श्री केसी अर्थात् राग, साधना र समर्पणका यात्री


सानै उमेरमा रुकुमको एक गाउँबाट निस्किएका थिए— श्री केसी । कक्षा २ देखि ललितपुर स्थित माउन्ट भ्याली स्कुलको होस्टेलमा बसेर पढ्दा उनका लागि सङ्गीत कुनै ‘सिक्ने विषय’ थिएन, न त कुनै ठूलो सपना । होस्टेलको कोठाबाट हरेक शुक्रबार साँझ उठ्ने सामूहिक गायन , दसैँतिर गाउँ फर्कंदा आमा–बुबाले घरायसी काम गर्दै गुनगुनाउने धुन, देउसी–भैलोको ताल ,…

सानै उमेरमा रुकुमको एक गाउँबाट निस्किएका थिए— श्री केसी । कक्षा २ देखि ललितपुर स्थित माउन्ट भ्याली स्कुलको होस्टेलमा बसेर पढ्दा उनका लागि सङ्गीत कुनै ‘सिक्ने विषय’ थिएन, न त कुनै ठूलो सपना । होस्टेलको कोठाबाट हरेक शुक्रबार साँझ उठ्ने सामूहिक गायन , दसैँतिर गाउँ फर्कंदा आमा–बुबाले घरायसी काम गर्दै गुनगुनाउने धुन, देउसी–भैलोको ताल , यी नै थिए उनका पहिलो सङ्गीत–शिक्षक । सोही वातावरणले नदेखिने तर स्थायी रूपमा उनको मनभित्र सङ्गीतको बीउ अङ्कुरित हुँदै थियो । एसएलसीपछि भने जीवन दोहोरो मोडमा पुग्यो । अब के पढ्ने ? र, कता लाग्ने ? जस्ता प्रश्नले उनलाई विचारमग्न तुल्यायो । तिनै क्षण उनले पहिलो पटक थाहा पाए, सङ्गीत औपचारिक रूपमा पनि पढ्न सकिँदो रहेछ !

श्रीलाई एसएलसीअघिसम्म पनि सङ्गीतसम्बन्धी अध्यापन हुने विश्वविद्यालय पनि हुन्छ भन्ने थाहा थिएन । सोही अज्ञानताबीच सुरु भएको यात्राले आज उनलाई नेपालको क्लासिकल गायनका उदीयमान गुरु तथा गायकको स्थानमा पुर्‍याइरहेको छ ।

काठमाडौँमा कलेज पढ्न होस्टेल जीवनबाट डेरा सर्दा उनी जीवनका धेरै मोडमध्ये एउटा महत्वपूर्ण मोडमा थिए । अलिकति खेलकुदतिर मन जान्थ्यो, अलिकति गिटार सिकूँजस्तो पनि लाग्थ्यो । सोही खोजीबीच उनले अग्रज गायिका मीरा राणाको सङ्गीत–कक्षामा ओमकार गर्तौलाबाट केही सेमी–क्लासिकल सिकिसकेका थिए । त्यति बेलासम्म सङ्गीतप्रति लगाव बढ्दै गइरहेको थियो, तर स्पष्ट दिशाचाहिँ अझै पहिल्याइसकेका थिएनन् ।

एक दिन उनले पुल्चोकमा कलानिधि सङ्गीत महाविद्यालय छ भन्ने थाहा पाए, साथीमार्फत । कलानिधिमा उनको भेट भयो— गुरु धनबहादुर गोपालीसँग । गोपालीको पहिलो गायन सुनेको क्षण उनलाई गायनमा लाग्ने हुटहुटी बढ्यो । उनी भन्छन्, ‘मैले त्यस दिन मात्र बुझेँ, क्लासिकल सङ्गीत मात्र गायकी होइन रहेछ, अनुशासन, साधना र विधिसमेत रहेछ ।’ तत्काल उनले सङ्कल्प गरे— अब म सङ्गीतमै लाग्छु । गुरुको मार्गदर्शनमा बिते उनका सात वर्ष । धैर्य, नियम, स्वर–साधना र निरन्तरताका तिनै सात वर्षले उनलाई आजका श्री केसी बनाएका हुन् ।
सङ्गीत सिकाइको क्रममा जीविकोपार्जनका लागि उनी विद्यालयमा ९ र १० कक्षाका विद्यार्थीलाई गणित र विज्ञान पढाउँथे । बिहान–साँझ क्लास र ट्युसन तथा बीचको एक घण्टाको सङ्गीत । सोही लय समात्दै केही वर्ष बिताए ।

उनले सुरुमा गीत सिक्ने उद्देश्यले क्लासिकल प्रशिक्षण सुरु गरेका थिए । तर गुरुहरूको प्रस्तुति सुन्दै जाँदा विशेषत: मोहनप्रसाद जोशी र धनबहादुर गोपालीको गायन, त्यति बेलाको वातावरण र पाटन दरबार स्क्वायरमा नियमित हुने क्लासिकल कार्यक्रमहरूले उनी निकै प्रभावित हुँदै गए । बिस्तारै ‘सङ्गीत सुन्ने’ बाटोबाट उनलाई ‘सङ्गीतभित्रै प्रवेश गर्ने’ यात्रातर्फ धकेल्दै लग्यो ।

आफूले सङ्गीत सिकेको सातौँ वर्षतिर उनीभित्र गहिरो आत्म–अनुभूति पलायो, ‘म सङ्गीतमै करिअर बनाउन सक्छु । अरू धेरै क्षेत्रमा अलमलिएर समय फाल्नु हुँदैन ।’ त्यही समय उनले गुरु गोपालीसँग ‘भारतमा गएर सिक्दा कस्तो होला ?’ भन्ने सल्लाह मागे । भारत जाने सोच उनलाई अर्काे प्रेरक पात्रबाट पनि मिल्यो । उनी थिए, त्यति बेला मास्टर्स गरेर फर्किएका रवीनदास श्रेष्ठ । श्रेष्ठको गायकी, मञ्च–अभिनय र सङ्गीतप्रतिको निष्ठाले केसीलाई गहिरो रूपमा छोयो । सङ्गीतमा पनि उच्च शिक्षाले नयाँ आयाम खोलिदिने रहेछ भन्ने बोध भएपछि उनले बनारस जाने निर्णय गरे ।

नेपालमा उनी खयालको अभ्यास गर्दै थिए । बनारस पुगेपछि भने सङ्गीतको अर्को गहिरो पाटोसँग परिचित भए— ध्रुपद । ध्रुपदका गुरु उदय, विशाल जैनको गायकी र गहिराइले उनी प्रभावित मात्र भएनन्, पूर्ण रूपले तानिए । त्यसपछि ध्रुपद किन नसिक्ने भनेर सिक्न थाले र ध्रुपद विधाको गहिरो अध्ययन गरे ।

बनारसको तुलसीघाटमा हरेक वर्ष हुने अन्तर्राष्ट्रिय ध्रुपद महोत्सव हेर्न जाँदा उनी सो विधासँग अझ नजिकिन पुगे । त्यो महोत्सवको वातावरण, कलाकारहरूको ध्यानमय ऊर्जा र ध्रुपदको कठोर अनुशासनले उनलाई सङ्गीतप्रति झनै समर्पित बनाउँदै लग्यो ।

काठमाडौँ फर्किएपछि उनी गायन सिकाउने कार्यमा लागे । तर, मनभित्र अझै सिक्ने तिर्सना बाँकी नै थियो । सोही क्रममा ध्रुपद–मेलाको एक प्रस्तुतिका बेला उनको भेट पण्डित उदय भावकर गुरुसँग पुन: भयो । उनले भावकरलाई नेपालमा ध्रुपद वर्कसपमा ल्याए । लकडाउनअघि र पछि गरिएका दुईवटा वर्कसपपछि उनी र गुरु उदयबीचको आत्मीयता बढ्दै गयो । उनी केही समयअघि मात्र पुनामा गई एक महिनासम्म गुरु उदयको गुरुकुलमा बसेर फर्किएका हुन् ।

केसी प्रशिक्षकसमेत हुन् र खयाल सिकाउँछन् । उनको सिकाउने शैली भने फरक छ । सिकाउँदाखेरि हार्मोनियम प्रयोग गर्दैनन्, विद्यार्थीहरूलाई सधैँ तानपुरामै अभ्यास गराउँछन् । प्रारम्भिक आलापहरू ध्रुपद शैलीमा गराउने र त्यसपछि खयालको कम्पोजिसनमा प्रवेश गराउँदा तान, खटका, मुट्कीजस्ता परम्परागत अलङ्कारहरूमा जोड दिनु नै उनको प्रशिक्षणको मूल आधार हो ।

आफूकहाँ प्रशिक्षणका लागि आउने अधिकांश विद्यार्थीलाई उनी ध्रुपद र खयाल दुवैको भेद, सौन्दर्य र अभ्यासशैली बुझाउँछन् । धेरै विद्यार्थी खयालतिर झुक्ने गर्छन्, कारण यसको व्यापक लोकप्रियता । तर इच्छाशक्ति र लगन भएका विद्यार्थीले ध्रुपद पनि गाउन सक्छन् । केसी भन्छन्, ‘व्यक्तिगत रूपमा मैले आधुनिक सङ्गीतमा धेरै सम्भावना देखिनँ । क्लासिकलमै मेरो रुचि बढ्दै गयो र यसैमा म फिट छु भन्ने लाग्यो ।’

नेपालमै सिक्दै गर्दा उनले थुप्रै स्टेज–प्रस्तुति दिए, जसले उनीभित्र आत्मविश्वास मात्र बढेन, सङ्गीतको गहिरो आनन्द पनि दिलायो । घण्टौँसम्म सुन्न, गाउन र बजाउन पनि सकिने सङ्गीत । क्लासिकल गायनलाई सङ्गीत यात्राका रूपमा स्विकारेका उनले रागकै बन्दिसहरू कम्पोजिसन गर्ने थाले । राग सङ्गीतमा सबैभन्दा पुरानो परम्परा के हो भन्ने खोजी–कार्यमा पनि जुटे ।

करिब डेढ दशकभन्दा लामो समयदेखि उनी त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा कार्यरत रही गायन सिकाइरहेका छन् । बनारसबाट फर्किएपछि पाँच वर्ष पद्मकन्या क्याम्पसमा समेत पढाएका उनी अचेल ललितकला केन्द्रीय विभागमा कार्यरत छन् ।
अचेल उनीकहाँ नाम चलेका गायक–गायिकाहरू पनि सङ्गीत सिक्न आइरहेका हुन्छन् । स्थापित गायक–गायिकाहरू क्लासिकल ज्ञान लिनका लागि आउनु ठूलो कुरा मान्छन् उनी । भन्छन्, ‘जोकोहीसँग हिम्मत हुँदैन, उनीहरू आफैँ स्थापित भइसकेका सेलिब्रेटीहरू हुन् । सिक्नका लागि धैर्यताका साथै ठूलो आँटसमेत लिएर आउनुपर्छ ।’ अहिले उनीसँग निशा देशार, बानिका प्रधान, प्रतापदासले सिकिरहेका छन् । केही समय पहिले एड्रिन प्रधान, रामभक्त जोजिजू, प्रीति कौर, प्राश्ना शाक्य आदिले पनि उनीसँग क्लासिकल सङ्गीत सिकेका थिए ।

केसी यस्ता गायक हुन्, जो ध्रुपद गाउन रुचाउँछन् । उनले आफ्नो क्लासिकल परम्परालाई त अगाडि लगिरहेकै छन्, तर पनि उनी सङ्गीत सबै विचारलाई स्विकार्ने हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनीकहाँ चिल्लीका दुई जना साथी, त्यसमा पनि तोमस ध्रुपद सिक्न आएका थिए । तोमस पण्डित हरिप्रसाद चौरसियाको गुरुकुलमा बसेर बाँसुरी सिकेर आएका थिए । उनले केजेसीमा क्याट ज्याज फेस्टिबलमा केसीद्वारा निर्मित कम्पोजिसनमा ज्याज म्युजिसियनहरूले पूरै क्लासिकल नै बजाएका थिए । उनी भन्छन्, ‘राग भनेको स्वर मात्रै होइन, स्केल मात्र पनि होइन, रागको आफ्नै फिलोसफी छ, त्यसको प्युरुटी छ, नियम छ ।’ उनी भन्छन्, ‘आफूले गर्ने कार्य त छँदै छ तर अरूको कुरालाई पनि स्विकार्नुपर्छ । हाम्रो मात्र सङ्गीत राम्रो होइन, सबै सङ्गीत राम्रा हुन्छन् ।’ उनले गत वर्ष चिल्लीको गीत पनि गाए । भन्छन्, ‘आफ्नो गायन त गरि नै रहेको छु, अरूको पनि सिक्न र गाउन पाउनुलाई म मौकाको रूपमा लिन्छु ।’

उनले भारतमा आयोजित ५–६ वटा अन्तर्राष्ट्रिय ध्रुपद मेलामा गाइसकेका छन् । पछिल्लो पटक ५८ औँ वार्षिकोत्सवका बेला ध्रुपद मेलामा त्यस वर्षको ‘योङ आर्टिस्ट अफ दि इयर’ नामक अवार्ड पनि पाएका थिए । सो अवार्डलाई उनी आफ्नो जीवनकै सबैभन्दा उत्कृष्ट अवार्ड ठान्छन् ।

रियालिटी शोका कारण पनि अहिले सङ्गीत सिक्नुपर्छ भन्ने पङ्क्ति बढिरहेको उनको अनुभव छ । केही वर्ष अघिसम्म पनि नेपालमा गायक/सङ्गीतकारको एक प्रकारको सिन्डिकेटजस्तो थियो । चार–पाँच जनाको मात्रै ‘फेस’ चलिरहेको थियो । तर, रियालिटी शोले गर्दा धेरै कलाकार सतहमा आए । अहिलेका धेरैजसो युवा गायक–गायिकाहरू कुनै न कुनै रियालिटी शोबाटै आएका हुन् । केही समयअघिसम्म रियालिटी शोमा क्लासिकल चल्दैन भन्ने थियो, तर भर्खरैको ‘मेरो भ्वाइस युनिभर्स’मा तीनवटा त क्लासिकल पर्फमेन्स नै भए र त्यसलाई एकदमै रुचाइयो ।

केसी बढीजसो आफूले सिकाउन रागहरूमा आफ्नै कम्पोजिसन गर्छन् । बन्दिसहरू पनि आफैँ बनाउँछन् । खयालमा त ७० वटा जति कम्पोजिसन गरिसकेका छन् । ध्रुपदमा चाहिँ तीन–चारवटा कम्पोजिसन मात्र गरिरहेका छन् । उनी भन्छन्, ‘अहिले केही लाइट कम्पोजिसन पनि गरेको छु तर लाइट नै गरे पनि राग नै चाहिँ आउँछ ।’
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *