नेपाली क्रिकेटको वर्तमान अवस्था बुझ्न तलको तीन उदाहरण हेरे पुग्छ । नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकपका लागि छनोट भयो । ग्लोबल छनोटअघि खेलिएको टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजविरुद्धको तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको नेपालले छनोटमा अपराजित रहँदै भारत र श्रीलंकामा आयोजना हुने विश्वकपको टिकट काट्यो । लगत्तै आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई र अमेरिकाविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितविहीन बन्यो । सिरिजमा नेपालले युएई र अमेरिका दुवै टोलीसँगका दुई–दुई खेल नै गुमाउँदै लगातार चार खेलमा पराजय भोग्यो । यो नतिजाले नेपालको वान डे विश्वकपको ग्लोबल छनोटमा पुग्ने आशा थप कमजोर भएको छ । ८ टोली सम्मिलित लिग २ मा नेपालले अब चारवटा सिरिज खेल्न बाँकी छ । इतिहासले के भन्छ भने अघिल्लोे पटक वान डे मान्यता जोगाउँदा नेपालले १२ मध्ये ११ खेलमा जित निकालेको थियो । त्यो जादुमयी प्रदर्शनबाट यसपटक नेपाल चुकेको छ ।

हङकङमा आयोजना भएको हङकङ सिक्सेसमा नेपालले खेलेको पाँचमध्ये चार खेलमा हार बेहोर्यो । ६ ओभर लामो खेलमा नेपालले हात पारेको एक मात्र जित भने भारतविरुद्ध थियो ।
यी उदाहरणले के स्पष्ट पार्छ भने नेपाली क्रिकेटको क्षमता छोटो संरचनाका प्रतियोगितामा बढी खुल्छ । हुन पनि नेपाली टोलीले लामो संरचनाको क्रिकेट नखेलेकै लामो समय भइसक्यो । घरेलु संरचनामा जय ट्रफी मात्रै त्यस्तो प्रतियोगिता हो, जहाँ एक दिनभन्दा लामो संरचनाको क्रिकेट खेलिन्छ । सोही प्रतियोगिताको जगमा नेपालको क्रिकेटले वान डे संरचनामा लामो फड्को मार्न कठिन छ ।

यति हुँदाहुँदै पनि नेपाली क्रिकेटको कथा कुनै साधारण खेलकुदको इतिहास होइन, यो एउटा देशको सामूहिक सपना, सङ्घर्ष र सम्भावनाको अद्भुत यात्रा हो । सानो देश, सीमित स्रोतसाधन, तर असीम उत्साह र अदम्य आत्मविश्वासले भरिएको यो यात्राले अहिले विश्व क्रिकेटमा नेपाललाई एक परिचित नाम बनाइदिएको छ ।
विगत : सपनाबाट यात्राको सुरुवात
नेपाली क्रिकेटको यात्रा आधिकारिक रूपमा १९५१ सालतिर सुरु भएको मानिन्छ । लामो समयसम्म क्रिकेट केवल केही विद्यालय र सेनाका क्लबहरूमा सीमित रह्यो । सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सदस्यता पायो । त्यसपछि बल्ल अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो परिचय बनाउन थालेको हो ।
२००० को दशकमा सन् २००६ सम्म नेपाल एसिया क्षेत्रको उत्कृष्ट एसोसिएट राष्ट्रमध्ये एक बन्यो । पारस खड्का, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, ज्ञानेन्द्र मल्लजस्ता नामहरूले नेपाली क्रिकेटको जग बसाले । त्यसपछि नेपालले विभिन्न यू–१९ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्यो । विशेष गरी २००६ को यू–१९ विश्वकपमा नेपालले टेस्ट राष्ट्रहरूलाई हराउँदै विश्व क्रिकेटलाई चकित पारेको थियो ।

नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जिम्मा भने २०५५ सालमा पायो । जुन थियो, एसिसी ट्रफी । त्यही प्रतियोगिताका लागि बनाइएको हो, कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान । तर दुर्भाग्य, घरेलु मैदानमा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा नेपाली टोलीले एउटै खेल पनि जित्न सकेन ।
एकदिवसीय मान्यता प्राप्तिको ऐतिहासिक क्षण
सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो । यो नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण थियो । तर, यो मान्यता कायम राख्न नेपालले निरन्तर राम्रो प्रदर्शन गर्नुपर्ने सर्त थियो ।

सन् २०२३ को सुरुवातसम्म नेपाल एकदिवसीय मान्यता गुमाउने जोखिममा थियो । तर, त्यसबेला नेपालले असाधारण पुनरागमन गर्यो । घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा सम्पन्न विश्वकप लिग टुअन्तर्गतको अन्तिम चरणमा नेपालले लगातार जित निकाल्दै नामिबिया र स्कटल्यान्डलाई पछार्यो । असिफ शेख, कुशल मल्ल, गुलशन झा, सन्दीप लामिछाने र रोहित पौडेलहरूको अद्भुत प्रदर्शनले नेपालले वान डे मान्यता जोगाउन मात्र होइन, विश्वकप छनोट चरणमा समेत स्थान बनाउन सफल भयो । त्यो क्षण नेपाली क्रिकेटको ‘फिनिक्स’ क्षण थियो— राखाबाट पुनर्जन्म ।
वर्तमान : मिश्रित प्रदर्शन र नयाँ चुनौतीहरू
हाल नेपाल विश्वकप क्रिकेट लिग टुमा पुन: खेल्दै छ । तर, पछिल्ला शृङ्खलाहरू नेपालका लागि सुखद छैनन् । अमेरिका र युएई सम्मिलित सिरिजमा नेपालले एउटै पनि खेल जित्न सकेको छैन । यसले अंक तालिकामा नेपाललाई पुछारबाट दोस्रो स्थानमा पुर्याएको छ ।
यो नतिजा किन ?
टिमको रूपान्तरण प्रक्रिया— पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचनजस्ता अनुभवी खेलाडीहरू संन्यास लिएपछि टोली नयाँ पुस्तामा निर्भर भएको छ । यो पुस्ता प्रतिभाशाली छ, तर निरन्तरता र स्थिरता अभाव छ ।
वान डे प्रारूपको अनुभव कमी— नेपालले वर्षमा धेरै वान डे खेल्ने अवसर पाउँदैन । सीमित खेलका कारण खेलाडीहरूलाई ५० ओभरको रणनीतिक धैर्यता र संयमता सिक्ने मौका कम हुन्छ ।
घरेलु संरचना र ब्याटिङ समस्या— नेपाली क्रिकेट अझै ब्याटिङ स्थायित्वमा कमजोर छ । टी–२० मा आक्रामक ब्याटिङले फाइदा दिन्छ, तर वान डेमा धैर्य र टिकाउपन चाहिन्छ, जुन अझै विकासको चरणमा छ ।
टी–२० मा सफलता, वान डेमा सङ्घर्ष
नेपालको टी–२० प्रदर्शन भने उल्लेखनीय छ । हालसालै नेपालले टेस्ट मान्यता प्राप्त टोली वेस्ट इन्डिजलाई तीन खेलको सिरिजमा २–१ ले हराएको छ । यो जितले नेपालले विश्व क्रिकेटमा अब केवल सहभागिता होइन, प्रतिस्पर्धा गर्न सक्ने राष्ट्रका रूपमा आफूलाई प्रमाणित गर्यो ।
नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाउनेछ । यो उपलब्धि नेपाली क्रिकेटका लागि गर्वको विषय हो । छोटो प्रारूपमा सन्दीप लामिछानेको स्पिन जादु, कुशल भुर्तेल र असिफ शेखको आक्रामक ब्याटिङ र कप्तान रोहित पौडेलको नेतृत्वले नेपाललाई बलियो बनाएको छ ।
तर टी–२० को आक्रामक र छोटो खेलशैली वान डेमा सधैँ काम लाग्दैन । नेपालले खेलको ‘टेम्पो’ नियन्त्रण गर्न, मिडल ओभरमा साझेदारी बनाउने र डेथ ओभरमा सन्तुलन राख्ने सीप अझै परिपक्व बनाउन बाँकी छ ।
संरचना, लगानी र भविष्यको बाटो
नेपालमा क्रिकेटप्रतिको जनउत्साह अपार छ । हरेक खेलमा भरिने मैदान, सञ्जालमा चल्ने ह्यासट्यागहरू र खेलाडीप्रतिको समर्पणले देखाउँछ— क्रिकेट नेपालका युवाको आत्मसम्मानको प्रतीक बनेको छ । तर, यस उत्साहलाई दीर्घकालीन सफलतामा रूपान्तरण गर्न संस्थागत सुधार आवश्यक छ ।
मजबुत घरेलु लिग— नेपालमा स्थायी र प्रतिस्पर्धात्मक घरेलु लिग प्रणाली नहुँदा खेलाडीहरूलाई निरन्तर खेल्ने अवसर कम हुन्छ । क्यान आइसिसीको निलम्बनमा पर्दा नेपाली क्रिकेट घरेलु प्रतियोगिताले धानेको थियो । तर, अहिले अवस्था बिल्कुलै फरक छ । नेपाली खेलाडीहरू घरमा कम विदेशमा ज्यादा खेल्छन् ।
सुविधा र पूर्वाधार— त्रिवि मैदानबाहेक अन्तर्राष्ट्रिय स्तरका खेलमैदानको अभाव छ । पोखरा, विराटनगर, जनकपुरजस्ता ठाउँमा मैदान निर्माणको योजना रहे पनि कार्यान्वयन ढिलो छ ।
कोचिङ र प्राविधिक सुधार— अन्तर्राष्ट्रिय स्तरको कोचिङ स्टाफ र विश्लेषणात्मक प्रणाली विकास गर्नुपर्ने आवश्यकता अझै तीव्र छ ।
तर, सपना अझै बाँकी छ
नेपाली क्रिकेटले धेरै कठिनाइ पार गरेको छ । कहिले राजनीतिक हस्तक्षेप, कहिले बोर्ड विवाद, कहिले अन्तर्राष्ट्रिय प्रतिबन्ध— तर, हरेक चोटि खेलाडीहरूले मैदानमा आफ्ना प्रदर्शनले देशलाई गर्व दिलाएका छन् ।
आज नेपालले वेस्ट इन्डिजलाई हराउँदै, टी–२० विश्वकपमा दोहोरो स्थान बनाउँदै, विश्व क्रिकेटमा आफ्नो नाम चम्काइरहेको छ । तर, वान डेमा स्थायित्व ल्याउन अझै धेरै मेहनत गर्नुपर्नेछ ।
नेपालको सपना स्पष्ट छ— कुनै दिन ‘पूर्ण सदस्य’ राष्ट्र बन्ने । त्यो सपना टाढा होइन, यदि यही जोस, लगन र जनसमर्थन यथावत् रह्यो भने ।
सङ्घर्षमै सफलताको स्वाद
नेपाली क्रिकेटको उडान केवल खेलको कुरा होइन, यो राष्ट्रको आत्मगौरव र पहिचानको यात्रा हो । यो यात्रामा असफलता पनि छन्, निराशा पनि । तर, हरेक हारपछि उड्ने इच्छाशक्ति अझै प्रबल बन्छ । यसमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान र हालका सचिव पारस खड्काको एउटा भनाइ सान्दर्भिक ठहर्छ । उनी भन्छन्— जितले टिमको सबै कमजोरीलाई ढाकछोप गर्छ र हारले सबै कमजोरी उदाङ्गो पारिदिन्छ ।
आज नेपाली क्रिकेट विश्वमञ्चमा त्यही मनोदशामा उडिरहेको छ— कहिले टी–२० मा झल्किन्छ, कहिले वान डेमा सङ्घर्ष गर्छ । तर, एउटा कुरा निश्चित छ— नेपाल अब केवल सहभागी राष्ट्र होइन, प्रतिस्पर्धी राष्ट्र बनेको छ । र, यो यात्रा अहिले मात्रै सुरु भएको नभई पहिलेकै निरन्तरता हो ।



Leave a Reply