दसैँसँगै मानिसका प्राथमिकता पनि बदलिएका देखिन्छन् । किनकि, यस चाडको आगमनसँगै कोही जोसमा देखिन्छन् त कोही आलस्यमा । एकाथरी झटपट काम गरूँ र चाडका लागि केही जोहो गरूँ भन्ने मनोदशामा हुन्छन् । अर्काथरी, चाड त ढोकासम्मै आइपुग्यो, अब केको काम भन्ने बहानामा देखिन्छन् । एकाध घण्टा वा भर एक दिन लाग्ने कामलाई समेत उनीहरू ‘दसैँ आइपुग्नै लाग्यो त’ भन्दै पन्छाइदिन्छन् र चाडलाई आलस्यको पर्यायवाची बनाउँछन् ।
फेरि एकथरी, खासगरी स्थानविशेषका गैर–रैथानेका लागि दसैँ मूल घर पुग्ने हतारोको विषय हुन्छ । कसैगरी बेलैमा बस वा हवाईजहाजको टिकट खरिद गरी थातथलो पुग्ने यत्नमा हुन्छन्, उनीहरू । कारण आलस्य होस् वा जोस, चाडबाडले जनजीवन चलायमान बनाइदिन्छ, आर्थिक गतिविधि बढाउँछ र त्यससँगै सामाजिक उत्कण्ठा (सोसियल एन्जाइटी) पनि बढाइदिन्छ ।
नोकरी, व्यवसाय र अध्ययनका सिलसिलामा राजधानीमा रहनेहरूका निम्ति सोह्रश्राद्धसँगै दसैँको काउन्ट डाउन सुरु भइसकेको हुन्छ । कसरी समयमै र सकुशल घर पुग्ने भन्ने उत्कण्ठामा उनीहरू हुन्छन् । यसैगरी काठमाडौँमै घरघडेरी जोडेका तर अभिभावक तथा मान्यजन मूलथलोमा रहेकाहरू सगोलमा दसैँ मनाउने उद्देश्यका साथ राजधानी छाड्ने हतारोमा हुन्छन् । यी कारण पनि हुन्, दसैँमा जोस र आलस्य दुवै सञ्चारित हुने ।
दसैँले गाउँलाई सहरसँग जोड्छ र त्यसैगरी छुट्ट्याउँछ पनि । सहरको उपभोगका लागि जसरी ग्रामीण उत्पादनहरू सहर ल्याइन्छन्, त्यसैगरी आयातित अनि प्रशोधित र प्याकेट–बन्द कोसेलीहरू गाउँ पुग्छन् । हुन त संघीयताको प्रवेशसँगै शासकीय संरचनाको व्यापक परिवर्तन र समान्य सुविधा मात्र पुगेका पालिकालाई नगरपालिकको घोषणासँगै राजधानी, महानगर र क्षेत्रीय सदरमुकामलाई सहर भनिनु र राष्ट्रको बाँकी भू–भागलाई गाउँ भनिनु ‘पोलिटिकल्ली इन्करेक्ट’ भए तापनि धेरैका निम्ति ती थलोहरू मनोवैज्ञानिक रूपमा अझै पनि गाउँ नै हुन् । महानगरपालिकाबाट नगरपालिका हान्निँदै गरेका व्यक्तिका लागि कुनै अमुक आफ्नो बाल्यकाल वा किशोरवय बितेको आजको नगरपालिका यथार्थमा गाउँ नै हो ।

राजधानीको दोस्रो पुस्ताको रैथानेको नाताले म काठमाडौँ र मुलुकको बाँकी भूगोलबीच दृश्य र अदृश्य विभाजन देख्छु । काठमाडौँका रैथाने र आगन्तुक अनि अस्थायी बासिन्दाबीच द्वेषपूर्ण त भनिनहालौँ, होइन कहीँकतै अघुलनशील मनोभाव देख्छु । नेपाल राष्ट्र एकीकरणयता केन्द्रीयकरणका कारण काठमाडौँ बाँकी देशवासीका निम्ति शासकीय प्रभुत्ववादको केन्द्र रहँदै आएको छ । इतिहासदेखिको केन्द्रीकृत शासन र असमावेशिताप्रतिको असन्तोषकै कारण मुलुक अन्ततः संघीय शासन प्रणालीमा प्रवेश गरेको हो । तर, संघीयतामा प्रवेश गरेको एक दशक र प्रादेशिक तहको दुई निर्वाचन सम्पन्न भइसक्दा पनि बाँकी नेपालको काठमाडौँप्रतिको गुनासो थोरै मात्र पनि मत्थर हुन सकेको छैन ।
राजधानी र बाँकी भू–भागबीचको अदृश्य विभाजन अनेकौँ छन् । तर, दृश्य विभाजन भने दसैँमा प्रस्टै देखिन्छ । दसैँको आगमनसँगै काठमाडौँ रित्तिन सुरु हुन्छ । कामको चाप र चपेटामा नरहेकाहरू घटस्थापनाअघि नै गाउँ (घर) का निम्ति रवाना भइसकेका हुन्छन् । विद्यालय–कलेज घटस्थापनादेखि छठसम्म बन्द रहने हुँदा विद्यार्थीवर्ग पनि घटस्थापनापछिको सवारी चापलाई मध्यनजर गर्दै त्यसअघि नै घरका निम्ति रवाना भइसक्छन् । सरकारी र निजी क्षेत्रका कर्मचारीहरू सके बिदा मिलान गरेर फूलपातीअघिसम्म नै हिँडिसक्छन् । त्यसैले घटस्थापना लाग्दै गर्दा काठमाडौँको भीड आधा घटिसकेको हुन्छ भने फूलपातीसम्म त सहर सुनसानप्रायः बनिसक्छ । फूलपातीदेखि पूर्णिमासम्म हप्ता दिनको काठमाडौँ ठीक त्यस्तै देखिन्छ, जुन बेला काठमाडौँमा बन्द वा हड्ताल आह्वान हुन्थ्यो (अहिले नेपाल वा उपत्यका बन्द इतिहास बनिसक्यो) ।
काठमाडौँको जनघनत्वको यकिन तथ्याङ्क उपलब्ध छैन । किनकि, स्थायी बासिन्दाको तथ्याङ्क उपलब्ध भए पनि सामान्य अवस्थामा सहरमा कति मानिस मौजुद रहन्छन् भन्ने आँकडा पाउन सकिँदैन । केही गैरसरकारी संस्थाको अनुसन्धान (जनगणना होइन) अनुसार काठमाडौँको रैथाने जनसंख्याभन्दा डेरावालाको संख्या अधिक देखिएको पाइन्छ । तर, यो आँकडा आधिकारिक भने होइन । यद्यपि, राजधानीका कम्तीमा पनि दुईतले घर र त्यसमध्ये आधाभन्दा बढी भाडामा जाने प्रवृत्तिलाई हेर्दा रैथानेभन्दा अस्थायी बसोबास बढी हुन सक्ने तर्कलाई पुट मिल्छ । फेरि शासकीय र सेवाको केन्द्रीकरणका कारण पनि काठमाडौँ एक प्रकारले ट्रान्जिट रहँदै आएको छ । राजधानीमा बस्न नभएर तेस्रो मुलुकका निम्ति देश छोड्नका लागि पनि यो सहर नपसी सुखै छैन । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल राजधानीमै छ । अन्तर्राष्ट्रिय उडान हैसियतका दुई क्षेत्रीय विमानस्थल निर्माण भए तापनि ती ठाउँ अन्तर्राष्ट्रिय वायुसेवाको रोजाइमा पर्न सकेका छैनन् । वैदेशिक रोजगार कम्पनी, रोजगार विभाग, सम्बद्ध राष्ट्रका दूतावास र भिसा व्यवस्थापन एजेन्सी राजधानीमा मात्र रहेका कारण प्रक्रिया र औपचारिकतानिम्ति पनि काठमाडौँमा केही साता वा महिना बिताउनु अनिवार्य देखिन्छ । देशमा युवाको पलायनमा वृद्धि र जनसंख्या वृद्धिदरमा ह्रास देखिए तापनि काठमाडौँ सधैँ भरिभराउ र भीडयुक्त रहन्छ ।
दक्षिण एसियाको अन्य देशसँग तुलना गर्दा जनघनत्वका हिसाबले नेपालको जनसंख्या ठूलो होइन । लगभग नेपालझैँ भू–क्षेत्रफल भएको बंगलादेशको जनसंख्या १७ करोडभन्दा माथि छ । त्यसैगरी नेपालभन्दा झन्डै आधा क्षेत्रफलको मुलुक श्रीलंकाको जनसंख्या पनि दुई करोडभन्दा माथि छ । भारत र पाकिस्तानको जनसंख्याको त कुरै गर्न परेन । भारतको एउटै महानगरको जनसंख्या नेपालको कुल जनसंख्या बराबर छ । त्यसैले हाम्रो सहरी अस्तव्यतस्ताको कारण जनसंख्या पटक्कै होइन । न्यून र कमजोर पूर्वाधार तथा खराब व्यवस्थापकीय क्षमताका कारण हाम्रा सहर र त्यसमा पनि राजधानी अस्तव्यस्त र लथालिङ्ग देखिएको हो ।
वर्ष दिनको कोलाहल, यातायातको अस्तव्यस्तता र भीडभाडबाट वाक्कदिक्क महानगरवासी दसैँको नाममा रित्तिएको सहरमा सानो समयका लागि राहत महसुस गर्छन् । हिँडेरै आधा घण्टामा पुगिने ठाउँमा कम्तीमा आधा नै घण्टा ट्राफिक जाममा फस्दै आएका उनीहरू खुला सडकमा फुक्काफाल हिँड्दा र गुड्दा रोमाञ्चित हुन्छन् । मन्दिरबाहेक उनीहरूलाई कहीँकतै लाइनमा उभिनु पर्दैन । सवारीको टाइटुई र भीडको कोलाहलमा निस्सासिनु पनि पर्दैन ।
तर, यस्तो क्षणिक सुख त्यस बेला मीठो निद्राबाट बिउँझेझैँ हुन्छ, जब उनीहरूले स–सानो समस्यामा सघाउनेहरू कोही फेला पार्न सक्दैनन् । अचानक घरमा विद्युतीय समस्या उत्पन्न हुँदा सधैँ समयमा उपस्थित हुने इलेक्ट्रिसियन अब गाउँ हिँडिसकेकाले उपलब्ध हुँदैनन् । बाथरुममा धारा बिग्रिँदा प्लम्बर भेटिँदैनन् । चाडबाडका बेला अरू समयभन्दा बढी फोहर जम्मा हुन्छ, तर फोहर उठाउने कोही नहुँदा घर दुर्गन्धित हुन्छ । त्यसैगरी जारको पानी आपूर्ति गर्ने साना किराना पसले सटर बन्द गरेर घर हिँडिसकेको हुन्छ । ताजा तरकारी उपलब्ध गराउने पसल फूलपातीदेखि नै बन्द रहेकाले ओइलाएको सागको मुठाका लागि चर्को दाम तिर्नुपर्ने हुन्छ । रैथाने र आगन्तुकबीचको ‘इकोसिस्टम’ बिथोलिएका बेला साना सुविधानिम्ति चर्कै मूल्य चुकाउनुपर्ने हुन्छ । सार्वजनिक यातायात कमै मात्र चलेकाले ट्याक्सी नचढी धरै हुँदैन । सहरको एक बिन्दुदेखि अर्को बिन्दुसम्मको ट्याक्सी भाडा बस चढेर हेटौँडा र वीरगन्ज पुगेभन्दा कम्ती हुँदैन । हिजो भीडमा निस्सासिएका मानिस अब एक्लोपनको निरीहतामा पर्छन् ।
यी सबै कुराले के देखाउँछ भने राजधानी सहरको आवादी ठूलो पक्कै हो, तर त्यो व्यवस्थापन गर्न नसकिने होइन । संसारका धेरै सहरहरू बाह्रै महिना बाह्रै काल भरिभराउ हुन्छन्, तैपनि त्यहाँको जनजीवन अस्तव्यस्त देखिँदैन । कतिपय सहर त यस्ता पनि छन्, जसको रैथाने वा स्थानीय जनसंख्याभन्दा त्यहाँ ओइरिने पर्यटकको संख्या कैयौँ गुणा बढी हुन्छ । फ्रान्सको पेरिस, स्पेनको बार्सेलोना, ग्रिसको सान्तोरिनी, भारतकै वाराणसी र अयोध्याजस्ता सहरहरूले ‘ओभर टुरिजम’ को समस्या झेलिरहेका छन् ।
हाम्रो राजधानी र महानगरको समस्या नितान्त व्यवस्थापकीय कमजोरीको उपज हो । अनि त्योसँगै राजधानी नै पुग्नुपर्छ भन्ने मानसिकताको कारण पनि हो । एसइई सकेर प्लस टु मात्र पढ्न काठमाडौँ नै आउनुपर्ने कारण के हो ? सामान्य उपचारनिम्ति किन राजधानी धाउने ? वर्ष दिन खान पुग्ने खेतबारी बेचेर किन राजधानीको सीमान्त बस्तीमा चार आनामा घर ठड्याउनुपर्ने ?
दसैँको राजधानीको शून्यपनले नेपालको सामाजिक मनोविज्ञान उजागर गर्छ । हाम्रा शासकीय संरचनालाई झनै व्यङ्ग्य गर्छ । गाउँ र सहरबीचको अन्तरनिर्भरता उजागर गर्छ । हाम्रो आर्थिक र सामाजिक इकोसिस्टमका पहेलीहरू खोतल्छ । र, सबैभन्दा गहनचाहिँ, रित्तो र शून्य सहरभन्दा पनि चलायमान, गतिशील र सुव्यवस्थित सहरको महत्व उजागर गर्छ ।
तस्बिर ः कमल गौतम



Leave a Reply