डिजिटल युग र मानसिक सन्तुलनको खोजी


यदि वर्तमान युगलाई एउटै शब्दमा परिभाषित गर्नुपर्यो भने त्यो शब्द हुनेछ— ‘डिजिटल क्रान्ति’ । हामी यस्तो समय र सञ्चार–प्रविधिलाई पछ्याउँदै बाँचिरहेका छौँ, जहाँ मोबाइल, कम्प्युटर, इन्टरनेट र सामाजिक सञ्जालबिना दैनिक जीवनको कल्पनासमेत गर्न सकिँदैन । सूर्योदयदेखि रात्रिकालीन निद्रासमेतका हाम्रा हरेक क्रियाकलापमा डिजिटल उपकरणले गहिरो प्रभाव पारिरहेको छ । शिक्षा, स्वास्थ्य, व्यवसाय, सञ्चार, मनोरञ्जनजस्ता जीवनका हरेक…

यदि वर्तमान युगलाई एउटै शब्दमा परिभाषित गर्नुपर्यो भने त्यो शब्द हुनेछ— ‘डिजिटल क्रान्ति’ । हामी यस्तो समय र सञ्चार–प्रविधिलाई पछ्याउँदै बाँचिरहेका छौँ, जहाँ मोबाइल, कम्प्युटर, इन्टरनेट र सामाजिक सञ्जालबिना दैनिक जीवनको कल्पनासमेत गर्न सकिँदैन । सूर्योदयदेखि रात्रिकालीन निद्रासमेतका हाम्रा हरेक क्रियाकलापमा डिजिटल उपकरणले गहिरो प्रभाव पारिरहेको छ ।

शिक्षा, स्वास्थ्य, व्यवसाय, सञ्चार, मनोरञ्जनजस्ता जीवनका हरेक क्षेत्रमा डिजिटल प्रविधिले क्रान्तिकारी सहजता ल्याएको छ । अब जानकारी पाउन पुस्तकालय धाइरहनुपर्ने जमाना छैन, एक क्लिकमै संसारको ज्ञान हाम्रो हातमा छ । साथीभाइसँग कुराकानी गर्न कति माइल टाढा हुनु कुनै बाधा होइन, भिडियो कलले क्षणमै दूरी मेटाइदिन्छ ।

तर प्रविधिको अत्यधिक र असन्तुलित प्रयोगले मानसिक स्वास्थ्यमा गहिरो असर पार्न थालेको छ । सूचना सहज रूपमा पाउने लाभका साथसाथै अनावश्यक सूचना ओसारपसारको चापले दिमागमा तनाव बढाउन थालेको छ । सामाजिक सञ्जालमा देखिने झूटो जीवनशैलीले आत्मग्लानि र असन्तुष्टिको भावना बढाएको छ । समय व्यवस्थापन गुम्दै गएको छ । सम्बन्धहरू स्क्रिनको आडमा ओझेलमा परेका छन् र ध्यान एकाग्रता घट्दै गएको छ ।
आजको डिजिटल युगमा, जहाँ प्रविधि वरदान पनि हो र चुनौती पनि, प्रविधिले ढाक्दै लगेको वर्तमान समयमा मानसिक स्वास्थ्यलाई सन्तुलनमा राख्नुपर्छ भन्ने आवश्यकता पहिलाभन्दा धेरै महत्वपूर्ण बन्दै गएको छ ।

जब डिजिटल प्रयोग लत बन्छ…
डिजिटल प्रविधि आफैँमा समस्या होइन, तर यसको निरन्तर र अनियन्त्रित प्रयोग जब बानी नभई लतको रूपमा विकास हुन्छ, तब मानसिक स्वास्थ्यमा देखिने असर गम्भीर हुन सक्छ । सुरुमा सजिलो लाग्ने, रमाइलो लाग्ने र ‘थोरै मात्र समय बिताउँछु’ भन्ने सोचबाट सुरु भएको स्क्रिन प्रयोग बिस्तारै दिमागको रचना र व्यवहारलाई नै परिवर्तन गर्ने स्तरमा पुग्न सक्छ ।
सामाजिक सञ्जालको प्रभावले डिजिटल एडिक्सनलाई बढावा दिएको देखिन्छ । फेसबुक, टिकटक, इन्स्टाग्राम र ट्विटरजस्ता प्लेटफर्महरूले युवायुवतीलाई लगातार इन्टरनेटमा सक्रिय रहन प्रेरित गर्छ । लाइक्स, कमेन्ट र सेयरको मोहले उनीहरूलाई बारम्बार फोन जाँच्न बाध्य बनाउँछ । टेक उद्योगको नाफा कमाउने सूत्र भनेकै ध्यानाकर्षण गर्नु हो । स्क्रिन टाइम अधिकतम बनाउनका लागि लत लगाउने गरी फ्रेमिङ गरेका हुन्छन् । फ्री फायर, प्लेयर अननोन ब्याटल ग्राउन्ड (पबजी) लगायतका मल्टिप्लेयर गेमहरू अत्यधिक लत लाग्ने खालका हुन्छन् । यी गेमहरूमा उपलब्ध विभिन्न लेभल पार गर्नका लागि खेलाडीहरूले लामो समयसम्म खेलिरहनुपर्ने हुन्छ । गेम खेल्दा शरीरलाई आनन्द आउँछ । आनन्द आउँदा डोपामिन नामक न्युरोट्रान्समिटर निस्किन्छ । खेल जित्दा, नयाँ लेबलमा पुग्दा र कुनै लक्ष्य पूरा हुँदा यो हार्मोनको मात्रा अत्यधिक बढ्न पुग्छ । सोही कारण समय बितेको पत्तै हुँदैन ।

चिन्ता र तनाव वृद्धि
जब हामी अनवरत समाचार अपडेट, सामाजिक सञ्जालका पोस्टहरू, मेसेज, नोटिफिकेसनजस्ता सूचना सागरमा डुबिरहेका हुन्छौँ, ती सबैले हाम्रो मस्तिष्कमा ‘सुरक्षा खतरा’ को सङ्केतजस्तै असर गर्न थाल्छन् । सामाजिक सञ्जालमा अरूको सफलता, खुसी वा ‘फिल्टर गरिएको’ जीवनशैली हेर्दा तुलना गर्ने प्रवृत्ति बढ्छ ।
उनी कता घुम्न गइन्, उसको करिअर यस्तो भयो, उनी यति फिट छन्— यी सबै तुलनात्मक सोचहरूले आत्मविश्वास घटाउने र चिन्ता बढाउने काम गर्छन् ।

डिजिटल थकान
स्क्रिनमा लगातार हेर्दा आँखाको मांसपेशी थकित हुन्छन् । त्यसबाट शारीरिक मात्रै होइन, मस्तिष्क पनि थाक्न थाल्छ । लगातार इमेल हेर्नु, ट्याब स्विच गर्नु, मल्टिटास्किङ गर्नु, यी सबैले ब्रेनलाई कुनै विश्राम नदिई overstimulated बनाउँछ ।
नतिजा ? थकान, कामप्रति अरुचि, मथिङ्ग्रिएको ध्यान र कहिलेकाहीँ मानसिक शून्यता । यो अवस्था विद्यार्थीदेखि अफिसका कर्मचारीसम्ममा तीव्र रूपमा देखिन थालेको छ ।

निद्रा समस्या र सुत्ने चक्रमा गडबडी
मोबाइल वा ल्यापटपको स्क्रिनबाट निस्कने blue light (निलो प्रकाश) ले मस्तिष्कमा प्राकृतिक रूपमा उत्पादन हुने मेलाटोनिन नामक निद्रासम्बन्धी हार्मोनलाई अवरुद्ध गर्छ । फलस्वरूप, व्यक्ति समयमै सुत्न सक्दैन, निद्रामा खलल पु¥याउँछ र बिहान उठ्न गाह्रो हुनुका साथै दिनभरि थकान महसुस हुन्छ ।
बालबालिका र किशोरहरूमा यो समस्या अझ बढी देखिन्छ, जसले उनीहरूको शारीरिक विकास, पढाइ र समग्र मनोदशामा असर पार्न सक्छ ।

FOMO – Fear of Missing Out
डिजिटल संसारले एक मनोवैज्ञानिक रोगजस्तो बनाएको छ—FOMO , जसले ‘मैले केही छुटाइरहेको त छैन ?’ भन्ने मनस्थिति हुन्छ । सामाजिक सञ्जालमा तस्बिर पोस्ट नगरुन्जेल घुमघाम अधुरो लाग्ने, ‘स्टोरी’ अपलोड नहुँदासम्म मन अशान्त हुने, म्यासेजको रिप्लाई नआएपछि बेचैनी हुनु आदि सबै डिजिटल युगका अवचेतन लक्षणहरू हुन् ।FOMO ले व्यक्ति सधैँ दबाब रहन्छ र अस्थिर एवं असन्तुष्ट बनाउँछ ।
समय नियन्त्रण गुमाउनु— डिजिटल जालमा फस्नु
धेरैले स्क्रिन हेर्ने बेला भन्छौँ, ‘टिकटक पाँच मिनेटमात्र हेर्छु ।’ तर त्यो ‘५ मिनेट’ कहिले १÷२ घण्टासम्मै लम्बिन पुग्छ । थाहा नै हुँदैन ।
अल्गोरिदमहरूले यति चतुर तरिकाले सामाजिक सञ्जालहरूमा ती सामग्री प्रस्तुत गर्छन् कि हामी फेरि–फेरि स्क्रोल गर्न, हेर्न र प्रतिक्रिया दिन बाध्य हुन्छौँ । यसले गर्दा पढ्ने, काम गर्ने, आफन्तसँग समय बिताउने समय नै हुँदैन । यसले लामो समय लिएपछि आत्मग्लानि, पछुतो, मानसिक थकान आदि थपिँदै जान्छ । चाहेर पनि हामी त्यो बानीलाई छुटाउन सक्दैनौँ ।
जब डिजिटल प्रयोग सजिलो जीवनको साधनबाट समय, सोच र स्वास्थ्य गुमाउने माध्यम बन्छ, त्यति बेला हामीले गम्भीर रूपमा सोच्न आवश्यक देखिन्छ— हामी टेक्नोलोजी प्रयोग गरिरहेका छौँ कि टेक्नोलोजीले हामीलाई चलाइरहेको छ ?
‘सन्तुलन’ नै समाधान हो । आफैँले कति समय स्क्रिनमा बिताइरहेका छौँ, कस्तो सामग्रीमा ध्यान दिइरहेका छौँ भन्ने मूल्याङ्कन आवश्यक छ । यसमा अरूले सम्झाएर वा कराएर बानीमा सुधार ल्याउन सकिँदैन । अब डिजिटल सजगता अपनाउँदै टेक्नोलोजीलाई आफ्नो दास होइन, सेवक बनाउने समय आएको छ ।
डोपामिन ब्रेक लिनु आवश्यक
मानव मस्तिष्कमा डोपामिन नामक न्युरोकेमिकल हुन्छ, जसले ‘सन्तुष्टि’ को भावना दिलाउँछ । जब हामी मोबाइल स्क्रोल गर्छौं, सामाजिक सञ्जालमा लाइक पाउँछौँ, भिडियो हेर्छौं वा कुनै रमाइलो सूचना पाउँछौँ, तब हाम्रो दिमागमा सानो मात्रामा डोपामिन उत्सर्जन हुन्छ । यसले हामीलाई फेरि–फेरि त्यो नै गर्न प्रेरित गर्छ ।
यो प्रक्रिया dopamine loop भनेर चिनिन्छ, जहाँ दिमागले सुखको अनुभव गर्न चाहन्छ र निरन्तर नयाँ उत्तेजना खोजिरहन्छ । सोही कारण हामी ‘केवल ५ मिनेट फेसबुक, टिकटक हेर्छु’ भनेर घण्टौँ बिताउँछौँ वा युट्युबमा एक भिडियो हेर्दा–हेर्दै ७÷८ वटा हेर्दा पनि थाक्दैनौँ ।
यसरी निरन्तर रूपमा सन्तुष्टि खोज्दा दिमाग अत्यधिक उत्तेजित र थकित बन्छ । सानो कुराबाट खुसी महसुस गर्न नसक्ने अवस्था आउँछ । फोकस घट्छ, झर्को बढ्छ र ध्यान केन्द्रित तुल्याउन गाह्रो हुन्छ । त्यसैले अहिलेको समयमा आवश्यक छ— डोपामिन ब्रेक ।
डोपामिन ब्रेक भन्नाले यस्तो समयलाई जनाउँछ, जहाँ तपाईं जानाजान आफ्नो दिमागलाई कुनै पनि अनावश्यक सन्तुष्टि दिने डिजिटल वा शारीरिक गतिविधिबाट अलग राख्नुहुन्छ । यसको उद्देश्य दिमागलाई ‘रिसेट’ गर्नु हो ।

डोपामिन ब्रेक कसरी लिन सकिन्छ ?
–एक दिन सामाजिक सञ्जालबाट टाढा बस्ने ।
–मौन समय बिताउने
–प्रकृतिमा निस्किने— फोनबिना ।
–अल्छी भएर बस्ने— कुनै उद्देश्य नबनाइकन केही बेर आफैँसँग बस्ने ।
–किताब पढ्ने, कागजमा लेख्ने— डिजिटल स्क्रिनबिना ।
डोपामिन ब्रेकले सुरुमा असहजता दिन सक्छ । किनभने हामीले दिमागलाई ‘आनन्दको बानी’ मा राखेका हुन्छौँ । तर त्यो असहजता पार गरेपछि दिमागले धेरै स्थिर, केन्द्रित र आनन्दित महसुस गर्न थाल्छ ।
हामी सधैँ खुसी खोज्दै र सन्तुष्टि लिँदै भागिरहन्छौँ । तर कहिलेकाहीँ कुनै पनि कुरा नगरी बस्नु, शान्त बस्नु वा अल्छी हुनु नै हाम्रो दिमागको पुनः सन्तुलनका लागि अत्यन्त जरुरी हुन्छ । डोपामिन ब्रेक भन्नु आफैसँगको साक्षात्कार हो । एक किसिमको डिजिटल ध्यान पनि हो ।
डिजिटल जीवनशैलीमा सन्तुलन कसरी ल्याउने ?
आजको डिजिटल युगमा मोबाइल, ल्यापटप, इन्टरनेटबिना दैनिक जीवन गुजार्ने कल्पना नै गर्न गाह्रो भइसकेको छ । काम, पढाइ, मनोरञ्जन, सम्बन्ध सबै डिजिटल प्लेटफर्ममा निर्भर भइरहेका छन् । तर यदि समयमै सन्तुलन मिलाएनौँ भने यिनै प्रविधिहरूले हाम्रो मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।
डिजिटल डाइटको अभ्यास गरौँ
हामीले खानामा ‘ब्यालेन्स डाइट’ भनेजस्तै स्क्रिन प्रयोगमा पनि ‘डिजिटल डाइट’ जरुरी छ । हामी आफैँले कति समय मोबाइल, ल्यापटप वा टिभी हेर्छौं भनी अगावै तय गर्नु जरुरी छ । जस्तै ः बिहान ८ बजेसम्म स्क्रिन नखोल्ने । काम वा पढाइको बेला ३०–४० मिनेट स्क्रिन प्रयोग र ५–१० मिनेट विश्राम लिने । दिनको २–३ घण्टा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने । यसरी आफैँले सीमा बनाउनु डिजिटल अनुशासन हो, यही नै डिजिटल डाइट हो ।
डिजिटल सन्तुलन भनेको आफ्नो समय, ध्यान र मानसिक ऊर्जा कहाँ खर्च गर्दै छौँ भन्ने कुरामा होस राख्नु हो । तपाईं आफ्ना सानातिना बानी परिवर्तन गर्दै जानुहोस् । फोनको प्रयोग घटाउनुस् । आँखा र दिमागलाई विश्राम दिनुस् । र, आफ्नो दैनिकीमा ‘स्क्रिन–रहित पल’ थप्नुस् ।

तस्बिर : गुगल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *