सेयर बजारका अब्बल अम्बिका


सेयर बजारका एक चर्चित लगानीकर्ता अम्बिकाप्रसाद पौडेललाई अचेल धेरैले सोध्ने एउटा प्रश्न हो, पुँजीबजारमा सफल हुने सूत्र के हो ? सेयर बजार जोखिमको क्षेत्र हो । यो क्षेत्रमा लामो समय टिकेर प्रेरणादायी हस्ती बन्नु उपलब्धि नै हो । वाह जिन्दगीले पनि हालै सेयर बजारका यी अब्बल खेलाडी (लगानीकर्ता) सँग सेयर बजारमा उनी कसरी जम्न सके…

सेयर बजारका एक चर्चित लगानीकर्ता अम्बिकाप्रसाद पौडेललाई अचेल धेरैले सोध्ने एउटा प्रश्न हो, पुँजीबजारमा सफल हुने सूत्र के हो ? सेयर बजार जोखिमको क्षेत्र हो । यो क्षेत्रमा लामो समय टिकेर प्रेरणादायी हस्ती बन्नु उपलब्धि नै हो । वाह जिन्दगीले पनि हालै सेयर बजारका यी अब्बल खेलाडी (लगानीकर्ता) सँग सेयर बजारमा उनी कसरी जम्न सके भनेर जिज्ञासा राखेको थियो । पौडेल पुँजीबजारका एक हस्ती त हुन् नै, उनले एक दर्जनभन्दा बढी विभिन्न कम्पनीमा लगानी गरेका छन् । भर्खरै बुढानिलकण्ठ हेरिटेजबाट प्रवर्दित लेमन ट्रि होटल प्रिमियरको सातौ वार्षिक साधारणसभाबाट अध्यक्षमा अम्बिका पौडेल चयन हुनुभएको छ । त्यस हिसाबले उनी एक सफल उद्यमी हुन् ।

सफल उद्यमीको यो उचाइ प्राप्त गर्न उनले अनेक कठिन बाटाहरू हिँडेका छन् र थुपै्र उतारचढावसँग पौँठेजोरी खेलेका छन् । २०२८ सालमा स्याङ्जामा जन्मिएका अम्बिकाले प्रारम्भिक शिक्षा आफ्नै गाउँबाट पूरा गरे । आइकम पढ्न पोखरा गएका उनले १८ वर्ष गाउँमा र दुई वर्ष पोखरामा बिताएपछि उच्च शिक्षा र सम्भावनाको खोजीमा काठमाडौँको यात्रा गरे ।
तर, राजधानीको यात्रा केवल शिक्षा प्राप्तिको सपना थिएन, यो थियो— जीवन सङ्घर्षको नयाँ अध्याय । डेरा, खानपान, कलेज शुल्क— सबै आफ्नै काँधमा थियो । पढाइसँगै काम गर्नुपर्ने बाध्यता थियो, जसले उनलाई एउटा गलैँचा कारखानामा एकाउन्टेन्टको रूपमा जागिर गर्न बाध्य बनायो ।

काम र पढाइसँगै यात्रा
सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका अम्बिकाप्रसाद पौडेलका लागि काठमाडौँको यात्रा केवल पढाइका लागि मात्र थिएन । यो उनका लागि जीवन सङ्घर्षको नयाँ अध्याय पनि थियो । डेरा भाडा, खानपान, कलेज शुल्क— यी सबै व्यवहार आफ्नै काँधमा थियो, जसलाई थेग्नका लागि उनलाई पढाइसँगसँगै काम गर्नुपर्ने बाध्यता थियो ।

काठमाडौँ आएलगत्तै उनले आर्थिक दायित्व पूरा गर्नका लागि काम खोज्न थाले । उनले एउटा गलैँचा कारखानामा सामान्य एकाउन्टेन्टका रूपमा जागिर सुरु गरे । बिहानको सत्रमा कलेज, दिउँसो र साँझ कार्यालय, अनि घर फर्केर पढ्ने चटारो, यस्तै तालमा दिन बित्थे ।
गलैँचा कारखानामा काम गर्दागर्दै पौडेलले आफ्नो शिक्षालाई पनि निरन्तरता दिए । पाँच वर्षसम्म कामसँगै सङ्घर्ष गर्दै उनले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर सम्पन्न गरे ।

निजामती सेवा र त्यसपछिको सोच
२०५५ सालमा लेखा अधिकृतका रूपमा निजामती सेवा प्रवेश गरे । सरकारी जागिर स्थायित्व र प्रतिष्ठाको पर्याय थियो । तर, अम्बिका भित्रभित्रै सधैँ केही नयाँ सोच, सम्भावना र उद्यमशीलताको प्यास राखिरहेका थिए ।

काठमाडौँ आएदेखि पुँजीबजारमा सक्रिय
उनी काठमाडौँ आएदेखि नै पुँजीबजारमा पनि सक्रिय थिए । लगानीको रुचि उनलाई सानैदेखि थियो । तर, सीमित आय र स्रोतसाधन भएको व्यक्तिका लागि ठूला उद्योग वा अन्य व्यापारमा लगानी गर्नु सम्भव थिएन । पुँजीबजार भने यस्तो क्षेत्र थियो, जहाँ थोरै लगानीबाट पनि सुरु गर्न सकिन्थ्यो । यही सहज पहुँच र रुचिका कारण उनले पुँजीबजारलाई आफ्नो लगानी यात्रा सुरु गर्ने आधार बनाए ।

लगभग १० वर्षको निरन्तर अभ्यास, अध्ययन र अनुभवपछि अम्बिका पुँजीबजारका जानकार र सफल लगानीकर्ताका रूपमा चिनिन थाले । लगानी निर्णयहरूमा उनको दृष्टिकोण प्रस्ट, जोखिम विश्लेषणमा सशक्त र दीर्घकालीन सोच बलियो थियो । यसबीचमा उनी एउटा दोधारको मोडमा पुगे— सरकारी जागिरमै निरन्तरता दिने कि अब आफ्नो सीप र अनुभवको भरमा व्यवसाय सुरु गर्ने ?

उनी निर्णयमा पुगे— अब निजी क्षेत्रमै पूर्ण रूपमा होमिनुपर्छ । जागिरको सानो सीमाभन्दा स्वतन्त्र र सम्भावनाले भरिएको बाटो रोज्नुपर्छ । यही सोच र सङ्कल्पले उनले सरकारी जागिर छाडे र आफ्नै लगानी कम्पनी ‘हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड’ स्थापना गरे । पढाइको ज्ञानलाई व्यवहारमा उतार्ने सोच राख्ने पौडेलका लागि पुँजीबजार एक उत्तम अभ्यासभूमि बन्यो । त्यसमाथि, निजामती सेवाबाट लेखा अधिकृतको जिम्मेवारी त्यागेर निजी लगानीको यात्रामा होमिएका कुमार केशर विष्ट पनि पौडेलका लागि प्रेरणादायी पात्र बने । उनी भन्छन्, ‘कुमार केशर विष्टजस्तो व्यक्ति, जसले स्थायित्वलाई छाडेर सम्भावनालाई अँगाले— त्यो आँट, त्यो दृष्टिकोण आफैँमा ठूलो सिकाइ हो ।’

विष्टको यात्रा र सोचले अम्बिकालाई एउटा गहिरो सन्देश दियो— सपना पूरा गर्न सुरक्षित घेराभन्दा बाहिर निस्कनुपर्छ । यही सोचले उनलाई जागिर छाडेर आफ्नै लगानीमा कम्पनी स्थापना गर्न हौस्यायो, जुन पछि गएर ‘हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड’ जस्तो अग्रणी संस्थाको रूपमा विकास भयो ।

अग्रसर नेतृत्व : पर्यटनदेखि बिमा र शिक्षासम्म
हाथवे इन्भेस्टमेन्टको स्थापना एउटा व्यक्तिको करियर ट्रान्जिसन मात्र थिएन, यो नेपालकै पुँजीबजारमा संस्थागत लगानीको अभ्यास सुरु गर्ने यात्राको महत्वपूर्ण थालनी थियो । आज यो कम्पनी नेपालकै अग्रणी लगानी कम्पनीमध्ये एक बनेको छ । र यसको जग अम्बिकाको त्यो सङ्घर्ष, दूरदृष्टि र पुँजीबजारप्रतिको गहिरो विश्वासमा अडिएको छ ।

एमबिए, सरकारी सेवा, पुँजीबजार र निजी लगानी कम्पनीको सफल यात्रापछि अम्बिकाप्रसाद पौडेलले आफ्नो उद्यमशीलताको दायरा विस्तार गर्दै गए । हातमा पुँजीबजारको अनुभव र विश्वासिलो लगानी दृष्टिकोण बोकेका पौडेलले हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडमार्फत देशका ठूला परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्न थाले ।

हाथवेमार्फत उनले देशका महत्वपूर्ण परियोजनामा नेतृत्व सम्हाले । चन्द्रागिरी हिल्स लिमिटेड, लुम्बिनी केबलकार, मौलाकाली केबलकारजस्ता परियोजनाले पर्यटन र पूर्वाधार विकासमा ठूलो टेवा पुर्‍यायो ।

बिमा क्षेत्रमा उनले एनबी इन्स्योरेन्सको अधिग्रहण गरी पुनर्संरचना गरे । अहिले यो संस्था नेपालको एक अग्रणी बिमा कम्पनी बनिसकेको छ । शैक्षिक क्षेत्र (कान्जिरोवा स्कुल), आतिथ्य सेवा (लेमन टी होटल) र खाद्य उद्योग (हाइलाइफ एग्रो फुड्स)मा पनि उनी सक्रिय छन् ।

२०६८–२०७२ : जीवनको कठिन तर निर्णायक मोड
सफलता सधैँ चुलिँदो ग्राफमा मात्र हिँड्दैन । २०६८ सालतिर नेपालको पुँजीबजार धराशायी भयो । सेयर बजार, रियल स्टेट सबै ओरालो लागे । लगानी डुब्यो, ऋण बढ्यो । उनको शब्दमा भन्दा, ‘त्यो समय म लगभग बैंक करप हुने अवस्थामा पुगेको थिएँ । उनले सरकारी जागिर छाडेर बनाएको पहिचान, पुँजीबजारमा लगाएको पुँजी, सबैतिरबाट डुबेको महसुस भयो । ऋणको भारी, लगानी डुबेको पीडा, नयाँ परियोजनामा कसैले विश्वास नगर्ने अवस्था । सबै एकसाथ आएको कालो समय थियो त्यो । उनको जीवनमा आत्मविश्वास र आशावादको अग्निपरीक्षा भएको समय ।

‘म आफूलाई समयभन्दा अगाडि ठान्थेँ, ‘उनी भन्छन्, ‘तर बुझिनँ कि समयसँग समायोजन गर्न जान्ने मानिस नै साँचो सफल हुन्छ ।’ यही बुझाइमा आएको ढिलाइ, यही आत्मविश्वासको अतिरेकले उनलाई असफलताको नजिक पुर्‍यायो ।

उनको आजको सोचमा स्पष्टता छ— ‘बजार सधैँ आफ्नो अनुसार चल्दैन, बजार हेरेर योजना बनाउनुपर्छ । समयलाई नियन्त्रण गर्ने होइन, समयलाई बुझ्ने र आत्मसात् गर्ने मान्छे नै अन्तत: सफल हुन्छ ।’

यति हुँदा पनि अम्बिका आफैँमाथि भने डगमगाएका थिएनन् । ‘म जिरोबाट उठेको मान्छे, फेरि जिरोमा आइपुगेँ भने के भयो र ? यो पटक त अनुभव पनि छ, समय बुझ्ने समझ पनि,’ भन्दै उनले आफैँलाई हौस्याइरहे । पँुजी डुबेको थियो, तर आत्मबल अझै बाँकी थियो । यही आत्मबल र आशावादी सोचले उनलाई आफ्ना गल्ती पुनर्विचार गर्न, कमजोरी सुधार्न र नयाँ ढङ्गले अघि बढ्न मद्दत गर्‍यो ।

वास्तवमा त्यो चार वर्ष (२०६८–२०७२) अम्बिकाप्रसाद पौडेलको जीवनको सबैभन्दा कठिन तर परिवर्तनकारी समय बन्यो । आफूले गरेका निर्णयहरूको गहिरो आत्ममूल्याङ्कन, जोखिमप्रतिको दृष्टिकोणमा आएको परिपक्वता र समयको संवेदनशीलतालाई बुझ्न थालेपछि उनी फेरि एकपटक उठ्न सफल भए ।

२०७२ सालसम्म आइपुग्दा उनले आफैँलाई सम्हालिसकेका थिए । व्यवसाय फेरि ट्र्याकमा फर्किसकेको थियो, लगानीकर्ताहरूको विश्वास पुन: प्राप्त भइसकेको थियो र उनले नयाँ अवसरहरू पहिचान गरेर हाथवे इन्भेस्टमेन्टलाई अझ बलियो बनाइसकेका थिए ।

‘हिसाबकिताब राख्न जान्नु’— सफलताको सूत्र
पौडेलको जीवनले एउटा स्पष्ट सन्देश दिन्छ— सपना देख्नु पर्याप्त होइन, त्यसका लागि साना हिसाबकिताब राख्न जान्नुपर्छ । उनी भन्छन्— ‘जिन्दगीमा पनि सेयर बजारजस्तै लोभ र डर हटाएर योजना बनाउन सक्यौँ भने सफल भइन्छ ।’

काठमाडौँ आएदेखि उनले सबै खर्च–आयको लेखाजोखा डायरीमा राखेका छन् । यो आर्थिक अनुशासन र योजना बनाउने आदतले उनलाई सफल बनायो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *