००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *