घर वा भवनको भित्री संरचना डिजाइन गर्दा आजको समयमा परम्परागत भित्ताको प्रयोग क्रमश: घट्दै गएको छ । अब निर्माणको क्रममा ढुङ्गा, इँटा, माटो र सिमेन्टले बनेका भारी र स्थायी भित्ताहरूको सट्टा हलुका, लचिला र बहुपर्यायी पार्टिसन वालहरूको प्रयोग बढ्दो छ । यस्ता भित्ताहरूलाई पार्टिसन वाल, इन्टेरियर पार्टिसन वाल वा रुम डिभाइडर भनेर चिनिन्छ ।
पार्टिसन वाल भन्नाले एकै ठाउँमा रहेको ठूलो कोठालाई आवश्यकतानुसार विभाजन गरी छुट्टाछुट्टै प्रयोगयोग्य साना स्पेस बनाउन सकिने हलुका भित्ताहरूलाई जनाइन्छ । यस्ता वालहरू स्थायी हुँदैनन् । अर्थात् तिनीहरूलाई चाहिएको बेला सजिलै हटाउन, जडान गर्न वा पुन:व्यवस्थित गर्न सकिन्छ ।

किन आवश्यक छ पार्टिसन वाल ?
परम्परागत रूपमा निर्माण गरिएका पक्की भित्ताहरू न त सजिलै हटाउन सकिन्छ, न फेरबदल गर्न नै । तर आधुनिक घर, अफिस, शो–रुम वा अन्य व्यावसायिक भवनहरूमा स्पेसको लचिलो प्रयोग अब आवश्यकता मात्र होइन, स्मार्ट प्लानिङको अभिन्न हिस्सा भइसकेको छ । सोही आवश्यकताको कारण पनि हो, पार्टिसन वालहरू उत्कृष्ट समाधानका रूपमा देखिएका छन् ।
खुला संरचनाको सन्तुलन
स्मार्ट भवन डिजाइनको पहिलो चरण हो, स्पेस प्लानिङ । आवासीय भवन डिजाइन गर्दा जमिनको क्षेत्रफल, घरले ओगट्ने भाग, परिवारको आवश्यकता, सदस्य संख्या र उनीहरूको जीवनशैलीलाई विचार गरेर स्पेस बाँडफाँड गरिन्छ ।
अबको प्रवृत्ति यस्तो छ— बेडरुमजस्ता आवश्यक र निजी कोठाबाहेक लिभिङ, डाइनिङ र किचन स्पेसलाई ओपन फ्लोर प्लानमा डिजाइन गर्ने । यस्ता संरचनाले घरभित्रको वातावरण खुला, प्रकाशयुक्त र जीवन्त बनाउँछ ।

पार्टिसन वालका प्रमुख विशेषताहरू
हलुका र लचिला :
यस्ता वालहरू भारी हुँदैनन् । तिनीहरूले भौतिक संरचनामा बढी वजन थप्दैनन् र भवनलाई भूकम्पीय दृष्टिकोणले पनि सुरक्षित बनाउँछन् ।
फ्लेक्सिबल डिजाइन :
कोठाको आकार र प्रयोगको उद्देश्यअनुसार यस्ता भित्ताहरूलाई सजिलै काट्न, मिलाउन, पुन:स्थापना गर्न सकिन्छ । जब परिवारको आवश्यकता वा अफिसको संरचना परिवर्तन हुन्छ, त्यसअनुसार स्पेस परिवर्तन गर्न मिल्ने भएकाले दीर्घकालीन रूपमा उपयोगी हुन्छ ।
सजिलो जडान र हटाउने प्रक्रिया :
पार्टिसन वालहरू पूर्वनिर्मित प्यानलहरूका रूपमा निर्माण हुन्छन् । फ्याक्ट्रीमै तयार भएका यी प्यानलहरूलाई साइटमा ल्याएर त्यलनगभ बलम न्चययखभ व्यष्लतक वा अन्य प्राविधिक उपायहरूद्वारा सजिलै जडान गरिन्छ । औजारहरूको अधिक प्रयोगबिना नै जडान–विभाजन गर्न सकिने हुँदा निर्माण प्रक्रिया सरल र छरितो हुन्छ ।
समय र लागतको बचत :
परम्परागत निर्माणमा लाग्ने समय, श्रम र सामग्रीको तुलनामा पार्टिसन वालको प्रयोग निकै छिटो र सस्तो हुन्छ । विशेष गरी अफिस वा व्यावसायिक भवनहरू, जहाँ स्पेस व्यवस्थापन बारम्बार परिवर्तन हुन्छ, त्यहाँ यस्ता भित्ताहरू निकै उपयोगी छन् ।
यस्ता वालहरू निर्माण गर्दा सिमेन्ट, बालुवा, पानीजस्ता चिजहरूको प्रयोग हुँदैन । त्यसैले यी ड्राई कन्स्ट्रक्सन विधिमा पर्छन्, जसले गर्दा साइटमा फोहोर कम हुन्छ, निर्माण प्रक्रिया सफा र व्यवस्थित हुन्छ ।
आकर्षक र आधुनिक लुक्स :
आजकालका पार्टिसन वालहरू केवल प्रयोगात्मक मात्र नभई सौन्दर्य दृष्टिले पनि उत्कृष्ट हुन्छन् । विभिन्न डिजाइन, रङ, बनावट र सामग्रीमा उपलब्ध हुने भएकाले यसले इन्टेरियरलाई थप आकर्षक र सुसंस्कृत देखाउँछ ।

पार्टिसन वालको प्रयोग आवासीय भवनमा मात्र सीमित छैन । यसको प्रयोग अफिस स्पेस, रिटेल स्टोर, स्कुल, अस्पताल, होटेल, क्याफेजस्ता ठाउँहरूमा झन् प्रभावकारी देखिन्छ । अफिसमा बैठक स्पेस छुट्ट्याउने, क्लासरुम साइज परिवर्तन गर्ने वा अस्पतालमा प्राइभेसी आवश्यक पर्ने ठाउँमा यस्ता वालहरू सजिलै जडान गर्न सकिन्छ ।
पार्टिसन वालहरू आधुनिक भवन डिजाइनको एक अविभाज्य पक्ष बन्न पुगेका छन् । परिवर्तनशील आवश्यकता, स्पेसको अधिकतम उपयोग, कम लागत, कम समय र सौन्दर्यात्मक दृष्टिकोणले समेत यस्ता हलुका भित्ताहरू स्मार्ट निर्माणको प्रतीक बन्दै गएका छन् ।
आधुनिक घर वा अफिसको डिजाइनमा प्रयोग गर्न सकिने विभाजन प्यानलका धेरै विकल्पहरू बजारमा पाइन्छन् । वाल प्यानल, इनफिल प्यानल वाल, ग्लास ब्लक वाल र कर्टेन वाल । यी सबै डिजाइनहरू सजिलै छनोट गर्न सकिन्छ, आफ्नो आवश्यकता, रुचि र स्पेसअनुसार ।

व्यावसायिक भवनहरूमा पनि उत्तिकै उपयोगी :
पार्टिसन वालहरूको प्रयोग केवल आवासीय मात्र नभई अफिस, स्कुल, शोरुम, अस्पताल, क्याफे, होटलजस्ता व्यावसायिक स्थानहरूमा अझ प्रभावकारी देखिन्छ । सीमित स्पेसलाई अधिकतम उपयोग गर्न सक्ने एवम् व्यवस्थित र आधुनिक वातावरण सिर्जना गर्न सकिने भएकाले यसको माग बढ्दो छ ।
अब समय आएको छ— पुराना, भारी, भद्दा संरचनालाई बिदा गर्ने र नयाँ सोच, प्रविधि र आवश्यकताअनुसार लचिलो डिजाइन अँगाल्ने । खुला संरचना, स्मार्ट पार्टिसन, आधुनिक फिनिस र बहुपर्याय विकल्पहरूले तपाईंको कल्पनालाई वास्तविक, कार्यान्वयनयोग्य र आकर्षक भवनमा रूपान्तरण गर्न सक्छ ।
इन्टेरियर डिजाइनर
००



Leave a Reply