‘ऐला लुवया’, ‘माया मदुला’, ‘मखं त्वाः या ग्वाः’ जस्ता लोकप्रिय गीतहरू गाएकी गायिका निशा देशार आजभोलि व्यस्त गायिकाको लिस्टमा छिन् । ती नेवारी गीत युट्युबमा रातारात हिट भएपछि निशा र ती गीतका सर्जक रोजमान महर्जन दर्शक–श्रोता र कार्यक्रमका आयोजकहरूको रोजाइमा परेका छन् । अचेल निशाको स्टेज कार्यक्रमहरूको तालिका लामै बनेको छ । एक वर्षको दौरानमा नेपालभाषाका तीनवटा गीत लगातार दर्शकको रोजाइमा पर्नु चानचुने कुरा होइन । नेपालभाषाका यी गीत नेवार समुदायमा मात्र नभएर सबै भाषाभाषी र उमेर समूहका व्यक्तिहरूले रुचाएको देखिन्छ, जसले नेवार जातिभित्र सीमित सङ्गीतलाई राष्ट्रिय स्तरमा पु¥याउन सफल बनाएको छ । नेपालभाषाका गीत गाएर सङ्गीत क्षेत्रमा आएकी निशाले क्रमशः नेपाली आधुनिक, गजल, लोकपप गाउँदै अहिले पुनः नेवारी गीतमार्फत दर्शकको माया पाइरहेकी छन् ।



सङ्गीतमा सङ्घर्ष
ललितपुरको चापागाउँमा साधारण परिवारमा जन्मिएकी निशाले ३ कक्षासम्म पढेर पढाइलाई लामो समयसम्म विश्राम लगाउनुप¥यो । उनको बुबाआमाको होटल र चिया पसल थियो, जसका कारण घरमा सधैँ कामको चटारो हुन्थ्यो । स्कुल छुट्ने र स्कुलमा लामो ग्याप भएपछि फेरि स्कुल जान लाज लाग्ने, शिक्षकको पिटाइको डरले निशालाई स्कुल जानै मन नलाग्ने बनायो ।
निशाको सानो फुपू र बहिनीले पनि पढाइलाई निरन्तरता दिएनन् । परिवारमा दाइलाई पिटेर भए पनि स्कुल पठाइन्थ्यो, तर छोरीहरूका लागि खासै कडाइ गरिँदैनथ्यो । त्यसमाथि चापागाउँका मन्दिर र जङ्गलमा नेपाली चलचित्रहरूको सुटिङ भइरहन्थ्यो— कहिले भुवन केसी, कहिले शिव श्रेष्ठ र कहिले राजेश हमालका सुटिङ दृश्यले निशालाई लोभ्याउँथ्यो । यसरी पढाइप्रतिभन्दा बाहिरी संसारप्रति उनको चासो बढ्दै गयो । त्यस समयमा छोरीलाई पढाउनु आवश्यक छ भन्ने धारणा समाजमा फैलिएको थिएन, जसको असर निशाको जीवनमा पनि प¥यो ।
सङ्गीतमय परिवार
सङ्गीतप्रतिको मोह भने निशाकै परिवारबाट सुरु भएको थियो । उनका हजुरबुवा रामलाल देसार टोलमा चिनिने भजन गायक थिए, जसले गाउँमा भजन गाउने मात्र नभएर बाजाहरू बजाउन पनि सिकाउँथे । निशाका बुबा ज्ञानलाल र काका प्रेमबहादुर देसार पनि भजन गाउने र सिकाउने काममा लागेका थिए । यही कारणले निशा पनि भजन गाउन काकासँग मठ–मन्दिर पुग्थिन् । काका प्रेमबहादुरले रेडियो नेपालमा भजन, लोक र आधुनिक गीत रेकर्ड गराइसकेका थिए र घरमै बालबालिकालाई नेपालभाषाका भजनहरू सिकाउँथे ।
काका प्रेमबहादुर देसारको असामयिक निधनले निशाको सङ्गीत यात्रामा ठूलो धक्का लाग्यो । सानैदेखि विभिन्न साङ्गीतिक कार्यक्रममा काकासँग जाँदै आएकी निशाको परिवारबाहिरको साङ्गीतिक सिलसिला पनि लगभग टुङ्गियो । तर, सङ्गीतप्रतिको लगावका कारण निशाले आशा गुमाइनन् । त्यसबेला निशाका लागि आफ्नो कला प्रस्तुत गर्ने एउटै माध्यम एफएमका साङ्गीतिक कार्यक्रमहरू बने ।
टर्निङ प्वाइन्ट
वि.सं. २०५७÷०५८ सालतिर नेपालमा थोरै मात्र एफएम रेडियो थिए र तिनका कार्यक्रम रेडियो नेपालबाट प्रसारण गरिन्थे । ती कार्यक्रममा फोनमार्फत गीत गाउन पाउनु नै ठूलो अवसर मानिन्थ्यो । यसरी साङ्गीतिक यात्रा अगाडि बढाउन निशाले एफएमका विभिन्न गायन प्रतियोगितामा भाग लिन थालिन् । भोकल कम्पिटिसनमा छनोट भएपछि ट्र्याकमा फोनबाटै गीत गाउने अवसर पाएकी उनले धेरै राउन्ड पार गर्दै नेपालभाषाको उपत्यकाव्यापी गायन प्रतियोगितामा स्थान बनाइन् ।


यस प्रतियोगिताले नै उनलाई आफ्नो पहिलो नेपालभाषा गीत रेकर्ड गर्ने अवसर प्रदान ग¥यो । अशोक राज आँसुका शब्द र दिलीप सङ्गमको सङ्गीतमा ‘तोता वम्हं यज्जु यात’ बोलको गीत रेकर्ड गर्न पाउँदा निशाको सपनाको पहिलो पाइला सफल भयो । यो अवसरले मात्र होइन, यससँगै उनले नगद पुरस्कार र थुप्रै उपहार पनि जितिन्, जसले उनलाई साङ्गीतिक यात्रा जारी राख्न थप प्रोत्साहन दियो ।
अभ्यास र साधना
वि.सं. २०५८ मा निशाले सङ्गीतलाई गहिरो रूपमा सिक्नुपर्ने आवश्यकता महसुस गरिन् र डोरेमी सङ्गीत पाठशालामा भर्ना भइन् । सङ्गीत सिक्ने क्रममा गुरुहरूले बारम्बार ‘कति पढेको ?’ भन्ने प्रश्न गर्दा उनलाई पढाइको महत्वको अनुभूति भयो । तर, लामो ग्यापपछि पढाइ पुनः सुरु गर्ने आँट भने गरेकी थिइनन् ।
डोरेमी सङ्गीत पाठशालामै उनको भेट पत्रकार युमास शेर्पासँग भयो । निशाको स्वरबाट प्रभावित युमाससँग भेटेको छोटो समयमै विवाह बन्धनमा बाँधिइन् । विवाहको एक वर्षमै छोरीको जन्म भएपछि निशाले दुई वर्ष घरमै बिताइन् । यो अवधिमा युमासले उनलाई पढाइमा फर्कन प्रेरित गरिरहे । ‘पढ्न र सिक्नका लागि उमेरको सिमाना हुँदैन’ भन्ने हौसलाले उनलाई सातदोबाटोको प्रेरणा स्कुलमा भर्ना हुन उत्साहित ग¥यो ।
सातदोबाटोमा चार वर्ष पढेपछि उनले एसएलसी पूरा गरिन् । धेरै वर्षको ग्यापपछि वि.सं. २०७१ मा उनले प्लस टु सकेकी हुन् । पढाइप्रतिको जोसले उनलाई अझै अघि बढ्न प्रेरित ग¥यो र वि.सं. २०७५ मा उनले ललितकला क्याम्पसमा सङ्गीत विषय लिएर ब्याचलर सुरु गरिन् ।

ललितकला अध्ययनले उनको गायनमा उल्लेखनीय निखार ल्यायो । शास्त्रीय सङ्गीतको महत्व, नेपालको सातै प्रदेशका लोकभाकाहरूको अध्ययन र अभ्यासको माध्यमबाट उनले साङ्गीतिक ज्ञानलाई गहिराइमा पु¥याइन् । कलेजको प्रायोगिक अभ्यासलाई बलियो बनाउन शास्त्रीय गायनका कक्षा लिन थालेकी उनले यसैबाट स्टेज प्रोग्राम र रेकर्डिङहरूमा राम्रो प्रदर्शन गर्न सकिन् । यसरी निशाको सङ्गीत यात्रा कला र अध्ययनको सम्मिश्रणले थप सशक्त हुँदै गयो ।
वि.सं. २०६५ मा निशाले नेपालभाषा गीततर्फ ‘इमेज अवार्ड’ जितेकी थिइन्, जसले उनलाई नेपालभाषी समुदायमा लोकप्रिय गायिकाको रूपमा स्थापित ग¥यो । यद्यपि, उनी आधुनिक र लोकगीतहरूमा पनि स्वर भरेर सक्रिय रहिन्, तर उनको गायनको दायरा नेपालभाषी समुदायमा सीमित थियो ।
वि.सं. २०६६ मा राष्ट्रिय स्तरको आधुनिक गीत प्रतियोगितामा देवदत्त भट्टका शब्द र पूर्ण परियारको सङ्गीतमा रहेको ‘छुटौँ भन्छौ, छुट भैगो, तिमी मेरो होइनौ भने’ बोलको गीत गाएर प्रथम स्थान हासिल गरेपछि उनको गायन यात्रा व्यापकतातर्फ उन्मुख भयो । यो उपलब्धिले उनलाई नेपाली सङ्गीत क्षेत्रमा नयाँ अवसरहरूको ढोका खोलिदियो ।
निशाको गजल यात्रा ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ, चल्न देऊ’ बोलको गजलबाट सुरु भयो, जसले श्रोतामाझ गजल गायिकाको रूपमा उनको परिचय स्थापित ग¥यो । यसपछि उनले गीत र गजलहरूको सङ्ग्रह ‘लोकार्पण’ सार्वजनिक गरिन् । यस सङ्ग्रहमा रहेको ‘तिमी कुन जवानमा’ र ‘सक्दिनँ म तिमीबिना’ जस्ता गजलहरूले उनलाई गजल गायिकाको रूपमा व्यापक पहिचान दिलाए ।
‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ, चल्न देऊ’ र ‘जमाना खराब छ’ जस्ता उनका गजलहरू आज पनि श्रोतामाझ उत्तिकै रुचाइन्छन् । करिब डेढ दशकदेखि गजल गायिकाको परिचय बनाएकी निशा आज पनि नेपाली सङ्गीत क्षेत्रमा एक सशक्त गजल गायिकाको रूपमा स्थापित छिन् ।
नेपालभाषाका गीतहरूले दर्शकको माया, स्टेज प्रदर्शन, र आर्थिक आर्जनमा साथ दिए पनि निशालाई अझै पनि स्वर र साधनामा आफू पछि नै छु जस्तो लाग्छ । यो अनुभूतिको कारणले उनी अहिले पनि शास्त्रीय सङ्गीतमा आफ्नो गहिरो ज्ञान बढाउन तल्लीन छिन् र गुरु श्री केसीसँग नियमित रूपमा शास्त्रीय गायन सिकिरहेकी छन् ।
अहिलेसम्म पाँच सयभन्दा बढी गीतमा स्वर भरिसकेकी निशाले ‘लोकार्पण’ (गीत र गजल), ‘शराब’ (गजल), ‘निशा’ (नेपालभाषा) र ‘निशा आनन्द’ जस्ता सोलो एल्बमहरू सार्वजनिक गरेर नेपाली सङ्गीतमा महत्वपूर्ण योगदान दिएकी छन् । उनको उत्कृष्ट गायनको पहिचानस्वरूप उनले तीन पटक इमेज अवार्ड जितेकी छन् भने वि.सं. २०७० मा नेपाल भाषामा ‘दान्यहीरा’ पुरस्कार, २०७३ मा ‘नारायण गोपाल युवा पुरस्कार’ र ‘फत्तेमान राष्ट्रिय युवा पुरस्कार’ पाएकी छन् । हालसालै २०८० मा उनलाई ‘भीम विराग सम्मान’बाट समेत सम्मानित गरियो, जसले नेपाली सङ्गीतमा उनको योगदानलाई अझै उच्च सम्मान दिलाएको छ ।
आजको सङ्गीत बजारमा चलिरहेको तडकभडक र अटो ट्युनरको बढ्दो प्रयोगप्रति उनी चिन्तित छिन् । सङ्गीतको शुद्धतालाई प्राथमिकता दिने निशा सृजनशीलताको मौलिकता र सुरसङ्गीतको गहिराइलाई महत्व दिनुपर्ने धारणा राख्छिन्, जसमा शास्त्रीय सङ्गीतको आधार अत्यावश्यक छ ।



Leave a Reply