सहरमा तामाङ परिकारको स्वाद


तामाङ जातिको इतिहास हेर्दा हिमालय पर्वतसँगको निकटता र भोट बर्मेली परिवारभित्रै सम्बन्ध राख्छ । तामाङ जातिहरू भोट बर्मेली परिवारमै पर्ने अध्येताहरूको अध्ययनले देखाउँछ । आफूलाई आदिम भूमिपुत्रका रूपमा मान्ने तामाङ जातिको खानाका परिकार हेर्दा पनि यी कुरा प्रस्ट हुन्छन् । यस समुदायको मौलिक खाना आदिम कृषि प्रणाली र चिसो हिमाली भेगसँग बढी निकटता देखिन्छ ।…

तामाङ जातिको इतिहास हेर्दा हिमालय पर्वतसँगको निकटता र भोट बर्मेली परिवारभित्रै सम्बन्ध राख्छ । तामाङ जातिहरू भोट बर्मेली परिवारमै पर्ने अध्येताहरूको अध्ययनले देखाउँछ । आफूलाई आदिम भूमिपुत्रका रूपमा मान्ने तामाङ जातिको खानाका परिकार हेर्दा पनि यी कुरा प्रस्ट हुन्छन् । यस समुदायको मौलिक खाना आदिम कृषि प्रणाली र चिसो हिमाली भेगसँग बढी निकटता देखिन्छ । जुन खानाले शरीरलाई आवश्यक न्यानोपन र पौष्टिक तत्व प्रदान गर्नुका साथै समुदाय, बसोबास गर्ने भूगोल, तिनको संस्कृति, परम्परा र सामाजिक परिवेशलाई समेत झल्काउँछन् । तामाङ जाति विशेष गरी पहाडमा बसोबास गर्ने भएकाले पहाडी भेकमा उत्पादन हुने मकै, फापर, कोदो, जौ, गहुँ, धानजस्ता अन्नबाट नै तामाङले मौलिक विभिन्न परिकार बनाउँछन् ।

जाँड, रक्सी, तोङ्बा, छ्याङ, खोले, आलुम, बाबर, ढिँडो, छोप, मासु, गेडागुडी, मकै–भटमास, तिस्या (कन्दमूल), गेङ (रोटी), साग, सिस्नु, कर्कलो, च्याउ, टुसा, निउरो, फुलौरा, हरियो मकै, बुजु, पुवाजस्ता परिकारहरू तामाङ समुदायका मौलिक खाना हुन् । यी खानाले तामाङ जातिको भौगोलिक अवस्थितिसँगै खानामा उनीहरूको हजारौँ वर्षदेखिको अभ्यास तथा अनुभव देखाउँछ । तथापि आधुनिकीकरणसँगै अन्य जातिको जस्तै तामाङ समुदायको मौलिक परिकार पनि तामाङकै भान्साबाट बिस्तारै अलग हुँदै जाने क्रम जारी छ । पछिल्लो समयमा घरको भान्सादेखि बाहिरी होटल तथा रेस्टुरेन्टमा आधुनिक परिकारको स्वाद चाखेका तामाङ समुदायका नयाँ पिँढी आफ्नो मौलिक खानाबाट टाढिँदै छन् । यसैलाई मध्यनजर गर्दै समुदायका केही अगुवाले सहरमा तामाङ स्वादका परिकारहरू बनाएर नयाँ पिँढी तथा गाउँ छोडेर आएकाहरूलाई चखाइरहेका छन् । स्वयम्भू विजेश्वरीस्थित तामाङ कुदाप धिम रेस्टुरेन्टले विगत झन्डै ६ वर्षदेखि तामाङका प्रचलित खानाका परिकारको स्वाद सहरमा बस्ने समुदाय तथा गैर–तामाङ समुदायलाई दिइरहेको छ । तामाङ सेलो गायक, सङ्गीतकार तथा गीतकार बोम्जन, डीबी लामा, मंगल थोकरलगायत चार जनाको समूहले सञ्चालन गरेको रेस्टुरेन्टमा दर्जनको हाराहारीमा तामाङ परिकारहरू पाक्छन् । बुजु (चामलको भात मुछी विभिन्न आकृतिमा बनाइने खाना), गेङ (फापर र कोदोको रोटी), भुटेको मकै–भटमास, तिस्या (जङ्गली कन्दमूल), आलुम (कोदो वा फापरको पीठो मुछेर ससाना डल्ला बनाएर पानीमा उमालेर बनाइने खाना), उसिनेको पिँडालु, तरुल, आइराक, निङ्गु (परम्परागत विधिबाट बनाइएको रक्सी, छ्याङ) रेस्टुरेन्टमा पाक्ने विशेष परिकारहरू हुन् । रेस्टुरेन्टमा डम्फुको धुन सुन्दै आफ्नो मौलिक खानाको स्वाद लिनका लागि तामाङ समुदायकै ग्राहकहरू बढी मात्रामा आउने सञ्चालक बोम्जन सुनाउँछन् ।
रेस्टुरेन्टमा पाइने मुख्य तामाङ परिकार

गेङ तामाङ भाषामा गेङ भनेको रोटी हो । फापर वा कोदोको गेङ बनाइन्छ । चिल्लो नखानेलाई सुक्खा वा चिल्लो मन पराउनेलाई घिउ वा तेलमा राखेर बनाइन्छ र गोलभेँडा, सिलामको चटनीसँग खाइन्छ ।

आलुम ः कोदो वा फापरको पीठो मुछेर ससाना डल्ला बनाएर त्यसलाई शुद्ध पानीमा उमालिन्छ । पाकेपछि गोलभेँडा, सिलामको चटनीसँग दिइन्छ । यो खाँदा स्वादिलो मात्र नभएर शरीरमा शक्तिसमेत प्रदान गर्छ ।

फुलौरा ः फुलौरा बनाउन फापरको पीठो मुछेर तेलमा पकाइन्छ । पाकेपछि गहत, मस्याङ, बोडीको झोलसँग दिइन्छ ।

मकै पिङ (हरियो मकै) ः हरियो दुधे मकै उसिनेर गोलभेँडाको अचार र नुन÷खुर्सानी साँधेको अचारसँग दिइन्छ ।

बुजु ः चामलको भात मुछेर डल्लो तथा विभिन्न आकृतिमा बनाइने परिकार नै बुजु हो । समुदायको पितृ तथा मृत्यु संस्कारमा बुजु अनिवार्य चाहिन्छ ।

मकै माठे (मकै–भटमास) ः भुटेको मकै–भटमास तामाङ समुदायको खानामा पर्छ । यसलाई साँधेको गुन्द्रुकको अचारसँग दिइन्छ ।

पुवा ः मकै वा कोदोको पीठोलाई हल्का पानी छम्केर मोलेपछि कराइमा घिउ, तेलमा फ्राई गरेपछि स्वादअनुसार नुन वा चिनी राखेर अचार र तरकारीसँग दिइन्छ ।

तिस्या ः जङ्गली कन्दमूल, गिट्ठालाई खरानी राखेर उसिनेर पाकेपछि अचार राखेर दिइन्छ । यसका साथै तरुल र पिँडालुसमेत उसिनेर दिइन्छ ।

सगुन ः तामाङ समुदायमा पितृ, भूमिपूजादेखि शुभकार्य, उत्सवमा सगुनको ठूलो महत्व हुन्छ । यसमा मुख्यतः रक्सी नै समावेश हुन्छ । सगुन पोङ (सानो माटोको भाँडो) मा राखेर सगुनस्वरूप आइरक (रक्सी), निङ्गु (छ्याङ), जी (जाँड) दिइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *