‘रङ्गमञ्च त अन्तर्मनको यात्रा रहेछ । मनसँगको सोझो संवाद ।’ उनले भने । ‘फिल्म मस्तिष्क सँगको खेल हो । तर रङ्गमञ्च … यो त अन्तर्मनभित्र छिर्दो रहेछ र पछिसम्म रहिरहँदो रहेछ ।’ अलिबेर अघिसम्म सकमवरीको ‘जीवन निस्सार हो’ भन्ने सुनेर हायलकायल भएको सुयोगवीर अहिले नाटकलाई मनसँगको सोझो संवाद भन्दै हौसिरहेका छन् । ‘म त अब बेलाबेलामा नाटक गरिरहन्छु ।’ खासमा यिनी सुयोगवीर बन्न अमेरिकाबाट आएका अभिनेता जीवन लुइँटेल हुन् । भन्छन्, ‘दस वर्षपछि रङ्गमञ्चबाट मेरो कमब्याक अन्तर्मनसँगको साक्षात्कार बन्न पुग्यो ।’

कान्तिपुर थिएटर गैरीधारामा शिरीषको फूल नाटक हेर्न जाने दर्शकले अभिनेता जीवन लुइँटेललाई देखे— फरक अवस्थामा । फिल्ममा नायिकाहरूसँग नाचिरहेका र हिरो बनेर फाइट गरिरहेका जीवन रङ्गमञ्चमा सुयोगवीरको भूमिकामा देखिए । उदास र प्रेम/यौनका लागि लालायित एउटा विवश पुरुषका रूपमा दर्शकहरूले उनलाई रुचाए ।
साहित्यकार पारिजातको कालजयी उपन्यासमा आधारित यस नाटकमार्फत लुइँटेलले अमेरिका बसाइपछि पहिलो पटक अभिनयमा कमब्याक गरेका हुन् । नाटकको लेखन र निर्देशन कान्तिपुर फिल्म एकेडेमीकी पत्रिका घिमिरेले गरेकी हुन् । धेरैले बिर्सन आँटेको बेला रङ्गमञ्चमा जीवनलाई देख्दा दर्शक उत्साहित थिए । उनको पछिल्लो फिल्म ‘सुकुल गुन्डा’ सात वर्षअघि रिलिज भएको थियो । फिल्म करिअरको उत्कर्षमा रहेका बेला लुइँटेल दशकअघि अमेरिका हान्निएका थिए
कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सिइओ प्रकाश पुरीले भने, ‘हामीलाई साहित्यमा पकड र अभिनयमा गहिरो अनुभूति भएको उमेर र अनुभवका परिपक्व पात्र चाहिएको थियो, त्यसैले उहाँलाई प्रस्ताव गर्यौँ ।’

सुयोगवीरको चरित्रमा जीवनले न्याय गरेको उनको अनुभव छ । त्यसो त रङ्गमञ्चमा कमब्याक गर्ने जीवन एक्लो अभिनेता होइनन् । फिल्ममा सफलताको शिखर चुमिसकेका एकसे एक सुपरस्टारहरू रङ्गमञ्चमा फर्किएका छन् । यसैपालि मात्रै अभिनेता सरोज खनाल, अभिनेत्री रेखा थापा, कलाकार सरिता गिरी, सरस्वती चौधरी रङ्गमञ्चमै फर्किए । कोभिडका बेला विपिन कार्की पनि रङ्गमञ्चमा फर्किएका थिए ।
सरोज, सरिता, विपिन र सरस्वतीहरू रङ्गमञ्चकै उत्पादन हुन् । तर, रेखा नेपाली फिल्मकी सुपरस्टार नायिका । उनको रङ्गमञ्चसँगको अनुभव निकै भिन्न छ । भन्छिन्, ‘रङ्गमञ्च त कला साधनाको उपयुक्त थलो रहेछ ।’
साढे दुई दशक फिल्मी करिअरमा बिताएकी अभिनेत्री रेखा थापा पहिलो पटक रङ्गमञ्चमा देखिएकी हुन् । कान्तिपुर थिएटर, गैरीधारामा दीपक सिंजाली लिखित तथा सुन्दर धिताल निर्देशित नाटक ‘मीरा’मा । नेपाली फिल्ममा रेखालाई नायिका होइन, नायक मानिन्छ । उनले नायकसँगसँगै नाच्ने र प्रेमिकाहरूको नखरामा सीमित रहेका नायिकाहरूलाई बोल्ड रूपमा बदलिदिइन् । उनले नायिकाको नामैले पनि फिल्म चलाउन सकिन्छ भन्ने भाष्यलाई स्थापित नै गरिदिइन् ।

फिल्ममा एक किसिमको सफलता र उचाइ भेटिसकेकी रेखा रङ्गमञ्चमा किन त ? ‘रङ्गमञ्च भनेको अभिनयको पाठशाला मात्र होइन, अभिनयको असली र उपयुक्त प्लेटफर्म रहेछ ।’ अभिनेत्री रेखा थापाले भनिन्, ‘रङ्गमञ्चको यात्रा कला साधनाको लागि मेरो अर्को महत्वपूर्ण आयाम हो ।’
‘मीरा’ मा रेखा थापाले शीर्ष भूमिका निर्वाह गरेकी छन्, जसमा १७–१८ वर्षकी र ३५–३६ वर्षकी दुईवटा मीराको चरित्र समावेश छ । नाटकमा उनको अभिनयको प्रशंसा मात्र भएन, रङ्गमञ्चमा रेखाको आगमनले धेरैको ध्यान पनि खिच्यो । मीरामा अभिनय गर्नुअघि दुई वर्षसम्म रेखा कुनै फिल्ममा देखिएकी थिइनन् । उनको पछिल्लो फिल्म २०८० सालको उपहार हो ।
मदरहुड कार्यक्रमको सुटिङ भइरहेका बेला कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सञ्चालक प्रकाश पुरीले उनलाई नाटकका लागि प्रस्ताव गरेका थिए । उनलाई प्रस्ताव अनौठो लाग्यो । उनी आश्चर्यमा परिन् । फिल्मको पारिश्रमिक त कम भइरहेका बेला नाटकबाट के होला भन्ने लाग्यो । तर, फेरि सोचिन्, रङ्गमञ्चको आर्थिक पाटो कमजोर नै छ । तर, हामीजस्ता फिल्ममा जमेका कलाकारले माया र सहयोग गरेर यस क्षेत्रलाई सशक्त बनाउनु हाम्रो कर्तव्य हो । अनि रेखाले नाटक खेल्न स्वीकार गरिन् ।
फिल्मका सेलिब्रेटीहरूले नाटक खेलेर दर्शकहरूलाई थिएटरसम्म तान्न सहयोग नै पुगेको प्रकाश पुरीको अनुभव छ
फिल्ममा ग्याप देखिरहेको बेला नाटक खेल्दा दर्शकहरूलाई उनी सधैँ ‘साधना’मा व्यस्त रहेको सन्देश पनि गयो । उनी भन्छिन्, ‘फिल्ममा एक्सन–कट’ को सीमाभित्र काम गर्दाभन्दा नाटकमा आफ्नो कलालाई पूर्ण रूपमा ‘रिभाइभ’ वा ‘रिचार्ज’ गर्ने अवसर पाएँ ।’ उनको अनुहार उज्यालियो, ‘फुटबल खेलाडीले अभ्यास गरेझैँ वा गायकले रियाज गरेझैँ कलाकारका लागि साधना गर्ने गतिलो ठाउँ रहेछ, रङ्गमञ्च ।’
‘नाटक निर्माण गरेर होस्, निर्देशन गरेर होस् वा अभिनय गरेर होस्, कुनै न कुनै रूपमा आगामी दिनमा नाट्य क्षेत्रमा मेरो भूमिका हुनेछ ।’ रेखाले भनिन् ।
नेपाली रजतपटमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय रहेकी उनले २ सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । अभिनयसँगै निर्माता र निर्देशकको रूपमा पनि यस उद्योगले देखिसकेको छ । वरमाला, सहारा, दमदार, कवच, हिम्मत, किस्मत, अन्दाज, रामप्यारी, काली आदि उनका केही हिट फिल्महरू हुन् ।

नेपाली रङ्गमञ्चका परिचित अनुहारहरू अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेत्री सरिता गिरी र सरस्वती चौधरी लामो समयको अन्तरालपछि नाटकमा फर्किएका हुन् । उनीहरू सोमनाथ खनालको निर्देशन रहेको नयाँ नाटक मञ्जिराबाट रङ्गमञ्चमा देखिएका हुन् ।
सरोज र सरिताले अभिनय यात्रा थिएटरबाटै सुरु गरेका थिए । थिएटरको अनुभवलाई उनीहरूले फिल्ममा पनि प्रस्तुत गरे र फिल्मका एक किसिमले राज नै गरे । लामो समयपछि पुन: रङ्गमञ्चमा फर्किए । नाटकमा काम गर्नका लागि सरोज खनाल र सरिता गिरीले त आफूलाई आएको फिल्मको प्रस्तावसमेत अस्वीकार गरे ।
करिब ३० वटा नाटकमा अभिनय गरिसकेपछि फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता सरोज खनाल २०७३ सालपछि रङ्गमञ्चमा फर्किएका हुन् । ‘विगतमा नाटक छोडेर फिल्ममा काम गरेँ । अहिले फिल्म छोडेर नाटक गरेँ । एकदमै खुसी लागेको छ,’ नाटकसँग जोडिन पाउँदाको खुसी व्यक्त गर्दै उनले भने । फिल्ममा सधैँ चरित्रकै लागि भौँतारिरहनुपरेकाले आगामी दिनमा अवसर मिलेसम्म नाटकलाई नै निरन्तरता दिने सोचमा रहेको उनले बताए ।

अभिनेत्री सरिता गिरी तीन वर्षअघि नाटक ‘उलार’ मा देखिएकी थिइन् । लामो समय नाटकमा काम गरेपछि चलचित्रमा लागे पनि आफूले खोजेजस्तो चरित्र फिल्ममा नपाएर उनी रङ्गमञ्चमा फर्किएकी हुन् । ‘नाटकमा मैले जे गरे पनि सुहाउँछ । यो मेरो नशा–नशामा छ । तर फिल्ममा राम्रो क्यारेक्टर चाहियो ।’ त्यस्तै, कलाकार सरस्वती चौधरी यसअघि ‘देउराली डाँडी’ नाटकमा अभिनय गरेकी थिइन् र यो उनको रङ्गमञ्चमा दोस्रो प्रस्तुति हो ।
त्यसो त फिल्ममा निकै व्यस्त मानिएका रङ्गकर्मी तथा अभिनेता विपिन कार्कीले केही वर्षअघि पुन: नाटक खेलेका थिए । उनले फ्रान्सेली लेखक झाँ–पल सात्र्रको नाटक ‘अनुपस्थित तीन’ मा मुख्य चरित्र अर्थात् लेखकको भूमिका निर्वाह गरे ।
कोरोनाकालमा लकडाउनकै क्रममा शिल्पी थिएटरले अनलाइनमार्फत यो नाटक मञ्चन गरेको थियो । नाट्य निर्देशक घिमिरे युवराजले परिकल्पना गरेको नाटकलाई अवतार पाठकले अनुवाद गरेका थिए ।



Leave a Reply