घरमै योग : जीवन बन्छ निरोग


अधिकांश व्यक्तिले योगलाई ‘ट्रेन्ड’ वा ‘फेसन’ का रुपमा आत्मसात गरेको पाइन्छ । कतिपयले पसिना आयो भने मात्र योग प्रभावकारी हुन्छ भन्ने धारणा राखेको पाइन्छ । वास्तविकता भने फरक छ । योगको प्रमुख उद्देश्य शरीरलाई स्वस्थ, लचिलो र ऊर्जावान बनाउनु हो, जसका लागि सही तरिका अपनाउनु आवश्यक छ । धेरैमा ‘योग गर्दा पसिना आउँछ र खाना…

अधिकांश व्यक्तिले योगलाई ‘ट्रेन्ड’ वा ‘फेसन’ का रुपमा आत्मसात गरेको पाइन्छ । कतिपयले पसिना आयो भने मात्र योग प्रभावकारी हुन्छ भन्ने धारणा राखेको पाइन्छ । वास्तविकता भने फरक छ । योगको प्रमुख उद्देश्य शरीरलाई स्वस्थ, लचिलो र ऊर्जावान बनाउनु हो, जसका लागि सही तरिका अपनाउनु आवश्यक छ ।

धेरैमा ‘योग गर्दा पसिना आउँछ र खाना छिटो पच्छ’ भन्ने सोचाइ छ । खाना पच्नमा मेटाबोलिज्म (उपापचय) ले सही ढंगले काम गर्नुपर्छ, जुन प्रक्रिया पसिनाले मात्र निर्धारण हुँदैन । सही खानपान, उपयुक्त व्यायाम र मानसिक सन्तुलन आवश्यक हुन्छ ।

अचेल बजारमा विभिन्न उपवास विधिहरू (Fasting Methods) प्रचलित छन्, जसले मोटोपन घटाउने ग्यारेन्टी दिन्छन् । पाचन शक्तिलाई बलियो बनाउने विधिचाहिँ कमै सिकाइन्छ । शरीरले खानेकुरा राम्रोसँग पचाउन नसक्दा मोटोपन मात्र नभई विभिन्न रोगहरूसमेत निम्तिन सक्छन् ।

अहिले ‘जति धेरै स्ट्रेचिङ, उति राम्रो’ र ‘जति कठिन आसन, उति प्रभावकारी’ भन्ने धारणा छ । तर योगको काम मेरुदण्ड (Spinal Cord) लाई सक्रिय राख्नु हो ।
मेरुदण्ड हाम्रो शरीरको ‘जग’ हो । शरीरका सम्पूर्ण नसा मेरुदण्डबाट सञ्चालित हुन्छन् । मेरुदण्ड बलियो हुँदामात्र रक्तसञ्चार राम्रो हुन्छ र हड्डीहरू हुन्छन् बलिया । जसले स्नायु प्रणालीलाई स्वस्थ राख्दछ ।

दिनभरि निहुरिएर विभिन्न काम गरिरहँदा मेरुदण्डले तनाव झेल्नुपर्छ । हामी पछाडि फर्किने योगासनहरू कम गर्छौँ, जसले शरीरलाई पूर्ण रूपमा स्वस्थ बनाउन सक्दैन । हातलाई माथि नलगिकन योग हुँदैन । मान्छेहरू भन्छन्, ‘म यति हिँडेँ, यति लुगा धोएँ ।’ यतिले पूर्ण हुँदैन । हातचाहिँ माथि तनक्क तन्किनै पर्छ । हात माथि गएपछि मात्रै योग हुन्छ ।
हामीले निरोगी जीवन अपनाउने हो भने घरमै बसेर गर्न सकिने योगविधिहरू छन् । केही निम्न विधिहरू छन् :

वृक्षासन :
बिहान उठ्ने बित्तिकै ओछ्यानमै बसी दुवै हात टाउकोमाथि उठाएर शरीरलाई तनक्क तान्नुहोस् । यसले सुक्खिएका नसा र निष्क्रिय अंगहरूलाई सक्रिय बनाउँछ । रुखहरू जति पुराना हुन्छन्, उति बलिया हुन्छन् । त्यसैले हाम्रो शरीरलाई पनि बलियो बनाउन वृक्षासन प्रभावकारी हुन्छ ।

वृक्षासन गर्ने विधि :
दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ–बायाँ राखी उभिनुहोस् । उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुन्द्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । लामो श्वास निकाल्दै अगाडिको कुनै विन्दुमा ध्यान केन्द्रित गर्नुस् । बिस्तारै श्वास लिँदै हातलाई टाउको माथि नमस्कार मुन्द्रामा नै राखी तन्काउनुहोस् । सो अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर वा अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुन: बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् ।
फाइदा : वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मद्दत पुर्‍याउँछ । तनाव, रिस, मानसिक चञ्चलपन आदिमा कमी ल्याउन यो आसन सहयोगी छ । रक्त सञ्चार प्रवाह गर्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ ।

दिनभर सहज योगाभ्यास
घरमा खाना पकाइरहँदा वा अफिसमा काम गर्दा दिनमा ३–४ पटक हात टाउकोभन्दा माथि उठाएर शरीर तन्काउने बानी बसाल्नुहोस् । अगाडि झुक्नेभन्दा पछाडि फर्किने आसनहरू दिनमा २–३ पटक गर्दा मेरुदण्डलाई सन्तुलित राख्न मद्दत गर्छ । अगाडि झुक्ने आशनहरू धेरै गर्नु पर्दैन, किनभने हामी दिनभरि अगाडि झुकेर काम गरिरहेका हुन्छौँ । त्यसैले पछाडि जाने बानी बसाल्नु जरुरी छ । दुई–तीनपटक तनक्क पछाडि जाने बानी गर्दा धेरै फाइदा पुर्‍याउँछ ।
मुखलाई पछाडि तन्काउँदा डबल चिन हट्ने र घाँटीमा चाउरी पर्दैन । घाँटीलाई पनि तन्काउनुस् र ढाडलाई पनि तन्काउनुस् ।

लामो समय एउटै ठाउँमा बस्नु हुँदैन । बेलाबेलामा उठेर शरीरलाई तन्काउनु स्वस्थ जीवनका लागि आवश्यक छ । एकै ठाउँमा धेरैबेर बसिराखिएको छ भने जुरुक्क उठेर तन्किइहाल्नु एकदमै राम्रो योग हो ।

घुँडा र कम्मर दुखाइको समाधान
घुँडा दुखेको छ भने घुँडालाई जमिनमा मसाज दिनुपर्दछ । घँुडालाई खुम्चाउने, जमिनमा ठोक्ने र ड्याम्म छोड्नुका साथै फेरि खुम्चाउने र ड्याम्मै छोड्नु पर्दछ । यसबाट गुजुल्टिएका र नचलेका नसाहरू सक्रिय हुन थाल्छन् ।
कम्मर दुख्ने समस्या हटाउन दिनको पाँच–पाँच पटक क्लकवाइज र एन्टि–क्लकवाइज घुमाउनुहोस् ।
हाम्रा ‘मसल्स’ हरू कडा भएकाले दुखाइ हुनुका साथै रोग लाग्ने गर्दछ । त्यसैले नियमित रूपमा यी अभ्यासहरू गर्नुपर्छ ।

प्राणायाम: दीर्घ श्वासप्रश्वास
दिनभरि केही पटक गहिरो श्वासप्रश्वास लिँदा फोक्सोको लागि लाभदायक हुन्छ । दिनमा कम्तीमा ३–४ पटक दुवै नाकबाट लामो श्वास तान्ने र बिस्तारै छोड्ने बानी बसाल्दा फोक्सोलाई पर्याप्त अक्सिजन मिल्छ ।
फोक्सोले अक्सिजन आपूर्ति गर्नसक्दा शरीरका कुनै पनि अंगमा अक्सिजनको कमी हुँदैन । मस्तिष्कसम्म पर्याप्त अक्सिजन नपुग्दा माइग्रेन, टाउको दुखाइ, ब्रेन ट्युमर, दृष्टि कमजोरी वा श्रवणशक्ति कमजोर हुने समस्याहरू निम्तिन सक्छन् । त्यसैले बिहान उठ्ने बित्तिकै ओछ्यानमै पाँच पटक गहिरो श्वास लिने–निकाल्ने अभ्यास गर्दा लाभदायक हुन्छ । सुत्नुअघि पाँच पटक र दिनभरि कम्तीमा दुई पटक यस्तो अभ्यास गर्दा फोक्सोले सही रूपमा काम गर्न सक्नेछ ।

काकी मुन्द्रा
काकी मुन्द्रा प्राणायामको एक विशेष प्रकार हो, जसले शरीरलाई चिसो बनाउँछ र पाचन प्रणाली सुधार गर्छ । यस मुन्द्रा गर्नका लागि निम्न विधि अपनाउनुहोस् :
आफ्नो ओठलाई कागको जस्तै चुच्चो बनाएर मुखबाट बिस्तारै श्वास तान्नुहोस् । त्यसपछि जति सकिन्छ, त्यति समय श्वास रोक्नुहोस् । नाकबाट बिस्तारै श्वास बाहिर फाल्नुहोस् ।
दिनमा ४–५ पटक यो अभ्यास गर्दा शरीरलाई शुद्ध अक्सिजन प्राप्त हुन्छ, जसले गर्मी कम गर्ने, पाचन प्रणालीमा सुधार ल्याउने र मानसिक शान्ति दिने काम गर्दछ ।

स्वस्थ जीवनशैलीका साना उपायहरू
१. पानी बसेर पिउनुहोस् । उठेर पानी पिउँदा घुँडा र ढाडमा समस्या आउन सक्छ ।
२. मुखमा र्‍याल जमाएर निल्ने बानी गर्नुहोस्, यसले मेटाबोलिज्म बढाउँछ र थाइराइड तथा डायबिटिजको समस्या कम गर्छ ।
३. हात मुठी पार्ने र खोल्ने गर्दा नाडीहरू सक्रिय हुन्छन् ।
४. अनुहारको योगका लागि मुखलाई तनक्क तन्काउनुहोस्, जसले चाउरीपना हटाउन मद्दत गर्छ ।
५. घुँडालाई क्लकवाइज र एन्टि–क्लकवाइज ५–५ पटक घुमाउनुहोस् ।

शुद्ध हावा: स्वस्थ जीवनको आधार
घरको झ्यालढोका बन्द गर्नु राम्रो होइन । घरभित्र पर्याप्त हावा खेल्न दिनुहोस् । राति पनि एउटा झ्याल खुला राखेर अक्सिजनलाई छिर्न दिनुहोस् । शरीरका लागि पहिलो खाना अक्सिजन हो, त्यसपछि मात्र अन्य भोजन आउँछ ।

सानातिना योगाभ्यासहरूले पनि निरोगी जीवन बिताउन मद्दत गर्छ । योगा गर्न महँगा कक्षाहरू लिन आवश्यक छैन, घरमै बसेर सरल अभ्यासहरू अपनाई स्वस्थ जीवन बाँच्न सकिन्छ । निरन्तर अभ्यासले मात्र दीर्घायू र ऊर्जाशील शरीरको धनी हुन सकिन्छ ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *