जनमतको ४२औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न


नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित पारिजात सभा कक्षमा आयोजना भएको जनमत को ४२औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल साहित्य पत्रकार महासंघका अध्यक्ष, जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष तथा जनमत मासिकका प्रधान सम्पादक मोहन दुवालको सभापतित्वमा सम्पन्न भएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा…

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित पारिजात सभा कक्षमा आयोजना भएको जनमत को ४२औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल साहित्य पत्रकार महासंघका अध्यक्ष, जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष तथा जनमत मासिकका प्रधान सम्पादक मोहन दुवालको सभापतित्वमा सम्पन्न भएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा इन्दिरा रानामगर, मल्ल के. सुन्दर, रामप्रसाद पन्त, सावित्री श्रेष्ठ, राजभाइ प्रधान, राधेश्याम मुल्मी र कृष्ण प्रधानको उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन जनमत वाङ्मय प्रतिष्ठानका सदस्य तथा मानवअधिकारकर्मी राजु सरकारले गरेको थियो। साहित्यिक स्वागत मन्तव्य प्रतिष्ठानकी सचिव सिर्जना दुवालले प्रस्तुत गरिन् भने अतिथिहरूको सम्मान जनमतकी सम्पादक भारती श्रेष्ठले गरिन्।

त्यसैगरी, प्रतिष्ठानकी सदस्य भगवती तिमल्सिनाले सम्मानीय व्यक्तित्वहरूका प्रशंसा पत्र वाचन गरिन्।

उक्त समारोहले जनमतको चार दशक लामो साहित्यिक यात्राको निरन्तरतालाई मात्र होइन, नेपाली साहित्यिक क्षेत्रमा यसले पुर्‍याउँदै आएको अविचल योगदानको समेत सशक्त प्रमाणीकरण गरेको छ।

कार्यक्रममा साहित्य, कला, पत्रकारिता तथा सामाजिक क्षेत्रमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याएका आठ जना प्रतिभाहरूलाई सम्मान गरियो ।

जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष २०८१ सालका लागि दुई चरणमा प्रदान गरिने भएको छ। यी सम्मानहरू आउँदो मंसीर २७ गते र चैत्र २८ गते आयोजना हुने कार्यक्रममा प्रदान गरिने जनाइएको छ।

यसवर्षका सम्मानित प्रतिभाहरू यस प्रकार छन् :
‘दीपा–जनमत सम्मान’ : निर्मोही व्यास (बारा)

‘गणेश/खिलकुमारी दुवाल–जनमत सम्मान’ : श्याम तमोट (भोजपुर)

‘केवलपुरे–जनमत सम्मान’ : खेमराज निरौला (ताप्लेजुङ)

‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ : ज्ञानेन्द्र विवश (खोटाङ)

‘कमला सैंजू–जनमत सम्मान’ : मोतिशोभा श्रेष्ठ (ललितपुर)

‘जनमत–राजभाइ सहयात्री सम्मान’ : कृष्णप्रसाद आचार्य (खोटाङ)

‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ : बाजुराम पौडेल (काठमाडौं)

‘जनमत–केदार/सुदर्शना बालसाहित्य सम्मान’ : ज्योति अधिकारी (काठमाडौं)

सोही अवसरमा नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के. सुन्दरले समसामयिक युगबारे प्रश्न उठाउँदै भने, “हामीले धेरै कालखण्ड पार गरेका छौं । अहिले हामी बाँची रहेको कालखण्ड कुन युग हो, त्यसको उत्तर खोज्ने बेला आएको छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *