नेपाली कलासाहित्य डटकम प्रतिष्ठान ले यस वर्ष पनि कला, साहित्य, संगीत र पत्रकारिताका विभिन्न विधामा सक्रिय ६ जना साधकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा यस वर्षको ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान–२०८२’ विशिष्ट साहित्य तथा नाट्य साधक मनबहादुर मुखियालाई समर्पण गरिएको हो। उक्त सम्मानको राशि नगद १ लाख १ हजार रुपैयाँ रहेको छ। कार्यक्रममा प्रमुख अतिथि अग्रज चित्रकार किरण मानन्धर, प्रा.डा. गोविन्दराज भट्टराई, शंकर कोइराला र साहित्यकार मोमिलाले सम्मानित व्यक्तित्वलाई सम्मान अर्पण गरेका थिए।

यसै अवसरमा कला–साहित्य क्षेत्रमा योगदान पुर्याएका अन्य पाँच स्रष्टालाई पनि विभिन्न विधागत पुरस्कार प्रदान गरिएको छ।
- साहित्यिक अभियन्ता **श्रीओम श्रेष्ठ ‘रोदन’**लाई नगद १ लाखसहित ‘राष्ट्रिय कलाश्री पुरस्कार–२०८२’
- कवि निमेष निखिललाई ७५ हजार नगदसहित ‘स–सिद्धि राष्ट्रिय कलाश्री पुरस्कार–२०८२’
- मिथिला चित्रकलाका साधक एससी सुमनलाई ६० हजार नगदसहित ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार–२०८२’
- साहित्यिक पत्रकार तथा स्रष्टा राजेश खनाललाई ५० हजार नगदसहित ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार–२०८२’
- लोकसंगीतकी स्रष्टा झुमा लिम्बूलाई ५० हजार नगदसहित ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार–२०८२’ समर्पण गरिएको हो।

कार्यक्रममा बोल्दै कलाकार मानन्धरले साहित्य र चित्रकला एक–अर्काका परिपूरक विधा भएको उल्लेख गर्दै आफू लेखनमा सक्रिय नभए पनि साहित्य पढ्न विशेष रुचि रहेको बताए।

सम्मानित नाट्यकर्मी मुखियाले आफ्नो चर्चित नाटक ‘अनि देउराली रुन्छ’ को लेखन र दार्जिलिङ तथा नेपालमा भएको मञ्चनका अनुभव स्मरण गरे। साहित्यकार ‘रोदन’ले पुरस्कारले आफूलाई अझ बढी जिम्मेवार बनाएको धारणा राखे भने कवि निखिलले प्राप्त सम्मानले सृजनात्मक उर्जा थपेको बताए।

कार्यक्रममा महेश पौड्यालले सम्मानित स्रष्टाहरूको परिचय प्रस्तुत गरेका थिए। साहित्यकार मोमिलाले प्रतिष्ठानले विगत १८ वर्षदेखि निरन्तर साहित्य सेवा गर्दै विभिन्न क्षेत्रका सर्जकलाई सम्मानित गर्दै आएको जानकारी दिइन्। त्यस अवसरमा राजेश्वर कार्कीले संस्थाको उद्देश्य र गतिविधिबारे प्रकाश पारेका थिए।

प्रतिष्ठानले विगत वर्षहरूमा राष्ट्रिय कलाश्री सम्मान, पुरस्कार तथा विभिन्न विधागत सम्मानमार्फत कला, साहित्य, संगीत, पत्रकारिता र ललितकलाका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गर्दै आएको छ।
प्रतिष्ठानले यसअघि राष्ट्रिय कलाश्री सम्मान क्रमशः जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल (वात्स्यायान), दुर्गालाल श्रेष्ठ, डा. वासुदेव त्रिपाठी, वैरागी काइँला, प्रेमध्वज प्रधान, रामेश, परशु प्रधान, किरण मानन्धर, यादव खरेल र वीणा पौडेललाई प्रदान गरिसकेको छ ।
त्यस्तै राष्ट्रिय कलाश्री पुरस्कार क्रमशः इन्द्रबहादुर राई, सुकर्म सांगितिक समूह, डा. गोविन्दराज भट्टराई, गीता केशरी, डा. राजेन्द्र विमल, डा. ध्रुवचन्द्र गौतम, वानीरा गिरि, ठाकुर गुरागाईं, हरिहर शर्मा प्लस शकुन्तला शर्मा, माया ठकुरी, सरुभक्त श्रेष्ठ, गणेश रसिक, अशेष मल्ल, मञ्जु काँचुली, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, भागीरथी श्रेष्ठ र विश्वविमोहन श्रेष्ठलाई प्रदान गरिसकेको छ ।

विगत १४ वर्षदेखि प्रदान गरिँदै आएको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार विप्लव ढकाल, श्रवण मुकारुङ, युवराज नयाँघरे, रमेश श्रेष्ठ, भीष्म उप्रेती, मनु मञ्जिल, मणि लोहनी, सुमन पोखरेल, सरस्वती प्रतीक्षा, ठाकुर बेलवासे, केशव सिग्देल, भूपिन, कृसु क्षत्री र चन्द्र गुरुङलाई प्रदान गरिएको थियो । यस्तै बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार यसअघि जयदेव भट्टराई, फूलमान बल, शशी लुमुम्बू, मोहन दुवाल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, लक्ष्मी उप्रेती, धीरेन्द्र प्रेमर्षि, डा. टंक उप्रेती, अश्विनी कोइराला र बसन्त बस्नेतलाई प्रदान गरिएको थियो ।

त्यस्तै, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार–२०७५ चित्रकार एरिना ताम्राकार, ०७६ मा मूर्तिकार विक्रमश्री, ०७७ मा विधाता के.सी., ०७८ मा ओम के.सी, ०७९ मा फोटोकार जगदीश तिवारी, ०८० मा सम्झना राजभण्डारी र ०८१ म सुनील सिग्देलले प्राप्त गरिसकेका छन् । ६ वर्षदेखि प्रदान गरिएको पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार यसअघि क्रमशः शिशिर योगी, मिलन नेवार, शिव परियार, मेलिना राई, सन्तोष श्रेष्ठ र कमलीकान्त भेटवाललाई प्रदान गरिएको थियो ।

राष्ट्रका साझा सवाल र गौरवका विषय—नेपाली कला, साहित्य, संगीत, संस्कृति, दर्शन र इतिहास—लाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको प्रतिष्ठानले अध्ययन–अनुसन्धान, प्रकाशन, सम्मेलन, गोष्ठी तथा विभिन्न विमर्शमार्फत नेपाली कलासाहित्यलाई विश्वपरिवेशमा परिचित गराउने प्रतिबद्धता जनाएको छ।



Leave a Reply