टिमुरको सुवासले उजिलिएकी निर्मला


काठमाडौँ, चाबहिलको एक मध्यमवर्गीय परिवारमा जन्मेकी निर्मला फुयाँलका पिता चित्रप्रसाद फुयाँलको छोरीलाई डाक्टर बनाउने सपना थियो । उनी पढाइमा सानैदेखि तीक्ष्ण थिइन् । कक्षामा सधैँ अब्बल हुन्थिन् । किताब, कापीलगायतका पाठ्यसामग्री उनका लागि साथीसरह थिए । जुनसुकै बेला उनी तिनकै वरिपरि हुन्थिन् । ती दिन सम्झिँदै भन्छिन्, ‘त्यो बेला पढाइ नै मलाई मेरो मुख्य काम…

काठमाडौँ, चाबहिलको एक मध्यमवर्गीय परिवारमा जन्मेकी निर्मला फुयाँलका पिता चित्रप्रसाद फुयाँलको छोरीलाई डाक्टर बनाउने सपना थियो । उनी पढाइमा सानैदेखि तीक्ष्ण थिइन् । कक्षामा सधैँ अब्बल हुन्थिन् । किताब, कापीलगायतका पाठ्यसामग्री उनका लागि साथीसरह थिए । जुनसुकै बेला उनी तिनकै वरिपरि हुन्थिन् । ती दिन सम्झिँदै भन्छिन्, ‘त्यो बेला पढाइ नै मलाई मेरो मुख्य काम लाग्थ्यो । पढाइबाहिरको संसारतिर खासै मेरो रुचि भएन ।’

पढाइप्रतिको उनको लगाव र मेहनतले त्यतिबेला सार्थकता पायो, जब उनले वैज्ञानिक परिचय बनाइन् । हुन त पिता चाहन्थे, छोरी बिरामी जाँच्ने डाक्टर बनोस् । तर, उनी वनस्पतिकी डाक्टर भइन् । उनले वनस्पति विज्ञानमा पिएचडी गरेकी छन् । आम मान्छेको भान्छामा प्रयोग हुने टिमुरमा उनले विशेषज्ञता हासिल गरेकी छन् । र, अहिले टिमुरविज्ञका रूपमा उनको वैज्ञानिक परिचय बनेको छ ।

निर्मलाले सद्धार्थ वनस्थली स्कुलबाट राम्रो नतिजासहित एसएलसी पास गरिन् र पुगिन् अमृत साइन्स कलेज । उनलाई विज्ञानका अरू विषयहरू रसायनशास्त्र र प्राणीशास्त्रले खासै तान्न सकेनन्, बरु पात, मुना, फूल–वनस्पतिमा लुकेको जीवनशक्तिले उनलाई लोभ्यायो । त्यसैले एमबिबिएस नरोजी वनस्पति विज्ञान पढ्ने रुचि देखाइन् । आइएस्सी, बिएस्सीपछि त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह अर्थात् एमएस्सीमा उत्कृष्ट पाँच विद्यार्थीमध्ये उनी पनि परिन् । त्यो नतिजा नै उनका लागि टिमुर वैज्ञानिक यात्राको एउटा महत्वपूर्ण घुम्ती बन्यो ।

तस्बिरहरु : मनिष जिंग पाण्डे

स्नातकोत्तरपछि उनले केही समय त्रिचन्द्र क्याम्पसमा अध्यापन गरिन् । २०६६ सालबाट चाहिँ वनस्पति विभागमा जागिरे सेवा सुरु गरिन् । विभागअन्तर्गत देशभरि रहेका वनस्पतिको अनुसन्धान, अन्वेषण र खोजमा संलग्न हुन पाउँदा उनको अध्ययन–अनुभवको दायरा थप फराकिलो बन्यो । भन्छिन्, ‘विभागमा काम गरेपछि देशका विभिन्न स्थानमा वनस्पतिको अध्ययन र अनुसन्धानका काममा गएँ र धेरै कुरा थाहा पनि भयो ।’
जगिरकै क्रममा नेपाल र बेलायतको संयुक्त टोलीसँग मिलेर उनी सिन्धुपाल्चोकको भैरवकुण्ड पुगिन् । त्यहाँ २१ दिन बसेर वनस्पतिका नमुना संकलन गरियो । ‘त्यो अध्ययनले नेपालमा रहेका वनस्पतिहरू पहिचान गर्न ठूलो सहयोग पुग्यो,’ उनी भन्छिन् । नेपाल फ्लोरा लेखनका लागि देशभरिबाट नमुना संकलन गर्नुपर्ने भएकाले उक्त कामले धेरै नै सहयोग गर्‍यो । काम गर्दागर्दै पढाइलाई निरन्तरता दिनु पनि थियो । चिकित्सकका रूपमा नभए पनि पिएचडी गरेर भए पनि नामको अगाडि डाक्टर लेख्ने पिताजीको सपना पूरा गर्नु थियो ।

उनले विद्यावारिधि (पिएचडी) अध्ययन सुरु गरिन् र अध्ययन–बिदा लिइन् । त्यो बेला उनी विवाहित भइसकेकी थिइन् र उनको पहिलो बच्चा केवल एक वर्षको थियो । त्यो बेला धेरैले उनलाई सोध्थे, ‘फिल्ड र ल्याब दुवै काम कसरी सम्भव हुन्छ ?’ उनी सम्झन्छिन्, ‘कठिनाइ त कति हो कति !’

तस्बिरहरु : मनिष जिंग पाण्डे

घर, बच्चा, रिसर्च । त्यसमा पनि पिएचडी गर्दै गर्दा दोस्रो बच्चा जन्मियो, तर उनले घर, बच्चा र पढाइलाई सन्तुलनमा राख्दै पाँच वर्षमै अध्ययन पूरा गरिन् । पढाइप्रतिको उनको लगाव यति थियो कि रातभरि नसुती पढ्थिन् । साधारणतया पिएचडीका लागि दुईवटा रिसर्च पेपर अनिवार्य थियो, तर उनले आठवटा रिसर्च पेपर प्रकाशित गरिन् ।

सरकारले आर्थिक विकासमा टेवा दिने ३३ जडीबुटीमध्ये टिमुरलाई प्राथमिकतामा राखेको छ । यही अवसरलाई उपयोग गर्दै निर्मलाले पिएचडीको विषय टिमुर रोजिन् । उनी नै नेपालमा पहिला टिमुरमा पिएचडी गर्नै व्यक्ति पनि बनिन् । त्रिभुवन विश्वविद्यालय र डाबर नेपालबाट छात्रवृत्ति पाएर अनुसन्धान सुरु गरिन् । यसअगाडि त्रिविले जडीबुटी अनुसन्धानका लागि निजी क्षेत्रसँग सहकार्य गरेको थिएन । उनी भन्छिन्, ‘नेपालमा गैरकाष्ठ वन पैदावारमध्ये टिमुर अत्यधिक बिक्री हुने वस्तु हो । किसानले खेती त गर्थे, तर अध्ययन–अनुसन्धानको कमी थियो । त्यसैल पिएचडीका लागि टिमुर रोजेँ ।’

टिमुर अध्ययनका लागि उनले सल्यान क्षेत्र रोजिन् । सल्यान रोज्नुको कारण सरल थियो— त्यो क्षेत्रको टिमुरको गुणस्तर उत्कृष्ट मानिन्थ्यो, वनस्पति विभागको कार्यालय त्यहाँ उपस्थित थियो र किसानसम्म सहज पहुँच हुन सक्ने वातावरण थियो । साथै, सल्यानमा लागू ‘एक गाउँ, एक उत्पादन’ नीतिअन्तर्गत टिमुर प्राथमिकतामा राखिएको थियो ।

नेपालमा टिमुरको व्यावसायिक खेती मुख्य गरी कर्णाली (रुकुम, सल्यान, बझाङ, बैतडी) र नुवाकोटमा गरिन्छ । उनी भन्छिन्, ‘सल्यानबाट निर्यात अन्य जिल्लाभन्दा बढी हुन्छ ।’ उनी नेपालमा पाइने आठ प्रजातिबाट जान्थोजाइलम अर्माटम प्रजातिमा केन्द्रित भएर अध्ययन र अनुसन्धान गरिन् ।

यो प्रजाति १,०००–२,५०० मिटरको उचाइमा खेती गर्न सकिन्छ । उनका अनुसार, नेपालमा व्यापक रूपमा प्रयोग हुने टिमुर नै जान्थोजाइलम अर्माटम हो । उनको अनुसन्धानले टिमुरमा रहेका रासायनिक तत्व र औषधीय गुणको विस्तृत विश्लेषण गरेको छ ।
उनको अनुसन्धानले टिमुरमा रहेका रासायनिक तत्व, औषधीय गुण, उत्पादनमा वृद्धि र अंकुरण विधिमा वैज्ञानिक आधार जोडेर स्पष्ट निष्कर्ष दिएको छ । उनी भन्छिन्, ‘सर्वसाधारण अवस्थामा १ सय बिरुवा रोप्दा १०–२० प्रतिशत मात्र हुर्किन्थ्यो । अनुसन्धानमा आधारित वैज्ञानिक विधि अपनाउँदा उत्पादन दर ६० प्रतिशत नजिक पुगेको छ ।’ उनी थप्छिन्, बीउबाट बिरुवा बनाउने क्षमता कमजोर हुने भएकाले टिमुरका लागि उपयुक्त अंकुरण विधि अनिवार्य छ ।

सन् २०२२ मा उनले वनस्पति शास्त्रमा पिएचडी पूरा गरिन् र त्रिविबाट टिमुरमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति बनिन् ।
निर्मलाको अनुसन्धानपछि सल्यानका किसानहरू टिमुर खेतीतर्फ बढ्दै आकर्षित भएका छन् । उनी भन्छिन्, ‘एउटै परिवारले वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाइ गर्छन् । यहाँका अधिकांश घर टिमुर खेतीमै सक्रिय छन्, अन्य बालीनाली छाडेर ।’ सन् २०१८ मा जापानमा आयोजना भएको ‘जेएसपिएस होप मिटिङ’ मा नोबल पुरस्कार विजेताहरूबीच उनले टिमुरमा आधारित अनुसन्धान प्रस्तुत गरेकी थिइन् ।

नेपालमा उत्पादन हुनेमध्ये ९० प्रतिशतभन्दा बढी टिमुर निर्यात हुन्छ । निर्यातको अधिकांश हिस्सा भारतमा जाने गरेको छ । एउटै परिवारले वार्षिक ५० लाख रुपैयाँ बढीको आय आर्जन गरेको तथ्य सुनाउँदै उनी भन्छिन्, ‘सल्यानमा अन्य बालीनाली छोडेर टिमुरतिर आकर्षित हुने किसान प्रशस्त छन् ।’
टिमुरको तेलको माग बढ्दो दरमा रहेको उनी बताउँछिन् । सौन्दर्य प्रसाधनका सामग्रीमा रूपमा टिमुरको प्रयोग गरिएको हुन्छ ।

टिमुरबाट निकालिएको तेल दाँतमा कीरा लाग्नबाट बचाउन प्रयोग गरिन्छ । कलेजोको सुरक्षा गर्न, जीउ सुन्निने समस्याबाट मुक्त हुन, मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्न, फुड पोइजनिङ हटाउन र कीटाणुलाई मार्न, दुखाइ कम गर्न र मुखको क्यान्सरलाई रोक्न लगायतमा टिमुरको प्रयोग गरिन्छ ।

टिमुरका जानकारहरूका अनुसार लिनालुलको मात्रा प्रशस्त हुँदा घाउ, चोटपटक, दुखाइ, सुन्निएको बाउँडिने र एलर्जीको उपचारमा प्रभावकारी हुन्छ । टुथपेस्ट उत्पादक कम्पनीले समेत टिमुरको प्रयोग गरेका हुन्छन् । कीटनाशक औषधिका रूपमा समेत प्रशोधित टिमुर प्रयोग गरिन्छ । साथै परफ्युमको उत्पादनमा पनि टिमुरको प्रयोग गरिन्छ ।

२०६६ सालमा अधिकृत तहबाट निजामती सेवामा प्रवेश गरेकी फुयाँल अहिले वन मन्त्रालयमा उपसचिव प्राविधिकको रूपमा कार्यरत छन् । वैज्ञानिक अधिकृतका रूपमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा कार्य गरिसकेकी उनी उपसचिव भएसँगै वन तथा वातावरण मन्त्रालयमा सेवा दिइरहेकी छन् । यद्यपि, उनले अहिले पनि किसानलाई प्रेरित गर्ने काम थामेकी छैनन् । ‘दिनहुँ किसानको फोन आइरहन्छ,’ उनी मुस्कुराउँदै भन्छिन् । विद्यावारिधिका क्रममा उनले गरेको अनुसन्धान धेरै विदेशी जर्नलहरूले उद्धृत गरेका छन् । उनले नास्ट जर्नल अवार्ड २०१९, २०२० र दक्षिण एसियाली एग्रो–फरेस्ट्री सम्मेलनमा प्रथम भएर पोस्टर प्रस्तुतिका लागि सम्मान पाएकी छन् ।

निर्मलाको जीवन केवल अध्ययनको कथा होइन— यो वैज्ञानिक जिज्ञासा, मातृत्व, सङ्घर्ष, अनुशासन र सेवा–भावको संयोजन हो । टिमुरको सुगन्धजस्तै उनको अनुसन्धानले किसानको जीवनमा मिठास थपिरहेको छ । उनी आज वनस्पति विज्ञानको क्षेत्रमा नयाँ पुस्ताका लागि एउटा दृढ प्रेरणा, अडिगता र सम्भावनाको नाम बनेकी छन् । जसले विज्ञानमा महिलाको भूमिकालाई मात्र होइन, अनुसन्धानले समाज र अर्थतन्त्र दुवैलाई कति समृद्ध बनाउन सक्छ भन्ने एउटा उत्कृष्ट उदाहरण बनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *