विक्रमाब्द पचासको दशकताका ब्यान्ड (सामूहिक सङ्गीत–समूह) को निकै चकाचौध थियो । त्यस समयताकाका धेरै साङ्गीतिक समूहले सङ्गीतप्रेमीहरूको मन–मस्तिष्कलाई राम्ररी नै झङ्कृत तुल्याएको पनि थियो । त्यसपछिका दशकमा भने कतिपय ब्यान्ड सेलाउन पुगे, सुस्ताउन थाले र केहीले मात्र आजपर्यन्त आफ्नो अस्तित्व धानिरहेका छन् । ‘कर्मा’ थियो— नेपाली लोक–पप सङ्गीतलाई उचाइ दिलाउने एउटा पृथक् ब्यान्ड, जसका सङ्गीत–श्रवण आज पनि अनेकका हृदयको अटल गहिराइसम्मै स्थापित छ । ‘हुक्का मेरो डल्ले..’, ‘कहाँ होला घरबार…’ लगायतका साङ्गीतिक स्वाद पस्किएको सो ब्यान्डले आफ्नो धुनलाई स्मृतिको गर्तबाट पुन: ब्युँझाउन तत्पर देखिएको छ ।

‘१२ वर्षपछि खोला पनि फर्किन्छ’ भन्ने आहानजस्तै कर्मा ब्यान्डले फेरि आफ्नै धार समातेको छ । उही मौलिक साङ्गीतिक धार । हुन त करिब एक दशकभन्दा बढी समय निष्क्रिय रहे पनि कर्मा ब्यान्डको साङ्गीतिक स्वाद नेपाली सङ्गीतप्रेमीको जिब्रोमा झुन्डिइ नै रह्यो । अब फेरि पुरानो सङ्गीत स्वाद चखाउनका लागि पूरै आत्मविश्वास र नयाँ जोससहित कर्मा नेपाली सङ्गीत–मञ्चमा फर्किइसकेको छ ।
कहिल्यै निराश नतुल्याउने त्यो धुन, गहन स्वर र नेपाली रकमा मिसिएको लोकशैलीमय आस्वाद— यी सबै विशेषतास्वरूप कर्मा कहिल्यै सङ्गीतप्रेमीमाझ बिर्सनै नसकिने ब्यान्ड बन्न सक्यो । दशकभन्दा लामो मौनतापछि आज उनीहरू फेरि मञ्चमा उभिएका छन्— हातमा माइक, गिटारको स्ट्रोक र ड्रमको तालमा पुरानै जोस–उमङ्गसहित । फेरि उनीहरूले जमेरै गाउनेछन्— ‘कहाँ होला घरबार….।’

परिवर्तनशील समयले धेरै कुरा बदल्न चाह्यो— ब्यान्डका सदस्यहरू फेरिए, कतिपय पुराना साथी बिदा भए र थपिए नयाँ अनुहारहरूसमेत । कर्माको आत्मा भने उस्तै छ— नेपाली रक सङ्गीतलाई मौलिकपन र गहिराइ दिन तत्पर । भोकलिस्ट सुरेन्द्रमान सिंहको नेतृत्वमा ब्यान्डले दुई वर्षअघि नै नयाँ एल्बमका लागि रेकर्डिङ सुरु गरिसकेको छ । सो अवधिमा कीर्तिपुरको कन्सर्टमा देखिएको फ्यानहरूको उत्साह र मायाले सुरेन्द्रलाई विदेशमा बिताएको लामो समय जीवनकै एक ‘गल्ती’जस्तो लाग्ने क्षण बनाइदियो । उनी त्यसयता नेपालमै रहेर लगातार कन्सर्ट र साङ्गीतिक यात्रामा जुटेका छन् । ‘त्यो क्षणले मलाई सम्झायो, म कहाँबाट आएको थिएँ र किन गाएको थिएँ,’ सुरेन्द्र सम्झिन्छन् । त्यसपछि उनले निर्णय गरे, ‘अब नेपालमै बसेर कर्मालाई फेरि जीवन दिन्छु ।’

पुरानो स्वाद : नयाँ प्रस्तुति
नयाँ एल्बमको हरेक गीतमा पुरानो कर्माको मिठास मिसाइएको छ । आधुनिक प्रविधि, वर्तमान युवापुस्तामा व्याप्त सङ्गीत–रुचि र अन्तर्राष्ट्रिय स्तरको ध्वनि गुणस्तरलाई ध्यानमा राख्दै एल्बम तयार भइरहेको छ । तर, यसको जरा अर्थात् नेपाली रकको मौलिकतालाई भने छोडिएको छैन ।

‘म्युजिकको स्वाद फेरिएको छ । समयअनुसार परिवर्तन पनि स्वाभाविक हो ।’ सुरेन्द्रमान भन्छन्, ‘तर हाम्रो मूल जरा— नेपाली सङ्गीतलाई हामीले विश्वसामु चिनाउन जरुरी छ । ‘कर्मा’ को प्रयास अहिले यही नै हो ।’
यो एल्बम पुराना फ्यानहरूका लागि सम्झनाको पुल हुनेछ र नयाँ पुस्ताका लागि नेपाली रकको स्वाद चखाउने एउटा सुन्दर अवसर पनि । यसलाई नेपाली म्युजिक सिनमा मौलिकता, समयानुकूलता र अन्तर्राष्ट्रिय पहुँचको सम्मिश्रणको रूपमा हेर्ने आशा गरिएको छ ।

कर्माको जन्मकथा— रहरबाट यात्रासम्म
कर्मा रहर र जोसको उपज हो । सुरेन्द्रका बुबा सरकारी जागिरे भएका कारण उनी कहिले कीर्तिपुर, कहिले वीरगन्जमा बसाइँ सरे । वीरगन्जमा प्रशान्तसँगको मित्रताले ‘न्यारो बिट्स’ नामको ब्यान्ड जन्मायो । पछि कीर्तिपुर फर्केपछि दुई जना साथी थपिए र यो ब्यान्ड बन्न पुग्यो ।
उनीहरूले पहिलो एल्बम रेकर्डिङका लागि महिनौँ स्टुडियोमा बिताए— राति ३ बजेसम्मै । कहिले निद्रा नलाग्ने, कहिले निद्रामै झुम्ने । रेकर्डिङको क्रममा ‘कर्म’ शब्द मनमा बस्यो, जसलाई मिडियाले पछि ‘कर्मा’ बनाएर स्थापित गरिदियो ।
पहिलो असफलता र आत्मखोज
१९९९ मा आएको पहिलो एल्बम ‘सहर तिम्रो’ सुपरफ्लप भयो । पश्चिमी प्रभावले नेपाली श्रोतालाई स्पर्श गर्ने ताकतै राखेन । तर, सोही असफलताले उनीहरूलाई मौलिक नेपाली धुन खोज्न झकझकायो । पुरानो डायरीमा भेटिएका गीतहरूबाट ‘हुक्का मेरो…’ जन्मियो, डल्ले–डल्ले बोल र क्याची धुनसहित ।
एफएमदेखि टेलिभिजनसम्म सो गीतले बजार ततायो र ‘कर्मा’ चम्कियो घर–घरसम्मै । त्यसपछि ‘कहाँ होला घरबार…’, ‘यानी माया’, ‘सुपारी दाना’, ‘मौनता’ जस्ता गीतहरू कर्माको ‘सिग्नेचर–ट्युन’ का रूपमा छाउन पुगे ।
हुक्का मेरो…– डायरीबाट बजारसम्मको यात्रा
वीरगन्जमा बस्दा एक दिन सुरेन्द्रको निकट मित्रले उनलाई दुईवटा गीत सुनाए । ‘तपाईंको गाउँमा कस्ता गीत गाइन्छ ?’ भनेर सोध्दा ती साथीले आफ्नो गाउँको लोकधुन टिपिदिएका थिए ।
सुरेन्द्रले त्यो धुन र शब्दहरू सावधानीपूर्वक डायरीमा उतारे— केही कागजमा, केही मनमा । केही समयपछि उनले त्यसलाई कम्पोज गरे । गिटारको झङ्कारसँगै गाउँको स्वर मिसियो र बिस्तारै ‘हुक्का मेरो डल्ले–डल्ले’ जन्मियो ।

गीतमाथि भिडियो बन्यो— गाउँको सरलता र नेपालीपनको आत्मा बोकेको भिडियो, एफएममा बज्न थालेपछि यसको माग चुलियो । सङ्गीत कम्पनीले कर्मालाई खोज्दै आएपछि ब्यान्डका सदस्यहरूलाई महसुस हुन थाल्यो, ‘ओहो ! यो गीतले त बजार तताउँदै छ ।’
सुरेन्द्रको बेग्लै स्वर टेक्चरले उनलाई भिन्न पहिचान दिलायो । ‘हुक्का मेरो…’ पछि आएको ‘मौनता’ गीतले वाहवाही कमायो । त्यसपछि आएको ‘एसएमएस’ एल्बमको ‘कहाँ होला घरबार…’ गीतले परिवारबाट समेत स्वीकृति दिलायो ।
मौनताबाट पुनर्जागरणतिर
ब्यान्डका सदस्यहरू बिदेसिएपछि सक्रियतामा कमी आउन थाल्यो । बीच–बीचमा विदेशमा प्रस्तुति भए पनि नेपालमा उनीहरूको उपस्थिति कम भयो र उनीहरू ‘गुमनाम’ जस्तै बने । उनका गीतहरू भने श्रोताको सम्झना–वागमा सदावहार फूलजस्तै फुलिरहे । अब नयाँ अध्याय एल्बमसहित फर्किन लागेको कर्मा फेरि पुरानो आत्मा, लोकशैली— रक फ्युजन, र गहिरो सन्देशसहित पुनर्जागरणको यात्रामा निस्किएको छ ।
सुरेन्द्र नेपालमै बसेर सबै उमेरका श्रोतालाई लोभ्याउने गीत पस्कने योजनामा छन् । पुराना फ्यानका लागि यो पुनर्मिलन हो र नयाँ पुस्ताका लागि कर्माको परिचयपत्र । १२ वर्षको मौनता तोड्दै कर्मा फेरि गुञ्जन थालेको छ— मञ्च, मिडिया र सङ्गीतप्रेमीहरूको मन–मस्तिष्कमा । उनी भन्छन्, ‘सबै उमेरका श्रोतालाई छुन सक्ने, फरक–फरक शैलीका गीत ल्याउने र नेपाली सङ्गीतलाई विश्वस्तरमा पुर्याउने लक्ष्यसहित म पुन: साङ्गीतिक यात्रामा फर्किएको छु ।’
००



Leave a Reply