लालीबजार : बाबुको सपना र आमाको संघर्ष


लालीबजार हेरिसकेपछि मलाई लाग्यो – हुलाकीले घरघर चिठ्ठी मात्र पुर्याउँदैन, सामाजिक रुपान्तरण र चेतनाको उज्यालो पनि बोक्छ, छर्छ र अन्तत: समाजलाई बदल्छ । देहव्यापारको दलदल, पितृसत्तात्मक समाजको दोहोरो चरित्र र सन्तानको शिक्षाका लागि बाबु र आमाको बेग्लाबेग्लै संघर्षलाई फिल्ममा उतारिएको छ । लालीबजार मा स्वस्तिमा खड्काको सार्है सशक्त अभिनय छ ! रविन्द्रसिंह बानियाको भूमिका बेजोड…

लालीबजार हेरिसकेपछि मलाई लाग्यो – हुलाकीले घरघर चिठ्ठी मात्र पुर्याउँदैन, सामाजिक रुपान्तरण र चेतनाको उज्यालो पनि बोक्छ, छर्छ र अन्तत: समाजलाई बदल्छ ।

देहव्यापारको दलदल, पितृसत्तात्मक समाजको दोहोरो चरित्र र सन्तानको शिक्षाका लागि बाबु र आमाको बेग्लाबेग्लै संघर्षलाई फिल्ममा उतारिएको छ । लालीबजार मा स्वस्तिमा खड्काको सार्है सशक्त अभिनय छ ! रविन्द्रसिंह बानियाको भूमिका बेजोड छ ।फिल्मले सामाजिक विभेद र त्यसविरुद्ध उठाउनु पर्ने कदमलाई फिल्मीशैलीमा सबैले बुझ्ने गरी प्रस्तुत गरेको छ ।

नेपाली फिल्मले धेरैपछि मन मात्र जितेन । नेपाली फिल्म उद्योगमा भोलिका दिनप्रति थप आशावादी हुने अवसर पनि दियो ।

विषयबस्तु, निर्देशन र अभिनय बेजोड

’लालीबजार’ को तीन कुरा निकै अब्बल छन् – विषयवस्तु, निर्देशकीय पक्ष र कलाकारको अभिनय ।

र फिल्म चल्नलाई चाहिने मुख्य कुरा पनि यही नै हुन् ।

विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयले नै हो लालीबजारलाई उत्कृष्ट बनाएको ।जुन विषयबस्तु निर्माण पक्षले छनौट गरेको छ । त्यसका लागि ठुलै साहसको जरुरत पर्छ । फिल्म सामाजिक सन्देशसहित मनोरन्जनात्मक बनेको छ । फिल्मले आमा र छोरीको भावनात्मक सम्बन्ध निकै राम्रोसँग प्रस्तुत गरेको छ।

फिल्म चल्न एउटा दृश्य वा एउटा संवाद मात्र बलियो भएर पुग्दैन। त्यसका लागि समग्र दुई घण्टाको कथा र भावनाको ग्राफ बलियो हुनुपर्छ। यस चलचित्रले दर्शकको भावनालाई छुन सफल भएको छ। त्यसैले त हलमा पुग्दा नसोचेका दृश्यहरूमा समेत दर्शकहरू भावुक भइरहेका छन्। विशेषगरी फिल्ममा प्रस्तुत गरिएको आमा र छोरीको सम्बन्ध, बन्डिङ र केमेस्ट्रीले जो कोहीलाई प्रभाव पार्छ । 

फिल्ममा स्वस्तिमा खड्काको अभिनय उत्कृष्ट छ । उनले निर्वाह गरेको भूमिकाले हरेक दर्शकको मन जित्छ । लालीबजारमार्फत स्वस्तिमाले आफ्नो अभिनय क्षमता पुनः प्रस्ट्याएकी छिन् । रविन्द्रको भूमिका र अभिनय दुबै जवरजस्त । बाँकी कलाकारले पनि खोट लगाउने ठाउँ दिएका छैनन् ।

फिल्मले आमा र छोरीको भावनात्मक सम्बन्ध निकै राम्रोसँग प्रस्तुत गरेको छ।

म फिल्म हेर्न श्रीमती र छोरीसँग गएको – आमा र छोरीसँग । उनीहरु दुबैको प्रतिक्रिया गज्जव थियो । कलेजमा नेपाली र स्कुलमा सामाजिक पठाउने मेरी श्रीमती सविता पाण्डे भन्छिन्, ‘यो आमा र छोरीको कथा हो । अझ योभन्दा बढ्ता हाम्रो समाजकोएउटा गलत पाटोको चित्रण हो । यो फिल्मले हामीलाई सामाजिक विषयमा सोच्न बाध्य बनाउँछ ।’

फिल्म हेरिसकेपछि पाँच कक्षामा पढ्ने मेरी छोरी मनुश्री भन्छिन्, ‘सबैका बाबाले आफ्नी छोरीलाई फकाई फकाई पढाउने रहेछन् ।’

सभ्य’ भनिने समाजको दोहोरो चरित्र

यो समाज महिलाहरूलाई अँध्यारो कोठामा उपभोग गर्न त तयार हुन्छ, तर उज्यालोमा आफ्नो परिवार वा समाजको हिस्सा बनाउन किमार्थ तयार हुँदैन। ‘सभ्य’ भनिने समाजको यो दोहोरो चरित्र नै फिल्मको मुख्य द्वन्द्व हो । पश्चिम नेपालको बर्दिया जिल्ला, विशेषगरी राजापुर क्षेत्रलाई मुख्य लोकेशन बनाएर छायांकन गरिएको यस फिल्मले ऐतिहासिक तथा सामाजिक यथार्थलाई समेटेको छ ।

‘लालीबजार’ पश्चिम नेपालको बादी समुदायको कथा र उनीहरूले भोगेका सामाजिक, आर्थिक तथा सांस्कृतिक पीडामा आधारित पिरियड फिल्म हो । २०४३ सालदेखि २०५८ सालसम्मको समयावधिलाई समेटिएको यस फिल्मले तत्कालीन समाजमा विद्यमान असमानता, सत्ताको दुरुपयोग र कमजोर समुदायमाथि भएका अन्यायलाई चित्रण गरेको छ ।

‘बन्दुक नै लिएर आउनु भयो त राजासाहेव, केसँग डर लाग्यो ?’ खिसीट्युरीको यो सम्वादबाट सुरु भएको फिल्म राजासाहेवबाट नै ट्रिगर दबाउन सिकेकी मधुवालले बन्दुक हानेपछि सकिन्छ । यसबीचमा फिल्मका प्रत्येक दृश्यले दर्शकलाई खिचिरहन्छ ।

फिल्मको कथावस्तु अनुसार, बादी समुदायका महिलामाथि हुने शोषण, ‘नथी’ जस्ता परम्परागत अभ्यासमार्फत गरिने नियन्त्रण तथा स्थानीय सत्ताधारी वर्गको प्रभावलाई केन्द्रमा राखिएको छ । ‘नथी’ भन्ने परम्पराले महिलाहरूलाई सम्पत्तिजस्तो व्यवहार गर्ने प्रवृत्ति देखाउँथ्यो । विशेषगरी एउटा आमाले आफ्नी छोरीलाई त्यस्तो दमनकारी परिवेशबाट जोगाउन गरेको संघर्षलाई फिल्मको मुख्य कथा बनाइएको छ ।

‘लालीबजार’ केवल मनोरञ्जनका लागि मात्र नभइ सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरिएको फिल्म हो । एउटी आमाले आफ्नी छोरीलाई दमनकारी परिस्थितिबाट जोगाउन समाज र सत्तासँग गरेको संघर्षलाई मुख्य कथावस्तु बनाइएको छ । फिल्ममार्फत बादी समुदायले भोगेका पीडा र यथार्थलाई सम्मानपूर्वक प्रस्तुत गर्ने प्रयास गरिएको छ – यो मलाई सबैभन्दा बढि मन परेको हो ।

सीमित श्रोतमा कलात्मक विद्रोह

हो, नेपाली फिल्म उद्योग अहिले रुपान्तरणको लयमा छ । नयाँ पुस्ता अध्ययन, तालिम र अन्तर्राष्ट्रिय अनुभव लिएर फिल्म क्षेत्रमा काम गरिरहेका छन् । जसका कारण भविष्यप्रति आशा बढेको छ । यही उद्योगमा पहिले सिक्दै–गर्दै काम गर्नुपर्थ्यो, अहिले सिकेर आउने पुस्ता छ । यसले उद्योगलाई अझ अगाडि लैजान सक्छ । त्यसो त अझै पनि प्रविधि र लगानीमा हामी कमजोर नै छौं ।

तर पनि उपलब्ध प्रविधि र लगानीमा लालीबजारले नेपाली समाजको एउटा कालखण्डको क्रुर र पीडादायी विभेदको विषयलाई ‘कलात्मक र सशक्त ढङ्गबाट चित्रण गरेको छ । यसले कलात्मक रुपमा विद्रोह बोलेको छ। यो एउटा आमाको कथा हो, जहाँ आमाले छोरीका लागि गर्ने सङ्घर्षलाई देखाइएको छ। यो फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गरेको छ ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय छ।यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् । विशाल थियटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभियन्ताकी रूपमा परिचित छिन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। यम थापाले यसअघि ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषयप्रधान फिल्मको निर्देशन गरिसकेका छन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्।

manilohani47@gmail.com

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *