विक्रमाब्द चालीसको दशकको आखिरी समयताका नेपाली पप गीतहरूले नयाँ लहर र गतिशीलताका साथै उचाइसमेत लिइरहेको थियो । सोही दशकमा सुनसरीका विधान श्रेष्ठ नेपाल टेलिभिजनमा एउटा गीत लिएर झुल्किए— ‘जलन छातीको…।’ उनका बुबा विजय श्रेष्ठले नेपाली साङ्गीतिक जगत्मा गीति–सर्जक तथा सङ्गीतकारको परिचय बनाइसकेका थिए । उनले बुबाको रचना/सङ्गीतमा निर्मित एल्बम ‘आश्वासन’ बजारमा ल्याए । पप–सङ्गीतले ‘मार्केट’ पिटिरहेको त्यस समय विधानको एल्बम गुमनामजस्तै हुन पुग्यो । आफ्नो पहिलो एल्बमले कुनै तहल्का नमच्चाएपछि त्यति बेलै उनलाई ‘पप वा रक गायनतिर लागौँ कि ?’ भन्ने सोच नआएको होइन । बुबाले उनलाई आधुनिक र शास्त्रीय सङ्गीतको शक्ति बुझाएपछि भने उनी सङ्गीतका यिनै दुई विधामा रमाउन थालेँ, जुन आजपर्यन्त जारी छ ।
विधानको बाल्यकाल साङ्गीतिक वातावरणमा बित्यो । बुबाद्वारा सिर्जित ‘आज नाच्छे मेरी गौरी’, ‘बुहारी झारझैँ’, ‘माछी मार्न जाऊँ न दाजै’ जस्ता गीतहरू उनले घरमै अभ्यास गरे । तिनै माहोलबीच हुर्किंदै जाँदा विधानको हृदयभित्र साङ्गीतिक बीजारोपण हुँदै गयो । एसएलसीको परीक्षा दिएपछि बुबाले उनलाई काठमाडौँ पठाए । उद्देश्य थियो— नेपाली आधुनिक सङ्गीतका अग्ला साधक अम्बर गुरुङसँग शास्त्रीय गायन सिक्ने ।
उनले २०५१ सालमा ‘बुहारी झारझैँ लजालु…’ बोलको गीत रेकर्ड गरे । सो गीतलाई दृश्यपटमा सजाएका थिए, भूषण दाहालले । भूषण थिए, म्युजिक भिडिओका राम्रा निर्देशक । भूषण विधानका काका क्याबिनेट श्रेष्ठका साथी भएर मात्रै सो कार्य सम्भव भएको थियो । स्मरणीय पक्ष त के थियो भने सोही गीत नै भूषणद्वारा निर्देशित पहिलो म्युजिक भिडियो थियो । सो गीतले विधानलाई रातारात चिनायो र त्यसपछि भूषणकहाँ म्युजिक भिडियो निर्माणका लागि ताँती नै लाग्न थाल्यो ।

उनले सङ्गीतमा स्थायित्व खोज्दै जाँदा बुबाकै प्रेरणास्वरूप देशभक्तिका गीतहरू गाउने निर्णय गरे । ‘मलाई पहिले लाग्थ्यो, देशभक्तिपूर्ण गीत त बूढापाकाले मात्र गाउँछन्,’ विधान भन्छन्, ‘तर बुबाको करले २०५५ सालमा ‘ज्ञानबहादुर छोरो’ गाएँ, जसले मेरो गायन–यात्रालाई नयाँ मोडमा पुर्यायो ।’ उनको ‘ज्ञानबहादुर छोरा’ पछि अरू गायकले पनि देशभक्ति–भावका गीतहरू गाउन थाले ।
त्यस समयमा नेपाल–भारत सीमा क्षेत्रको ‘कालापानी’ लाई लिएर विवाद चर्किरहेको थियो । ‘ज्ञानबहादुर छोरो’ म्युजिक भिडियोका निर्देशक भूषणले भने, ‘अहिले कालापानीबारे गीत बने राम्रो हुन्छ ।’ यो कुरा विधानले सुनाए, बुबालाई । बुबा विजयले पहिल्यै लोकभाकामा आधारित ‘राम साइँली छेकन दुवाली माछा मारी’ बोलको लोकगीत सुनेका थिए । विजयले सोही लोकभाकालाई पछ्याउँदै ‘कालापानी’ रचे । गीत रेकर्ड भएपछि म्युजिक भिडियो निर्माण गर्ने सल्लाहसमेत भयो । भिडियो ‘कालापानी’मै खिच्ने योजना रहे पनि भौगोलिक कठिनाइ र लगानीको कारण सुकुटे र दोलालघाटमा छायाङ्कन गरियो ।
सो गीतमा सीमा विवादको विषय, महाकालीको पानीमा भारतीय हस्तक्षेपका साथै नेपालको सार्वभौमिकताको रक्षासम्बन्धी प्रश्न र सन्देश समाविष्ट थियो । नेपाल टेलिभिजनको ‘दिव्य–दृष्टि’ कार्यक्रमबाट गीत पहिलो पटक प्रसारण भयो । केही समयपछि भने सो गीतमाथि अघोषित रूपमा प्रतिबन्ध लगाइयो । विधान भन्छन्, ‘टिभीमा बज्न छोड्यो । जहाँ लगे पनि सबैले ‘बज्छ, बज्छ’ मात्र भने तर बजाएनन् । पछि थाहा पाएँ, राजनीतिक दबाबका कारण सो गीत प्रसारण हुनबाट रोकिएको रहेछ ।’
धेरै वर्षपछि दोस्रो जनआन्दोलन (२०६२–०६३) का दिनहरूमा भने ‘कालापानी’ फेरि हिट हुन पुग्यो । सो गीत सडकदेखि रेडियोसम्म बज्न थाल्यो । विधान भन्छन्, ‘त्यो समयमा मात्रै बुझेँ, सो गीतलाई राजनीतिक कारणले प्रसारण हुन नदिइएको रहेछ ।’ सो गीतमार्फत उनले स्पष्ट भनेका छन्

‘मनको काँडाले कहिल्यै नि कोरेन, फलामे काँडाको तारैले,
मनपरी हैन गाँठे, हाम्रो पानीमा,
आलै छ घाउ अठारको, नालापानीमा…।’
सो गीतमा प्रयोग गरिएको ‘अठार’ शब्दले सन् १८१६ को सुगौली सन्धिलाई जनाउँछ, जसमा कालीनदी र त्यसपूर्वको भूभाग नेपालको मानिएको थियो । विधानको स्वरमा सजिएको सो गीतले देशप्रेमी नेपालीहरूलाई भावनात्मक उचाइ दिलाएको थियो ।
देशभक्तिपूर्ण गीत गायनको क्रममा उनले ‘एकता नै बल हो’ भन्ने गीत गाए, जुन गीत २०६२ सालको जनआन्दोलनपछि प्रसारण हुन छाड्यो । ‘म कहिल्यै लहडको पछाडि दौडिनँ,’ उनी भन्छन्, ‘सङ्गीत मेरो साधना हो, प्रतिस्पर्धा होइन ।’
विधान जन्मिए, सुनसरीको इनरुवामा । बुबाको रियाज हेर्दै–सुन्दै हुर्किएका उनले सङ्गीतलाई साधनाजस्तै लिए । विजयकै पहलमा इनरुवामा नियमित साङ्गीतिक कार्यक्रमहरू हुन्थे, जहाँ दार्जीलिङ, कालिम्पोङ, विराटनगर र धरानबाट कलाकारहरू आउँथे । मामाघर धरान जाँदा विधान गितार बोकेर जान्थे र साँझपख गितार बजाउँदै गीत गुनगुनान थाल्थे ।
एक वर्ष गितार वादनसम्बन्धी तालिम लिएपछि उनले अम्बर गुरुङको सामीप्य पाए र त्यसपछि उनी शास्त्रीय सङ्गीतको विशाल सागरमा डुबुल्की मार्न इच्छुक देखिए । त्यसपछि ‘बुहारी झारझैँ लजालु’ लाई पुन: रेकर्ड गरे, जुन गीतले ४० वर्षअघि उनका बुबालाई रेडियो नेपालको स्वर परीक्षणमा उत्तीर्ण हुन सघाएको थियो । ‘बुबाको सपना थियो, मैले यही गीत गाऊँ,’ विधान सम्झन्छन्, ‘त्यो गीत लाइभ म्युजिकमा रेकर्ड भयो र म रातारात चर्चामा आएँ ।’
त्यसपछिका वर्षहरूमा विधानले ‘सोल्टिनी भनी बोलाको’, ‘यो योवन’, ‘बेस्ट अफ विधान’, ‘पुरानो मायालाई’, ‘जात्रा हाँडी गाउँको’, ‘साइन’, ‘एकता नै बल’, ‘कायम’ लगायत करिब १० एल्बम बजारमा ल्याए । केही वर्षअघि उनले ‘नेपाली खुकुरीको कथा’ नामक गीत पनि सार्वजनिक गरे, जसले नेपाली वीरताको भावनालाई पुनर्जीवित गरायो । हालै मात्र उनले आफ्नै शब्द र सङ्गीतमा प्रीति कथा रिलिज गरेका छन् ।
हरेक दिन दुई घण्टा गितार अभ्यास गर्ने विधान अहिले वरिष्ठ कवि तुलसी दिवसले करिब ५८ वर्षअघि सङ्कलन गरेका लोकगीतहरू रेकर्ड गर्ने तयारीमा जुटेका छन् । भन्छन्, ‘यो हराउँदै गएका पुराना लोकभाकालाई नयाँ पुस्तामाझ ल्याउने मेरो सपना हो ।’
सङ्गीतसँगै विधानको चित्रकला पनि रुचि छ । ‘गायक नभएको भए म चित्रकार बन्थेँ हुँला,’ उनी हाँस्दै भन्छन् । अहिले पनि उनी फुर्सदको समय क्यानभासमा रङ भर्न अग्रसर भइहाल्छन् । सङ्गीतजस्तै रङ पनि उनको आत्माको अभिव्यक्ति हो ।

कन्सर्टमा भने उनी विशेष छनोट गर्छन् । भन्छन्, ‘ट्र्याकमा गीत गाउन मन पर्दैन, पूर्ण ब्यान्डसहित लाइभ प्रस्तुति नै सङ्गीतको वास्तविक स्वाद हो भन्ने लाग्छ ।’ यति खेर सङ्गीत साधनाको पर्याय बनेका छन् विधान । उनी लहड र लहरको पछि कहिल्यै दौडिएनन्, आफ्नै सुरतालमा हिँडिरहे, जसमा बुबा विजयको सङ्गत र संस्कारको मुख्य भूमिका छ । त्यसो त उनी प्राय: बुबाकै गीतहरू गाउँछन् । विधान आफैँले पनि गीत लेखेका छन् र सङ्गीत भरेका छन् । अझ नेपाली मौलिक शब्द र लोकलयमा आधारित गीत गाउँदा त उनी आनन्दित हुन्छन् नै । उनले नेपाली खुकुरीको कथामा आधारित गीत पाँच वर्षअघि बजारमा ल्याएका थिए ।
‘हामी त्यसै निस्किँदैनौँ
निस्किसकेपछि
कि त साँधै हालिन्छ
कि त मारै ढालिन्छ ।’
नेपाली युवापुस्ता निकै सचेत हुँदै गएको विधान सुनाउँछन्, ‘युवामा राजनीतिप्रति रुचि बढ्दो छ ।’आज पनि विधान नेपाली गीत–सङ्गीतको मौलिक स्वर हुन्, जसले लहर होइन, लय रोजे । चर्चामात्र नभई साङ्गीतिक चरित्रको बाटो समाते । उनी भन्छन्, ‘नेपाली युवापुस्ता सचेत छन्, उनीहरूमा देशप्रेम जाग्दै छ । अबको पुस्ताले पनि देशप्रेमका गीत गाउनुपर्छ, तब मात्र हाम्रो सङ्गीतले वास्तविक रूपमा नेपालीपन अँगाल्छ ।’
००



Leave a Reply