अचेल चाँदी केवल परम्परागत करुवा, थाली वा गहनामा मात्र सीमित छैन । बजार जाँदा जहाँ–जहाँ नजर पुग्छ, त्यहाँ–त्यहाँ चाँदीका नयाँ–नयाँ डिजाइनले मनै लोभ्याउँछ । दसैँतिहारको फेस्टिभ मुडमा सजिएका पसलहरू, चम्किला करुवा, थाली, टीकादानी र गहना यी सबैले दसैँतिहारजस्ता पर्वलाई उमङ्गमय तुल्याउँछ ।

पसलको भीड, ग्राहकहरूको उत्साह र नयाँ डिजाइनको खोजी— यी सबै मिलेर चाँदीको संसारलाई जीवन्त बनाउँछ । अचेलका ग्राहक केवल पारम्परिक सामग्री खोज्दैनन्, उनीहरूले आधुनिक डिजाइन र व्यक्तिगत रुचिअनुसारका चाँदीका सरसामान पनि रोज्ने गरेका छन् ।
पूजा थाली र सामग्री— दसैँतिहारमा प्रयोग हुने पूजा थाली, माना, पाथी, सुकुन्दा, टीकादानीजस्ता सामग्रीहरू विभिन्न साइज र डिजाइनमा सजिलै पाइन्छन् । पुरानो शैलीका साधारण थालीबाहेक अचेल फूलको आकार, मण्डलशैली वा आधुनिक डिजाइनमा बनेका थालीहरू निकै लोकप्रिय छन् ।

धार्मिक प्रतिमा र प्रतीक— गणेश, लक्ष्मी, विष्णुलगायतका प्रतिमादेखि धार्मिक प्रतीकका रूपमा कछुवा, माछा, शङ्खजस्ता वस्तुहरू चाँदीमै बनाइन्छन् । यी केवल पूजा–सामग्री मात्र नभई घर सजाउन र सकारात्मक ऊर्जा ल्याउन भूमिका खेल्ने सामग्रीको रूपमा पनि प्रयोग हुन्छन् ।

सिक्का र उपहार— दसैँतिहारमा मान्यजनलाई दिने चाँदीका सिक्का अझै चल्तीमा छन् । आजकाल सिक्कामा देवी–देवताको आकृति, राशिफल चिह्न वा स्मारक शैलीका डिजाइनसमेत पाइन्छन्, जसबाट यो केवल धातु मात्र नभई सङ्ग्रहणीय वस्तुसमेत बन्न पुगेको छ ।
गहना र आधुनिक प्रयोग— अन्टी, औँठी, बाला, चुरा वा टपजस्ता परम्परागत गहनासँगै आधुनिक डिजाइनका चाँदीका आभूषण पनि बजारमा निकै चलेका छन् । हलुका, स्टाइलिस र किफायती भएकाले युवापुस्ताले पनि सहजै अपनाएको देखिन्छ ।

माग बढ्दै, उत्पादनमा होड
दसैँतिहार सुरु हुनासाथ बजारमा चाँदीको माग अकासिन्छ । त्यसैले त, सुनचाँदी पसलहरू मात्रै होइन, साना कारिगर र हस्तकला व्यवसायीहरूले पनि यस समय विशेष उत्पादन ल्याउने गर्छन् । ग्राहकको गच्छे र रुचिअनुसार कस्टम डिजाइन बनाउने चलन पनि बढेको छ— चाहे त्यो सानो टीकादानी होस् वा ठूला पूजाका थाली ।

परम्परा र आधुनिकता सँगसँगै
परिवर्तनले के देखाउँछ भने चाँदीसँग हाम्रो मोह पुरानै भए पनि यसको रूप भने समयसँगै बदलिँदै गएको छ । दसैँतिहारमा चाँदीको भाँडा वा गहना किन्ने चलन आज पनि जीवित छ तर त्यसमा परम्परागत सौन्दर्यसँगै आधुनिक रुचिको मिश्रण पनि प्रस्टै देखिन्छ ।
दसैँतिहार नजिकिँदै गर्दा सुन–चाँदी पसलहरूमा बेग्लै रौनक छाउँछ । पसलभित्र पस्दा नै चम्किला करुवा, थाली, टीकादानीदेखि गहना, सिक्का र पूजाका सामग्रीहरूले हाम्रा नजरलाई आकर्षित तुल्याइहाल्छ । ग्राहकको भीड, पसलवालाको व्यस्तता र नयाँ डिजाइनबारे उत्सुकता— यी सबैको मिश्रणस्वरूप बजारलाई पर्वमय उज्यालोले झकिझकाउ तुल्याइदिन्छ ।
कोही परम्परागत गोल थाली हेर्दै छन्, कोही भने नयाँ ट्रेन्डमा आएको माछा आकारको टीकादानी छान्दै छन् । कसैले भनिरहेका हुन्छन्, ‘यो साइज पूजाकोठामा ठ्याक्कै मिल्छ ।’ अर्कोले भने पसलवालासँग सोधिरहेका हुन्छन्, ‘यो कति तोलाको हो ? अरू डिजाइन पनि देखाउनुहोस् त ।’

कारिगरहरूका हातले पनि यतिखेर फुर्सद पाउँदैन । दसैँतिहारलाई लक्षित गरेर उनीहरूले ग्राहकको गच्छे र रुचिअनुसार नयाँ–नयाँ डिजाइन तयार पारिरहेका हुन्छन् । साना सुकुन्दादेखि ३५–४० तोला तौलिने टीकादानीसम्म सबै किसिमका अर्डर पूरा गर्न उनीहरू व्यस्त देखिन्छन् ।

यसरी बजारको माहोल केवल किनमेल मात्र होइन, पर्वको सुरुवातसँगै आउने उत्साह र उमङ्गको प्रतिविम्बसमेत हो । चम्किला चाँदीका भाँडाकुँडाले पसल सजाउँदा त्यसको चमक मान्छेका अनुहारमा पनि झल्किन्छ ।
नयाँ ट्रेन्ड— माछा आकारको टीकादानी
यसपटक बजारमा खासगरी चर्चामा आएको छ— माछा आकारको टीकादानी । परम्परागत गोल वा चौकोर डिजाइनभन्दा फरक यो टीकादानीले धार्मिक प्रतीक र कलात्मक आकर्षण दुवै बोकेको छ । नेपाली संस्कृतिमा माछालाई समृद्धि, शुभ–कार्य र निरन्तरताको प्रतीक मानिन्छ । त्यसैले पूजामा प्रयोग हुने टीकादानीमा माछाको आकृति थपिँदा त्यो केवल सजावटी होइन, आस्थाको प्रतिरूप पनि बन्छ ।

यस्ता टीकादानीहरू साना–ठूला विभिन्न साइजमा पाइन्छन् । कतिपय कारिगरले त ३५ देखि ४० तोलासम्मको भव्य टीकादानी पनि बनाएका छन् । यस्तो भारी टीकादानी प्रायः विशेष अवसर वा दीर्घकालीन धरोहरको रूपमा सुरक्षित गरिन्छ ।
दसैँतिहारजस्ता चाडपर्वमा यसरी नयाँ डिजाइनका चाँदीका पूजा–सामग्री बजारमा आउनु पुरानो परम्परामा नयाँ स्वाद थपिएजस्तै हो । ग्राहकहरू पनि आफ्नो गच्छे र रुचिअनुसार यस्ता विशेष टीकादानी रोजिरहेका छन्— कसैले पूजाका लागि, कसैले सङ्ग्रहका लागि र कसैले उपहारका लागि ।



Leave a Reply