मेरो बाल्यकाल पाटनको ऐतिहासिक कृष्ण मन्दिरबाट प्रारम्भ भयो । म दुई वर्षको छँदादेखि नै मामाले मलाई कृष्ण मन्दिरमा लैजानुभयो । उहाँ त्यो मन्दिरको पुजारी हुनुहुन्थ्यो । मन्दिर र त्यसवरपरको पवित्र वातावरण, धूपको सुवास, घण्टाघरको नाद र भजनका मधुर धुनहरूले मेरो नसा–नसामा सङ्गीतको बीउ रोपिदियो । सानैदेखि म पलेँटी कसेर आँखा चिम्ली मन्दिरमा गुन्जिने भक्तिमय स्वरहरूसँग एकाकार हुन थालेँ । मभित्र त्यही थलो र परिवेशको सान्निध्यबाट सङ्गीतप्रतिको मोह जन्मिन पुग्यो ।

जब म स्कुल जान थालेँ, मन्दिर मेरो दोस्रो घरजस्तै बन्यो । स्कुल जानुअघि र फर्किएपछि म सधैँ मन्दिरमै हुन्थेँ । त्यहीँ मैले गुरु गणेशलाल श्रेष्ठलाई चिनेँ— दुवै आँखा नदेख्ने भए पनि सङ्गीतका अद्वितीय उस्ताद । उहाँले तबला, इसराज, सरोद, सितारजस्ता वाद्यवादनहरू छामेकै भरमा सुर र तालसहित बजाउनुहुन्थ्यो । म १३ वर्षमा हिँड्दै गर्दा मामाले मलाई उहाँको शिष्य बनाइदिनुभयो । पहिलो पटक उहाँको बैठकमा पुग्दा म चकित परेँ, किनभने उहाँ १६ वटा तबलामा एकैसाथ ताल मिलाएर बजाउँदै हुनुहुन्थ्यो । त्यो जोकोहीलाई आकर्षित तुल्याउने दृश्य थियो । सो दृश्यले मेरो बाल–मस्तिष्कमा जादूजस्तै प्रभाव पा¥यो । उहाँका अगाडि करिब दुई दर्जन वाद्यवादन सामग्रीहरू सुसज्जित थिए— तबला, इसराज, सरोद, जलतरङ्ग, सितार । ती वाद्यसामग्रीहरू पहिलो पटक देखेको थिएँ ।



गुरुले मलाई पहिलो पटक इसराज बजाउन सिकाउनुभयो । एक दिन उहाँले ‘सा’ बजाइराख भनी अरू काममा लाग्नुभयो । मैले दिनभरि ‘सा’ मात्र बजाएँ । साँझपख गुरुले मलाई चाँदीको एक रुपियाँ दिएर घर पठाउनुभयो । त्यस समय एक रुपियाँ पाउनु ठूलो कुरा थियो । इसराजमा ६ महिना अभ्यास गरेपछि गुरुले मलाई सरोद र त्यसपछि जलतरङ्ग सिकाउनुभयो । रेडियो नेपालको सङ्गीत–निर्देशकमा बालकृष्ण सम र महाप्रबन्धक गुरु गणेशलाल हुनुहुन्थ्यो । मसँग सङ्गीत सिक्ने साथीहरूमा कुमारलाल श्रेष्ठ, पन्नाकाजी, हरिप्रसाद रिमालजस्ता प्रतिभाशाली सर्जकहरू थिए । म १४ वर्षको छँदा बुबाको निधन भयो । घरको जेठो सन्तान भएकाले पारिवारिक जिम्मेवारी मेरो काँधमा आयो । त्यसै समय रेडियो नेपालमा सरोदवादकको पद रिक्त भएको सुनेँ । लोकसेवा आयोगको परीक्षा दिएँ र उत्तीर्ण पनि भएँ । नायब सुब्बासरह जागिर पाएँ ।
मलाई अन्तर्वार्ताको क्रममा सोधिएको थियो, ‘तपाईं के–के बाजा बजाउन सक्नुहुन्छ ?’
मैले मुस्कुराउँदै भनेँ, ‘रेडियो नेपालमा भएका सबै बाजा बजाउन सक्छु ।’ सोही दिनबाट औपचारिक रूपमा मेरो पेसागत सङ्गीत–यात्राको सुरुवात भयो । रेडियो नेपालको अर्केस्ट्रामा म २२ सदस्यहरूमध्ये एक थिएँ । पहिलो पटक अर्केस्ट्रामा ‘ब्याचुली धुन दँ दँ पासां पिं’ अभ्यास गराई रेकर्ड गराएका थियौँ, जसलाई मेरा गुरुले कम्पोज गर्नुभएको थियो । रेडियो नेपालमा हरेक बिहान शंखध्वनिपछिको सङ्गीतमा त्यो धुन बज्थ्यो । त्यो बेलाको सोमबार विशेष प्रसारण हुन्थ्यो, जसमा बाँसुरीमा शिवलाल, सरोदमा म र अन्तमान, सारङ्गीमा वीरेन्द्रमान, वीरभक्त र जलतरङ्गमा कृष्णलालजस्ता सङ्गीतकर्मी सहभागी हुन्थ्यौँ ।
गुरु गणेशलालले बजाउन थालेपछि सबै चुपचाप रहन्थे । त्यस समय रेडियो नेपालका मेरा सहकर्मीहरू थिए— तारादेवी, कोइलीदेवी, पन्नाकाजी, भैरवबहादुर थापा, रामनाथ, चेतनाथ शर्मा, भीमबहादुर थापालगायत । आज पनि ती सबैका नाम मेरो स्मृतिमा अमिट छन् ।

रेडियो नेपालमा बालकृष्ण समसँग भेट हुँदा उहाँले भन्नुहुन्थ्यो, ‘तिमी पनि गीत गाऊ न, मोहन !’ म मक्ख हुँदै गीत गाएर सुनाउँथेँ । रेडियोमा काम गर्न थालेपछि हरेक दिन गुरुको हात समाएर पाटनबाट सिंहदरबार पुग्थेँ । कहिले गुरुलाई लिन पठाएको गाडीबाट गुरुसँगै रेडियो नेपालमा पुग्थेँ, कहिले गाडी नहँुदा हात समाएर रेडियोमा पुग्थेँ । म उहाँको सहयोगीजस्तै भई सधैँजसो सँगै रहन्थेँ । मेरो जीवनको मुख्य सार भनेकै ती दिनहरू थिए, जुन बेला मलाई सङ्गीतको त्राण छर्ने गुरुसँगसँगै जान पाएँ, सिक्न पाएँ । मभन्दा पहिले प्रेमध्वज प्रधानले गुरुलाई हात समाएर हिँड्ने गर्नुहुन्थ्यो । उहाँकी आमा प्राणदेवी पनि गुरुको शिष्या थिइन् ।
गुरु राजदरबारको पनि उस्ताद हुनुहुन्थ्यो । म उहाँसँगै दरबार पुग्थेँ । एकपटक दरबारमा आयोजित एक कार्यक्रममा कविशिरोमणि लेखनाथ पौडेलले आफ्नै रचना र सङ्गीतमा ‘साम्ब सदा शिव’ भजन गाउनुभयो, जुन आज पनि मेरो मानसपटलमा गुन्जिरहन्छ । त्यो भजन म अहिले पनि गाइरहेको हुन्छु ।
वि.सं. २०१६ सालमा मलाई राजदरबारबाट बाजा बजाउन निमन्त्रणा आयो । म झस्किएँ, १५ वर्षको उमेरमा दरबारबाट बोलावट ! विश्वासै लागेन । कोट लगाएर ऐनामा हेर्दा म आफैँ हाँसेँ । सानैमा पाएको सो अवसर मेरो जीवनकै अमूल्य क्षण थियो । चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन लाईले तत्कालीन राजा महेन्द्रबाट आफूलाई लगाइदिएको माला गुरुलाई लगाइदिएपछि उहाँले गुरुलाई ‘मान्छे होइन, देवता हो’ भन्नुभएको थियो ।

अहिले वाद्यशिरोमणि गणेशलाल श्रेष्ठ गुरुलाई कसैले खासै सम्झेको देख्दिनँ । तर, अन्तर्राष्ट्रिय रूपमा समेत प्रख्यात सङ्गीत–हस्ती मेरा गुरु हुन् भन्न पाउँदा गर्व लाग्छ । सत्यमोहन (प्रख्यात संस्कृतिविद्÷साहित्यकार) जोशी दाइ सधैँजसो घरमा आउनुहुन्थ्यो र पाटनका धेरैलाई विभिन्न प्रकारका बाजाहरू सिकाइरहेको देख्दा ‘धन्यवाद’ दिनुहुन्थ्यो ।
त्यस समय सङ्गीत साधकप्रतिको सम्मान अद्भुत नै थियो । गुरु राजदरबार, केशरमहल, थापाथलीजस्ता स्थानहरूमा सङ्गीत सिकाउन जानुहुन्थ्यो । लक्ष्मीशमशेर, हिमालयशमशेर, हिमालयशमशेरका बुबालगायतले गुरुबाट सितार र तबला सिक्नुहुन्थ्यो । गुरुले सिकाएको सिक्ने र गुरुलाई आदर गर्ने त्यो बेलाको संस्कार अहिले हराउँदै गएको छ ।

गुरुको म कान्छो शिष्य थिएँ । कृष्णलाल, कुमारलाल, कृष्णदत्तजस्ता अग्रजहरूपछि मैले सिकेँ । सङ्गीत क्षेत्रमा भने मेरा चेलाहरू धेरै छन्, जसले नेपाली शास्त्रीय सङ्गीतलाई जोगाइरहेका छन् । वि.सं २०५० सालमा रेडियो नेपालबाट अवकाश पाएपछि कलानिधिमा प्रिन्सिपल भएँ । बितेको ३० वर्षयता म कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयको प्रिन्सिपलको रूपमा कार्यरत छु । म नतमस्तक हुन्छु, जब मेरा गुरुले भारत, पाकिस्तान, चीनजस्ता देशबाट आएका उस्तादहरूलाई ‘वाह ! वाह !’ हुने गरी सङ्गीत सुनाउनुहुन्थ्यो ।

यो मेरो बाल्यकालदेखि किशोरावस्थासम्मको सङ्गीत–यात्रा हो, जहाँ मन्दिरका भजनदेखि दरबारको राजसी सङ्गीतसम्म, गुरुसँगको हात समाउँदै हिँड्ने बालकदेखि अहिलेका शास्त्रीय सङ्गीतका हस्तीहरूका गुरुका रूपमा परिचित छु । मेरो जीवन, मेरो आत्मा सबै सङ्गीतसँगै जोडिएको छ ।
००



Leave a Reply