हाम्रो मूल मन्त्र चालक गन्तव्यमा छिटो होइन, सुरक्षित पुगोस् भन्ने हो


काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको दायित्व लिएपछि एसएसपी विनोद घिमिरेको दैनिकी व्यस्त बनेको छ । प्रदूषण चेकजाँचदेखि चालक÷पैदलयात्रु केन्द्रित सचेतना अभियान आदिले उनको व्यस्तता बढाइदिएको छ ।

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको दायित्व लिएपछि एसएसपी विनोद घिमिरेको दैनिकी व्यस्त बनेको छ । प्रदूषण चेकजाँचदेखि चालक ,पैदलयात्रु केन्द्रित सचेतना अभियान आदिले उनको व्यस्तता बढाइदिएको छ । व्यस्त दिनचर्याकै बीच गत पुसमा मात्रै सडक दुर्घटनाबाट उपत्यकामा २० जनाको मृत्यु भएपछि सडक अनुशासन कायम राख्नु उनका लागि ठूलो चिन्ता र चुनौतीको विषयमा बनेको छ । काठमाडौँ उपत्यकाको ट्राफिक कार्यालयको प्रमुख जिम्मेवारी सम्हालेलगत्तै विभिन्न अभियान चलाइरहेका एसएसपी घिमिरेसँग वाह ! जिन्दगी प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश :

काठमाडौँको सडकमा ट्राफिक जाम सधैँको समस्या हो, घण्टौँ जाममा बस्नुपर्दा चालकको गुनासो हुने नै भयो, पैदलयात्रु पनि सकसमै देखिन्छन्, यो अवस्थामा ट्राफिकचाहिँ के हेरेर बसेको छ ? हालै ट्राफिक व्यवस्थापनको दायित्व लिनुभएको तपाईंले देख्नुभएको चुनौती के हुन् ? 

विगतको तुलनामा राजधानीको ट्राफिक व्यवस्थापनको अवस्था सुध्रिएको छ । केही वर्षअघिसम्म कतिपय ठाउँमा ट्राफिक लाइटसमेत हुँदैनथ्यो, अहिले छ । सवारी चालकहरू पनि सडक अनुशासनमा बिस्तारै अभ्यस्त हुँदै गएको पाइन्छ । कम्तीमा रातो बत्तीमा रोकिनुपर्ने अनुशासन पालना हुन थालेको छ । अन्यथा, सडक खाली भएका बेला रातो बत्तीको बेवास्ता गर्ने प्रवृत्ति कैयौँ पाइन्थ्यो । 

त्यसो भनेर सबै ठीकठाक भने होइन । काठमाडौँ उपत्यका पुरातात्विक दृष्टिले महत्वपूर्ण सहर हो । यहाँको सडकमा सवारी साधन थपिएका थपियै छन् । तर, पर्याप्त सडक विस्तार हुने अवस्था छैन । त्यसर्थ, ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुने नै भयो । यद्यपि, चुनौतीका बाबजुद पनि यहाँले प्रश्न गरेजस्तो ट्राफिक व्यवस्थापनमा ठूलो समस्या छैन । सडक अनुशासन पूर्ण रूपमा पालन गराउन शिक्षा र सचेतनाको आवश्यकताचाहिँ छ । 

सेचतना कार्यक्रम बेला–बेलामा चलाइरहेकै हुन्छ, ट्राफिक । अहिलेचाहिँ कस्तो खालको शिक्षा र सचेतनाको आवश्यकता देख्नुहुन्छ ?

पहिलो सचेतना सवारीका चालकलाई दिनुपर्ने देखिन्छ । चालकहरू मनलाग्दी हर्न बजाइरहेका हुन्छन् । हर्न जुन बेला पनि बजाउने कुरा होइन भनेर सिकाउनु जरुरी छ । ट्राफिक प्रहरी ‘नो हर्न’ को ब्यानर बोकेर बसेको हुन्छ, चालक त्यही अघिल्तिर पुगेर हर्न थिचिरहेको भेटिन्छ । रातो बत्तीमा रोकिँदा पनि हर्न बजाइरहेको भेटिन्छ । बाटोको रेस्टुरेन्टमा भएको साथीलाई सवारी साधनमा कुरी बसेको साथीले हर्न बजाएर बोलाउँछ । अगाडि एउटा सवारी साधन कारणवश रोकिएको छ, हर्न बजाउँदैमा त्यो हटिहाल्ने अवस्था छैन, तैपनि हर्न बजाइहाल्ने प्रवृत्ति छ । यसले चालकको सडक संस्कारमाथि गम्भीर प्रश्नचिह्न खडा गर्छ । 

सडकमा कतै घुम्ती छ, विपरीत दिशाबाट आएको अर्को सवारी साधन देखिँदैन भने हर्न बजाउनु आवश्यक पर्छ । अर्को, त्यस्तो अवस्था जहाँ हर्न नबजाउँदा ठूलो दुर्घटना हुन सक्छ, त्यो विशेष परिस्थितिमा हर्न बजाउन आवश्यक पनि पर्छ । तर, जहाँ पायो त्यहीँ हर्न बजाउने जुन प्रवृत्ति चालकमा छ, त्यसमा कमी ल्याउन सचेतना आवश्यक छ । विकसित देशहरूमा हर्न बजाउनुलाई असभ्यता मानिन्छ । यसले सहरमा ध्वनि प्रदूषण बढाउँछ । सहर नै असभ्यजस्तो देखिन्छ । त्यसकारण अति आवश्यक पर्दाबाहेक हर्न नबजाउने संस्कार चालकमा विकास हुनुपर्छ । 

कतिपय अवस्थामा सचेत हुँदाहँुदै चालकले हर्न बजाउनैपर्ने अवस्था पनि निम्तिन्छ । जस्तो, पैदलयात्री जेब्राक्रस नभएको ठाउँमा जथाभावी बाटो काटिदिन्छन् । रातो बत्तीले रोकिएका बाइक, गाडीहरू ‘लेफ्ट टर्निङ’ अवरुद्ध गरेर बस्छन्, त्यस्तो अवस्थामा हर्न नचाहेर पनि बजाउनुपर्ने अवस्था आउँछ नि ? 

हो, तपाईंले उठाएको सन्दर्भ उचित नै हो । हामीले ट्राफिक नियम चालकका लागि मात्रै भनेका छैनौँ । पैदलयात्री पनि सचेत हुनु आवश्यक छ । कतिपय बेला पैदलयात्रु यति लापर्वाह देखिन्छन् कि तिनको ज्यान अरूले बचाइदिनुपर्ने जस्तो अवस्था आउँछ । जेब्राक्रस नभएको ठाउँमा दुईतिर नहेरी मोबाइलमा कुरा गर्दै बाटो काट्ने पैदलयात्री भेटिन्छन् । कम्तीमा जेब्राक्रसबाट सडकको दुवैतिर हेरेर ट्राफिक लाइटमा बाटो काट्ने सङ्केत देखिएपछि मात्रै काट्नुपर्छ नि ! हामीले अहिले यस्तै सन्देश र सचेतना दिन दुईपाङ्ग्रे सवारी चालक र पैदलयात्रुलाई केन्द्रित बनाएर पनि अभियान चलाएका छौँ । 

विगतदेखिकै रेकर्ड हेर्दा, सडक दुर्घटनाका हिसाबले सबैभन्दा बढी क्षति दुईपाङ्ग्रे सवारी साधन र चालक अनि पैदलयात्रीलाई छ । पुस महिनामा मात्रै २० जनाको मृत्यु भयो, उपत्यकामा मात्रै । त्यसकारण पनि हामीले ‘चालकसँग दुई मिनेट’ दुईपाङ्ग्रेका चालक केन्द्रित अभियान चलाएका हौँ । 

कस्तो हो यो अभियान ? दुई मिनेटमा चालकसँग के कुरा गर्ने ? 

हामीले ठाउँठाउँमा दुईपाङ्ग्रे सवारीका चालकलाई रोकेर सडक दुर्घटनाका हिसाबले सबैभन्दा थ्रेटमा पैदलयात्री र दुईपाङ्ग्रेका चालक भएको अवगत गराउँदै उहाँहरूलाई सचेत रहन आग्रह गरेका छौँ । मापसे गरेर सवारी साधन चलाउने, बायाबाट ओभेरटेक गर्ने, मोटरसाइकल चलाउँदा हेलमेटभित्रै मोबाइल राखेर प्रयोग गरिदिने, यी यस्ता कारण हुन् जसले सडक दुर्घटना निम्त्याउँछ र बढाएको पनि छ । यी कुरा हामीले चालकलाई भन्छौँ, बुझाउँछौँ । 

हामी आफैँ सोचौँ त, रेस्टुरेन्ट साथीसँग बस्दा वा अन्यत्र बस्दा हामीलाई खासै हतार हुँदैन, तर जब सवारी साधन झिकेर सडकमा निस्किन्छौँ, अनि गन्तव्यमा पुग्ने हतारो हामी सबैजसोमा देखिन्छ । हामी सोच्छौँ, बाटोमा कतै रोकिनु नपरोस्, ब्रेक न नथिची गन्तव्यमा पुग्न पाऊँ भनजस्तो सोच्छौँ । के काठमाडौँको सडकमा त्यस्तो अवस्था सम्भव छ ? यही कुरा हामीले चालकलाई बुझाउन खोजेका हौँ । बरु, दस मिनेट छिटो हिँड्नुस् तर गन्तव्यमा पुग्ने हतारोले दुर्घटना निम्त्याउने काम नगर्नोस् भन्ने हाम्रो मुख्य सुझाव र शिक्षा हो । हाम्रो मूल मन्त्र नै हो, चालक गन्तव्यमा छिटो होइन, सुरक्षित पुग्नुपर्छ । यही कुरा चालकसँग दुई मिनेट अभियनमा हामीले बतायौँ । 

मापसे चेकिङले दुर्घटना त केही घट्यो नि, होइन ?

मापसे जाँच कडिकडाउ गरिएको छ । म आएपछि राति मात्रै वा एउटै ठाउँमा मापसे जाँच्ने कुरामा क्रमभङ्ग गरेको छु । हामी अहिले छड्के चेक गर्ने गर्छौं । दिउँसै पनि पिकनिक गएर मदिरापान गरेर सवारी चलाउने गरेको पाइन्छ । हामीलाई यस्तो चेक गर्दा चालक गाली गर्नुहुन्छ, रिसाउनुहुन्छ, तर हामी ती सबै सहेर चेक गरिरहेका हुन्छौँ । ट्राफिक नियम पालन गर्नोस्, दुर्घटना नहोस् भन्ने मात्रै हाम्रो स्वार्थ हो । पुसमा सडक दुर्घटनामा २० जनाको मृत्यु भएपछि मापसेलगायतका जाँच अलि बढाएका छौँ । विशेष गरेर दुईपाङ्ग्रे सवारी चालकलाई केन्द्रित गरेका छौँ । त्यस्तै काठमाडौँ महानगरपालिकासँगको समन्वयमा सवारी साधनको प्रदूषण चेकजाँच पनि अघि बढाएका छौँ । प्रदूषण जाँचपासमा पास नहुनेलाई कारबाही गरेका छौँ । अब छिटै ललितपुर महानगरपालिकाको समन्वयमा प्रदूषण जाँच अघि बढाउने योजनामा छौँ । 

अनि, यो स्पिड नाप्ने नाममा सडक–सडकमा क्यामेरा तेस्र्याएर चालकलाई किन आतङ्कित पारेको ? थोरै स्पिड बढे पनि चिट काट्ने गरेको प्रति चालकहरू असन्तुष्टि पोख्दै यस्तो चेकजाँचलाई ‘पासो’ को संज्ञा दिन्छन् त ? 

त्यसरी सोच्न मिल्दैन । यो प्रविधिको प्रयोग हो, दुर्घटना घटाउन । हामीले क्यामरा जडान ती ठाउँमा गरेका छौँ, जहाँ ओभरस्पिडले दुर्घटना बढी हुन्छन् । खासमा यो क्यामरा राख्ने प्रणाली उपत्यकाभरि नै विस्तार गर्न ढिला भइसकेको छ । सडकमा गाडी गुडाउने एउटा निश्चित मापदण्ड हुन्छ, त्यसलाई चालकले पछ्याउनुपर्छ । चालकले सोचेजस्तो धेरै स्पिडमा चलाउने सडक नै छैन, काठमाडौँमा । 

त्यसो त पैदलयात्रुका लागि पनि त पर्याप्त सुविधा छैन । पैदलयात्रीलाई चाहिँ कसरी सडकमैत्री बनाउने, यसमा के सोचेको छ ट्राफिकले ? 

खासमा पैदलयात्रुले सडकमा हिँड्दा आपैmँ पनि सचेत हुनुपर्छ । अहिले विभिन्न ठाउँमा भएका जेब्रा क्रसिङमा लाइटहरूको व्यस्था गरेका छौँ । रेडलाइट र ग्रिनलाइट छ । सवारी साधनलाई समय तोकेको हुन्छ । गाडी रोकिने र बाटो काट्ने समय तोकिन्छ । ‘पिक आउर’ मा हामीले सामुदायिक प्रहरीलाई पनि पैदलयात्रुलाई बाटो काट्न सहज गराउने उद्देश्यले परिचालन गरेका छौँ । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *