बदलिँदो दसैँ


अतुल्य मौसम । सहृदय र पूरै वातानुकूलित पनि । बर्सादका आर्द्र दिनहरू निख्रिएर सिङ्गो पर्यावरणले चोला–रङ फेरेको क्षण । उघ्रिएको आकाश–वृत्त । सर्वत्र हरियालीको रजगज । चिसो–मिश्रित हावाको लयबद्धतासँगै फाँट, टार, बेँसीका गरा–गरामा बयेली खेलिरहेका धानका बालाहरू… । अहो ! यस्तो खुसीले भरिपूर्ण क्षण अरू मौसममा कहाँ पाउन सकिन्छ र ? केवल, नवरात्र भित्रिने बेला…

अतुल्य मौसम । सहृदय र पूरै वातानुकूलित पनि । बर्सादका आर्द्र दिनहरू निख्रिएर सिङ्गो पर्यावरणले चोला–रङ फेरेको क्षण । उघ्रिएको आकाश–वृत्त । सर्वत्र हरियालीको रजगज । चिसो–मिश्रित हावाको लयबद्धतासँगै फाँट, टार, बेँसीका गरा–गरामा बयेली खेलिरहेका धानका बालाहरू… ।

अहो ! यस्तो खुसीले भरिपूर्ण क्षण अरू मौसममा कहाँ पाउन सकिन्छ र ? केवल, नवरात्र भित्रिने बेला अर्थात् दसैँ–तिहार, छठलगायत नेपाली जनमनभित्र युगौँदेखि जरा गाडेर बसेका पर्व–उत्सवहरू भित्रिनुअघिको यो समयबाहेक । यो मौसमबाहेक ।

दसैँ, सम्पूर्ण नेपालीजनका असीम धार्मिक–सांस्कृतिक सम्पदाको द्योतक हो । अरू सांस्कृतिक पर्वमध्ये दसैँको श्रेष्ठता कायम हुनुमा यो पर्वको बहुआयामिक पक्षहरूले भूमिका निर्वाह गरेकोमा दुईमत देखिँदैन । धार्मिक–आध्यात्मिक पक्ष आफ्नै ठाउँमा छन्, तर पारिवारिक–सामाजिक माहोलले भरिएको रमझम, अग्रज व्यक्तिहरूबाट आशीर्वचन ग्रहण गर्ने सुअवसर र सम्पूर्ण तनाव बिर्सेर फुर्सदको समयसँग साक्षात्कार गर्ने अवसरका साथै ‘हुने–खाने’ र ‘हुँदा खाने’ दुवै तप्काकाले स्वादिष्ट व्यञ्जनलाई अँगाल्ने पनि यो पर्वको विशिष्ट पक्ष हो ।

अब दसैँ धार्मिक–सामाजिक एवं सांस्कृतिक उत्सवको प्रतीक मात्र रहेन, यो हाम्रा परम्परागत इतिहास एवं सामाजिक विम्ब झल्काउने आधारस्तम्भसमेत बनिसकेको छ । तर पूर्ववर्ती समयका भन्दा पृथक् देखिँदै गएको छ, केही दशकयताका दसैँ । हरेक पर्व, उत्सव वा सांस्कृतिक मूल्य–मान्यताहरू समयान्तरसँगै बदलिनु स्वाभाविक पनि हो । किनभने संस्कृति कुनै जड विषय नभई परिवर्तनशील रहँदै आएको छ, सदैव ।

मानवशास्त्री डा. सुरेश ढकालको विचारमा उत्पादन सम्बन्ध र प्रक्रियाहरू बदलिएसँगै चाडपर्वहरू पनि बदलिने भएका कारण पूर्ववर्ती समयको दसैँ र अहिलेको दसैँमा अन्तर देखिन थालेका छन् । उनी थप्छन्, ‘काठमाडौँ उपत्यकाकै कुरा गर्दा ५० वर्षअघिको दसैँ र अहिले निकै अन्तर आइसकेको छ । सहरीकरण र आधुनिकीकरणले धेरै पाटोमा परिवर्तन ल्याएका छन् । दसैँ मनाउने, मान्ने परम्परा र त्यसका अर्थहरूसमेत बदलिएका छन् ।’

निश्चय नै, हिजोको समाज कृषिमा आधारित थियो । आधा शतकअघि काठमाडौँ उपत्यकाको समाज पनि कृषिमै आधारित थियो । त्यति बेलाका चाडपर्व, त्यसका क्रियाकलापहरू र खानेकुराहरू स्वाभाविक रूपमा एक किसिमका हुन्थे । उनी थप्छन्, ‘आजभन्दा पचास वर्षअघिको दसैँ र अहिलेको दसैँ फरक हुनुमा हामी नयाँ खालको आर्थिक सम्बन्धमा गएका छौँ, नयाँ खाले उत्पादन सम्बन्धहरू जन्मिएका छन् । त्यसैले चाडपर्वहरूका अर्थहरू परिवर्तन भएका छन् ।’

काठमाडौँको भित्री सहर त्यौढमा साढे आठ दशकअघि जन्मिएका पूर्वबैंकर चन्द्रमान प्रधान पहिले र अहिलेको दसैँमा आकाश–जमिनको अन्तर आएको स्विकार्छन् । उनी भन्छन्, ‘पहिले परम्परालाई पछ्याउँदै दसैँ मनाइन्थ्यो, अब त्यो रहेन । परम्परालाई पछ्याउनेभन्दा पनि आफूखुसी दसैँ मनाइन थालिएको छ । यो दसैँको परम्परागत पक्षलाई छाड्दै गएको सङ्केत हो ।’

काठमाडौँ उपत्यकाभित्रका नेवार समुदायले मनाउने दसैँमा पछिल्लो समय धार्मिक एवं सांस्कृतिक रूपले क्षयीकरण हुँदै गएको एक साक्षीका रूपमा प्रधान देखिएका छन् । पूर्ववर्ती समयमा नौरथा प्रारम्भ भएपछि हरेक दिन एक–एक ठाउँमा नवदुर्गाको मेला लाग्थ्यो, अब भने त्यस्तो मेला लाग्न छाडेको प्रधानको अनुभव छ । भन्छन्, ‘नवरात्रको नौ दिनसम्म हरेक तीर्थमा गएर नुवाइधुवाइ गर्ने गरिन्थ्यो । एक दिन शङ्खमूल, अर्को दिन विष्णुमती, अर्को दिन गोकर्ण, अझ अर्को दिन टोखा गरी नौ दिनसम्म हरेक ठाउँमा गई नुवाइधुवाइका साथै भोज गर्ने चलनसमेत थियो । अझ रमाइलो पक्ष त के हुन्थ्यो भने ती तीर्थस्थलहरूमा जाँदा भरियासहित बाजागाजा बजाएर जाने गरिन्थ्यो । अहिले यो सांस्कृतिक पक्ष मासिइसकेको छ ।’

पहिलेको सामाजिक प्रणाली संयुक्त परिवारका कारण समृद्ध थियो । तर, संयुक्त परिवार विघटन हुँदै गएपछि चाडपर्वहरूले पनि आफ्नै शैली समात्दै गएका छन् । बढ्दो एकल परिवारको कारण दसैँको स्वरूपमा समेत परिवर्तन आएको प्रधानको बुझाइ छ । भन्छन्, ‘अष्टमीको दिन परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर भोज खाने गर्थे, अब त्यो माहोलको अन्त्य भइसकेको छ । परिवारका ज्येष्ठ सदस्यदेखि अरू सदस्यहरू उमेरका आधारमा क्रमबद्ध रूपमा बसेर भोज खाँदाको बेग्लै आनन्द अब कहाँ पाउनु ! अचेलको पुस्ताले भने भोजका क्रममा परम्परागत रूपमा खाइने चिउरा नभई पिज्जा र बर्गर मन पराउन थालेका छन् । सांस्कृतिक रूपले मात्र नभई दसैँको खानपानको मेनुसमेत बदलिँदै गएको छ ।’

मध्यम वर्गको फेरिएको दसैँ
केही दशकपूर्वसम्म काठमाडौँ उपत्यकामा अस्थायी वा स्थायी रूपमा बसोबास गर्ने व्यक्तिहरू दसैँको रौनकमा भिज्न आफ्नै गाउँबस्तीतिर जाने गर्थे । त्यस समय गाउँमा गई अभिभावक (बुबा–आमा) र परिवारका अग्रज सदस्यहरूका आशीर्वाद लिने, ग्रामीण रमझमबीच रमाउने र आफन्तजन एवं साथीभाइसँग पर्वको उत्सवमा रमाउने गर्थे । परदेशबाट घर फर्किएकाहरूका लस्करसँगै गाउँघरलाई दसैँको चापले छोपेको अनुभूत गर्न सकिन्थ्यो ।

अब परिदृश्य धेरै हिसाबले बदलिएको छ । काठमाडौँ उपत्यका वा अरू सहर–बजारमा बसोबास गर्ने मध्यम वर्गको एउटा तप्काले तुलनात्मक रूपमा गाउँ गई दसैँ मनाउन छाडिसकेका छन् । किनभने पुस्तान्तरसँगै न उनीहरूका गाउँमा अभिभावक छन्, न त्यस्तो माहोल नै । बहुसंख्यक सहरिया मध्यम वर्गका सन्ततिहरू विकसित मुलुक (अमेरिका, क्यानडा, अस्टे«लिया, बेलायतलगायत मुलुकहरू) हरूमा अध्ययन वा रोजगारीका निम्ति गई उतै ‘स्थापित’ भएर बसेका छन् । दसैँको छेक पारेर छोराछोरीले विदेशतिरै बोलाउन थालेका हुँदा एउटा तप्का दसैँ मान्न बाह्य मुलुकहरूसमेत जान थालेका छन् ।

मानवशास्त्री ढकाल भन्छन्, ‘अब बाबु–आमा आर्थिक केन्द्र नभई छोराछोरी आर्थिक केन्द्रका रूपमा आइसकेका छन् । जुन वर्ग आर्थिक केन्द्रका रूपमा विकास भएका हुन्छन्, चाडपर्वको केन्द्र पनि त्यहीँ नै हुने गर्छ ।’ तर सीमित संख्याका मानिसहरू मात्र आफ्ना सन्तानको आग्रहमा दसैँ मान्न विदेश जाने गरेका हुँदा यो आमप्रवृत्तिको रूपमा अझै विकास नभइसकेको उनी बताउँछन्, ‘दसैँ मनाउन अमेरिका, अस्टे«लिया गइरहेको सन्दर्भ केवल घटनाहरू हुन्, प्रवृत्ति भने होइन । तर यस्ता घटना बढिरहेका हुँदा भोलिका दिनमा यो प्रवृत्तिको रूपमा विकास नहोला भन्न सकिँदैन ।’ यो पक्षलाई ढकाल सकारात्मक मान्छन् र भन्छन्, ‘विदेशमा रहेका छोराछोरीले बाबु–आमालाई दसैँ मान्न उतै बोलाउनु राम्रो पक्ष हो । यो आफ्नो सामथ्र्य प्रमाणित गर्ने कुरा पनि हो ।’

प्रधानचाहिँ केही दशकयता नेपालीहरूले दसैँको बिदालाई सदुपयोग गर्दै नेपालकै पर्यटकीय ठाउँहरू वा विदेशमा समेत यात्रा गर्न रुचाउन थालेको बताउँछन् । उनी भन्छन्, ‘पहिले दसैँको बेला पारिवारिक रूपमा यो चाड मनाइन्थ्यो, अब भने कतिपय मानिसमा घुमफिरप्रति रुचि देखिन थालेको छ । यसले बदलिएको दसैँको झल्को दिन्छ ।’

अतः कुनै पनि पर्व, उत्सव वा मेलाले मानिसलाई दैनन्दिनको एकरसताबाट निश्चित रूपमा उन्मुक्ति दिलाउँछ । त्यस्ता उत्सवहरू मानिसहरूका निम्ति ऊर्जाको स्रोतसमेत बन्न पुग्छ ।

दसैँ, सांस्कृतिक–पारिवारिक सम्मिलनको पर्व हो । दसैँ, आलोकलाई स्वागत गर्ने पर्व हो । दसैँ, स्वादिष्ट व्यञ्जन–परिकारको स्वादमा रमाउने पर्व हो । दसैँ, धार्मिक–आध्यात्मिक चिन्तन धरालतमा डुब्नेहरूका निम्ति आस्थाको पर्व हो । अर्थात्, सबै चिन्तन, भावभूमिमा उभिएका समुदाय, वर्ग, तह–तप्कालाई समन्वय गर्ने पर्वसमेत हो, दसैँ ।
दसैँ मनाऔँ ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *