एउटै प्रतियोगिताको नतिजाले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्दैन


नेपाली क्रिकेट टोली टी–२० विश्वकपका लागि लगातार दोस्रो पटक छनोट भयो, तर विश्वकप क्रिकेट लिग–२ को पछिल्लो सिरिजका सबै खेल गुमाउन पुग्यो, यसलाई कसरी लिने ?सुरुमा त नेपाली टिमले टी–२० फम्र्याटमा पछिल्लो लामो समययता राम्रो प्रदर्शन गर्दै आएको छ । त्यसैको निरन्तरता हो, विश्वकपमा छनोट हुनु भनेको । टी–२० फम्र्याट आफैँमा पपुलर फम्र्याट पनि हो,…

नेपाली क्रिकेट टोली टी–२० विश्वकपका लागि लगातार दोस्रो पटक छनोट भयो, तर विश्वकप क्रिकेट लिग–२ को पछिल्लो सिरिजका सबै खेल गुमाउन पुग्यो, यसलाई कसरी लिने ?
सुरुमा त नेपाली टिमले टी–२० फम्र्याटमा पछिल्लो लामो समययता राम्रो प्रदर्शन गर्दै आएको छ । त्यसैको निरन्तरता हो, विश्वकपमा छनोट हुनु भनेको । टी–२० फम्र्याट आफैँमा पपुलर फम्र्याट पनि हो, त्यसैले धेरैको सपना त्यसको विश्वकप खेल्ने हुन्छ । हामीले त्यो सपना देखेको लामो समयपछि खेल्न पाएका थियौँ । यसपटक लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक खेल्ने अवसर जुरेको छ । यो आफैँमा राम्रो हो, तर अन्य फम्र्याटमा पनि हामीले राम्रो गर्नपर्छ । त्यसमा क्यानको ध्यान गएको छ र जान्छ पनि ।

वान डे विश्वकपको आधार भनेकै विश्वकप क्रिकेट लिग–२ मा राम्रो प्रदर्शन हो । जसमा हामी पछिल्लो सिरिजमा चुकेका छौँ । छोटो फम्र्याटमा मात्रै हाम्रो ध्यान केन्द्रित भएको हो ?
हैन । हामीले सुरुबाटै मल्टि डे (बहुदिवसीय) क्रिकेट हुनुपर्छ भन्दै आएका छौँ । त्यसका लागि पूर्वाधारले पनि साथ दिनुपर्छ र वान डे क्रिकेटका विभिन्न प्रतियोगिताहरू आयोजना गर्ने क्यानको योजना पनि नभएको होइन । तर, पछिल्लो पटक सन् २०२४ को विश्वकप खेलेपछि हाम्रो तालिकामा टी–२० फम्र्याट अलि बढी परेको हो । हामीले त स्कुल क्रिकेट, जिल्ला र प्रदेश क्रिकेटमा पनि ध्यान पुर्‍याउन जरुरी छ । ग्रासरुट क्रिकेट विकास हुन सक्यो भने सबै फम्र्याटमा हाम्रो प्रदर्शन राम्रो हुन्छ भन्नेमा आशावादी छु ।

वान डे विश्वकप नेपालको हकमा टाढिँदै गएको हो ?
लिग टुको पछिल्लो सिरिजमा हाम्रो प्रदर्शन सोचेअनुसारको भएन । त्यसैलाई आधार बनाएर नेपाली क्रिकेटका फ्यानहरू इमोसनल हुनु स्वाभाविक हो । तर, विचार के गर्नुपर्छ भन्दा एउटै प्रतियोगिताको नतिजाले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्र्दैन । हामीले धैर्य गर्नपर्छ । टी–२० विश्वकप पनि हामीले सजिलै खेल्न पाएका हैनौँ । अघिल्लो पटक वान डे मान्यता जोगाउँदा पनि हाम्रा खेलाडीहरूले दिलोज्यान लगाएका थिए । त्यसैले वान डे विश्वकपका लागि पनि समय आउँछ । पर्खिनुपर्छ, धैर्य गुमाउनु हुन्न । नेपाली क्रिकेट टिममा त्यो क्षमता छ । टिममा र खेलाडीलाई विश्वास गर्नुपर्छ ।

पछिल्लो समय नेपालले आइसिसीका महत्वपूर्ण प्रतियोगिताहरू आयोजना गर्न सकेको छैन । हामीले गर्न नचाहेको कि नपाएको ?
हामीसँग अहिले मैदान अभाव छ । बीचमा टियु क्रिकेट ग्राउन्डको पनि मर्मत–सम्भार हुँदै थियो । त्यसले पनि केही प्रभाव पार्‍यो । तर, अब दोस्र्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटलगत्तै हामी महिला विश्वकपको ग्लोबल क्वालिफायर नेपालमै आयोजना गर्दै छौँ । र, पुरुष विश्वकपअघि केही अन्तर्राष्ट्रिय प्रतियोगिता पनि गर्ने योजनामा हामी छौँ ।

एनपिएलको कुरा आइहाल्यो, यो पटक के विशेष हुँदै छ त एनपिएलमा ?
यस पटक हामी फ्लडलाइटमा एनपिएलका २० खेलहरू आयोजना गर्दै छौँ । सबैभन्दा विशेष त त्यही हो । त्यसबाहेक लामो समय घाँसमा बसेर क्रिकेट हेर्दै आउनुभएका दर्शकका लागि योपटक प्यारापिटको पनि व्यवस्था छ । बस्नका लागि विभिन्न जोन पनि छुट्ट्याएका छौँ । अघिल्लो पटकको भन्दा यसपटक केही खास र विशेष त हुन्छ नै एनपिएल ।

रातको समयमा प्रतियोगिता हुँदा दर्शक व्यवस्थापन कत्तिको चुनौतीपूर्ण हुन्छ ?
दिन वा रातभन्दा पनि हामीसँग सीमित सिट संख्या छ । त्यसैले ११ हजारभन्दा बढीलाई टियुमा स्वागत गर्न सकिँदैन । जसले टिकट प्राप्त गर्न सक्नुहुन्न उहाँहरूले टेलिभिजन वा मोबाइलमा गेम हेरेर आफ्नो मन पर्ने टिमलाई सपोर्ट गर्न सक्नुहुन्छ । अब जहाँसम्म हाम्रो तयारीको कुरा छ, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र गृह मन्त्रालयले पनि हामीलाई के आश्वासन दिएको छ भने दर्शक व्यवस्थापनमा कुनै कमी हुनेछैन । दर्शकलाई प्रवेश गर्ने र निस्किने ढोकाहरू नै अलग व्यवस्था गरिएकाले पनि खास समस्या नहोला । सुरक्षा प्रबन्ध पनि उच्च नै हुन्छ ।

एनपिएलमा यसपटक पनि आइसिसीको प्रतिबन्धका कारण टेस्ट राष्ट्रका चार जना खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछन् । यो फुकुवा गर्न पहल भएको छैन ?
हामीले अघिल्लो संस्करणको एनपिएल सकिनासाथ त्यसको प्रतिवेदन आइसिसीलाई बुझायौँ । त्यसपछि उहाँहरू पनि सकारात्मक हुनुभयो । आईसिसीका विभिन्न मञ्चमा हामीले नेपालको तर्फबाट प्रस्तुतिहरू पनि दिइसकेका छौँ । आशा गरौँ, अब छिट्टै यो प्रतिबन्ध हट्छ । विगतमा केही फ्रेन्चाइज प्रतियोगितामा भएका गल्ती र कमजोरीलाई क्यानले आयोजना गरेको प्रतियोगितामा कुनै स्थान छैन भनेर हामीले आश्वास्त पार्ने प्रयास गरेका छौँ ।
एनपिएलमा एसोसिएट राष्ट्रका प्रतिभाशाली खेलाडीहरू पनि प्रशस्तै आउनुभएको छ । त्यसैले टेस्ट राष्ट्रका खेलाडीको कोटा सीमित हुँदा पनि फरक पर्र्दैन । एनपिएलले नयाँ–नयाँ प्रतिभा जन्माउने मात्र नभई मौका पनि प्रदान गर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *