अभिनय मेरो पेसा मात्र होइन, मेरो पहिचान हो 


मेरो बाल्यकाल बाबा–ममीसँगै होस्टेलमा बित्यो । आरुबारीस्थित घर नै स्कुलको होस्टेल थियो । नाम थियो– ‘बाल सिर्जनालय’ । बुबा स्कुलका प्रिन्सिपल र आमाचाहिँ होस्टेल वार्डेन । कति कक्षासम्म त मैले बाबा–ममीलाई पनि ‘सर’ र ‘मिस’ भन्थेँ । घर, स्कुल वा होस्टेल होस्– तीनै एकैजस्तो । अरु साथीहरू बिहान घरबाट स्कुल आउँथे, बेलुका फर्कन्थे । म…

मेरो बाल्यकाल बाबा–ममीसँगै होस्टेलमा बित्यो । आरुबारीस्थित घर नै स्कुलको होस्टेल थियो । नाम थियो– ‘बाल सिर्जनालय’ । बुबा स्कुलका प्रिन्सिपल र आमाचाहिँ होस्टेल वार्डेन । कति कक्षासम्म त मैले बाबा–ममीलाई पनि ‘सर’ र ‘मिस’ भन्थेँ । घर, स्कुल वा होस्टेल होस्– तीनै एकैजस्तो ।

अरु साथीहरू बिहान घरबाट स्कुल आउँथे, बेलुका फर्कन्थे । म भने सधैँ स्कुलमै । सधैँ अनुशासनमा बसिराख्नुपर्ने । मलाई केही गल्ती गर्ने छुट थिएन । जे गरे पनि सही गर्नुपर्ने, राम्रो देखिनुपर्ने, अरूलाई प्रेरणा बन्नुपर्ने, उदाहरण बनिरहनुपर्ने । त्यो उमेरमा बच्चा हुँदाहुँदै पनि बच्चा भएर बाँच्न पाइनँ । मलाई सधैँ प्रथम हुनुपर्ने खालको दबाब थियो । जीवनमा दुई पटक मात्रै स्कुलमा दोस्रो भएँ, त्यति बेला म धेरै दुखी भएको थिएँ ।

सायद त्यही भएर होला, म आजसम्म पनि ‘अनुशासन’ भन्ने शब्दलाई धेरै गम्भीर रूपमा लिन्छु । म्यानर नभएका मान्छेसँग म असहज महसुस गर्छु । त्यस्ता व्यक्तिहरूसँग संगत गर्नै सक्दिनँ । स्वतन्त्र भएर हाँस्न, खेल्न, गल्ती गर्न नपाएको त्यो उमेर, आज पनि कतै मभित्र गढेर बसेको छ ।

धेरैपटक एक्लै हुँदा सोच्ने गर्छु– यदि म प्रिन्सिपलकी छोरी नभएकी भए ? यदि सानो उमेरमै नाम, दाम नकमाएको भए ? म कस्ती हुन्थेँ होला ?

आज म जस्तो छु, त्यो मेरो हुर्काइको उपज हो । तर कहिलेकाहीँ लाग्छ– मैले साँच्चै आफूलाई चिनेकी छु त ? कि अझै पनि म त्यो अनुशासनको खोलभित्रको अपरिचित मान्छे हुँ ?
सानैदेखि मैले कहिल्यै ‘पहिला म’ भन्न सकिनँ । जसलाई जति मन लाग्छ, पहिले उसले रोजोस्, त्यसपछि मात्र मेरो छान्ने बानी थियो । सामान्य कुरा लाग्ला, तर यो बानी मेरो जीवनको अभिन्न हिस्सा बन्यो । मेरो स्कुल, मेरो होस्टेल… त्यो अरूको थिएन, त्यो त मेरो आमाबुबाकै थियो । अरू विद्यार्थीहरूले जस्तो गुनासो गर्ने अधिकार मलाई कहिल्यै मिलेन । जसका अगाडि गुनासो गर्नुपथ्र्यो, उनीहरू त मेरा आमा–बुबा नै थिए ।

पढाइ सधैँभरि मेरा लागि पहिलो प्राथमिकतामा रह्यो । अब्बल बन्ने लक्ष्य थियो– शिक्षामा पनि, जीवनमा पनि । विद्यालयमा म पढाइमा मात्रै होइन, अतिरिक्त क्रियाकलापहरूमा पनि उतिकै सक्रिय थिएँ । नाटक र नृत्य मेरो विशेष रुचिका क्षेत्र थिए । त्यो मेरो बाबालाई थाहा थियो । तर रहर हुँदाहुँदै पनि मलाई कहिल्यै सुटिङ स्थलसम्म लैजानु भएन ।

त्यो समय बाबा (बद्री अधिकारी) ले निर्देशन गर्नुभएको टेलिसिरियल ‘अविरल बग्छ इन्द्रावती’ निकै लोकप्रिय बनेको थियो । म मनमनै कल्पना गर्थें– सुटिङ सेट कस्तो होला ? कलाकारहरू कसरी बोल्छन्, कसरी निभाउँछन् भूमिका ? त्यो संसारले मलाई निकै तान्दथ्योद । तर म बाहिरै थिएँ र केवल सपना देख्थें ।

मेरो पढाइ राम्रो भएकोले बाबाको चाहना थियो– म डाक्टर वा इन्जिनियर बनोस् । शायद त्यही भएर उहाँले मलाई सिनेमाको रंगीन दुनियाँबाट टाढै राख्न चाहनुहुन्थ्यो । तर त्यो आकर्षण मभित्र गहिरिँदै गइरहेको थियो ।

अन्ततः मैले बाबालाई सम्झाएँ– ‘म अभिनय र कलाको दुनियाँमा रमाउन चाहन्छु तर पढाइ कहिल्यै छोड्दिन ।’ त्यसपछि म लागेँ– स्वप्न र यथार्थ दुवैलाई सँगसँगै सम्हाल्ने यात्रामा ।
मेरो डेब्यु चलचित्र ‘स्वर’ को सुटिङको बेला मसँगै नायिकाका रुपमा रीमा र बेनिशा पनि थिए । कसले के लाउने, के गर्ने ? सबैले आफ्नो रोजाइ बताइसकेपछि बल्ल मैले रोजेँ ।
‘तिमी ज्ञानी छौ, अनुशासित छौ, राम्रो पढ्छौ’ भन्ने कुरा सानैदेखि सुन्दै र त्यस्तै हुने प्रयास गर्दै हुर्किएँ । शायद त्यसैले म त्यस्तै बन्दै गएँ । म भित्रभित्रै सन्तोषी स्वभावकी थिएँ । घरमा आमा–बुबासँग आवश्यकता परेमा मात्रै बोल्थेँ । त्यो बानी अहिले पनि उस्तै छ । म निकै सीमित कुरा मात्रै व्यक्त गर्न सक्ने स्वभावकी छु ।

जब म रोहितसँग विवाह गरेर उनको घरमा गएँ, त्यहाँको पारिवारिक माहोलले मलाई अचम्भित तुल्यायो । सबैले एकअर्कासँग खुलेर कुरा गर्थे । दुःख, पीडा, खुसी, रिस सबै कुरा साटासाट हुन्थ्यो । म भने न त आफ्नो पीडा भन्न सक्थेँ न त खुसी नै साट्न ! बानी बसेपछि त्यसलाई तुरुन्तै बदल्न नसकिने रहेछ ।

स्कुल जीवनदेखि नै मैले आफ्नै प्रशंसा सुन्दै हुर्किएँ । पढाइ होस् वा नाटक र नृत्य, सबैमा सधैँ मेरो तारिफ हुन्थ्यो । यही कारणले होला, मैले अरूको प्रशंसा गर्न कहिल्यै सिकिनँ । भाइ, बाबा, साथीहरूले राम्रो गरे पनि म त्यो कुरा मनमनै महसुस त गर्थेँ तर मुखले ‘राम्रो’ भन्नै भुल्थेँ ।
स्कुलमा म प्रिन्सिपलको छोरी थिएँ, त्यसैले पढाइमा राम्रो गर्नुपथ्र्यो । सिने क्षेत्रमा बद्री अधिकारीकी छोरी भनेपछि धेरैले धेरै अपेक्षा राख्थे । म आफैँ पनि चाहन्थेँ– मान्छेहरूले मलाई तारिफ गरून्, मलाई मन पराउन् ।

शायद सधैँ अरुबाट प्रशंसा पाइरहँदा म आफैँ प्रशंसा गर्न नसक्ने बनेकी हुँ कि ? त्यो मेरो कमजोरी रहेछ भनी अहिले महसुस गर्छु ।


जब मैले चलचित्रमा काम गर्न थालेँ, मेरो समयको सन्तुलन फेरिइसकेको थियो । कामले ८० प्रतिशत स्थान ओगट्यो, पढाइ केवल २० प्रतिशतमा सीमित रह्यो । मेरो व्यक्तिगत जीवन नै थिएन । म घरमा बसेकोे समय भनेकै ब्याचलर परीक्षाको तयारीका केही दिनहरू मात्र थिए ।
सिनेमाको सेटमा ठुलो–सानो जे काम आए पनि म हिच्किचाहटविना गरिहाल्थेँ । मैले कहिल्यै ‘यो काम मेरो होइन’ भनेर पन्छाउन सिकिनँ ।

एकपटक बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीले एउटा अन्तर्वार्तामा भनेकी थिइन्, “म क्यामेरासामु यति धेरै बसेँ कि लाइट र क्यामेरा अफ भएपछि के बोल्ने भन्ने नै थाहा नहुने भयो ।” त्यो कुराले मलाई निकै छुन्छ । श्रीदेवीको जति होइन तर म आफूलाई करिब ५ प्रतिशत त्यस्तै स्थितिमा भेट्थेँ– क्यामेरा अफ भएपछि एक्कासि मौन हुँदै सोच्थेँ, ‘अब के बोल्ने ?’
म पर्दामा जुनसुकै चरित्र निभाउन सक्छु– भावुक, ऊर्जावान, विद्रोही या प्रेमिल । तर वास्तविक जीवनमा केकीको रूपमा मसँग बोल्ने विषय नै कहिलेकाहीँ रहँदैन । क्यामेरासामु जीवन बिताउँदा पर्दा पछाडिको केकी अलिकति हराइरहेझैँ लाग्छ ।

परिवारसँग मेरो संवाद सधँै सीमित रह्यो । म सानैदेखि धेरै कुरा गर्ने स्वभावकी थिइनँ । शायद यही कारणले होला, म बिस्तारै आफ्नै सन्दर्भमा मात्रै बाँधिँदै गएँ– बोल्नुपर्ने बेला चुप लाग्ने, व्यक्त गर्नुपर्ने बेला हिच्किचाउने ।

स्कुल र कलेजका साथीहरूसँगको सम्बन्ध पनि समयसँगै टुट्दै गयो । खासगरी जब म चलचित्रमा सक्रिय हुन थालेँ, मेरो समय, प्राथमिकता र जीवनशैली नै अर्कै भयो । पढाइसँगै अभिनयको दायित्व थपिँदा साथीहरूसँगको भेटघाट झन्झन् कम हुन थाल्यो ।
जब कलेजका दिनहरूमा सबै जना क्यान्टिनमा भेला भएर हाँसोमजाकमा रमाइरहेका हुन्थे, म त्यहीँ हुँदा पनि एक्लो भएको महसुस गर्थेँ । शारीरिक रूपमा उनीहरूसँग भए पनि मनले म आफूलाई एक्लै महसुस गर्थेँ । म ‘पब्लिक फिगर’ भइसकेकी थिएँ तर त्यो ‘फिगर’ भित्रको ‘केकी’ चाहिँ कोही नहेर्ने र नबुझ्ने ।

साथीहरू घुम्न गएका अनुभव सुनाउँथे । कसैले पार्टीका रमाइलोपनबारे बताउँथे र ती सबै क्षणहरूमा म कतै हुँदिनथेँ । म सधैँ काममा व्यस्त भइरहेँ– छायांकन, रिहर्सल, स्क्रिप्ट, सुटिङ । साथीहरूले बोलाएको ठाउँमा पुग्न नसक्दा बिस्तारै उनीहरूले पनि बोलाउन छाडे ।
कहिलेकाहीँ रमाइलो गफमा म नपरेको, छुटेको वा बिर्सिएको जस्तो लाग्थ्यो । एक किसिमको मौनता मभित्र बस्न थाल्यो । समय बित्दै गयो र त्यो मौनता आदतजस्तै बन्यो ।
आज सम्झिन्छु– मेरा साथीहरू भन्ने हो भने प्लस टु पढ्दाको एक–दुई जना मात्रै हुन्, जससँग अझै पनि कहिलेकाहीँ कुराकानी हुन्छ । चलचित्रको यात्रामा सँगै हिँडेकाचाहिँ रीमा र बेनिशा हुन् ।

विवाहपछिको जीवनमा त झन् रोहित नै मेरो सबैभन्दा नजिकको साथी भए । उहाँसँग मैले त्यो कुराहरू सेयर गर्ने थालेँ, जुन कलेजको क्यान्टिनमा बस्दा गर्न सकेकी थिइनँ । कहिलेकाहीँ लाग्छ– मैले एक्लो रहन सिकेँ तर साझा हुनु अझै सिक्न बाँकी नै छ ।

जब व्यक्तिगत जीवन बिस्तारै ओझेल पर्दै गयो, त्यहीँबाट तनाव (स्ट्रेस) को शृंखला सुरु हुने रहेछ । सबै कुरा ठीकैजस्तो देखिए तापनि भित्रभित्रै म अलि–अलि खोक्रो हुँदै गइरहेकी थिएँ । म व्यस्त थिएँ, धेरै व्यस्त । तर त्यो व्यस्तताभित्र म भित्रको “म” हराउँदै गइरहेकी थिएँ ।
जीवनका साना–साना कुरा, जसलाई साझा गर्दा मन हलुका हुन्थ्यो, त्यस्ता कुरा सुनिदिने मान्छे मेरो वरिपरि कोही थिएनन् । न त परिवारसँग खुलेर कुरा गर्ने बानी थियो, न त साथीहरू समयअनुकूल नजिक थिए । केही नजिकका साथीहरू त थिए तर मभित्र जति भारी थियो, त्यो अरूले महसुस गर्न सक्दैनथे ।

यस्तै–यस्तै कारण तनाव मेरो जीवनको अंश नै बन्यो, जसरी दैनिक सास फेर्ने बानी हुन्छ, म तनावसँगै बाँच्न थालेँ । सुरुमा सामान्य थकाइ जस्तो लाग्थ्यो तर बिस्तारै टाउकोको दुखाइ बढ्न थाल्योे र अन्ततः करिब १० वर्षअघि चिकित्सकले बताए, ‘तपाईंलाई माइग्रेन भएको छ ।’

कोभिडको समय धेरैका लागि चुनौतीपूर्ण रह्यो । मेरा लागि भने त्यो एक किसिमको वरदान सावित भयोे । लामो समयदेखि व्यस्तताको दौडमा निरन्तर दौडिरहेकी म, पहिलोपटक रोकिएँ र आफैँलाई नियाल्ने मौका पाएँ ।

त्यो समयले मलाई जीवनमा धेरै कुरा बुझ्न सिकायो । अहिलेसम्म म केवल काममै केन्द्रित थिएँ । निरन्तर सुटिङ, स्क्रिप्ट, तालिम र जिम्मेवारीहरूका बीच मैले कहिल्यै आफैँलाई ध्यान दिन पाएकी थिइनँ । शरीर थाक्दै गयो, मन थकित हुँदै गयो तर मैले महसुस गर्न सकेकी थिइनँ । कोभिडको लकडाउनको शून्यताभित्र म आफूसँग बसेँ पहिलो पटक । बल्ल थाहा पाएँ, मैले आफ्नै स्वास्थ्यलाई पनि वर्षौंदेखि बेवास्ता गरिरहेकी रहेछु ।

यही समयदेखि मैले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्ने निर्णय लिएँ । त्यसयता हरेक दिन कम्तीमा ३० मिनेट योग र मेडिटेसनका लागि छुट्याउने बानी बसालेकी छु । सुरुवातमा केवल अनुशासनको रूपमा थालेको अभ्यास अब मेरो जीवनशैली नै बनिसकेको छ ।
योग र ध्यानले मलाई शारीरिक रूपमा स्वस्थमात्र बनाएन, भावनात्मक रूपमा पनि सम्हाल्न सिकायो । रिसलाई कसरी नियन्त्रण गर्ने, मनभित्रका अशान्तिलाई कसरी थाम्ने, आफूभित्रको डर, निराशा, असन्तोषलाई कसरी व्यवस्थापन गर्ने– यी सबै कुरा मैले ध्यान र व्यायामबाट सिकेँ ।

म राति भरिसक्य १०ः३० भित्र सुत्ने प्रयास गर्छु । क्षणिक निद्राको बानी भएकाले कम्तीमा ८ घण्टा निदाउनमा ध्यान दिन्छु । राम्रो निद्राले मात्रै बिहानको ऊर्जा सुनिश्चित हुन्छ भन्ने विश्वास मैले बिस्तारै सिकेकी छु ।

हरेक बिहान म एउटा सानो तर प्रभावकारी स्वास्थ्य अभ्यासबाट दिन सुरु गर्छु– जिरा, सौफ र ज्वानोको धुलो पानीमा मिसाएर पिउँछु । यो मेरो शरीरको शुद्धि र पाचन सुधारको लागि एउटा सरल तर प्रभावकारी उपाय हो ।

जे जस्तो व्यस्तता भए पनि म दैनिक कम्तीमा दुई घण्टा एक्सरसाइजको लागि समय निकाल्छु । सुरुका दिनहरूमा म घरमै व्यायाम गर्थेँ तर अहिले म नियमित रूपमा जिम जान थालेकी छु । जिमको वातावरण, अनुशासन र ऊर्जा मेरो दिनभरिको लय निर्माण गर्न सहयोगी हुन्छ ।
बिहान घरबाटै लन्च बोक्छु । जिम सकेपछि सीधै अनामनगरस्थित अफिस जान्छु र त्यहीँ बसेर खाना खान्छु । ‘बोक्सीको घर’ चलचित्रको समय

देखि नै मैले अनामनगरमा अफिस लिएकी हुँ । म आफ्ना कामहरू सोही अफिसबाट गर्छु ।
पहिले मलाई खानामा खासै ध्यान दिने बानी थिएन । कहिलेकाहीँ त लाग्थ्यो– ‘खाना खानु समय खेर फाल्नु हो ।’ अचेल भने तिनै एक–एक गाँसलाई हेर्दै, महसुस गर्दै स्वाद लिइकन खान सिकेकी छु । खाना अब केवल पेट भर्ने क्रिया होइन, त्यो मप्रति मेरो माया हो, ध्यान हो, एउटा सन्तुलन हो ।

कहिलेकाहीँ केही चलचित्रका पात्रहरू यस्ता हुन्छन्, जसले अभिनय सकिएपछि पनि मनबाट जान समय लाग्छ । त्यो चरित्र पर्दाबाट बाहिरिसकेको हुँदाहुँदै पनि मभित्र कतै बाँकी रहिरहन्छ ।
चलचित्र ‘बोक्सीको घर’ पछि मैले यस्तै अनुभूति गरेँ, जहाँ सानो कुनै समाचारमा पनि बोक्सीसम्बन्धी कुरा आउँथ्यो र मलाई लाग्थ्यो, ‘यो त मेरो जीवनसँग नै सम्बन्धित छ ।’ कहिलेकाहीँ साथीभाइले हाँसोमा बोक्सी भनेर जिस्काउँदा पनि म त्यो कुरा हलुका रुपमा लिन सक्दिनथेँ । मलाई लाग्थ्यो, त्यो नामले केवल चरित्र मात्र होइन, मेरो गहिरो मनोभाव पनि समातेको छ ।

त्यही कारणले म विपश्यना गएकी थिएँ– मौनताको माध्यमद्वारा आफूसँग भेट गर्न, मनको तरंगलाई बुझ्न र त्यो ‘पात्र’ बाट आफूलाई अलग तुल्याउन । विपश्यना मेरा लागि केवल एक अभ्यासमात्र रहेन, यो त मेरो जीवनशैलीकै हिस्सा बनिसक्यो । ध्यान र मौनताको त्यो गहिरो अनुभूतिले अहिले मेरो सोच, व्यवहार र जीवनप्रतिको दृष्टिकोणमा नै परिवर्तन ल्याइदिएको छ ।
अब लाग्छ, कुनै पनि चरित्र निर्वाह गर्दा त्यसलाई जीवन्त बनाउनु जति जरुरी छ, त्यसबाट समयमै अलग हुन जान्नु त्यति नै महत्वपूर्ण छ । विपश्यनाले मलाई सोही सन्तुलन सिकायो ।
सानै उमेरमा कलाकार बनेपछि चर्चा पाउन थालेँ । नाम, दाम, लोकप्रियता– सबै राम्रैसँग आयो । अभिनयले मलाई देश–विदेश घुमायो, अनुभवहरू थपिदियो, जीवनलाई फराकिलो बनायो । तर कहिलेकाहीँ त्यो सबैको पछाडि एक प्रश्न खडा हुन्थ्यो– ‘अब के ?’

‘यदि नाम र दाम गुम्यो भने के होला ?’ यस्तै सोचहरू आउँथे र मैले बिस्तारै बुझ्न थालेँ– हाम्रो जीवन केवल बाहिरी चमकमा सीमित हुँदैन, त्योभन्दा भित्री एउटा संसार पनि हुन्छ, जहाँ आफूलाई आफूले बुझ्नु आवश्यक हुन्छ ।

त्यही बाटोले मलाई आध्यात्मिक यात्रातर्फ डो¥यायो । म दुईपटक विपश्यनामा बसेँ, जहाँ पहिलो पटक म आफैँका लागि बसेजस्तो लाग्यो । बोल्न नपाइने, हेर्नु पर्ने केवल आफ्नै भित्री तरंगहरू । त्यस मौनताभित्र मैले जीवनका गहिरा प्रश्नहरूलाई भेटेँ ।

आज पनि म कामलाई ८० प्रतिशत समय दिन्छु । अभिनय मेरो पेसा मात्र होइन, मेरो पहिचान हो । तर त्यो व्यस्तता र भूमिकाको लगातार बदलिँदो प्रवाहबाट बाहिर निस्कन विपश्यना नै मेरो लागि एक शान्त र सुरक्षित माध्यम बनेको छ ।

जब माइग्रेनले सताउँछ वा कहिलेकाहीँ भावनात्मक पीडाले मन तंरगित हुन्छ, म सुतिहाल्छु । मलाई निद्रा साँच्चिकै हिलिङ थेरापीजस्तै लाग्छ । निद्राबाट उठेपछि म हलुका फिल गर्छु ।
स्क्रिन वा कार्यक्रममा म हेभी मेकअप र डिजाइनर वेयरमा देखिन्छु । कसैको कल्पनाको पात्रजस्तो । तर जब म विनामेकअप सामान्य लुगा लगाएर हिँड्छु, तब मलाई लाग्छ– ‘यो नै त साँचो केकी हो ?’

पर्दाभित्र स्क्रिप्ट र कथाअनुसार म विभिन्न चरित्रलाई जीवन्त स्वरुप दिन्छु । त्यही अनुसार धेरैले केकी यस्तो, उस्तो होला भनी सोच्लान् । तर पर्दा बाहिरको म यस्तै नै छु ।
००

मेकअप : सुनिता श्रेष्ठ, बोस दि ब्युटि एकेडेमी
पहिरन : तेन्जिन छेडेन भुटिया
तस्बिर : क्रियटिभ डी स्टुडियो, मैतिदेवी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *