सयपत्री प्रतिष्ठान नेपालले महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको सन्दर्भ पारेर शिक्षाबिद तथा वरिष्ठ साहित्यकार डा रामप्रसाद दाहाल र श्रीमती चन्दा दाहाल कोइरालालाई सयपत्री राष्ट्रिय सम्मान प्रदान गरेको छ ।
यसैगरी पनौती निवासी कवि तथा वरिष्ठ चिकित्सक डाक्टर अनन्तप्रसाद अधिकारी र श्रीमती नर्मदा खनाल अधिकारी दम्पतीलाई पनि सम्मान गरिएको छ ।

उहाहरुलाई ताम्रपत्र ,दोसल्ला , दुबोको माला र नगद सहित सम्मान गरिएको हो ।
यो सम्मान २०५५ साल देखि निरन्तर रुपमा प्रदान गरिदै आएको छ । यसअघि राष्ट्रकवि माधव घिमिरे ,कवि बैरागी काइला लगायत ब्यक्तित्वहरुलाई सम्मान गरिसकिएको छ।
प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठ,मछेस्वर सापकोटा, रामहरि न्योपाने, चन्द्रबहादुर खड्का लगायतले विविध बिषयमा स्थानीय गतिविधि र सामाजिक सांस्कृतिक साहित्यिक पक्षको विषयमा प्रकाश पारेका थिए । बिगत चार दशक देखि निरन्तर रूपमा शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशील डा दाहाल र बिगत २० बर्ष देखि स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा डाक्टर अधिकारीले पुर्याएको सेवाको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा सम्मानित ब्यक्तिहरुको जीवनी ,कृतित्व र ब्यक्तित्वको परिचय वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्ता मोहन दुवालले दिएका थिए ।उनले श्रीमानको काममा सहयोग गर्न र अगाडि बढन श्रीमतीको त्यतिकै उल्लेखनीय योगदान हुने भएकोले यस प्रतिष्ठानले श्रीमती सहितको जोडीलाई लामो समय देखि सम्मान गर्दै आएको उल्लेख गरे।
वरिष्ठ साहित्यकार प्रा डा रामप्रसाद ज्ञावलीले महाकवि देवकोटाको बहु आयामिक ब्यक्तित्वको बारेमा प्रकाश पारेका थिए ।

सम्मानित ब्याक्तित्व दाहालले यस किसिमको सम्मानले आफूलाई अझै क्रियाशील भएर रास्ट्रसेवामा जुट्ने प्रेरणा प्राप्त भएको उल्लेख गरे । कार्यक्रममा शारदा घिमिरे लगायत एक दर्जन कविहरुले समसामयिक विषयमा कविता वाचन गरेका थिए ।



Leave a Reply