बेलायत अर्थात् आम नेपालीको सपनाको देश । अनेक सपना साँचेर बेलायत आउने क्रम पछिल्लो दशक निकै बढेको छ । विद्यार्थी, दक्ष कामदार अनि गोर्खा लाहुरे परिवारका सदस्यलगायत नेपाली समुदायको कतिपय उपस्थितिले लाग्छ, ‘सानो नेपाल’ यतै कतै छ । यद्यपि, बेलायतजस्तो मिश्रित जातिको बसोबास भएको ठाउँमा नेपाली भाषा, संस्कृति र पहिचानलाई अनुभूत गराउन सक्नु कम्ती चुनौतीपूर्ण कुरा होइन । यो चुनौतीपूर्ण काममा केही नेपाली प्रतिभा अग्रसर हुने गरेका छन् । तीमध्येको एक हुन्— साहित्यकार डा. सङ्गीता स्वेच्छा ।

उनी बेलायतको नेपाली समुदायमा चिरपरिचित साहित्यिक स्रष्टा हुन् । १८ वर्षको उमेरमा नै ‘पखालिएको सिउँदो’ नामक उपन्यास लेखेर नेपाली साहित्यमा बलियो उपस्थिति जनाएकी सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’ सन् २००७ देखि बेलायत बस्दै आएकी छिन् ।
मूलतः कथा र उपन्यास लेखनमा परिचित सङ्गीता नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउन प्रयासरत एक अभियन्तासमेत हुन् । ‘बेलायतजस्तो ठूलो बजार भएको ठाउँमा हामीले जति काम गर्दा पनि थोरै गरेको देखिन्छ,’ सङ्गीता भन्छिन्, ‘तर हाम्रो प्रयासले अब आउने पुस्ताका लागि गोरेटो बाटो मात्र बन्न सक्यो भने नेपाली साहित्यका लागि ठूलो उपलब्धि हुनेछ । हामीले अहिले बाटो बनाउने मात्र हो ।’

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा परामर्शदाताको रूपमा कार्यरत स्वेच्छा नेपाली र अङ्ग्रेजी भाषामा बराबर कलम चलाउँछिन् । उनको उपन्यास ‘पखालिएको सिउँदो’ गत वर्ष ‘सेतो सिउँदो’ नामबाट पुनप्र्रकाशन भयो । यस्तै कथासङ्ग्रह ‘गुलाफसँगको प्रेम’ र ‘असहमतिका पाइलाहरू’ (संयुक्त कथासङ्ग्रह) प्रकाशित छन् । गुलाफसँगको प्रेमको अङ्ग्रेजी अनुवाद ‘रोजेज ओडिसी’ सन् २०२४ मा प्रकाशित भएको थियो । उनकै सम्पादनमा ‘द हिमालयन सनराइज’ साहित्यिक सङ्कलन तथा ‘अ ग्लिम्प्स इन्टु माई कन्ट्री’ कथासङ्ग्रह पनि प्रकाशित छन् ।
सप्ताहन्तमा हुने नेपाली साहित्यिक कार्यक्रम मात्र नभई बेलायती लेखकहरूकै आयोजनामा हुने साहित्यिक कार्यक्रममा उनी बराबर पुग्ने गर्छिन् । त्यहाँ भेट हुने संसारभरिका साहित्यकारसँगको भेट तथा कुराकानीले आफूलाई नेपाली साहित्यमा केही नयाँ र दीर्घकालीन महत्वको काम गर्न प्रेरणा मिलेको बताउने स्वेच्छा अहिले अङ्ग्रेजी भाषामै आफ्नो नयाँ उपन्यास ‘अ क्वेस्ट फर ब्रान्डिङ’ प्रकाशनमा ल्याउन व्यस्त छिन् ।
बेलायतमै जन्मेका नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिसँग जोड्न लागिपरेका अर्को नाम हो, राजेन्द्र बस्नेत ‘खस’ । संस्कृतिकर्मी खस आफ्ना साना छोराछोरीलाई पनि खस पहिचान झल्किने कपडा लगाइदिएर बेलायतका कार्यक्रमहरूमा पुग्छन् । साथै, कुमारीको रथयात्रादेखि थारू नाच देखाएर लन्डनमा ‘प्रतिभा नक्षत्र’ नामको बृहत् कार्यक्रम गर्छन् । प्रतिभा नक्षत्र नै उनको तन, मन र सपना रहेको देखिन्छ ।

सन् २०१७ यता अहिलेसम्म प्रतिभा नक्षत्रका पाँचवटा कार्यक्रम भए । नेपाली बालबालिकाको गायन, नृत्य, अभिनय आदि देखाउने कार्यक्रम हो यो । विदेशमा जन्मेहुर्केका नेपाली बालबालिकालाई नेपाली कार्यक्रममा समेटेर प्रोत्साहन गर्ने अभियान रहेको उनी बताउँछन् ।
गुल्मी घर भएका राजेन्द्र बस्नेत सन् २००९ यता बेलायत बस्दै आएका छन् । नेपालीहरूको घनत्व धेरै भएको प्लमस्टिडमा बस्दै आएका उनले खस समाज नेपालदेखि खस समाज युकेसम्म स्थापना गरेका छन् । खस नै किन ? भन्ने प्रश्नमा उनी भन्छन्— ‘खस आफ्नो छुट्टै भाषा, वेशभूषादेखि जन्म, मृत्यु संस्कारसम्म भएको जाति हो । मस्टो धर्म मान्ने संस्कृति हो । भिन्न मौलिक पहिचान भएकाले यसको संरक्षणमा हामी लागेका हौँ ।’

राजेन्द्रका अनुसार पञ्चतत्वमा पनि आकाशतत्वलाई बढी महत्व दिने खस जमिन र जीवनलाई केन्द्रमा राख्ने सिद्धान्त हो । जुन अरू जातिभन्दा भिन्न छ । खस सभ्यताको यही सिद्धान्त आजको पृथ्वी बचाउन पालना गर्नुपर्ने सङ्कल्पका साथ खस अभियान लिएर राजेन्द्र बेलायतबाटै अगाडि बढिरहेका छन् । एक संस्कृतिकर्मीबाहेक कार्गो व्यवसायमा संलग्न राजेन्द्र सामाजिक कार्यकै सिलसिलामा नेपाल आउने–जाने पनि गरिरहन्छन् ।
प्रवासको व्यस्त जीवनबाट पनि समय निकालेर नेपाली कला, सङ्गीतका क्षेत्रमा सक्रिय अर्को नाम हो, गायक गंगाराज राई ।

काठमाडौँमा कलेज पढ्दाका दिनहरूमा ६ वर्षसम्म शास्त्रीय सङ्गीत अध्ययन गरेका गंगाराज राई सन् २०१० यता बेलायत बस्दै आएका छन् । जहाँ बसे पनि गीत–सङ्गीत उनको जीवनसँगसँगै बगिरहेको हुन्छ । बेलायत बसेर उनले चार दर्जन बढी गीत रेकर्ड गरिसकेका छन् । त्योभन्दा पनि महत्वपूर्ण कुरा आफ्नो घरमा नै ‘होम स्टुडियो’ बनाएर अन्य नेपाली गायक, सङ्गीतकारलाई बेलायतमा गीत तयार गर्ने माहोल बनाएका छन् ।
भोजपुर, टेम्केमैयुङ घर भएका गंगाराजले पहिलो गीत ‘माया पायौ कि अरूलाई दियौ’ २०५८ सालमा नै रेकर्ड गरेका थिए काठमाडौँमा । २०६४ सालमा रेडियो नेपालको आधुनिक गीत गायनतर्फ स्वर परीक्षा उत्तीर्ण गरेका उनले अहिले बेलायतमा नेपाली समुदायमाझ साङ्गीतिक माहोल तयार गर्न सक्रिय छन् । नेपाली कलाकारहरूको साझा संस्था ‘नेपाली कलाकार प्रस्तोता समाज बेलायत’को महासचिव रहेका छन् ।
‘खासमा म आफूलाई गायनमै केन्द्रित गराउन मन पराउँछु । तर, बेलायत बस्न थालेपछि मेरो काम सङ्गीतकारदेखि रेकर्डिस्टसम्मको भयो,’ उज्यालो चेहराका गंगाराज हाँस्दै भन्छन्, ‘यहाँ विषयविज्ञ नभएकाले गायक, कम्पोजर, वाद्यवादक, रेकर्डिस्टको काम एउटै मानिसले गर्नुपर्ने हुन्छ । भोलिको दिनमा नयाँ युवाहरू यी क्षेत्रमा आए भने यो समस्या अन्त्य हुन्छ ।’

सन् २०१३ मा नारायणगोपाल साँझ तथा आफ्नो साङ्गीतिक यात्राको बीसौँ वर्ष पूरा भएको उपलक्ष्यमा लन्डनमा ‘गंगाराज राई एकल साँझ’ भएको थियो, जसमा उनले आफ्ना उत्कृष्ट १८ वटा गीत १३ जना वाद्यवादकको साथमा प्रस्तुत गरेका थिए । जुन पूरा लाइभ ब्यान्डसहित नेपाली गायकले आफ्नै गीत गाएको पहिलो कार्यक्रम थियो । त्यसयता लन्डन वरपर हुने अधिकांश साङ्गीतिक कार्यक्रमको मियो गंगाराज नै हुने गरेका छन् ।
सङ्गीत स्रष्टासँगै चित्रकलामार्फत बेलायतका नयाँ पुस्तालाई नेपालसँग परिचित गराउने माध्यम बनेका छन्, चित्रकार अच्युत पौडेल ।
लन्डन टावर ब्रिजअगाडि क्यानभास लिएर एक युवा हिमालदेखि गौतम बुद्धसम्मको चित्र बनाइरहेको भिडियो टिकटकमा देख्नुभएकै होला । बेलायतको विभिन्न सुन्दर स्थानमा गएर चित्र बनाइरहने उनै कलाकार हुन्, अच्युत पौडेल । उनका अधिकांश चित्रले नेपालको प्राकृतिक सुन्दरता र संस्कृतिलाई अगाडि सारेको पाइन्छ ।
स्याङ्जाका अच्युतले काठमाडौँमा ललितकला विषयमा स्नातक सके । त्यसपछि सन् २०२१ मा उच्च अध्ययनका लागि बेलायतमा आएर ललितकलामा (फाइन आट्र्स) नै मास्टर्स गरे । त्यतिमात्र नभई बेलायतकै एक प्रतिष्ठित आर्ट ग्यालरीमा ६ महिना प्रशिक्षार्थी कलाकारको रूपमा काम गर्ने अवसर पाए ।
‘पहिला जुनसुकै पेन्टिङ नेपालबाट मगाएर ल्याउनुपर्ने अवस्था रहेछ । यता मैले भेटेका अधिकांश मानिस यसै भन्छन्,’ अच्युतले आफ्नो अनुभव सुनाउँदै भने, ‘मलगायत केही युवा कलाकार बेलायत आएसँगै नेपाली समुदायभित्रै रहेर व्यावसायिक चित्रकला गर्न सम्भव छ भन्ने कुरा देखियो । यसलाई अब बेलायतकै बजारसँग पनि जोड्ने अभियानमा छौँ ।’
अच्युतको खास परिचय भिजुअल आर्टिस्ट हो । यद्यपि, बेलायतमा रहेका नेपालीहरूले मुहारचित्र तथा हिमाल–पहाडको ल्यान्डस्केप बनाइदिन आग्रह गरेकाले पछिल्लो समय उनका अधिकांश चित्रले नेपाली प्राकृतिक सुन्दरता र संस्कृतिलाई अगाडि सारेको पाइन्छ । एक्रेलिक, वाटर कलरदेखि डिजिटल पेन्टिङसम्म गरिरहेका उनलाई बेलायतमा नै बस्दै आएका भाइ आदित्य पौडेलले पनि कलायात्रामा साथ दिइरहेका छन् ।
भविष्यमा लन्डनमा नै एक आर्ट ग्यालरी खोलेर नेपालका कलाकारका कलाहरूको सामूहिक प्रदर्शनी गर्ने सोच राखेका उनी भन्छन्, ‘म एक जनाको कलाले मात्र नेपालको प्रतिनिधित्व गर्दैन । नेपालका अन्य राम्रा युवा कलाकारहरूलाई बेलायत तथा युरोपसम्म परिचित गराउन सकियो भने त्यो नेपाली कलाको लागि ठूलो उपलब्धि हुनेछ ।’
अहिले ‘थेम्स आर्ट ग्यालरी’सँग आबद्ध अच्युत नेपाल–बेलायतको सम्बन्धलाई चित्रकलाबाट जोड्न प्रयत्नशील पात्र हुन् ।



Leave a Reply