लोकार्नो फिल्म फेस्टिभलमा थिन्ले ल्हामो उत्कृष्ट अभिनेत्री


मीनबहादुर भामद्वारा निर्देशित नेपाली फिल्म ‘साम्बाला’ को मुख्य भूमिकामा रहेकी अभिनेत्री थिन्ले ल्हामोले स्विट्जरल्यान्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित

मीनबहादुर भामद्वारा निर्देशित नेपाली फिल्म ‘साम्बाला’ को मुख्य भूमिकामा रहेकी अभिनेत्री थिन्ले ल्हामोले स्विट्जरल्यान्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डीओर’ अवार्ड जितेकी छन् ।

प्रतिष्ठित र पुरानो फिल्म फेस्टिभल मानिने लोकार्नोमा थिन्लेले जितेको उक्त अवार्ड दक्षिण एसियाली कलाकारमा नै पहिलो रहेको भन्दै ‘साम्बाला’ युनिटले जितलाई ऐतिहासिक सफलताका रूपमा हेरेको जनाएको छ । ‘फिल्मको मुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेकामा हामी निकै रोमाञ्चित र गौरवान्वित भएका छौं,’ फिल्म निर्माण पक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दक्षिण एसियाली कलाकारले पहिलो पटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता पाएका हुन् ।’

लोकार्नो फिल्म फेस्टिभलको मुख्य विधामा नै प्रतिस्पर्धाका लागि छनोट हुने पहिलो नेपाली बनेको ‘साम्बाला’ डोल्पाको झन्डै ६ हजार मिटर उचाइमा खिचिएको हो । भामकै सर्टफिल्म ‘बासुल्ली’ यसअघि भेनिस फिल्म फेस्टिभलमा पुग्ने पहिलो नेपाली फिल्म बनेको थियो भने उनैद्वारा निर्देशित फिल्म ‘कालोपोथी’ ले भेनिस क्रिटिक्स विकमा ‘फेडेरा बेस्ट फिल्म अवार्ड’ जितेको थियो ।

‘साम्बाला’ मा थिन्लेले बहुपति प्रथाअनुसार विवाह गरेकी एक डोल्पाली महिला पेमाको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा हिमाली क्षेत्रको संघर्षपूर्ण जीवनयापन अन्त्य गर्दै जीवनमा नयाँ खोज र स्वतन्त्रताका लागि पेमाले गरेको जोखिमयुक्त यात्रालाई थिन्लेले अभिनयमार्फत जीवन्त पारेकी छन् । थिन्लेसहित फिल्ममा सोनाम तोप्देन, तेन्जिङ दल्हा, कर्मा शाक्य, कर्मा वाङग्याल गुरुङ, लोतेन नाम्लिङ, जंगबहादुर लामा, छिरिङ ल्हामो गुरुङलगायतको अभिनय रहेको छ । निर्देशक भामले अविनाशविक्रम शाहसँग मिलेर तयार गरेको फिल्मको पटकथा लेखेका हुन् भने यसमा संगीत न्ह्यु बज्राचार्यको रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *