पुराना दिनहरू खासमा मान्छेका पुँजी हुन् । मैले पनि जीवनमा कमाएको त्यही विगतका पलहरू हुन् । मेरो खेलकुद जीवनसँग जोडिएका केही सन्दर्भ यहाँनेर स्मरण भइरहेको छ ।
२०२८ सालतिरको कुरा हो, त्यो बेलाको चर्चित पत्रिका मातृभूमिले ‘चिया पसलेको छोरा राष्ट्रिय च्याम्पियन’ शीर्षकको समाचार छापेको पल यतिबेला स्मृतिमा आइरहेको छ ।
म कालीमाटीका रैथाने मानन्धर परिवारमा जन्मेँ । २००९ सालमा अर्थात् प्रजातन्त्र आएको दुई सालपछि । वैकुण्ठ चतुर्दशीका दिन जन्मिएका बाआमाले ‘वैकुण्ठ’ भनेर नाम राखिदिनुभएछ । त्यही मेरो नाम भयो ।

खेतीपाती धेरै नभएकाले हजुरबाले चिया पसल राख्नुभएको थियो । त्यो पनि सायद मेरो परिचय बन्यो । त्यसैले २०२८ सालमा आयोजित प्रतियोगितामा राष्ट्रिय च्याम्पियन भएपछि मातृभूमिले ‘चिया पसलेको छोरो’ भनेर लेखेको थियो ।
राष्ट्रिय प्रतियोगिता हुनुअघिको त्यो बखत राष्ट्रिय खेलमा भाग लिँदा खेलाडीहरूका लागि खाने, बस्ने उचित व्यवस्था थिएन । प्रशिक्षक पनि थिएनन् । नेपाल–भारत सहयोग मिसनअन्तर्गत भारतबाट विद्यासागर नामका प्रशिक्षक ल्याइएको थियो । जुद्धोदय, पद्मोदय, शान्ति निकुञ्जलगायत उपत्यकाका प्रमुख विद्यालयका दौडमा उत्कृष्ट भएका विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो त्यस बखत । ६ महिनामै अब्बल भएँ म । राष्ट्रिय च्याम्पियनसिपमा सबै विधामा मैले एकलौटी जित हात पारेँ । सेना, प्रहरीसमेत उपाधिविहीन बन्नुप¥यो ।

वि.सं २०३१ मा राज्याभिषेक खेलकुदमा भाग लिँदा, हामी एउटा विद्यालयको भवनमा बस्ने व्यवस्था थियो, जसमा झ्याल–ढोका नै थिएन । पराल ओछ्याएर सुत्नुपथ्र्यो, खानाको उचित व्यवस्था थिएन । मुख धुने पानीसमेत निकाल्न इनारमा जानुपथ्र्यो । ट्वाइलेटको व्यवस्था थिएन, जसले गर्दा महिला खेलाडीलाई विशेष रूपमा कठिनाइ हुन्थ्यो । साथमा बिजुली पनि थिएन ।
त्यति असुविधा हुँदाहुँदै पनि हामी कुनै गुनासो गर्दैनथ्यौँ, बरु खेल खेल्न पाएकोमा खुसी हुन्थ्यौँ । गाढामा बसेर खेल खेल्न जानु साह्रै मज्जाको अनुभव थियो ।
अहिले हाम्रो रङ्गशाला अन्तर्राष्ट्रिय स्तरको बनेको छ, खेलाडीहरूका लागि राम्रो सुविधा छ र मेडल जित्दा पुरस्कारको व्यवस्था पनि छ । यसले खेल क्षेत्रको विकासलाई स्पष्ट देखाउँछ, तर अझै सुधारको आवश्यकता भने छ ।
२०३३ सालको ओलम्पिक प्रतियोगितामा खेलाडी छनोट भयो । तिनताकसम्म धावकमा सेनाको दबदबा थियो । जितबहादुर केसीले सधैँजसो स्पर्धा जित्थे । जितबहादुरलाई पछि पार्नु फलामको च्युरा चपाउनु मानिन्थ्यो । तर, मैले सजिलै जितबहादुरलाई उछिनेँ । सनसनी मच्चियो— सिविलियन केटो ओलम्पिकको ट्र्याकमा राष्ट्रिय झन्डा बोकेर दौडने भयो ।
मैले पहिलो साफ गेमदेखि तेस्रो साफ गेमसम्म खेल्दा कुनै पनि पुरस्कारको व्यवस्था थिएन । मैले तत्कालीन सदस्य–सचिवलाई अनुरोध गरेको थिएँ, खेलाडीहरूका लागि जागिरको उचित व्यवस्था होस्, पुरस्कारको राम्रो व्यवस्था गरियोस् र अरूलाई जस्तै गोरखा दक्षिणबाहुजस्तो सम्मान प्रदान गरियोस् ।

वि.सं. २०३७ तिर आमा बिरामी हुँदा म राम्रै खेलाडी भइसकेको थिएँ । २०३६ सालमा ‘बेस्ट म्यान अफ द इयर’को उपाधि पाइसकेको थिएँ, तर त्यति हुँदाहुँदै पनि कुनै आर्थिक वा सुविधाजनक सहयोग पाउन सकिनँ । आमाको उपचारका लागि निकै कठिनाइ भोग्नुप¥यो । २०३८ सालमा मलाई राष्ट्रिय खेलमा भाग लिन दिइएन । सम्भवतः हा¥यो भने खेल छोड्छ होला भनेर सोचिएको थियो । पछि मलाई पाकिस्तानमा प्रतिस्पर्धा गर्न पठाइयो ।
त्यहाँ भारत, पाकिस्तान, बङ्गलादेशका साथै इजिप्ट, टर्की, मलेसियालगायतका एसियाली राष्ट्रहरूलाई पछि पार्दै म म्याराथनमा पहिलो भएँ । तर, त्यतिबेला नेपाल खेलकुद परिषद्सँग खेलाडीहरूलाई पठाउन पर्याप्त खर्च उपलब्ध थिएन । म जाने पक्षमा थिइनँ, तर पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने अवसर भएकाले छोडिनँ । जुनियर खेलाडीहरू कर गर्थे, तपार्इंलाई अनुभव छ, जानुपर्छ भनेर ।
राजा वीरेन्द्रले पनि मेरो खेलको प्रशंसा गर्दै हौसला दिइरहनुहुन्थ्यो । एकपटक राजाले म दौडँदा ‘स्याबास वैकुण्ठ, स्याबास !’ भनेर ताली बजाइरहनुभएको थियो । ठ्याक्कै त्यही क्षण फोटोग्राफरले कैद गरेका रहेछन् । पछि सुनेँ, मैले पाकिस्तान जान नखोजेको उहाँलाई पनि चित्त बुझेको थिएन । सबैले कर गरेपछि जान बाध्य भएँ । हामी भैरहवा हुँदै भारतीय बोर्डर पार गरेर चार दिन लगाएर पेसावर पुगेका थियौँ ।
पेसावरमा वातावरण भयावह देखिन्थ्यो । त्यस ठाउँभरि बन्दुक बोकेका पठानहरू थिए । सुरुमा त हामी डरायौँ, तर उनीहरू नेपाललाई धेरै माया गर्ने रहेछन् । गोर्खाली भनेर सम्मानजनक रूपमा बोलाउँथे ।
पाकिस्तानमा मेरो दौड अफगानिस्तान बोर्डरनजिकको खोलामा गराइयो । म पानीभित्रै दौडिनुपर्ने अवस्था थियो । खोलाको छेउबाट दौडेर पार गर्ने नियम थियो । मैले पहिलो स्थान प्राप्त गरेँ, अनि त्यहाँका मानिसहरूले मलाई पनि ‘चितुवा’ भनेर बोलाउन थाले ।
बक्सिङमा पुष्करध्वज शाही प्रतिस्पर्धी थिए र म कोचको रूपमा गएको थिएँ । प्रतियोगिता खुला ठाउँ— रत्नपार्कजस्तै— भएको थियो । त्यहाँ उनलाई ‘नेपालको चितुवा’ भनेर चिनाइयो । नवौँ बक्सिङ प्रतियोगितामा पुष्करले पाकिस्तानी खेलाडीलाई हराए । यो विषय पाकिस्तानका राष्ट्रपति जियाउल हकसम्म पुगेको थियो ।
त्यहाँ प्रतियोगिता जितेर नेपाल फर्कंदा पुरस्कारस्वरूप जम्मा ५ सय रुपैयाँ पाएँ, जुन इलाहाबाद पुग्दा नै सकियो । बाटोमा हामीले क्यारम बोर्डमा पैसा हालेर खेल्दै खर्च सकाएका थियौँ, तर मैले लुकाएर राखेको केही पैसा थियो, किनभने भारत पुगेपछि सलाई, साबुन, सारी राम्रो पाइन्छ भनेर किन्ने सोच बनाएको थिएँ ।
नेपाल फर्किंदा हाम्रो आर्थिक अवस्था अत्यन्तै कठिन थियो । पाकिस्तानबाट फर्किंदा मेरो हातमा इलाहाबादसम्म पुग्न पनि नपुग्ने पैसा थियो । त्यसबेला मैले खुलेर भनेँ— ‘यो मेडल सस्तो छ कि मेरो परिश्रम ?’ यो कुरा गोर्खापत्रमा समाचार बनेर छापियो । त्यसपछि मलाई प्रश्न गरियो—‘तिमीले किन यस्तो बोलेको ?’ मैले जवाफ दिएँ— मलाई त्यस्तै लाग्यो बोलेँ, पत्रकारले हेडलाइन बनाएर छापिदियो । कतिले मैले बोलेको होइन भन भन्यो, तर मैले जे हो त्यही भनेँ ।
शरद शाहले मलाई सम्झाए— ‘तिमी यस्तो खेलाडी, ओलम्पियन भइसकेको व्यक्ति, यस्तो कुरा गर्नु हुँदैन ।’ त्यो समयमा मलाई कारबाही गर्न सकिन्थ्यो, तर गरिएन ।
नेपालमा खेलाडीको मूल्य र भविष्य केही छैन भन्ने सोचिरहन्थेँ र पनि खेलमा निरन्तर भाग लिइरहेँ ।
दोस्रो साफ गेम बङ्गलादेशमा आयोजना भएको थियो । म क्याम्पमा बसेको थिइनँ, किनभने विराटनगरमा राखिएको क्याम्पबाटै खेलाडी छनोट गरिएको थियो । खेलअघि नाइट बसमा बसाएर, भोलिपल्ट बिहानै हामीलाई दगुराइयो । त्यो दौड ५० किलोमिटरभन्दा बढी थियो, जसलाई आधा खेलाडीले पनि पूरा गर्न सकेनन् । म भने छानिएँ र काठमाडौँ आएँ । त्यसपछि मात्र चार दिनको अन्तरालमा हामी बङ्गलादेश गयौँ ।
सबै खेलमा नेपालले कुनै पनि पदक जित्न सकेन । त्यही बेला, मिसन प्रमुख बमाले मलाई बोलाएर भने, ‘वैकुण्ठ, तिमीले भोलि राम्रो गर्नुपर्छ । तिम्रो एउटा मात्र आशा बाँकी छ ।’ मैले त्यो चुनौतीलाई स्विकारेँ र अन्ततः स्वर्ण पदक जित्न सफल भएँ ।
दौड जितेपछि म बाहिर निस्किएर फुटपाथमा चिया खान गएँ । त्यहाँ चिया पिइरहेको बेला पसलेले मलाई चिनेछन् । उनले मेरो जितको खबर सुन्नेबित्तिकै फोटो खिच्न आए र हजार टाकाको नोट पनि दिए । म छक्क परेँ तर खुसीसाथ त्यो सम्मान स्वीकार गरेँ ।
नेपाल फर्केपछि मलाई भव्य स्वागत गरियो । त्रिभुवन विमानस्थलमा पत्रकार र फोटोग्राफरहरूको भीड थियो ।
त्यसबेला सफल खेलाडीहरूलाई ‘गोरखा दक्षिणबाहु’ पुरस्कार दिइन्थ्यो । मेरो नाम पनि त्यस सूचीमा समावेश भयो । राजा वीरेन्द्रले दरबारमा विशेष रूपमा बोलाउनुभयो । जब म दरबार पुगेँ, रानी पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो । मैले राजालाई ढोगेँ, तर सम्भवतः ठीक भएन कि जस्तो लागेर फेरि ढोगेँ ।
त्यो देखेर राजाले मलाई समातेर आफ्नै सोफामा बसाल्नुभयो र भन्नुभयो, ‘यो त देशको हिरो हो ! उसले मलाई यसरी दर्शन गर्नु पर्दैन ।’
मलाई दरबारका सचिवहरूले दरबारमा कसरी प्रस्तुत हुने भनेर सिकाएर पठाएका थिए, तर राजाले मेरो जितलाई विशेष सम्मान दिएर अझ नजिकको अनुभूति गराउनुभयो ।
राजा पाँचवटा विकास क्षेत्रमा भ्रमण गर्ने क्रममा पनि मलाई बोलाइयो । सुन्दरी शेर्पा र म विशेष अतिथिका रूपमा निम्त्याइएका थियौँ । हामीलाई हेलिकप्टरमा लैजाने व्यवस्था थियो, तर मैले बसमै जाने निर्णय गरेँ ।
त्यस यात्रामा मैले गृहमन्त्री जोगमेहरलाई भेटेँ । उहाँलाई नमस्कार गर्दा, उहाँ अचानक झस्किनुभयो । मलाई लाग्यो, ‘के मन्त्रीज्यू डराउनुभयो
युवराज दीपेन्द्र सानै थिए । म जहाँजहाँ दौडन्थेँ, उनी पनि पछिपछि दगुर्थे । ‘वैकुण्ठे ! वैकुण्ठे !’ भनेर मलाई पछ्याउने गर्थे । म जहाँ जान्थेँ, उनी पनि उतै जान्थे । कहिलेकाहीँ भट्टीमै छिर्थे, जसले गर्दा सुरक्षागार्डहरूलाई निकै गाह्रो पथ्र्यो ।

त्यसपछि मलाई राजाले फेरि बोलाउनुभयो । उहाँले मेरो खेलजीवनको प्रशंसा गर्दै भन्नुभयो, ‘वैकुण्ठ नेपालका लागि हिरो हो !’ त्यसै क्रममा नेपालमा पहिलो पटक मलाई ‘युवा पुरस्कार’ प्रदान गरियो । राजा वीरेन्द्रले असाध्यै सम्मान दिनुभयो ।
राजाले आफ्नै सोफामा राखेर सम्मान गर्नुभयो । त्यो बेला राजपरिवारका सदस्यहरू, प्रधानसेनापति, प्रधानमन्त्रीलगायत सबै जना उठेर उभिनुभयो । राजा वीरेन्द्रले नै भन्नुभयो, ‘हेर, हिरो भनेको यस्तो हुन्छ !’
पछि, राजाले मलाई सोध्नुभयो, ‘केही चाहिन्छ ?’
मैले भनेँ, ‘मलाई केही चाहिँदैन । म काठमाडौँमा राम्रोसँग बसेको छु ।’
त्यति बेलासम्म मैले धेरै गाउँमा डुलेर त्यहाँको दुःख देखिसकेको थिएँ । सिटामोल र जीवनजल नपाएर मान्छे मरेका थिए । त्यसैले, मैले केही मागिनँ ।
तर राजाले फेरि सोध्नुभयो, ‘तिमी बूढो भइसक्यौ, खेल खेलुन्जेल तिमी हिरो हो, खेल्न छोडेपछि तिमी जिरो हुन्छौ ।’
त्यस बेला मैले राजालाई आत्मविश्वासका साथ भनेँ, ‘सरकार, म मेरो रेकर्ड आफैँ ब्रेक गर्छु ।’
राजा वीरेन्द्र हाँस्दै उठ्नुभयो र मेरो पिठ्युँमा धाप मार्दै भन्नुभयो, ‘क्या बात ! हिरो भनेको त यस्तो हुनुपर्छ !’
मैले प्रण गरेँ— २ घण्टा १७ मिनेटको रेकर्ड तोड्नेछु र फेरि गोल्ड मेडल जित्नेछु !
त्यसपछि मैले निरन्तर प्रशिक्षण गर्न थालेँ । दिनरात नभनी, दसैँ–तिहार मनाउन घरै नफर्की, म मेहनत गर्नमै लागेँ ।
त्यस समय मेरो उमेर ३५ वर्ष भइसकेको थियो । हाम्रा आफ्नै खेलाडीले नै मलाई निरुत्साहित गर्ने गर्थे, ‘तिमी सक्दैनौ !’ भनेर ।
तर मेरो प्रशिक्षक उत्सव भट्ट (जो अन्तर्राष्ट्रिय खेलाडी पनि थिए) भने मलाई विश्वास गर्थे । उनले भने, ‘दाइ, तपाईं जित्नुहुन्छ !’ खेल सुरु हुनुअघि रङ्गशालामा झन्डै ३ सय खेलाडी थिए । प्रशिक्षक उत्सव भट्टले विश्वासका साथ भने, ‘वैकुण्ठ दाइ जित्नुहुन्छ, फरक पर्दैन !’
तर कसैले उनलाई सोध्यो, खेलमा हार–जित हुन्छ । ‘यदि जितेनन् भने के गर्ने ?’ उत्सवले मजाकमै भने, ‘जिते भने फुटबल मैदानको सेन्टरमा बसेर चुम्बन (किस) खाने ।
मलाई यो सुन्दा अचम्म लाग्यो । ‘के भनेको होला ?’ जस्तो भयो ।
तर मलाई जिताउन काठमाडौँबाट झन्डै २५ जना समर्थक आएका थिए । ‘तिमीले जित्नैपर्छ !’ भन्ने दबाब थियो । दौडमा बाटोबाटोमा बसेर हुटिङ गरिरहेका थिए ।
अन्ततः मैले मेरो प्रतिबद्धता पूरा गरेँ । गोल्ड मेडल जितेँ ! त्यही क्षण, प्याराफिटबाट दर्शकहरू खुसी भएर हाम फाल्दै मसम्म आए । फूलको माला लगाइदिए । नेवारी परम्पराअनुसार मलाई बारा, अन्डा, माछा, रक्सी दिएर सगुन दिइयो । सबै हर्षित थिए, तर पुलिसहरू छेउमै उभिएर चुपचाप हेरिरहेका थिए । रक्सीलाई के हो भनेर सोध्दा मैले दारु भनिदिए । पालामा हाल्दै खाँदै थिए । अब बाँकी रह्यो, ‘किस’ खाने कुरा । एक जना बहिनी रङ्गशालाको बीचमा ‘किस’ गर्न तयार भइन् । तर, मलाई यति अप्ठेरो महसुस भयो कि, म टाप कसेँ । यति दौडिए कि, ती बहिनीलाई थकाएर खुत्रुक्कै पारे । दगुर्नै नसक्ने बनाएपछि बल्ल ‘किस’ को सङ्कट ट¥यो । नेपालमा फर्केपछि रङ्गशालामा रक्सी खायो भनेर स्पष्टीकरण सोधियो अनि त्यहाँ खिचेका फोटोहरू प्रकाशन गर्न रोकियो ।

यस्ता थुप्रै रमाइला र चित्त दुखाइका अनेक किस्सा छन्, मेरो खेलजीवनका । कहिलेकाहीँ सम्झन्छु, राजाले माया गरेर हिरो भनेको मलाई मण्डलेको ट्याग पनि लगाइयो, साह्रै चित्त दुख्छ ।



Leave a Reply