सोनिका मानन्धरको सफलताको सुत्र


काठमाडौँका साँघुरा सडकमा गुड्ने सफा टेम्पोहरू प्राय: महिला चालकले चलाइरहेका देखिन्छन् । तीमध्ये धेरैलाई थाहा नहुन सक्छ, उनीहरूको हातमा स्टेरिङमात्रै होइन, आत्मनिर्भरताको हतियार पनि छ ! सोही सम्भावनालाई मूर्त रूप दिएकी थिइन्— सोनिका मानन्धरले । उनै मानन्धरले नयाँ प्रविधि र वित्तीय पहुँचलाई संयोजन गरेर सयौँ महिलाको जीवन–यात्रामा परिवर्तन ल्याउन भूमिका खेलिन् । विदेशको उज्यालोबाट स्वदेशको…

काठमाडौँका साँघुरा सडकमा गुड्ने सफा टेम्पोहरू प्राय: महिला चालकले चलाइरहेका देखिन्छन् । तीमध्ये धेरैलाई थाहा नहुन सक्छ, उनीहरूको हातमा स्टेरिङमात्रै होइन, आत्मनिर्भरताको हतियार पनि छ ! सोही सम्भावनालाई मूर्त रूप दिएकी थिइन्— सोनिका मानन्धरले । उनै मानन्धरले नयाँ प्रविधि र वित्तीय पहुँचलाई संयोजन गरेर सयौँ महिलाको जीवन–यात्रामा परिवर्तन ल्याउन भूमिका खेलिन् ।

विदेशको उज्यालोबाट स्वदेशको सपना
कम्प्युटर स्क्रिन र कोडको संसारमा रमाउने सोनिकाको जीवन कहिल्यै सहज थिएन, तर उनी कहिल्यै निष्क्रिय पनि बसिनन् । उनी त्यो पुस्ताकी प्रतिनिधि थिइन्, जसले प्रविधिलाई केवल रोजगारीको माध्यम मात्र नभई संसार बदल्ने उपकरणका रूपमा हेर्थे । उनले अमेरिकास्थित सिको सिलिकन भ्यालीमा आफ्नो क्षमता प्रमाणित गरिसकेकी थिइन्, जहाँ नवप्रवर्तन, प्रतिस्पर्धा र गति जीवनका अभिन्न अङ्ग थिए । बिहानको मिटिङदेखि रातिसम्म कोड र प्रस्तुतिहरूको चक्रमा उनी व्यस्त रहन्थिन् । सफलता र सम्भावनाको त्यो वातावरणले उनलाई आत्मविश्वासी बनायो । उनको वरपर विश्वका ठूला–ठूला कम्पनीका सिइओ, आइडिया क्रिएटर र टेक इन्भेस्टरहरू थिए, जसले हरेक दिन नयाँ सम्भावनाको परिभाषा लेख्थे । सोनिका पनि तीमध्ये एक बन्न सक्थिन्— आर्थिक दृष्टिले सुरक्षित, व्यावसायिक रूपमा सफल र अन्तर्राष्ट्रिय स्तरमा परिचितसमेत ।

जब ती उज्याला गगनचुम्बी भवनहरूको बीचमा रहँदा कहिलेकाहीँ उनी नेपालका खबर पढ्थिन्, गाउँघरका महिलाको सङ्घर्ष–गाथा सम्झन्थिन् वा आफ्ना बाबुको कहिल्यै नबिर्सिने ऋणका लागि गरेको सङ्घर्ष सम्झन्थिन् । उनको मन असहज र अशान्त बन्न पुग्थ्यो ।
सिलिकन भ्यालीको सुविधाभित्र बस्दा पनि उनलाई लाग्थ्यो, ‘म यहाँ सफल भइरहेकी छु तर मेरो सीप र ज्ञानले जसको जीवनमा साँचो परिवर्तन ल्याउन सक्थ्यो, ती त टाढा कतै नेपालका गल्लीहरूमा छन् ।’ उनलाई एउटा प्रश्नले निरन्तर घोचिरहन्थ्यो, ‘आफ्नो सीप र अनुभव कहिले आफ्नै देशका लागि प्रयोग गर्ने ?’

त्यो प्रश्न उत्तरविहीन थिएन, तर निर्णय गर्न भने साहस चाहिन्थ्यो— सुरक्षित करिअर छोड्ने, अनिश्चित यात्रातिर फर्कने साहस । अन्तत: सन् २०१९ को सुरुवातमा उनले निर्णय गरिन्, ‘अब नेपाल फर्किने बेला भयो ।’

प्रेरणाको मूल स्रोत : बाबुको सङ्घर्ष
सोनिकाको यात्राको जह्रा उनका बाबुको सङ्घर्षसम्मै गढेको छ । कुनै समय गार्मेन्ट उद्योग सञ्चालन गर्ने उनका बुबाले व्यवसायमा असफलता बेहोरेपछि टेम्पो चलाउन थाले । माइक्रोबस किन्न ऋणका लागि बुबाले भोगेको अपमान, कागजपत्रको झन्झट र आर्थिक संस्थाको उदासीनताले सोनिकाको मनमा गहिरो घाउ बनायो । ‘बुबाको त्यो पीडा मेरो लागि आँखा खोल्ने घटना थियो,’ उनी सम्झन्छिन्, ‘त्यो दिनदेखि नै मैले ठानेँ, वित्तीय पहुँच सबैका लागि समान हुनुपर्छ ।’

एलोईको जन्म : प्रविधिबाट सशक्त समाजतिर
नेपाल फर्किएपछि सोनिकाले आफूले विदेशमा सिकेको ज्ञान, सीप र दृष्टिकोण अब आफ्नै समाजमा प्रयोग गर्ने निर्णय गरिन् । उनी सोच्थिन्, ‘नेपालमा पनि प्रविधि केवल सहरका युवाको कुरा होइन, गाउँघरका महिलाको जीवन बदल्ने माध्यम बन्न सक्छ ।’ त्यही सोचले उनलाई आफ्नी सहकर्मी टिफानी टोङसँग जोड्यो । दुवैको साझा सपना थियो— आर्थिक पहुँच सबैका लागि समान बनाउने । यसरी नै जन्मियो— ‘एलोई’ । जुन एउटा यस्तो संस्था थियो, जसले प्रविधि र वित्तीय प्रणालीलाई जोडेर महिला र साना उद्यमीहरूको जीवनलाई सजिलो बनाउने लक्ष्य लिन पुग्यो । सुरुमा उनीहरूले सफा टेम्पो चलाउने महिलाको कथा सुने ।
काठमाडौँका सडकहरूमा बिहानदेखि बेलुकीसम्म टेम्पो चलाउने ती महिलाले आफ्नो मिहिनेत र धैर्यताले सहरलाई चलाइरहेका थिए, तर उनीहरूको जीवन भने ऋणको अभाव र असुरक्षाको चपेटामा अल्झिएको थियो । ब्याट्री किन्न वा टेम्पो मर्मत गर्न आवश्यक पैसाको लागि बैंकमा गए पनि कागजपत्र, ग्यारेन्टी र ‘पहिलेको हिसाब’ को झन्झटले उनीहरूलाई निराश तुल्याउँथ्यो । कसैल पनि तिनीहरूको कथा सुन्दैनथे । त्यही बेला सोनिकाले ठानिन्, ‘समस्या पैसा होइन, पहुँच हो र त्यसको समाधान प्रविधिबाट सम्भव छ ।’
एलोई केवल ऋण दिने संस्था होइन, एक प्रणाली हो, जसले विश्वास, पारदर्शिता र सजिलो पहुँचलाई केन्द्रमा राख्दै आएको छ । सहुलियतपूर्ण ऋण सुविधामार्फत महिलालाई ब्याजदर र कागजपत्रको झन्झटबिना पुँजी उपलब्ध गराइन थालियो । डिजिटल टोकन प्रणाली लागू गरियो, जसले नगद हातमा नदिई सोझै आवश्यक वस्तु (जस्तै : ब्याट्री, पाट्र्स वा मलखाद) खरिद गर्न सहयोग गर्छ । जसले ऋणको दुरुपयोग रोक्नुका साथै खर्चसमेत पारदर्शी बनाउने गर्छ । वित्तीय साक्षरता तालिम सुरु गरियो, जसमा महिलाहरूलाई बैंक, ब्याज, डिजिटल वालेट र एप चलाउने सीप सिकाइयो । अब ती महिलालाई ऋणका लागि बैंकको ढोका ढकढक्याउनु पर्दैन । न लामो लाइन, न अनावश्यक कागजपत्र । मोबाइलमा केही क्लिक गरेपछि नै उनीहरूलाई आवश्यक ऋण वा टोकन उपलब्ध हुन्छ । यसरी एलोईले आर्थिक पहुँचको जटिलतालाई सहज भाषामा अनुवाद गरिदियो ।

फिनटेकको नयाँ बाटो
एलोईले तयार पारेको फिनटेक सफ्टवेयरले उद्यमी, बैंक, वित्तीय संस्था र विक्रेताबीच एउटा पारदर्शी इकोसिस्टम बनाएको छ । ऋण अब नगदका रूपमा होइन, डिजिटल टोकनका रूपमा उपलब्ध हुन्छ, जसले ऋणको दुरुपयोग रोक्छ र व्यावसायिक खर्चलाई निश्चित उद्देश्यमा प्रयोग गर्न सहज बनाउँछ । यो प्रणालीले साना उद्यमीलाई आत्मविश्वास र स्थायित्व दुवै दिएको छ ।
महिलाको हातमा आर्थिक शक्ति
आज एलोईको पहुँच काठमाडौँ मात्र होइन, धादिङ, रसुवा, मकवानपुर, नवलपरासी, काभ्रे र चितवनसम्म फैलिएको छ । दुग्ध किसानदेखि कफी व्यवसायी, टेम्पो चालकदेखि साना होटल व्यवसायी सबैले एलोईको माध्यमबाट आफ्नो सपना साकार पार्न थालेका छन् ।
‘महिलामा इच्छाशक्ति त हुन्छ,’ सोनिका भन्छिन्, ‘तर प्रणाली उनीहरूको पक्षमा छैन । हामी त्यो प्रणाली बदल्न खोजिरहेका छौँ ।’ उनी मुस्कुराउँदै भन्छिन्, ‘जब हामी एक महिलालाई आर्थिक रूपमा सशक्त बनाउँछौँ, त्यसको प्रभाव उसको परिवार, समुदाय र देशमा फैलिन्छ ।’
अत: सोनिकाको कथा कुनै स्टार्टअपको मात्र कथा होइन, यो कथा एक छोरीले आफ्ना बुबाको सङ्घर्षबाट जन्माएको समाधानको कथा पनि हो । उनले प्रविधिलाई संवेदनशील बनाइन्, वित्तीय पहुँचलाई मानवीय र न्यायपूर्णसमेत ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *