स्पा भन्नासाथ धेरैले केवल मसाज गरिने ठाउँ सम्झन सक्छन् । तर, वास्तविक अर्थमा स्पा भनेको शरीर, मन र आत्माको सन्तुलन कायम गर्ने समग्र उपचार पद्धति हो । यस शब्दको उत्पत्ति ल्याटिन भाषाको Sanus Per Aquam बाट भएको हो, जसको अर्थ हो— ‘पानीबाट स्वास्थ्य–लाभ’ ।

स्वास्थ्यलाई जोगाउने र रोगको उपचार गर्ने उपायका रूपमा आयुर्वेद प्रयोग गरिन्छ । स्पा सेवाहरू आयुर्वेदको रोकथाममुखी (प्रतिरोधात्मक) दृष्टिकोणअन्तर्गत पर्छन् । परम्परागत रूपमा पानीमा आधारित स्नान र थेरापीबाट सुरु भएको स्पा संस्कृतिले अहिले तेल, जडीबुटी, आयुर्वेदिक विधि, ध्यान, योग, स्क्रब र मसाजको समुच्चय स्वरूप लिएको छ । नेपालमा पनि अब स्पालाई आधुनिक जीवनशैलीसँग जोडेर हेर्ने चलन बढ्दो छ ।

पहिला स्पा भन्नेबित्तिकै धेरै मानिसले विलासितासँग जोडेर हेर्थे तर पछिल्ला वर्षहरूमा त्यो सोचमा पूरै परिवर्तन आएको छ । विशेषतः युवा पुस्ताले स्पालाई मानसिक विश्राम, आत्म–हेरचाह, आत्मविश्वासको वृद्धि र स्वास्थ्यको आधारका रूपमा लिन थालेका छन् । अहिले त जन्मदिन मनाउने, मिटिङ गर्ने वा साथीहरूसँग क्वालिटी टाइम बिताउने ठाउँको रूपमा समेत स्पा केन्द्रहरू रोजिन थालेका छन् । कसैको एनिभर्सरी, जन्मदिन आदि पार्टीहरूमा पनि स्पाका कुपनहरू उपहारका रूपमा दिने चलन बढ्दो छ ।

स्पा सेवा लिने प्रक्रिया भने धेरै संवेदनशील र व्यक्तिगत हुन्छ । पहिलो पटक स्पा सेवा लिन आउँदा ग्राहकको स्वास्थ्यस्थिति, मानसिक अवस्था, छालाको संवेदनशीलता, रोगहरूको इतिहास आदिबारे जानकारी जरुरी हुन्छ । सोही आधारमा योग्य थेरापिस्टले उपयुक्त सेवा सिफारिस गर्छन् । यही प्रक्रियाबाट ग्राहकले आफ्ना लागि कुन सेवा उपयुक्त हो भन्ने बुझ्न थाल्छन् र दोहोरिने बेला थप स्पष्टताका साथ सेवा रोज्न सक्छन् । यदि कुनै विशेष समस्या छैन भने सामान्य ६० मिनेटको आयुर्वेदिक मसाज पर्याप्त हुन्छ ।
विभिन्न प्रकारका थेरापीहरूमा शिरोधारा थेरापी, डिप टिस्यु मसाज, हट स्टोन थेरापी, एरोमा थेरापी, फेस मसाज, स्पाइनल थेरापी, बडी स्क्रब आदि पर्छन् । हरेक सेवा विशेष अवस्थामा केन्द्रित हुन्छ । माइग्रेन, अनिद्रा, टेकनेक, जीउको दुखाइ वा तनावका लागि फरक–फरक थेरापी प्रयोग गरिन्छ । उदाहरणस्वरूप मोबाइल र ल्यापटपको अत्यधिक प्रयोगले गर्दनको समस्या हुनेहरूका लागि टेकनेक मसाज उपयोगी मानिन्छ भने जाडो महिनामा शरीर चिसो भएर दुख्नेहरूका लागि हट स्टोन मसाज अत्यन्त प्रभावकारी हुन्छ ।

स्पा सेवाको उद्देश्य केवल सौन्दर्य वृद्धिमा सीमित छैन । यसले शारीरिक स्फूर्ति, मानसिक विश्राम र भावनात्मक सन्तुलन कायम राख्छ । जब शरीर स्वस्थ हुन्छ, मन स्वतः स्थिर रहन्छ । कुनै शारीरिक असन्तुलनले मानसिक तनाव निम्त्याउँछ र त्यही मानसिक दबाबले भावनात्मक अवस्थालाई समेत प्रभावित गर्छ । नियमित स्पा सेवाले यस्ता समस्याहरूलाई रोक्न मात्र होइन, सन्तुलित जीवनशैली कायम राख्न पनि मद्दत पु¥याउँछ । अनुसन्धानले देखाएको छ, ६० मिनेटको मसाजलाई आठ घण्टा सुताइ बराबरको विश्रामदायी अनुभव मानिन्छ ।

नेपालको भौगोलिक र सांस्कृतिक सम्पदाले स्पा सेवा अझै प्रभावकारी बनाउँछ । हाम्रो गाउँघरमा मकैको पीठोले मुख र शरीर मोल्ने परम्परा आधुनिक स्क्रबिङ पद्धतिमा रूपान्तरण भइसकेको छ । तातोपानी कुण्डहरू, जडीबुटी, आयुर्वेदिक तेलहरूको प्रयोगले नेपाली स्पा सेवालाई अन्तर्राष्ट्रिय रूपमा पनि विशेष बनाउने सम्भावना बोकेको छ । यद्यपि, यस्ता प्राकृतिक स्रोतहरूलाई अझै व्यावसायिक रूपमा विकास गर्न सकिएको छैन ।
आजको व्यस्त जीवनशैलीमा मानिसहरू थकान, मानसिक तनाव, निद्रा नलाग्ने, शरीर दुख्ने, छालाको समस्या वा केवल आत्म–संयमको आवश्यकता महसुस गर्दा स्पा सेवा खोज्ने गरेका छन् । अझ अचेल त ट्रेकिङ वा हाइकिङ जाँदा पनि मानिसहरू पहिले मसाज गरेर शरीर तयार पार्ने गर्छन् । बच्चादेखि वृद्धसम्मका लागि स्पा सेवा आवश्यक छ । जन्मिनुअघि आमामार्फत, जन्मिएपछि बालकलाई, वयस्क अवस्थामा आत्म–हेरचाहको रूपमा, वृद्ध अवस्थामा सेवा र आरामको माध्यमको रूपमा स्पाको महत्व जीवनका हरेक चरणमा देखिन्छ ।

अझ रमाइलो त के भने, पहिला महिलाका लागि मात्र सोचिएको फेसियल, मेनीक्योर, पेडीक्योर, वाक्सिङजस्ता सौन्दर्य सेवाहरू अहिले पुरुषहरूले पनि समान रूपले लिँदै आएका छन् । मानिसहरू अब स्वास्थ्य र सौन्दर्यलाई सँगै अघि बढाउने सोच राख्न थालेका छन् । स्पा अब विलासिता होइन, आवश्यकताको विषय भएको छ । यो ‘स्पा इज नट लक्जरी, इट इज नेसेसरी’ भन्ने भनाइले पुष्टि गर्छ ।

मानिस रोग लागेपछि उपचारका लागि अस्पताल जान्छन् । तर रोग लाग्न नदिन, शरीरलाई सन्तुलनमा राख्न, मानसिक तनाव कम गर्न र आत्म–विश्वास बढाउन स्पा जान आवश्यक हुन्छ । यो स्वास्थ्यमा लगानी हो, जहाँ तपाईंले आफ्नै शरीर, मन र आत्मालाई सन्तुलनमा राख्नुहुन्छ । त्यसैले, स्वस्थ रहन, आत्म–संयममा बस्न र जीवनका क्षणहरूलाई सम्पूर्ण रूपमा महसुस गर्न स्पालाई आफ्नो जीवनशैलीमा समावेश गर्नुहोस् ।
व्यवस्थापक, ट्रान्क्युलिटी स्पा



Leave a Reply