दसैँलाई दस पुस्तक


दसैंको बहुआयामिक महत्व र प्रभावकारिता छ । कतिपयले यो पर्वलाई हिन्दू धर्मावलम्बीहरूको एक चाडका रूपमा मात्र बुझेका होलान्, तर अधिकांशले पारिवारिक भेटघाट, सांस्कृतिक उत्सवका साथै बिदाको समय सदुपयोग गर्ने अवसरका रूपमा लिने गरेका छन् । दसैँ–बिदाको अवधिमा आफूले इच्छाएको थलोमा घुमफिर गर्ने, राम्रा पुस्तक अध्ययन गर्ने, राम्रा सिनेमा हेर्ने वा आफ्नो रुचि–धरातललाई पछ्याउनेहरू प्रशस्तै भेटिन्छन्…

दसैंको बहुआयामिक महत्व र प्रभावकारिता छ । कतिपयले यो पर्वलाई हिन्दू धर्मावलम्बीहरूको एक चाडका रूपमा मात्र बुझेका होलान्, तर अधिकांशले पारिवारिक भेटघाट, सांस्कृतिक उत्सवका साथै बिदाको समय सदुपयोग गर्ने अवसरका रूपमा लिने गरेका छन् । दसैँ–बिदाको अवधिमा आफूले इच्छाएको थलोमा घुमफिर गर्ने, राम्रा पुस्तक अध्ययन गर्ने, राम्रा सिनेमा हेर्ने वा आफ्नो रुचि–धरातललाई पछ्याउनेहरू प्रशस्तै भेटिन्छन् ।
पुस्तकको प्रसङ्ग उप्किनेबित्तिकै दसैँको पूर्वसन्ध्यामा प्रकाशन–गृहहरूका सक्रियता हेर्नलायक देखिन्छ । यसपटकको दसैँमा हामीले केही त्यस्ता पुस्तकहरू सिफारिस गरेका छौँ, यी पुस्तकहरूले पठन–संस्कृतिमा रुचि राख्नेहरूलाई सायदै निराश तुल्याउला ।

१. उरमाल÷छुदेन काविमो
तात्कालिक समय भारतमा शासन गरिरहेको ब्रिटिस शासकले दार्जीलिङ भेकलाई छुट्टी मनाउने थलोका रूपमा विकास गरेका थिए । बिस्तारै त्यो भेक चिया बगानका रूपमा प्रसिद्ध बन्दै गयो ।
दार्जीलिङमा रहेर आख्यान विधामा क्रियाशील छुदेन काविमोले दोस्रो उपन्यास ‘उरमाल’ मा तिनै दार्जीलिङ भेकका चिया बगानहरू श्रम अर्पण गर्ने महिलाहरूको सङ्घर्ष–गाथालाई मूल विषयवस्तु बनाएका छन् । प्रथम उपन्यास ‘फातसुङ’ बाट आख्यान लेखनमा चम्किएका काविमोको ‘उरमाल’ २०८२ सालको मदन पुरस्कार विजेता कृतिसमेत हो ।

२. दज्र्यु संलाप÷कुमारी लामा
लेखिका कुमारी लामाले निबन्ध र समालोचनामार्फत आफ्नो लेखन शिल्प देखाउँदै आएकी छन् । पछिल्लो कृति ‘दज्र्यु संलाप’ सम्म आइपुग्दा उनी निबन्ध–लेखनमा अझ परिष्कृत देखिन्छन् । ‘उज्यालो अन्धकार’ पनि पाठक–वृत्तमा मन पराइएको उनको कृति हो ।
उनका निबन्धहरूमा भुइँमान्छेका कथा–व्यथा उधिन्नुका साथै उनीहरूले आवाद गरेका धरातलको सुगन्ध पहिल्याउन सकिन्छ । दलित, जनजाति, महिलाजस्ता समाजमा हेपिएका वर्गहरूका कथालाई उनी निबन्धको माध्यमबाट सतहमा ल्याउन सक्षम देखिएका छन् ।

३. भुइँमान्छे÷विन्दा पाण्डे
राजनीतिकर्मी विन्दा पाण्डे आफूसम्बद्ध राजनीतिक दलभित्र प्रश्न उठाइरहनेमध्ये पर्छिन् । उनले आफ्नो कृति ‘भुइँमान्छे’ मा भने नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनमाथि प्रश्न उठाउन चाहेकी छन् ।
विगतको कष्टप्रद राजनीतिक दौडमा कम्युनिस्ट आन्दोलनमा संलग्न नेता–कार्यकर्ताहरूलाई सेल्टर दिने, ऊर्जा थपिदिनेजस्ता कार्यमा ‘भुइँमान्छे’ हरूका योगदान नजरअन्दाजयोग्य छैनन् । तर, सत्ताको शीर्षासनमा पुगेपछि तिनै नेतागणले ‘भुइँमान्छे’ हरूलाई कसरी बिर्सिंदै गए ? उनले मधेसी, दलित, महिला, जनजातिको कोणबाट यो पुस्तक लेखेको देखिन्छ ।

४. पानीको परेड÷दिनेश अधिकारी
आधा शतकयता काव्य–लेखनमा रमाइरहेका दिनेश अधिकारीको पछिल्लो कृति ‘पानीको परेड’ कविता–पारखीहरूका निम्ति पठनीय कृति हो । यो कृतिमा अधिकारीले २०६४ देखि २०८० सालसम्म लेखेका कविता सङ्ग्रहित छन् ।
कवि अधिकारीको रचनाकर्मलाई नियाल्दा उनी मान्छेका कथा, व्यथा र संवेदना डिजाइन गर्र्ने कवि हुन् । मूलतः सीमान्त तहका मानिसहरू उनका काव्य–स्वरवरपर झङ्कृत देखिन्छन् ।

५. छालबाटो÷रमेश भुसाल
भारतीय लेखक अमिताभ घोषले आफ्नो कृति ‘द ग्रेट डिअरेजमेन्ट क्लाइमेट चेन्ज एन्ड द अनथिङ्केबल’ मा जलवायु सङ्कटलाई आधुनिक साहित्य, राजनीति र इतिहासको विफलता मानेका छन् । वातावरण विज्ञानका अध्येता रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’ पनि जलवायु सङ्कटको एजेन्डावरपर राम्ररी नै घुमेको कृति हो, जसमा घोषको मान्यतालाई केही हदसम्म पछ्याएको अनुभूत गर्न सकिन्छ ।
जलवायु सङ्कटको व्यापक असर हिमालय क्षेत्रले झेल्नुपरिरहेको छ । डेढ महिना अवधिसम्म हिमालय क्षेत्र हुँदै गङ्गाका समथर मैदानसम्म पुग्ने नदीहरूका अध्ययन–शृङ्खलालाई उनले यो कृतिमा समेटेका छन् । २०८२ सालको पद्मश्री पुरस्कारद्वारा पुरस्कृत यो कृति वातावरण क्षेत्रको बृहत्तर आयामलाई झल्काउने गरी लेखिएको हुँदा वर्तमानमा चम्किरहेको जलवायु सङ्कटको एजेन्डाबारे बुझ्न सघाउनेछ, निश्चय नै ।

६. अक्षत अन्टार्कटिका÷जीवा लामिछाने
केही दशकयता जलवायु सङ्कटको मुद्दा तिखो रूपमा उब्जिँदै गएको छ । जलवायु सङ्कटले निम्त्याउने प्राकृतिक, जैविकलगायत अनेक समस्या अब साहित्य–लेखनको मुख्य प्राथमिकता क्षेत्रभित्र पर्न थालेको छ ।
यात्रा–निबन्ध सर्जक जीवा लामिछानेले ‘अक्षत अन्टार्कटिका’ मा जलवायु परिवर्तनले अझैसम्म नखलबल्याएको दक्षिणी धु्रवको एक महादेशमा १२ दिने यात्रा तय गरेर घुम्दाका अनुभूतिलाई मिहिन ढङ्गले शब्दबद्ध तुल्याएका छन् । कमै नेपालीले पाइला टेकेको यो महादेशबारे थप बुझ्नका लागि यो पुस्तकले सघाउनेमा दुईमत देखिँदैन ।

७. हिउँको गीत÷तीर्थ गुरुङ
नेपालका विभिन्न जातीय समुदायमध्ये गुरुङ समाज, संस्कृति र संस्कार आफैँमा समृद्ध छ, परम्परादेखि नै । तीर्थ गुरुङलिखित औपन्यासिक कृति ‘हिउँको गीत’ तिनै गुरुङ समाज र परिवेशलाई चित्रित गर्न सक्षम आख्यान हो ।
उपन्यासकार गुरुङले उपन्यासमा प्राचीन गुरुङ समुदायको कथालाई उधिन्ने प्रयत्न गरे पनि वर्तमान समयलाई पनि स्पष्टतः स्पर्श गरेको छ । गुरुङ समाजका अन्तरकुन्तर बुझ्नका लागि यो कृति सहयोगी बन्न सक्छ ।

८. पञ्चतत्वको पालाम÷मनप्रसाद सुब्बा
केही दशकयता कवि मनप्रसाद सुब्बाले बढ्दो पर्यावरणीय सङ्कटलाई काव्य–धरातलबाट नियालिरहेका छन् । पछिल्लो कविता–कृति ‘पञ्चतत्वको पालाम’ मा उनले पर्यावरणीय सङ्कटलाई नै केन्द्रमा राखेका छन् ।
मानवलगायत सम्पूर्ण प्राणीको जीवन पद्धतिमा पर्यावरणको महत्व दिनानुदिन बढ्दो छ । तर, भूमण्डलीकरणले निम्त्याएको बढ्दो समस्यासँगै शक्तिशाली राष्ट्र–तप्काहरूले पर्यावरणमाथिको सङ्कटलाई झनै गहि¥याउँदै लगेका छन् । मुर्झाएको सीमान्त समुदायका आवाजलाई ताजगी दिन सुब्बाका कविताहरू सक्षम देखिन्छन् ।

९. भिक्षु, व्यापार र विद्रोह÷सुधीर शर्मा
सदियौँदेखि नेपाल–चीनबीचको सम्बन्ध अक्षुण्ण छ र उत्तिकै छ— सम्बन्धको गहिराइ पनि । त्यस्तै सम्बन्ध छ, अर्का छिमेकी भारतसँग पनि । नेपाल–चीनबीच सामाजिक, सांस्कृतिक, आर्थिक, कूटनीतिकलगायत पक्षमा तन्किएको सम्बन्धका अनेक आयाम सूचीकृत छन् ।
पत्रकार÷लेखक सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ नेपाल–चीनबीचको सम्बन्ध–रेखालाई पहिल्याउनुका साथै चीनलाई भित्री तहसम्मै पुगेर बुझ्न सघाउने कृति हो । हिमालपारिको विशाल मुलुक चीन बुझ्नका लागि पढ्नैपर्ने कृति हो यो ।

१०. इतिहासमाथिको इतिहास÷सुरेश ढकाल
मानवशास्त्री सुरेश ढकालको ‘इतिहासमाथिको इतिहास’ मानव जातिको विकासयात्रामा सांस्कृतिक उद्विकासको वेग र प्रवाहलाई बुझ्न सघाउने कृति हो । सरल एवं बोधगम्य भाषाशैलीमा लेखिएको यो पुस्तकले मानवशास्त्रीय कोणबाट संस्कृतिको उद्भव र विकासक्रमका तहहरूलाई सूक्ष्म रूपले केलाउन चाहेको छ ।
मानवशास्त्रको अध्ययन, अनुसन्धान र लेखनमा तीन दशकभन्दा बढी समय व्यतीत गरिसकेका ढकालको यो कृतिलाई उनको लामो अध्यवसायको प्रतिफल मान्न सकिन्छ । मानवशास्त्रको अध्ययनमा गहिरो अभिरुचि राख्नेदेखि सामान्य पाठकहरूका निम्तिसमेत यो पठनीय कृति हो ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *