पानी जीवनकालागि अनिवार्य वस्तु हो । पृथ्वीका सबै वनस्पति र जीवजन्तुलाई बाँच्नका लागि पानीको आवश्यकता पर्छ । पृथ्वीको सतहको ७५ प्रतिशत भाग पानीले छोपिएको छ । पृथ्वीमा पानी नभएको भए जीवन पनि हुने थिएन होला ।
वयस्क व्यक्तिको शारीरिक तौलको ६० प्रतिशत, बच्चाको तौलको ७५ प्रतिशत र बृद्धको तौलको ५० प्रतिशत भाग पानीले बनेको हुन्छ । अर्थात मानव शरिरको दुई तिहाई भन्दा बढी भाग पानीले बनेको हुन्छ । मान्छेको दिमाग (गिदी) र मुटुमा ७३ प्रतिशत पानी हुन्छ । यस्तै प्रकारले फोक्सोमा ८३%, छालामा ६३%, मांसपेशी र मिर्गौलामा ७९%, रगतमा ९०% र हड्डीहरुमा ३१% पानीको मात्रा हुन्छ । बोसोमा पानी कम हुन्छ । यसकारण मोटा मान्छेको शरिरमा दुब्लाको भन्दा कम पानी हुन्छ ।

मानिसले प्रत्येक दिन पानी पिउनै पर्छ किनकि शरिर सञ्चालन हुँदा पसिना, सास, पिसाब, दिसा, आँसु, सिङ्गान, खकार आदिका रुपमा शरिरबाट पानी बाहिर निस्किन्छ । केहि नगरिकन सुति मात्रै रह्यो भने पनि २४ घण्टामा दुई लिटर पानी शरिरबाट बाहिर निस्किन्छ (पिसाबबाट १ लिटर, पसिनाबाट आधा लिटर, सासबाट ३०० मि.लि. दिसाबाट २०० मि.लि.) । शरिर सञ्चालनका क्रममा शरिरबाट घटेको पानी यदि पूर्ति गरिएन भने शरिर कमजोर हुँदै जान्छ र एउटा विन्दुमा पुगे पछि शरिरको मेसिन बन्द हुन्छ, अर्थात शरिर मर्छ । यो मोटरको इञ्जिन जस्तै हो । पेट्रोल हाले चल्छ, सकिए पछि बन्द हुन्छ । जन्मदा मान्छेको शरिरमा धेरै पानी हुन्छ । जीवनकालमा यो पानी घट्दै जान्छ र शरिर बुढो हुँदा पानी धेरै घटेर शरिर सुकेको हुन्छ । शरिरमा पानीको सन्तुलन कायम गर्न सक्यो भने स्वस्थ र फूर्तिलो रहन सकिन्छ । थोरै पानी पिउने शरिर चाडै बुढो हुन्छ ।
शरिरमा भएको पानी चार प्रतिशत भन्दा बढीले घट्यो भने ‘डिहाइड्रेसन’ हुन्छ र पन्ध्र प्रतिशत भन्दा बढी घट्यो भने मृत्यु हुन सक्छ । खाना विना मानिस २–३ महिना सम्म बाँँच्न सक्छ तर पानी विना उ १ हप्ता भन्दा बढी बाँच्न सक्दैन । पानी हाम्रो शरिरका लागि स्वास जत्तिकै महत्वपूर्ण बस्तु हो । बच्चा जन्मिने बित्तिकै पहिले स्वास लिन्छ त्यस पछि पानी पिउँछ । मान्छे मर्दा पनि अन्त्यमा उसले स्वास फाल्छ र उसको मुखमा एक चम्चा जति पानी हालि दिने चलन छ ।
पानीको स्वाद, गन्ध, रंग, आकार केहि हुँदैन, न त यसको कुनै ‘इनर्जी भ्यालु’ हुन्छ । आखिर मान्छेको शरिरलाई पानी किन चाहिन्छ ? भिटामिन, खनिज, चिल्लो, प्रोटिन, कार्बोहाईड्रेट आदि कुनै पनि पौष्टिक तत्व नभएको पानीले शरिर भित्र के त्यस्तो महत्वपूर्ण काम गर्छ ? यसैबारे चर्चा गर्न चाहन्छु ।
पानीले शरिरको तापक्रम नियन्त्रण गर्दछ । यो पानीले गर्ने मुख्य मध्येको एउटा काम हो । सामान्य अवस्थामा हाम्रो शरिरको तापक्रम संधै स्थिर हुनु आवश्यक छ । ९६ देखि ९८ डिग्री फरेनहाइट सम्म तापक्रम तल माथि हुन सक्छ । यो भन्दा धेरै तल माथि भयो भने शरिरमा रोग लाग्छ । रोग नलागोस् भनि शरिरले आफ्नो तापक्रम आफै मिलाउँछ । यसलाई ‘अटोथर्मोरेगुलेसन’ भनिन्छ । शरिर धेरै नतातोस् र नचिसियोस् भनि शरिर भित्रको पानीले काम गर्छ । तापक्रम बढ्यो अर्थात् गर्मी भयो भने शरिरबाट पसिना निस्किन्छ । पसिनाले शरिरलाई चिसो पार्छ । धेरै गर्मी हुँदा धेरै पसिना आउँछ । यो हामी सबैले अनुभव गरेको कुरा हो । यस्तै प्रकारले चिसो भयो भने छाला चाउरी पर्छ, नसाहरु खुम्चिन्छन् र पानी शरिरबाट बाहिर निस्किदैन । गर्मी मौसममा धेरै पानी पिउनु पर्ने र जाडोमा थोरै पिए पनि पुग्ने कारण यहि हो । यस प्रकार शरिरको तापक्रम सन्तुलित राख्न पानीको ठूलो महत्व छ ।
पानीले शरिरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरिरलाई शुद्धिकरण गर्छ । शरिर सञ्चालनका क्रममा विषाक्त पदार्थहरु उत्पादन हुन्छन् जुन कलेजो, मिर्गौला, आन्द्रा, छाला र फोक्सोको मद्दतबाट बाहिर निकालिन्छ । यि प्रक्रियाहरु नियमित गतिमा हुन्छन् । धेरै पानी पिएर धेरै विषाक्त पदार्थहरु बाहिर निस्कने तथ्य सहि होइन । धेरै पानी पिएर मिर्गौला धेरै सफा बन्ने पनि होइन । धेरै पानी पिउँदा पिसाब धेरै सङ्लो आउँछ । यति मात्र हो । यस्तै प्रकारले पानी धेरै पिएर आन्द्रा सफा हुने, कब्जियत नहुने भन्ने पनि होइन । शरिरलाई निश्चित मात्रामा पानी चाहिन्छ । मुटु, मिर्गौला स्वस्थ छन् भने पानी धेरै पिउँदा खासै हानी छैन तर फाइदा पनि खासै छैन । शरिरलाई जति पानी चाहिने हो त्यति नै पिए पुग्छ ।
पानीको अर्को महत्वपूर्ण काम भनेको शरिर भित्रका कोषिकाहरुमा भिटामिनहरु र पौष्टिक तत्वहरु पु¥याउने हो । सबै थरि भिटामिन ‘बी’ र ‘सी’ पानीमा घुलिन्छन् । यि भिटामिनहरु शरिरमा पुग्न पानी नभै हुँदैन । अरु भिटामिनहरु (ए, डी, ई, के आदि) चिल्लोमा मात्र घुलिन्छन् । यिनीहरुलाई शरिरमा पुग्न चिल्लो चाहिन्छ । पानीको कमि हुँदा भिटामिन ‘बी’ र ‘सी’ को पनि कमि भई विभिन्न खतरनाक रोगहरु उत्पन्न हुन सक्छन् । यस प्रकार यो देखिन्छ कि पानी शरिर सञ्चालनको एक माध्यम हो ।
पानीको अर्को काम मुख भित्र ¥याल र थुक बनाउने हो । मुखको ¥यालमा रसायनहरु हुन्छन् जसले हामीले खाएको खाना पचाउने काम गर्छ । मुखमा टुक्रिने खाना भनेको ‘कार्बोहाईड्रेट्स’ हो । पानी कम भएमा ¥याल बन्दैन, अनी मुख सुख्खा हुन्छ, प्यास लाग्छ । पानी धेरै पिउँदा पनि मुख सुकिराख्यो भने यो कुनै रोगको लक्षण हुन सक्छ । कुनै कुनै औषधिको ‘साईड इफेक्ट’ ले पनि यस्तो गराउन सक्छ ।
रगत र दिमागको सञ्चालनमा पानीको धेरै ठूलो भूमिका छ । यि दुवै अङ्गमा धेरै पानी छ । शरिरमा अलिकता पानी कम या बेसी हुने बित्तिकै रक्तसञ्चार प्रणाली र स्नायू प्रणालीले असर देखाई हाल्छ । टाउको दुख्ने, चक्कर लाग्ने, रक्तचाप घट्ने, बेहोस हुने देखि लिएर मृत्यु समेत हुन सक्छ । शरिरलाई ठिक्क मात्रामा पानी चाहिन्छ । थोरैले पनि हानी गर्छ ज्यादै धेरैले पनि हानी गर्छ । ठिक्क भनेको कति हो ? अब यसबारे चर्चा गरौं ।
हामीले पिएको पानी धेरै जसो मिर्गौलाले पिसाबको रुपमा बाहिर फाल्छ । स्वस्थ मिर्गौलाको पानी छान्ने (फिल्टर गर्ने) क्षमता भनेको १ लिटर प्रति घण्टा अर्थात १ दिनमा २४ लिटर हो । यदि कसैले १ घण्टामा २ लिटर पानी पियो र पानी पिउँदै गयो भने शरिरमा पानीको मात्रा बढी हुन जान्छ, नुनको मात्रा समानुपातिक रुपमा घट्छ, दिमाग सुन्निन्छ र ‘वाटर इन्टोक्सीकेसन’ भई मृत्यु समेत हुन सक्छ । मिर्गौलाको क्षमता भन्दा बढी पानी पिउँदाको नतिजा ज्यादै खतरनाक हुन सक्छ । १ दिनमा २४ लिटर पानी प्रति घण्टा १ लिटरका हिसाबले पिउँदा शरिरले धान्छ तर २४ लिटर पानी पिएर कुनै फाइदा छैन । मुटु कमजोर रहेछ भने बढी पानीले ‘हार्ट फेलिएर’ गराउन सक्छ ।
कसले कति पानी पिउने भन्ने प्रश्नको यतिनै पिउने भन्ने उत्तर छैन । दैनिक आवश्यक पानीको मात्रा मान्छेको उमेर, वातावरणको तापक्रम, शारिरीक गतिविधि आदिमा निर्भर गर्छ । पानीको मात्रा सबैका लागि एकैनास हुँदैन । दैनिक ८ गिलास अथवा २ लिटर पानी पिउनु पर्छ भन्ने आम धारणा रहेको पाईन्छ । यस धारणाको पछाडी यो कारण छ कि मानिसले पसिना, पिसाब आदिबाट दैनिक २ लिटर पानी निष्कासन गर्छ यसकारण यसको पूर्ति गर्न दैनिक २ लिटर पानी पिउनु पर्छ । सामान्य तापक्रम, सामान्य शारिरीक गतिविधि र वयस्कका लागि यो हिसाब ठिक छ । अर्थात सामान्य अवस्थामा वयस्क मान्छेले दैनिक कम्तिमा २ लिटर पानी पिउनु पर्छ । अत्यधिक गर्मि मौसममा एसी पंखा नचलाई बस्ने हो भने ५ देखि १० लिटरसम्म पनि पसिना निस्किन सक्छ जसको पुर्ति गर्न तेतिनै मात्रा पानी पिउनु पर्छ । यसको ८० प्रतिशत पानीका रुपमा र २०% फलफुल, चिया कफि, दाल, सुप, दुध तथा अन्य खानाबाट लिंदा हुन्छ । स्वस्थ रहन कति पानी पिउने र कुन बेला पिउने भन्ने सम्बन्धमा वैज्ञानिक धारणा यस प्रकार रहेको छ ः
वयस्क व्यक्तिले कम्तिमा दैनिक २ लिटर (आठ गिलास) पानी पिउनु पर्छ तर प्रति घण्टा १ लिटर भन्दा बढीका दरले पिउनु हुँदैन । गर्मी मौसममा र धेरै शारिरीक गतिविधि गरेको बेला पसिना धेरै बग्ने हुँदा धेरै पानी पिउनु पर्छ । शरिरमा पानी कम भयो भने मुख सुक्छ, प्यास लाग्छ । यो शरिरले पानी पिउ भनेको हो । यस कारण प्यास लाग्ने बित्तिकै प्यास मेटिने गरि पानी पिउनु पर्छ । मिर्गौला र मुटु रोगीहरुले धेरै पानी पिउनु हुँदैन । डाक्टरको सल्लाह अनुसार पिउने पानीको मात्रा निर्धारण गर्नु पर्छ । आफुलाई इच्छा लागेको जुनसुकै बेलामा पानी पिउँदा हुन्छ तर बिहान उठ्ने बित्तिकै आधा देखि १ लिटर, खाना खानु भन्दा आधा घण्टा अगाडी र सुत्नु भन्दा १ घण्टा अगाडी पानी पिएको राम्रो मानिन्छ । खाना खाँदा पानी धेरै नपिएको बेस हो तर थोरै पानी खानासँग पिउँदा खाना पचाउन कुनै अप्ठेरो पर्दैन । सुत्ने बेलामा पानी पिउँदा राती पिसाब फेर्न उठ्नु पर्ने हुन सक्छ र निद्रा बिग्रिन्छ । सुत्ने बेलामा खाने औषधिलाई थोरै पानीसँग सुत्नु भन्दा आधा देखि १ घण्टा अगाडी नै खाए बेस हुन्छ ।
अन्त्यमा कति पानी दैनिक पिउने भन्ने प्रश्नको उत्तर धेरैले खोज्छन् । यसको सहि उत्तर दिने एउटा राम्रो फर्मूला छ । “पानी त्यति मात्रामा पिउनु पर्छ जति मात्रा पिउँदा पिसाब पानी जस्तै सङ्गलो आवस् । पिसाब पहेंलो छ भने पानी पुगेन भनि बुझ्नु पर्छ ।”



Leave a Reply