डिजिटल क्रान्ति, मानसिक अशान्ति


विश्व डिजिटल युगमा छ । यो युगमा पत्याउन मुस्किल पर्ने चमत्कारिक विकास र परिवर्तनहरू भएको छ । यी विकास र परिवर्तन आम मान्छेको दैनिकीसँग सीधा जोडिन थालेको छ । यो डिजिटल रूपान्तरणलाई अलग राखेर आम जीवनशैलीको कल्पना गर्न नसकिने अवस्थामा विश्व समुदाय नै पुगेको छ । नेपाल पनि त्यसबाट अछुतो हुन सक्ने कुरा भएन ।…

विश्व डिजिटल युगमा छ । यो युगमा पत्याउन मुस्किल पर्ने चमत्कारिक विकास र परिवर्तनहरू भएको छ । यी विकास र परिवर्तन आम मान्छेको दैनिकीसँग सीधा जोडिन थालेको छ । यो डिजिटल रूपान्तरणलाई अलग राखेर आम जीवनशैलीको कल्पना गर्न नसकिने अवस्थामा विश्व समुदाय नै पुगेको छ । नेपाल पनि त्यसबाट अछुतो हुन सक्ने कुरा भएन ।

तर, यो डिजिटल युगको हामीले कति सदुपयोग गर्न सकेका छौँ ? मानव समाजको आर्थिक उन्नति र विकासको वरदान बनेर आएको डिजिटल क्रान्ति कतै अभिशाप त बन्दै छैन ? अनेक प्रश्नले हामी घेरिन थालेका छौँ । कारण, अत्यधिक डिजिटल डिभाइसमा निर्भर हुने प्रवृत्ति मानसिक स्वास्थ्यका दृष्टिले घातक साबित हँुदै छ । डिजिटल युगले दिएका परिवर्तनका सकारात्मक पाटोभन्दा बढी हामी नकारात्मक अभ्यासतिर अग्रसर हुादा यी नयाा आविष्कार अभिशाप बन्ने जोखिम बढेको हो । वाह ! जिन्दगीको यो अङ्कमा प्रविधिको चरम दुरुपयोगले नेपाली समाजको मानसिक स्वास्थ्यमा परेको असर र त्यसबाट जोगिने उपायको खोजी गरिएको छ ।

प्रिय पाठकहरू, यो ‘नोट’ म बेइजिङबाट लेख्दै छु । तीन महिनादेखि बेइजिङलगायत चीनका विभिन्न सहरको अध्ययन र अवलोकन भ्रमणमा छु ।

चीनको राजधानी बेइजिङ विश्वको सबैभन्दा डिजिटलाइज्ड सहरमध्येकै एक हो । डिजिटल युगले गरेको परिवर्तन र त्यसबाट मुलुकको आर्थिक विकास र समृद्धिको काया कसरी फेरिन्छ भन्ने ज्वलन्त नजिर हो, चीन । आर्थिक रूपमा विश्वको पहिलो महाशक्ति बन्ने दौडमा रहेको चीनले गरेको चमत्कारिक विकास र समृद्धिका कथा हाम्रो परिवेशमा त काल्पनिकझैँ लाग्छन् । पाइला–पाइलामा प्रविधिको अधिकतम प्रयोग गर्दै यो मुलुक आर्थिक विकासको बाटोमा दु्रततर बढेको छ ।

केही साताअघि चीनको उत्तरी प्रान्त इनर मङ्गोलिया पुग्दा त्यहाँ एउटा दुग्ध उत्पादन डेरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर आफ्ना उत्पादनलाई विश्वव्यापी बनाइरहेको देख्दा अनौठो नै लाग्यो । गाईपालन, त्यसको स्याहारसुहार, दूध दुनेदेखि, त्यसको सङ्कलन, प्रशोधन अनि प्याकेजिङसम्मका काममा एआई रोबोटको प्रयोग गरिएको थियो । अर्को एउटा कृषि फार्ममा पुग्दा त्यहाँ बीउ उमार्नका लागि त्यसैगरी एआई र कम्प्युटिङ सिस्टमको प्रयोग गरिएको देखियो । अर्थात् सडक पेटीमा राखिएको साइकल उपयोग गर्नेदेखि बस÷ट्रेनजस्ता सार्वजनिक यातायात अनि ठूल्ठूला उद्योग र इन्डस्ट्रीहरूले डिजिटल युगको भरपुग उपयोग गरेका छन्, चीनमा ।
तर, सँगै अत्यधिक डिजिटल डिभाइसको प्रयोगबाट चिनियाँ समाज पनि मानसिक स्वास्थ्यको चुनौती भोग्दै रहेछ । सामाजिक सञ्जालहरूमा धेरै समय बस्दा तिनको ‘स्क्रिन टाइम’ बढेको, फोमोका कारण अनिद्रा, तनाव बढेका नजिर पनि प्रशस्त भेटिन्छन्, यहाँ । पब्जी धेरै खेलेर किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यमा चुनौती थपिएपछि सन् २०२१ मा चीन सरकारले १८ वर्षमुनिका किशोरहरूले सातामा तीन घण्टा मात्रै खेल्न पाउने कडा नियम बनाएको थियो ।
सकारात्मक कुरा के रहेछ भने, चिनियाँहरू चुनौती आएसँगै त्यसको समाधान पनि खोज्दा रहेछन् । जस्तो कि, अहिले डिभाइस धेरै चलाएर मानसिक स्वास्थ्यको समस्या भोगेको वर्गलाई लक्षित गरेर उनीहरूले एआई प्रविधिमा आधारित काउन्सिलिङ एप बनाएका छन्, जसले डिजिटल परामर्श दिन्छ । अत्यधिक गेमको लतमा लागेको किशोरकिशोरीहरूको पहिचान गरी इन्टरनेट प्रयोगको व्यवहार मोनिटर गर्ने र निजका आमाहरूलाई एसएमएस एलर्ट गर्ने प्रविधिको समेत विकास गरेको छ । ‘स्क्रिन फ्री डे’ भनेर डिजिटल डिटक्सका क्याम्पेनहरू चल्ने गर्छ ।
सारमा, डिजिटल डिभाइसको अत्यधिक प्रयोग र त्यसको असर विश्वव्यापी फेनोमेना हो । एकातिर व्यक्ति, समाज वा राष्ट्रको आर्थिक अनि सबै खाले उन्नयनका लागि यसको खाँचो छ भने अर्कातर्फ अति प्रयोगका कारण मानसिक स्वास्थ्यका जोखिम पनि छन् । एउटा भनाइ पनि छ नि, चिनी पनि धेरै खाँदा तीतो हुन्छ । हो, त्यसकारण डिजिटल युगको वरदान अभिशापमा बदलिनु पहिल्यै नै सचेतता आवश्यक छ । विश्वका सकारात्मक अभ्यासबाट पाठ सिक्दै डिजिटल वेल विइङका अभ्यासहरू आत्मसात् गर्न अब हामीले पनि ढिलो गर्नु हुन्न । सरकारी स्तरबाटै यसलाई नीतिकै रूपमा ल्याउँदै अवलम्बन गर्न जरुरी भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *