मेरा पिता भूपी शेरचनले हामीलाई अपार प्रेमका साथै स्नेह पोख्नुहुन्थ्यो । हामीप्रति बुबाको प्रेम उहाँका कविताहरूजस्तै साधारण तर गहन भावले परिपूर्ण थिए ।
हामीकहाँ अटुट रूपमा पाहुनाहरू आउँथे । कतिपय त ‘म भूपी शेरचनको फ्यान हुँ’ भन्दै आउँथे । विशेष गरी दार्जीलिङ र नेपालको पूर्वी भेकतिरबाट धेरै आउँथे । बुबा र मुमा दुवै गीत–सङ्गीतका साथै साथीभाइसँगको भेटघाटलाई असाध्यै मन पराउनुहुन्थ्यो । बेलाबखत डिनरसहित ‘गेट–टुगेदर’ हुन्थ्यो । खाना खाएपछि कि कवितावाचन हुन्थे, कि गायन । बुबाकोे हार्मोनियम वादनमा राम्रो दक्खल थियो र गीतसमेत गाउनुहुन्थ्यो । हाम्रो घर सङ्गीतमय थियो ।
प्रख्यात कवि÷साहित्यकारहरू पनि आइरहनुहुन्थ्यो । मलाई सम्झना छ, दिनेश अधिकारी, सरुभक्त, हेमन्त श्रेष्ठ, अविनाश श्रेष्ठ, अशेष मल्ल आदि आइरहनुहुन्थ्यो ।
जीवनको उत्तराद्र्धतिर चाहिँ बुबाको चित्रकारहरूसँग घनिष्ठता बढ्यो । शशि शाह ममीको मामा पर्नुहुन्छ । बुबा र उहाँ एकदमै मिल्नुहुन्थ्यो । उत्तम नेपाली पनि बुबाको मिल्ने साथी हुनुहुन्थ्यो । घरको माहोल पूरै साहित्य, कला र सङ्गीतमय हुन्थ्यो । खेलको कुरा गर्दा बुबालाई क्रिकेट एकदमै मन पथ्र्यो । त्यति बेला हाम्रो टोलमा एउटा क्रिकेट क्लब थियो ।
मलाई कहिल्यै बुबाले ‘यो पढ, त्यो पढ’ भन्नुभएन । जहिल्यै बुबा भन्नुहुन्थ्यो, ‘कुनै पनि किताबले पाठकलाई बाँध्न सक्नुपर्छ । तिमी जुन किताबसँग कनेक्ट गर्न सक्छौ, त्यो किताब पढ ।’ मैले नेपाली साहित्य धेरै पढेको छैन । घरमा प्रशस्तै किताब थिए । मेरो चाहिँ अङ्ग्रेजी भाषा–साहित्यमा रुचि थियो ।

मैले बुबाको कविता छिटफुट रूपमा सुनेकी थिएँ । बुबाको देहान्तपछि ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेँ । म एकदमै फरक थिएँ । म त्यतिखेर आधुनिक नेपाली गीत सुन्न रुचाउँदिनथेँ । अङ्ग्रेजीका साथै नेपाली पप गीतहरू सुन्थेँ । बुबालाई मेरो एउटै कुरामा चित्त नबुझेको पक्ष थियो, मेरो अङ्ग्रेजी गीतहरूप्रति अति लगाव । मेरो कोठाभरि जर्ज, माइकलहरूका पोस्टर थिए । मलाई मेरो बुबा कति ‘कन्जरभेटिभ’ हुनुहुँदो रहेछ भन्ने लाग्थ्यो । अहिले ती गीतका अर्थ बुझ्दा मैले त्यतिखेर कस्ता गीत गाएछु भन्ने लाग्छ ।
बुबालाई बालबच्चाहरू एकदमै मन पथ्र्यो । तिनीहरूलाई घरमै बोलाएर खेलाउनुहुन्थ्यो । मेरो र भाइका साथीहरू पनि बुबासँग बस्न पाउँदा असाध्यै रमाउँथे । मलाई चाहिँ झर्काे लाग्थ्यो । अर्को, बुबाले हाम्रा साथीहरूलाई जादु देखाउने र गेम्सहरू खेलाउने गर्नुहुन्थ्यो ।
बुबामा अभिनयप्रति पनि सोख थियो । कविता मात्र नभई नाटक पनि लेख्नुहुन्थ्यो । कलेज पढ्दाखेरि नाटकमा खेल्नुहुन्थ्यो रे ! सानो छँदा त मुस्ताङमा दौँतरीहरूसँग मिलेर नाटक मञ्चन गर्नुहुन्थ्यो रे ! त्यही कारण भाइ र मलाई पुरानो जमानाको टेप रेकर्डरहरूमा आफ्ना भनाइ रेकर्ड गर्न लगाउनुहुन्थ्यो । मलाई चाहिँ अभिनयमा रुचि रहेन ।

म सानो छँदादेखि नै बुबाले घरमै धूमधामसँग जन्मदिन मनाइदिनुहुन्थ्यो । मैले आफ्नो १८ वर्षीय ‘बर्थ डे’ कसरी मनाउने भनी योजना बनाइरहेकी थिएँ । अफसोच ! मेरो जन्मदिनभन्दा दुई महिनाअघि नै बुबाले हामीबाट सदाका निम्ति बिदा लिनुभयो । त्यो मेरो जिन्दगीको सबैभन्दा नरमाइलोे समय थियो ।त्यसपछि मैले उहाँका कविताहरू पढेँ । सुरुमा पढ्दा उहाँका कविता सामान्य लागे । ‘यस्ता कविता लेखेर कसरी ठूलो कवि बन्नुभयो होला ?’ भन्ने लाग्थ्यो । हामीले पढ्ने साहित्यहरू क्लिष्ट भाषाका हुन्थे ।
समयान्तरमा बुबाका कविता बिस्तारै बुझ्दै गएँ, सरलतामा गहनता घोलिएका कविताहरू । ‘मेरो चोक’ शीर्षक कविताले निकै मन छोयो ।
अहिले मलाई कसैले ‘बुबा कवि नभएर अरू केचाहिँ भइदिए हुन्थ्यो भन्ने चाहन्थ्यौ ?’ भनी सोधे भने म भन्छु, ‘बुबा कवि हुनुभएकै कारण हामीले अरूबाट अपार स्नेह, सम्मान र माया पाएका छौँ । भूपीको छोरीभन्दा कतिपयले आत्मीयता देखाउनुहुन्छ, यो हामीले बुबाको विरासतबाट पाएको सम्पत्ति हो । मेरो भाइ त मेरो जात, मेरो गोत्र भूपी हो भन्छन् । भाइचाहिँ धेरै ‘इमोसनल’ छन्, म त्यति छुइनँ ।
अचेलका अभिभावकले आफ्ना जेन–जी पुस्तालाई हुर्काएझैँ बुबा–ममीले हामीलाई हुर्काउनुभयो । चार दशकअघिको त्यो हुर्काइ धेरैलाई अचम्भित तुल्याउने खालको थियो । मलाई कहिल्यै ‘तिमी केटी हौ, भाइ केटा हो’ भनी विभेद गरिएन । मैले महिलामाथि विभेद हुन्छ भन्ने कुरा ‘काठमाडौँ पोस्ट’मा पत्रकारका रूपमा काम गर्न थालेपछि मात्रै थाहा पाएकी हुँ ।
सदैव बुबाले भन्नुहुन्थ्यो, ‘तिमीले कुनै पनि कुरा सल्लाह लिँदा धेरैसँग लेऊ तर निर्णय भने आफैँ गर र निर्णयको भागीदार पनि आफँै बन ।’ एसएलसी उत्तीर्ण गरेपछि साइन्स पढेर डाक्टर बन्ने सोच थियो ममा । तर, बुबाले ‘तिमी एकदमै डराउने स्वभावकी छौ, सक्दिनौ होला’ भन्नुहुन्थ्यो । ‘डाक्टर बन्छु’ भनेर साइन्स पढे पनि पछि म आफैँले छोडेँ ।

अहिले बुबाबिनाको तीन दशकभन्दा बढी समय बितिसकेको छ । तर, आजसम्म पनि ‘भूपीकी छोरी’ भनेर सबैले माया र सम्मान गरेको देख्दा म निकै भावुक हुन्छु । कतिपय कुरालाई मैले ‘इग्नोर’ गरेँ । धेरैले मलाई ‘तिमी लेख्ने मान्छे, बुबाको आत्मवृत्तान्त लेख्नुपर्छ’ भन्नुहुन्थ्यो । अरूका त्यस्तो आग्रह पोखिँदा ‘मैले के न्याय गर्न सकुँला र ?’ भन्ने भयले गाँज्थ्यो । केही वर्षअघि बुबाको जन्मदिनमा एउटा पत्रिकाले लेख माग्दा भ्याइनँ भनी बुबाबारे ५ सय शब्द पनि लेखिनँ । यो कुराले मेरो मन गहुँ्रगो भइरहेको थियो । कोभिडको बेला फिलिपिन्समा रहँदा पूरै लकडाउन भयो । मेरा श्रीमान्ले ‘यही मौका हो, बुबासँग जोडिएका अनुभूतिहरू लेख’ भन्नुभयो । मैले उचित ठानँे ।
कहिल्यै खाली बस्न नचाहने मेरो स्वभाव भएको हुँदा मैले बुबाको बारेमा एउटा किताब तयार पारेँ । बुबाको मृत्युको दिनबाहेक म कहिल्यै बुबालाई सम्झेर रोइनँ, तर जब मैले बुबाको बारेमा लेख्दै गएँ, आँसु रोक्न सकिनँ । सो कृतिमा बुबाप्रति मेरो गहिरो श्रद्धा–भाव पोखिएको त छ नै, मभित्र जमेर बसेको उकुसमुकुसपन पनि बाहिर निस्किएको छ ।
पहिला मलाई कसैले ‘कवि भूपीको छोरी’ भन्दा रिस उठ्थ्यो, अचेल म गर्वसाथ भन्छु, ‘म भूपीकी छोरी हुँ । मलाई आफ्नो बुबाप्रति गर्व छ ।’
००



Leave a Reply