बैंकर जीवनशैली : व्यवस्थापनदेखि अनुशासनसम्मको लय


आर्थिक गतिविधिलाई उसै पनि महत्वपूर्ण गतिविधिका रुपमा लिइन्छ । हरेक क्षेत्रलाई चलायमान तुल्याउन आर्थिक मेरुदण्ड दरिलो हुन जरुरी ठानिन्छ । दैनिक रुपमा आर्थिक गतिविधि हुने बैङ्किङ क्षेत्र महत्वपूर्ण रहँदै आएको छ । सातामा छ दिन कार्यालयको काममा व्यस्त बैंक–कर्मचारीहरूका जीवनशैली, व्यक्तिगत जीवन, अनुशासनदेखि सामाजिक उत्तरदायित्वका पक्षहरू कसरी चलेका हुन्छन् ? पक्कै, यी सवाल आम मान्छेका…

आर्थिक गतिविधिलाई उसै पनि महत्वपूर्ण गतिविधिका रुपमा लिइन्छ । हरेक क्षेत्रलाई चलायमान तुल्याउन आर्थिक मेरुदण्ड दरिलो हुन जरुरी ठानिन्छ । दैनिक रुपमा आर्थिक गतिविधि हुने बैङ्किङ क्षेत्र महत्वपूर्ण रहँदै आएको छ । सातामा छ दिन कार्यालयको काममा व्यस्त बैंक–कर्मचारीहरूका जीवनशैली, व्यक्तिगत जीवन, अनुशासनदेखि सामाजिक उत्तरदायित्वका पक्षहरू कसरी चलेका हुन्छन् ? पक्कै, यी सवाल आम मान्छेका चासोभित्र पर्दछन् ।

व्यस्त दैनिकीबीच पनि सधैँ फुर्तिला देखिने बैंकरहरूका जीवन–शैली देखेर मानिसहरू बैङ्किङ क्षेत्रप्रति आकर्षित हुने गरेका छन् । बैङ्किङ क्षेत्रमा सदैव क्रियाशील रहने र आ–आफ्ना जिम्मेवारी निर्वाह गर्ने मात्र नभई जीवनकै महत्वपूर्ण पक्षका ज्ञानहरूसमेत प्राप्त भइरहने नेपाल बैंक लिमिटेडको वीरगञ्ज, आदर्श नगरस्थित मधेश प्रदेश प्रादेशिक कार्यालयका प्रमुख खड्गसिंह मोक्तान बताउँछन् । उनका अनुसार बैङ्किङ क्षेत्रले मुख्यतः आर्थिक कारोबारसँगै आर्थिक अनुशासनको पाटोलाई सिकाउने काम गर्छ । जब अर्थतन्त्रलाई चलायमान तुल्याउन आर्थिक अनुशासनको पाटो अघि आउँछ, तबमात्र मानिसको जीवन सहज र अनुशासित ढंगबाट अगाडि बढ्न सक्ने उनको बुझाइ छ । ‘हामीले सबैभन्दा पहिला सिक्नुपर्ने कुरा आर्थिक अनुशासन हो’, उनी भन्छन्, ‘हामी पैसाको कारोबार र गतिविधिमा अनुशासित भएमात्र सफल हुन सक्छौँ । बैङ्किङ क्षेत्रको रोजगारीले सोही अनुशासनलाई सिकाउने काम गर्छ ।’ सोही अनुशासनमा अडिग भएर नै दैनिक जीवन सरल र सहज रुपमा अगाडि बढ्ने उनको बुझाइ छ ।

बैंकमा चप्पल लगाउनेदेखि कारमा सवार ग्राहकहरू आउँछन् । दुई दशक लामोे बैङ्किङ करिअरमा उनले त्यस्ता अनेकौं बैङ्किङ कारोबारी देखेका छन् । भन्छन्, ‘हिजो चप्पल लगाएर बैंकमा ऋण लिन आउनेहरू आज सोही बैंकले करोडौंको ऋण पत्याउने अवस्थामा पुगेका छन् । उनीहरू कार चढेर बैंक आउँछन् । यी सबै कुरा आफैँले देख्दा ठुलो आत्मसन्तुष्टि मिल्छ र यसले आफ्नो काममा निरन्तर लगाव, समर्पण र इमानदार हुन सधैँ प्रेरणा दिइरहन्छन् ।’
बैंकरहरूका लागि नित्य दिनचर्या त छँदैछ । सोही दिनचर्यालाई पछ्याउँदै शारीरिक फिटनेस, भान्सा, नानी–बाबुको हेरचाहसँगै उनीहरूलाई विद्यालयसम्म पु¥याउने कार्यमा सक्रिय छन्, तीनकुनेस्थित प्रोग्रेसिभ फाइनान्स लिमिटेडको कार्यालय–प्रमुख रुविश श्रेष्ठ । कार्यालयको काममा दिनभरि व्यस्त हुन्छन् उनी । उनी कार्यालयमा रहँदा चुस्त कार्य–सम्पादन र सञ्चालन गर्न हरेक क्षण क्रियाशील देखिन्छन् । यसरी उनलाई कार्यालयमा सातामा छ दिन बितेको पत्तै हुँदैन । एक दिन भने पारिवारिक माहोलमा रमाउँछन् । यसरी उनले बैङ्किङ क्षेत्रमा १८ वसन्त व्यतित गरिसकेका छन् ।

बितेको १८ वर्षमा एनआइसी–एसिया, सिद्धार्थ, मेगा बैंक हुँदै प्रोग्रेसिभ फाइनान्ससम्म यात्रा गर्दा उनले बैङ्किङ क्षेत्रको गतिविधिका साथै आर्थिक प्रणाली, राष्ट्रबैंकको आर्थिक नीति तथा प्रणाली, समग्र बजार र मानिसको आर्थिक अवस्था र यसले पार्न सक्ने प्रभावहरूबारे फेदैदेखि बुझेका छन् । दिनहुँ सयौं मानिससँग प्रत्यक्ष सम्पर्कमा रहने मौका पाएका उनका लागि बैङ्किङ क्षेत्र आर्थिक प्रणालीबाट चल्ने समग्र क्षेत्रलाई बुझ्ने आधारसमेत बन्न पुग्यो । भन्छन्, ‘बैङ्किङ क्षेत्र बैंकरहरूका लागि एउटा रोजगारीमात्र होइन, यो एक हिसाबले लर्निङ प्रोसेस पनि हो । यो क्षेत्रमा सिक्ने कुरा कहिल्यै सकिँदैन । मुख्य रुपमा यो क्षेत्रमा आर्थिक पक्ष नै आउने भएकोले यसको होल सिस्टममा हुने परिवर्तनहरूमा हामी अपडेट भइरहेका हुन्छौँ ।’
एउटा बैंकभित्र अनेक विभाग हुन्छन्, जहाँ बजारदेखि ग्राहकसँगको सम्पर्क, समन्वय, कार्यालय सञ्चालन, व्यवस्थापन, आर्थिक संकलन, सञ्चय र सुचारुसम्मका कार्यहरू हुन्छन् । प्रत्येक विभागमा आवश्यकताअनुसार जनशक्ति परिचालन हुन्छन्, जहाँ निश्चित नियम, अनुशासन, पहिरन र परिधिहरूको सीमासमेत तोकिएका हुन्छन् । यसले व्यक्तिगत मात्र नभई पेसागत रुपमा सभ्य, अनुशासित भई उत्तरदायित्व बहन गर्न उत्प्रेरित गर्ने श्रेष्ठको भनाइ छ ।
बैङ्किङ क्षेत्रमा काम गर्ने प्रवृत्ति र विभागहरूसमेत बेग्लाबेग्लै हुने भएकाले त्यसलाई महत्वपूर्ण ‘प्लाटफर्म’का रुपमा लिन्छिन्, अर्का बैंकर स्मारिका तिवारी । एक दशकयता बैङ्किङ र कर्पोरेट क्षेत्रको बजार प्रणालीसम्बन्धी अनुभव बटुलेकी उनी अचेल सिटिजन बैंकमा सञ्चार तथा सूचना विभाग प्रमुखका रुपमा कार्यरत छिन् । उनका अनुसार एकजना व्यक्तिका लागि जिम्मेवारी बहन गरी आफू स्वयं प्रस्तुत हुन पाउने सुरक्षित स्थान नै बैङ्किङ क्षेत्र हो । ‘बैङ्किङ क्षेत्रमा निश्चित समयसीमा, काम र डिपार्टहरू हुन्छन्’, उनी भन्छिन्, ‘करिअर र आर्थिक दुवै हिसाबमा हेर्दा यसमा सेक्युरिटी छ । त्यसैले महिलाहरूका लागि यसमा अझै राम्रो हुने भइहाल्यो !’ बैङ्किङ क्षेत्रमा आर्थिकदेखि प्राविधिक र बजार व्यवस्थापनसम्म सिकेका कुराहरू अन्य क्षेत्रमा समेत लागू गर्न सकिने उनको बुझाइ छ । उनकै अनुभवमा भन्दा पनि उनले आफूलाई बढीभन्दा बढी आफूलाई अरूसामु प्रस्तुत गर्न पाएकी छन् । दैनिक आउजाउ हुने ग्राहकसँगको सम्पर्क, कुराकानी आदानप्रदानबाट उनले आफूलाई खुलस्त रुपमा अरूसमक्ष प्रस्तुत गर्न सक्ने खुबी बनाएकी हुन् । बजार र ग्राहकसँगको सम्पर्क र व्यवस्थापनको पक्ष जुनसुकै क्षेत्रमा उपयोगी हुने उनको धारणा छ । भन्छिन्, ‘बैंक मेरा लागि आफूलाई एक्सपोज गर्नेे ठाउँ हो ।’

बैङ्किङ क्षेत्रमा आर्थिक प्रणालीमै बढी भिज्नुपर्ने हुन्छ । देशको समग्र आर्थिक प्रणालीकै आधारमा यो क्षेत्र चलायमान हुने भएकोले अन्य पेसाभन्दा केही दबाब पनि हुने स्वयं बैंकरहरू नै स्वीकार्छन् । यद्यपि सबै काममा आ–आफ्नो हिसाबमा एक किसिमको दबाब र अप्ठ्यारो त हुन्छन् नै यसलाई सजिलो तरिकाबाट अगाडि बढाउन सकेमा बैङ्किङ क्षेत्रमा अझै रमाइलो तरिकाले काम गर्न सकिने अर्का बैंकर राजीव मुल्मी बताउँछन् । विगत १७ वर्षदेखि बैङ्किङ क्षेत्रमा कार्यरत उनी लुम्बिनी विकास बैंक, ललितपुर, कुमारीपाटी शाखामा म्यानेजरको रुपमा कार्यरत छन् । उनी भन्छन्, ‘देशको आर्थिक अवस्थादेखि सहकारी क्षेत्रमा देखिएको समस्याका साथै राष्ट्रबैंकको नीतिअनुसारको अनुपातमा बैंकहरूले गर्नुपर्ने प्रगति विवरण पु¥याउन वा कार्यालय व्यवस्थापन र सञ्चालनमै पनि मानसिक तथा शारीरिक रुपमा दबाब पक्कै हुन्छ । तर बैङ्किङ क्षेत्रमा हुने चुस्त व्यवस्थापन, समकालीन आर्थिक व्यवस्थापन, बजारको अवस्थासँगको प्रत्यक्ष सम्पर्कले ती सबैलाई सामान्य रुपमा लिन बैङ्किङ क्षेत्रको कामले सिकाइरहेको छ ।’
बैङ्किङ क्षेत्रमा निर्धारित विभागीय कामदेखि ‘ड्रेसकोड’ले एक सभ्य र अनुशासित ढंगले उत्तरदायित्व पूरा गर्नुपर्छ भनेर महसुस गराउने प्रोगेसिभका श्रेष्ठ बताउँछन् । उनका अनुसार बैङ्किङ क्षेत्रले जहिल्यै पनि काममा मिहिनेत र इमानदारीमा केन्द्रित हुन प्रेरित गर्छ । उनको विचारमा मिहिनेत र लगावका साथ काम गर्छु र सिक्ने क्रम जारी राख्छु भन्नेहरूका लागि बैङ्किङ क्षेत्र काम गर्ने एकदमै उपयुक्त थलो हुन सक्छ ।

पेसागत उन्नति त छँदैछ, व्यक्तिगत रुपमा आफ्नो स्तरोन्नतिमा बैङ्किङ क्षेत्र धेरै अवसरहरू रहेको बैंकर मुल्मी बताउँछन् । उनका अनुसार पेसागत जिम्मेवारी, व्यवस्थापन र अनुशासन र व्यक्तिगत एवं पारिवारिक जीवनमा समेत सकारात्मक प्रभाव पर्छ । त्यस कारण बैङ्किङ क्षेत्रमा लहलहैमा नभई बुझेर मात्र आउन श्रेष्ठको युवा पुस्तालाई सुझाव छ । उनले भने, ‘बैङ्किङ क्षेत्रमा म जब गर्छु भनेर मात्र होइन, उतिकै प्यासन राखेर धेरैभन्दा धेरै सिक्छु भनी आउनेहरूका लागि एकदमै राम्रो करिअर छ ।’
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *