बेलायतको सीप र अनुभवलाई नेपालमा प्रयोग गर्दै दुर्गा घले


सन् २००० देखि बेलायतमा बस्दै आएकी दुर्गा घलेले करिब साढे दुई दशकको अन्तर्राष्ट्रिय अनुभवलाई नेपालमा लगानी गर्दै नयाँ सम्भावनाको ढोका खोलेकी छन् । उनका श्रीमान् बेलायती सैनिक सेवामा रहेकाले पनि बेलायतसँग उनको बसाइ थप मजबुत बन्यो । तर, दुर्गाको बेलायत बसाइलाई पारिवारिक पृष्ठभूमिले मात्रै होइन, आफ्नै मेहनत, सीप र निरन्तरताले परिभाषित गरेको छ । दुर्गाले…

सन् २००० देखि बेलायतमा बस्दै आएकी दुर्गा घलेले करिब साढे दुई दशकको अन्तर्राष्ट्रिय अनुभवलाई नेपालमा लगानी गर्दै नयाँ सम्भावनाको ढोका खोलेकी छन् । उनका श्रीमान् बेलायती सैनिक सेवामा रहेकाले पनि बेलायतसँग उनको बसाइ थप मजबुत बन्यो । तर, दुर्गाको बेलायत बसाइलाई पारिवारिक पृष्ठभूमिले मात्रै होइन, आफ्नै मेहनत, सीप र निरन्तरताले परिभाषित गरेको छ ।

दुर्गाले नेपालमै ब्युटिसियनको तालिम र सम्बन्धित अध्ययन गरेकी थिइन् । त्यसैले बेलायत जाँदा आफूभित्र आत्मविश्वास थियो । तर, सन् २००८ मा बेलायतको क्याबर्लीमा ‘सुरभी ब्युटी सैलुन’ स्थापना गर्दा उनले सोचेको जस्तो सहज यात्रा भने भएन । सुरुवाती दिनहरू चुनौतीपूर्ण थिए । भाषा, ग्राहकको अपेक्षा, काम गर्ने शैली र व्यावसायिक अनुशासन सबै कुरा फरक थिए ।

‘नेपालमा लिएको तालिम मात्र पर्याप्त रहेन,’ दुर्गा सम्झन्छिन्, ‘बेलायतमा काम गर्न र टिक्न निरन्तर सिक्नैपर्छ भन्ने मैले त्यतिबेलै बुझेँ ।’ सैलुन सञ्चालन गर्दै उनले आफूलाई अझ परिष्कृत बनाइन् । उनले लन्डन हेयर एकेडेमीबाट हेयर कट, वेट हेयर स्टाइलिङ र कलरसम्बन्धी व्यावसायिक तालिम लिइन् । त्यससँगै लन्डनकै प्रतिष्ठित कम्पनीहरूमार्फत मसाज थेरापी, मेकअप, स्किन केयरजस्ता विषयमा पनि गहिरो प्रशिक्षण हासिल गरिन् । काम र अध्ययनलाई सँगसँगै अघि बढाउँदै दुर्गाले आफूलाई अन्तर्राष्ट्रिय स्तरको ब्युटिसियनका रूपमा स्थापित गरिन् । दुर्गाकै सैलुन नै नेपालीले बेलायतमा खोलेको पहिलो सैलुन हो ।

यही निरन्तर मेहनत र गुणस्तरप्रतिको प्रतिबद्धताले एक सैलुनबाट तीन सैलुनसम्मको यात्रा सम्भव भयो । उनका सैलुनमा आउने ग्राहकमध्ये करिब ९९ प्रतिशत बेलायती नै छन् । नेपाली ग्राहक भने महिनामा दुई–तीन जनामात्र आउने गर्छन् । बेलायती ग्राहकलाई लामो समयसम्म बाँधेर राख्न सक्नु नै दुर्गाको सेवाको स्तर र व्यावसायिकताको प्रमाण हो । आज पनि उनका केही ग्राहक १७ वर्षभन्दा बढी समयदेखि निरन्तर रूपमा सेवा लिन आइरहेका छन् । व्यवसाय सफल भइरहँदा पनि दुर्गाको मन भने सैलुन विस्तार र कमाइमा अडिएको थिएन । भित्र भित्रै एउटा प्रश्नले उनलाई सताइरहन्थ्यो, ‘यो अनुभव, यो सीप नेपालका लागि प्रयोग गर्न सकिन्न ?’ त्यही प्रश्नले उनलाई फेरि आफ्नो मूलतर्फ फर्कायो ।
‘बेलायतमा केही कमी थिएन,’ दुर्गा भन्छिन्, ‘तर देशमा केही गर्नुपर्छ, सिकाउनुपर्छ भन्ने भावना दिनदिनै बलियो हुँदै गयो ।’ त्यसै सोचका कारण उनले बेलायतका दुईवटा सैलुन बेचेर नेपालमा लगानी गर्ने निर्णय गरिन् ।

उनी आफ्नो देश फर्केर युवापुस्तालाई रोजगारी दिने, आफूले लन्डनमा सिकेका व्यावसायिक सीप र अनुशासन हस्तान्तरण गर्ने सपना बोकेर आएकी थिइन् । दुर्गाका लागि नेपाल फर्किनु भावनात्मक निर्णय मात्र होइन, जिम्मेवारीपूर्ण यात्रा पनि हो । जहाँ अनुभवलाई अवसरमा बदल्ने र सीपलाई भविष्य निर्माणको माध्यम बनाउने चाहना लुकेको छ ।

नेपालमा ‘सिग्नेचर हेयर एन्ड ब्युटी लाउन्ज एकेडेमी’
करिब साढे दुई दशकको अन्तर्राष्ट्रिय अनुभव बोकेर दुर्गा घलेले नेपालमा ब्युटी व्यवसाय सुरु गरेको एक वर्ष पूरा भएको छ । बेलायतमा सफलतापूर्वक सञ्चालन गर्दै आएको ब्युटी व्यवसायलाई क्रमश: स्वदेशतर्फ केन्द्रित गर्ने उद्देश्यसहित उनले बेलायतका दुईवटा सैलुन बेचेर हाल एउटा मात्र सञ्चालनमा राखेकी छन् । यही निर्णयसँगै उनले काठमाडौँको बत्तीसपुतलीमा गत वर्षदेखि ‘सिग्नेचर हेयर एन्ड ब्युटी लाउन्ज एकेडेमी’ सञ्चालनमा ल्याएकी हुन् ।

यो एकेडेमी दुर्गाको व्यक्तिगत ब्रान्डको विस्तार मात्र होइन, विदेशमा सिकेको सीप, अनुशासन र व्यावसायिक सोचलाई नेपालमै प्रयोग गर्ने उनको दीर्घकालीन दृष्टिकोणको प्रतिविम्ब हो । यहाँ सौन्दर्यलाई केवल बाहिरी सजावटका रूपमा होइन, वैज्ञानिक विधि, हाइजिन र आत्मविश्वाससँग जोडेर हेरिन्छ ।

महिला र पुरुष दुवैका लागि खुला यस एकेडेमीमा हेयर स्टाइलिङ, प्रोफेसनल मेकअप, मसाज थेरापी, स्पा, नेल आर्टलगायतका सेवा र तालिम प्रदान गरिन्छ । अन्तर्राष्ट्रिय ट्रेन्डअनुसार डिजाइन गरिएका सेवाहरूले युवापुस्तादेखि परिपक्व उमेर समूहसम्मका ग्राहकलाई आकर्षित गरेको छ ।

विशेष गरी दुर्गाले नेपालमा नन–सर्जिकल र नो–केमिकल ट्रिटमेन्टलाई प्राथमिकतामा राखेकी छन् । यहाँ रिङ्कल (चाउरी) ट्रिटमेन्ट, पिग्मेन्टेसन, सन ट्यान रिमुभल, अक्सिजन फेसियल, माइक्रोडर्माब्रेसन, माइक्रो निडलिङजस्ता अत्याधुनिक स्किन केयर ट्रिटमेन्ट उपलब्ध छन् । यी सेवाहरू छालाको प्राकृतिक संरचनालाई क्षति नपुर्‍याई सुरक्षित र प्रभावकारी रूपमा गरिन्छन् ।

‘गुणस्तर र सुरक्षित विधिमा म कहिल्यै सम्झौता गर्दिनँ,’ दुर्गा भन्छिन् । उनका अनुसार, यही कारण एकेडेमीमा प्रयोग हुने स्किन केयर र हेयर प्रोडक्टहरू नेचुरल, अर्गानिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार चयन गरिन्छन् । सेवा लिन आउने प्रत्येक ग्राहकलाई छालाको अवस्था, उमेर र आवश्यकताअनुसार व्यक्तिगत परामर्श दिएर मात्र उपचार सुरु गरिन्छ ।

एकेडेमीको अर्को महत्वपूर्ण पक्ष भनेको तालिम हो । यहाँ तालिम लिने प्रशिक्षार्थीहरूले केवल सेवा दिन सिक्दैनन्, उनीहरूलाई प्रोफेसनल व्यवहार, ग्राहक ह्यान्डलिङ, हाइजिन, समय व्यवस्थापन र अन्तर्राष्ट्रिय कार्य–संस्कृतिबारे पनि ज्ञान दिइन्छ । दुर्गा स्वयं व्यवस्थापन र तालिम प्रक्रियामा सक्रिय रूपमा संलग्न रहन्छिन् । उनको दाबी छ, यहाँबाट तालिम लिएका व्यक्तिहरू नेपालमै मात्र होइन, विश्वका जुनसुकै विकसित मुलुकमा पनि काम गर्न सक्ने क्षमतायुक्त हुन्छन् ।‘म लटरपटर पारेर काम गर्ने मान्छे होइन,’ उनी स्पष्ट भन्छिन्, ‘हाम्रो एकेडेमीको विशेषता नै गुणस्तरीय, नेचुरल र अर्गानिक ट्रिटमेन्ट हो । हामी प्रशिक्षार्थीलाई विश्वस्तरको सीपसहित आत्मविश्वासी बनाउँछौँ ।’

यसरी, ‘सिग्नेचर हेयर एन्ड ब्युटी लाउन्ज एकेडेमी’ दुर्गा घलेको सफल व्यावसायिक यात्राको अर्को अध्याय मात्र होइन, विदेशमा आर्जित अनुभवलाई स्वदेशमै उपयोग गर्दै सौन्दर्य क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने एउटा सशक्त प्रयास बनेको छ ।
दुर्गा घले सम्भव भएसम्म बेलायत र नेपाल दुवै देशमा व्यवसाय सन्तुलनमा चलाउने रणनीतिमा अघि बढिरहेकी छन् । उनका अनुसार, दुई देशमा एकसाथ व्यवसाय सञ्चालन गर्न सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै प्रभावकारी व्यवस्थापन, अनुशासन र स्पष्ट दृष्टिकोण हो । यही सोचअनुसार उनले आफ्नो समय, स्रोत र जनशक्तिको व्यवस्थापन गर्दै दुवै मुलुकमा व्यावसायिक सन्तुलन कायम राखेकी छन् ।

नेपाल फर्किएपछि उनले काठमाडौँको बत्तीसपुतलीस्थित आफ्नै घरमा सैलुन, रेस्टुरेन्ट र बीएन्डबी ( Bed & Breakfast) सञ्चालनमा ल्याएकी छन् । एउटै छानामुनि सेवा, आतिथ्य र सौन्दर्यलाई जोड्ने उनको अवधारणा नेपालका लागि नयाँ अभ्यास मानिन्छ । यसले केवल व्यवसाय विस्तार मात्र होइन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा योगदानसमेत पुर्‍याइरहेको छ ।

विदेशमा सिकेको सीप, अनुशासन र व्यावसायिक सोचलाई स्वदेशमै प्रयोग गर्दै दुर्गा घले आत्मनिर्भरता र रोजगारी सिर्जनाको उदाहरण बनेकी छन् । उनले सधैँ ‘आफ्नै देशमा पनि केही गर्न सकिन्छ’ भन्ने सन्देशलाई कर्मबाट प्रमाणित गरिरहेकी छन् ।

नेपालप्रतिको गहिरो माया र भावनात्मक लगावकै कारण दुर्गाले ब्रिटिस नागरिकता त्यागेर नेपाल फर्किने साहसी निर्णय लिएकी हुन् । यो निर्णय उनको जीवनको सबैभन्दा महत्वपूर्ण मोडमध्ये एक थियो । सुविधासम्पन्न जीवन र सुरक्षित भविष्यको विकल्प हुँदाहुँदै पनि मातृभूमिमा फर्कनु उनका लागि भावनात्मक मात्र होइन, नैतिक जिम्मेवारीको विषय थियो ।

व्यावसायिक यात्रासँगै दुर्गा घलेको व्यक्तित्व आध्यात्मिक र सिर्जनशील पक्षले पनि परिचित छ । उनी ध्यान, योग र आध्यात्ममा नियमित रूपमा संलग्न रहन्छिन् । उनका अनुसार, मानसिक शान्ति र आत्मअनुशासनले नै दीर्घकालीन सफलता सम्भव बनाउँछ ।

व्यवसायबाहेक दुर्गाले नेपाली चलचित्र क्षेत्रमा पनि लगानी गरेकी छन् । साथै, उनी गीतकारको रूपमा पनि सक्रिय रहँदै तीन–चारवटा सङ्गीत एल्बम बजारमा ल्याइसकेकी छन् । सिर्जनशील अभिव्यक्तिप्रतिको यही रुचिले उनलाई व्यावसायिक जीवनमा पनि फरक सोच र दृष्टिकोण दिन सहयोग गरेको छ ।
चुप लागेर बस्न नसक्ने, निरन्तर केही न केही सिर्जना गरिरहने स्वभावकी दुर्गाले आफ्नो सैलुन र फ्ल्याटको सम्पूर्ण इन्टेरियर डिजाइन आफैँ गरेकी छन् । त्यसैगरी, उनी आफू लगाउने लुगाको डिजाइन पनि स्वयं तयार गर्छिन् । सौन्दर्यप्रतिको उनको दृष्टिकोण केवल पेसासँग सीमित छैन, यो जीवनशैली र व्यक्तित्वको हिस्सा हो ।

ब्युटी क्षेत्रमा प्रवेश गर्नुअघि दुर्गा सिलाइ, बुनाइ र ह्यान्डीक्राफ्टमा सक्रिय थिइन् । यही सिर्जनशील पृष्ठभूमिले उनलाई आजको बहुआयामिक उद्यमी बनाएको हो । उनका अनुसार, सौन्दर्य र सिर्जना आपसमा गहिरोसँग जोडिएका विषय हुन् ।
उनले सञ्चालनमा ल्याएको ‘सिग्नेचर’ नाम पनि संयोग होइन । उनले रचना गरेको एक सङ्गीत एल्बम ‘हस्ताक्षर’ बाट प्रभावित भएर उनले आफ्नो ब्रान्डको नाम ‘सिग्नेचर’ राखेकी हुन्— जसले उनको व्यक्तिगत पहिचान, सिर्जनशीलता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ ।

यसरी, दुर्गा घले केवल सफल ब्युटी उद्यमी मात्र होइनन् । उनी देशप्रेम, सिर्जनशीलता, अनुशासन र साहसको सम्मिश्रण हुन्, जो विदेशमा सिकेको सीपलाई मातृभूमिमा रोपेर सम्भावनाको नयाँ कथा लेखिरहेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *