‘वेडिङ वर्ल्डकी ग्रेटा’ संयुक्ता श्रेष्ठ लन्डन वेडिङ अवार्ड्स २०२६ मा मनोनीत


बेलायतमा रहेर नेपाली पहिचान, परम्परागत सीप र दिगो फेसनलाई विश्वमञ्चमा स्थापित गर्दै आएकी चर्चित फेसन डिजाइनर संयुक्ता श्रेष्ठ फेरि एकपटक अन्तर्राष्ट्रिय चर्चामा आएकी छन्। उनको प्रतिष्ठित बुटिक ‘लन्डन वेडिङ अवार्ड्स २०२६’ को “Wedding Boutique of the Year” विधामा फाइनलिस्टको रूपमा मनोनीत भएको छ । यो मनोनयन दिगोपन (Sustainability) , महिला सशक्तीकरण र परम्परागत हस्तकलालाई विश्व…

बेलायतमा रहेर नेपाली पहिचान, परम्परागत सीप र दिगो फेसनलाई विश्वमञ्चमा स्थापित गर्दै आएकी चर्चित फेसन डिजाइनर संयुक्ता श्रेष्ठ फेरि एकपटक अन्तर्राष्ट्रिय चर्चामा आएकी छन्। उनको प्रतिष्ठित बुटिक ‘लन्डन वेडिङ अवार्ड्स २०२६’ को “Wedding Boutique of the Year” विधामा फाइनलिस्टको रूपमा मनोनीत भएको छ । यो मनोनयन दिगोपन (Sustainability) , महिला सशक्तीकरण र परम्परागत हस्तकलालाई विश्व फेसन उद्योगमा स्थापित गर्ने अभियानको अन्तर्राष्ट्रिय मान्यता पनि हो।

दिगो फेसनकी अगुवा

सन् २०११ देखि लन्डन फेसन क्षेत्रमा सक्रिय संयुक्ता श्रेष्ठले वातावरणमैत्री फेसनलाई आफ्नो पहिचान बनाउँदै आएकी छन्। आज ‘सस्टेनेबल फेसन’ विश्वव्यापी बहसको विषय बने पनि उनले यस्तो अवधारणामा काम सुरु गर्दा यो शब्द नै धेरैका लागि अपरिचित थियो।

उनको ब्रान्ड केवल सौन्दर्यमा सीमित छैन, “Beauty with a Conscience” अर्थात् “विवेकसहितको सौन्दर्य” को दर्शनमा आधारित छ। यस अवधारणाले फेसनलाई केवल आकर्षक पहिरन नभई सामाजिक उत्तरदायित्व र वातावरणीय संवेदनासँग जोडेको छ।

नेपाली सीपको विश्वव्यापी पहिचान

संयुक्ता श्रेष्ठको डिजाइनको विशेषता भनेको नेपाली परम्परागत सीप र महिला शिल्पीहरूको योगदान हो। उनका अधिकांश डिजाइनहरू दक्ष नेपाली महिला हस्तकलाकर्मीहरूको मेहनतबाट तयार हुन्छन्। परम्परागत सीप, उचित पारिश्रमिक र महिला सशक्तीकरणलाई जोड्दै उहाँले फेसन उद्योगलाई नयाँ दृष्टिकोण दिएका छन्।

हालै सार्वजनिक भएको उनको लन्डन फेसन विक डकुमेन्ट्रीले पनि डिजाइन प्रक्रियामा संलग्न ९५ प्रतिशत नेपाली महिला शिल्पीहरूको कथा उजागर गरेको थियो। यसले फेसन उद्योगभित्र ‘अदृश्य नायक’ का रूपमा काम गर्ने नेपाली महिलाहरूलाई विश्वसामु चिनाएको छ।

फेसन म्युजियमसम्म पुगेको नेपाली सिर्जना

संयुक्ता श्रेष्ठ नेपाली मूलकी पहिलो डिजाइनर हुन्, जसको सिर्जना विश्वप्रसिद्ध फेसन म्युजियमको संग्रहमा सुरक्षित राखिएको छ । १६औँ शताब्दीदेखिका ऐतिहासिक फेसन सामग्री समेटिएको उक्त संग्रहालयमा उहाँका डिजाइन समावेश हुनु नेपाली फेसन इतिहासकै ठूलो उपलब्धि मानिन्छ ।

उनको डिजाइनहरू ओस्कार, बाफ्टा र कान्सजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय रेड कार्पेटसम्म पुगिसकेका छन्। विश्व चर्चित मोडल तथा कलाकारहरूले उहाँका सिर्जना पहिरिसकेका छन्, जसले नेपाली सिर्जनात्मकताको अन्तर्राष्ट्रिय प्रभावलाई अझ मजबुत बनाएको छ।

“फेसनले मानिस र पृथ्वी दुवैका लागि राम्रो काम गर्नुपर्छ”

मनोनीत भएपछि संयुक्ता श्रेष्ठले यो सम्मान दुलही समुदाय, फेसन विज्ञ र आफ्नो सम्पूर्ण टिमको साझा उपलब्धि भएको बताएकी छन्। उनको अनुसार फेसन केवल राम्रो देखिनु मात्र होइन, समाज र वातावरण दुवैप्रति उत्तरदायी हुनुपर्छ।

उनले विशेष रूपमा महिला शिल्पीहरूको योगदानलाई आफ्नो ब्रान्डको “मुटु” को रूपमा व्याख्या गर्दै परम्परागत सीपलाई जोगाउनु भविष्य निर्माण गर्नु सरह भएको उल्लेख गरेकी छन्।

विश्व फेसनमा नेपाली उपस्थिति

मे १३ मा आयोजना हुने ‘लन्डन वेडिङ अवार्ड्स २०२६’ को अन्तिम समारोहअघि नै संयुक्ता श्रेष्ठको यो मनोनयन नेपाली फेसन उद्योगका लागि प्रेरणादायी उपलब्धि बनेको छ। यसले परम्परा, दिगोपन र सामाजिक उत्तरदायित्वलाई जोडेर पनि विश्वस्तरीय सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।

नेपालको मौलिक हस्तकला र महिला सीपलाई विश्व फेसनको केन्द्रमा पुर्‍याउने संयुक्ता श्रेष्ठ आज केवल फेसन डिजाइनर मात्र होइनन्, दिगो र जिम्मेवार फेसन आन्दोलनकी प्रभावशाली आवाज बनेकी छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *