मेरो पाइलट–सपना


म सदैव सपना देख्ने मान्छे हुँ । अझै ममा थुप्रै सपना बाँकी छन् । मलाई लाग्छ, सपना देख्नका लागि उमेर कहिल्यै बाधक हुँदैन । बरु सपना देख्न सक्ने क्षमताले नै जीवनको दिशा निर्धारण गर्दछ । जब हामीभित्रका सपना स्पष्ट हुन्छन्, तब दृढता–भाव जन्मिन्छ । सपनाले ‘भिजन’ दिन्छ र ‘भिजन’ राम्रो हुँदा व्यक्ति स्वयं राम्रो बदन्छ…

म सदैव सपना देख्ने मान्छे हुँ । अझै ममा थुप्रै सपना बाँकी छन् । मलाई लाग्छ, सपना देख्नका लागि उमेर कहिल्यै बाधक हुँदैन । बरु सपना देख्न सक्ने क्षमताले नै जीवनको दिशा निर्धारण गर्दछ । जब हामीभित्रका सपना स्पष्ट हुन्छन्, तब दृढता–भाव जन्मिन्छ । सपनाले ‘भिजन’ दिन्छ र ‘भिजन’ राम्रो हुँदा व्यक्ति स्वयं राम्रो बदन्छ । राम्रा व्यक्तिका कारण शहर, समाज र अन्ततः देश नै राम्रो बन्ने हो ।

म सानैदेखि अनेक सपना देख्ने गर्थें । तिनै साना–ठुला सपना बुन्दै म हुर्किएँ । जीवनका अनेक मोडमा तिनै सपनाहरूले मलाई हौसला दिएका छन्, दिशा प्रदान गरेका छन् ।
युवाकालको प्रारम्भिक समयताका मैले चलचित्र ‘आदर्श नारी’ मा नायकको भूमिका निर्वाह गर्ने अवसर पाएँ । १८ वर्षमा हिँडिरहेका मेरा लागि त्योे जीवनकै पहिलो ठुलो अवसर थियो । चलचित्र क्षेत्रमा खासै रुचि नभए पनि भाइको आग्रहमा मैले अभिनय गरेको थिएँ । सो चलचित्रमा मैले एक विमान चालकको भूमिका निर्वाह गरेको थिएँ । छायाँकनका लागि क्याप्टेनको युनिफर्म लगाएर त्रिभुवन विमानस्थलमा पुग्दा सुरक्षाकर्मी र अरू कर्मचारीहरूले मलाई ‘साँच्चिकै पाइलट’ सम्झेर गरेको सम्मान शब्दमा व्यक्त गर्न गाह्रो छ ।

म सानैदेखि युनिफर्म लगाउने कुनै न कुनै पेसामा आबद्ध हुने सपना देख्थेँ, कहिले प्रहरी, कहिले सेना, त कहिले ब्रिटिस सेना । ती सबै पेसा मेरी आमाको रुचिभित्र नपरेको हुँदा मैले प्रयत्न गरिन । तर चलचित्रमा पाइलटको भूमिका निर्वाह गरेपछि भने ममा पाइलट बन्ने भुत चढ्न थाल्यो र आफू पाइलट बन्न जन्मिएजस्तै लाग्न थाल्यो । सोही रातको सपनामा मैले आफूलाई आकाशमा विमान उडाइरहेको देखेँ । त्यो सपना मेरो मन–मस्तिष्कमा गढ्न पुग्यो ।
म सामान्य परिवारमा जन्मिएको व्यक्ति । पाइलट बन्नु त्यति सजिलो थिएन । पाइलट बन्ने मेरो सपना महँगो थियो, आर्थिक÷सामाजिक दुवै रूपमा । सपना देख्न पैसा नलाग्दो रहेछ । मैले साहस बटुलेर आमालाई भनेँ, ‘आमा, म पाइलट बन्न चाहन्छु ।”

मेरो सपना आमाले बुबासम्म पु¥याउनुभएछ । सानैदेखि मेरा निम्ति बुबासँग सिधा संवाद गर्नु साहसिक कुरा थियो । हाम्रो पारिवारिक संस्कारअनुरुप सानाले ठुलाको खुट्टा ढोग्दै आशीर्वाद लिने चलनअनुसार बुबाको खुट्टा ढोग्न खोज्दै गर्दा बुबाले रोक्नै सोध्नुभयो, ‘ए रोक, के रे के, तँ पाइलट बन्ने रे ?’ बुबाको यस्तो प्रतिक्रियाले म अक्क न बक्क भएँ ।
बुबाले फेरि भन्नुभयो, ‘ल, हेरौंला, विचार गरौंला ।” उहाँको त्यो सहज प्रतिक्रिया मेरो लागि संसार जितेसरह थियो । बुबासँग सिधा संवाद हुनु, त्यो पनि आफ्ना सपनाबारे । त्यो दिन मेरो लागि जीवनकै एक विशेष क्षण थियो ।
केही दिनपछि बुबाले मलाई भन्नुभयो, ‘पाइलट बन्ने हो भने पढाइलाई पनि सँगै लैजानुपर्छ ।’ त्यसपछि उहाँले मलाई क्याप्टेन विजय (त्रिलोक) गिरी दाइको घरमा लैजानुभयो । विजय दाइकी आमा र मेरी आमा साथी हुनुहुन्थ्यो । सानो हुँदा म उहाँलाई ‘बोजु’ भन्थेँ । मैले विजय गिरी दाइलाई सोधेँ, ‘दाइ, म पाइलट बन्न सक्छु ?’

उहाँ केही बोल्नुभएन । सिधै भित्र कोठामा गएर ६ वटा मोटा–मोटा किताब ल्याउनुभयो र मेरो हातमा थम्याइदिनुभयो । ती किताबहरूका मूल्य ८०–९० डलर थिए । ती किताबसँगै एउटा कार्ड पनि हातमा थम्याइदिनुभयो र भन्नुभयो, ‘यी सबै किताब पढ र यो नम्बरमा अमेरिकामा फोन गरेर आइ ट्वान्टी फारम माग ।’

म निकै उत्साहित भएँ । मोबाइल र इन्टरनेटविहीन त्यो समयमा आइएसटीडी कल गर्न म वीर अस्पताल अगाडि गएँ । एक मिनेट कल गर्दा ६० रुपियाँ । मैले तीन मिनेट कुरा गरेँ ।
फोनमा रमाइलो गल्ती भयो । विजय गिरीले अमेरिकामा रहेको विजय ज्याक्लिनलाई फोन गर्न भन्नुभएको थियो । उता पनि विजय, म पनि विजय । गडबड भयो । उता विजय ज्याक्लिनले अचम्म मान्दै सोध्नुभयो, ‘अनि तिमी पाइलट बन्न चाहन्छौ ?’

मैले ‘हो’ भनेपछि उनले आवश्यक प्रक्रिया बताएर आइ ट्वान्टीको फारम पठाइदिनुभयो । उनले अनुमानित खर्च १० हजार अमेरिकी डलर लाग्ने बताउनुभयो । त्यति बेला डलरको भाउ ११ रुपियाँजति मात्रै थियो । समस्या के थियो भने नेपाल सरकारको नियमअनुसार विदेश जाँदा केवल १५० डलर मात्रै लैजान पाइन्थ्यो । यस्तो बेला मलाई भाग्यले साथ दियो । म सेन्ट जेभियर्स स्कुलको विद्यार्थी भएकाले मलाई ६ हजार डलरको चेक दिइयो, नेपाली रुपियाँ फिर्ता दिने सर्तस्वरुप ।

म त्यही चेक बोकेर सन् १९८४ मा अमेरिका उडेँ । त्यो समयमा अमेरिका जाने अधिकांश विद्यार्थीहरूका भिसा अस्वीकृत गरिन्थ्यो । मसँग भने सेन्ट जेभियर्सका फादरहरूको सिफारिस–पत्र र अमेरिकी एम्बेसीकै कन्सुलरको समर्थन–पत्र थियो । अन्तर्वार्तामा खासै केही सोधिएन र ६ हजार डलरको चेक देखाएपछि दुई वर्षको भिसा पाएँ ।
मेरो फ्लाइटअनुसार दिउँसो अमेरिका पुग्नुपर्ने थियो तर ढिलाइले गर्दा म राति मात्रै पुगेँ । एयरपोर्टमा विजय ज्याक्लिन आफैँ लिन आउनुभएको थियो । ज्याक्लिनले मलाई सिधै अन्तर्राष्ट्रिय चेन होटल होली डे इनमा लैजानुभयो, जुन होटलमा प्रतिरात ४५ डलर तिर्नुपर्ने रहेछ । मसँग १५० डलर मात्रै थियो । पहिलो रातकै होटल खर्च ४५ डलर प¥यो । बाँकी १०५ डलर थियो । त्यो अपरिचित देशमा, नयाँ परिवेशमा, अब के गर्ने, कसो गर्ने भन्ने डरले रातभरि निन्द्रै परेन ।

डालसको पिगाशुश एरोनोटिक सेन्टरमा पहिलोपटक पुगेको दिन मलाई थाहा भयो– म मात्र एक्लो नेपाली होइन रहेछु । अरू पनि नेपाली विद्यार्थीहरू थिए । कोही पुराना र कोही नयाँ । शायद त्यही बेला मैले बोजुले धेरैपटक दो¥होयाउने शब्द सम्झिएँ, ‘जिन्दगीमा सफलता कि आँटको हुन्छ, कि ढाँटको, कि गाँठको ।’ गाँठ र ढाँट त थिएन मसँग । बाँकी थियो त केवल आँट– सपना देख्ने, त्यसलाई पछ्याउने र सक्दो मिहिनेत गर्ने आँट ।

नेपाल छँदा म एकदमै माया र आराममा हुर्किँएको थिएँ । आमाले यति माया गर्नुहुन्थ्यो, चिया पिएको गिलाससम्म पनि उठाउनु पर्दैनथ्यो । अमेरिका पुगेपछि भने जीवनले अर्कै मोड लियो ।
पहिलेदेखि नै अध्ययनरत दिपाल शेरचनले आफ्नो अपार्टमेन्टमा सँगै बस्ने व्यवस्था गरिदिए । हामी ६–७ जना नेपाली एउटै अपार्टमेन्टमा बस्थ्यौं । शुरुका केही महिना राम्रैसँग बित्यो । तर तीन महिना नपुग्दै मेरो पैसा सकिएपछि तनावका दिनहरू सुरु भए । घरबाट माग्ने परिस्थिति थिएन । अब अमेरिकामा बस्न, पढ्न र सपना साकार पार्नका लागि काम नगरी सुखै थिएन ।
सुरुमा पिज्जा हटमा जागिर गर्न थालेँ । जब मैले ‘आफ्नो ग्रीनकार्ड छैन’ भनी बताएँ, मलाई तुरुन्तै निकालियो । पूरै अपमानित गरेर । ‘ब्ल्याक बेल्ट’ पाइसकेको हुँदा रिस नउठेको होइन तर संयमित भएर चुपचाप फर्किएँ ।

कोठामा फर्केर पल्टिएर बसेको थिएँ, फोनको घण्टी बज्यो । त्यो फोन मलाई निकालेका पिज्जा हटका बोसको थियो, ‘जागिर चाहिन्छ भने छिट्टै आइहाल ।’ तीव्र गतिमा गाडी कुदाउँदै गएँ । मेरो सेक्युरिटी कार्डमा ‘प्रायः काम गर्नै नपाउने’ भनी लेखिने रहेछ तर भाग्यबस मेरो कार्डमा ‘काम गर्न नपाउने’ भनेर मात्र लेखिएको हुँदा मैले वेटरको काम पाएँ ।

एकदिन पिज्जा हटमा भाँडा माझ्ने मान्छे नआएका हुँदा सो जिम्मेवारी पनि मलाई सुम्पियो । १३ घण्टासम्म भाँडा माझेँ । साँझपख थकित भएर कोठामा फर्किँदा दुवै हात रसायनले सेता भइसकेका थिए । म कुनामा बसेर बेस्सरी रोएँ । ठीक त्यही बेला, अन्दाजी ३० वर्षकी कोरियन महिला किमले मलाई पछाडिबाट अँगालो हालिन् र ढाढस दिइन् । उनको सहानुभूति, शब्द र आँखाको हेराइ आज पनि मेरो सम्झनामा ताजै छन् ।

किम त्यही दिनदेखि मेरा लागि अभिभावकझैँ बनिन् । उनले मलाई कामका लागि हौंस्याइन्, ग्यास स्टेसनमा पनि काम गर्न सुझाइन् । मैले सुरुमा ग्यास स्टेसनमा क्यासियर भई काम गरेँ र पछि सुपरभाइजरसम्म बनेँ । बन्द हुने अवस्थामा पुगेको स्टेसनलाई मैले मिहिनेत र व्यावहारिकतामार्फत जमाएर चलाइदिएँ ।

मेरो पाइलट बन्ने सपना जीवितै थियो । मैले प्राइभेट रूपमा फ्लाइट कोर्स पनि गर्न सुरु गरेँ । दिनमा काम गर्थेँ र बेलुका पढ्थेँ । शनिबार–आइतबार जहाज उडाउँदै फ्लाइङ कोर्स पूरा गरेँ । अन्ततः सबै परीक्षा पास गरेँ ।

सन् १९८७ मा नेपाल फर्किँदा मसँग थियो– २५ हजार अमेरिकी डलर । त्यति रकम केवल अंक मात्र थिएन, मेरो वर्षौंको मिहिनेत, आँट र सपना साकार गर्ने अदम्य इच्छाशक्तिको प्रतीकसमेत थियो । सोही रकमसँगै मैले जीवनको एउटा नयाँ अध्याय सुरु गरेँ– आफ्नै माटोमा केही गर्ने सपना सँगाल्दै । नेपाल फर्किएलगत्तै नेपाल एयरलाइन्समा विमान चालकको रूपमा आफ्नो ‘करियर’ सुरुवात गरेँ ।

आज जब म पछाडि फर्किएर हेर्छु, ४१ वर्ष लामो मेरो उडान यात्रामा थुप्रै चुनौती, अवसर र उपलब्धिहरूले भरिएको जीवन–यात्रालाई देख्दछु । बितेको चार दशकभन्दा लामो अवधि मैले २५ हजार घण्टाभन्दा बढी आकाशमा बिताएँ, जुन मेरो ‘लक बुक’ मा गर्वसाथ लेखिएको छ । एक अनुभवी पाइलटको हैसियतले मैले केवल जहाज मात्र उडाइन, समय, अनुशासन र निष्ठाका मूल्यहरूसँग पनि आत्मसात गर्न पाएँ ।

अहिले अवकाश प्राप्त गरे पनि एयरबस ३३०–ह्वाइट बडी जेटको वरिष्ठ कप्तानको रूपमा कार्यरत छु । वरिष्ठ प्रशिक्षकका साथमा नागरिक उड्डयन क्षेत्रको एक सक्रिय सदस्यको रूपमा पनि योगदान दिइरहेको छु । यो यात्रा मेरो लागि केवल पेसागत सफलता मात्र होइन, जीवनका धेरै पाठको सँगालो पनि हो । अनुशासन, धैर्यता, लगनशीलता र मातृभूमिप्रतिको प्रेमले मलाई आजको विन्दुसम्म ल्याएको हो ।

आज म आफ्नो अनुभव, ज्ञान र सीप नयाँ पुस्तासँग बाँड्दै छु । किनकि हरेक उडानले मलाई सिकाएको छ– सपना पूरा गर्न आकाश मात्र होइन, आत्मबल पनि चाहिन्छ ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *