नेपाली सङ्गीत संसारमा कहिलेकाहीँ यस्ता स्वर पनि जन्मिन्छन्, जसले केवल श्रवण–माधूर्य मात्र दिँदैनन्, ती स्वरले स्मृतिलाई छोइरहन्छन् र भित्री तहमा लुकेका भावनालाई ब्युँझाइसमेत दिन्छन् । ती स्वर सुन्दा हामी एकछिनका लागि वर्तमानबाट कतै टाढा पुग्छौँ । मानौँ, आफ्नो बाल्यकालतिर, आफ्नै गाउँघरतिर । गाउँको स्वच्छ हावा, खोलाको सुमधुर कलकल आवाज, आमा–बुबाको स्नेही बोली, पहाडी मौनता र युवाको मनभित्र उर्लिरहेको भाव । यी सबैलाई एउटै धागोमा उनेर झङ्कृत तुल्याउने स्वर विरलै जन्मिन्छन् ।

यस्ता स्वरका ‘साम्राज्ञी’ हुन्, गायिका तृष्णा गुरुङ । उनका सङ्गीतले आफ्नै कथा सुनाउँछन्, आफ्नै गाउँले परिवेशलाई सम्झाउँछन् र सम्झाउँछन्, आफ्नै भाषासमेत ।
उनका स्वर–सज्जित ‘खनी हो यामु ए कान्छा…’ बोलको गीत पहिलो पटक
सुन्दा धेरै श्रोताले शब्दको अर्थ खोजे । नौलो शब्द भए पनि त्यसले असहजता नभई जिज्ञासा जन्मायो । गुरुङ भाषामा ‘कता जान लागेको ?’ भन्ने साधारण प्रश्नबाट सुरु भएको यो गीतले नेपाली सङ्गीतमा असाधारण प्रभाव छोड्यो । शब्द बुझ्ने प्रयाससँगै श्रोताहरू गीतभित्र झन् गहिरिँदै गए । सोही जिज्ञासाले गीतलाई अझ निकट तुल्याउँदै लग्यो, अझ आफ्नै बनाउँदै लग्यो ।


यो गीतसँगै तृष्णा नेपाली साङ्गीतिक परिदृश्यमा एकाएक छाउन थालिन् । वास्तविकता भने त्यसभन्दा धेरै फरक थियो । यो कुनै आकस्मिक सफलता होइन, न त एक रातमै निर्मित पहिचान ! यो त बाल्यकालदेखि सङ्गीतसँग गाँसिएको सपना, निरन्तर अभ्यास, मौन सङ्घर्ष र समयसँगै परिपक्व हुँदै गएको सिर्जनशील यात्राको परिणाम थियो । ‘खनी हो यामु’ त सो यात्राको एउटा मोड मात्र थियो, जहाँ तृष्णाको स्वरले श्रोताको श्रवण–शक्ति मात्रै होइन, मन र स्मृतिलाई पनि छुन थाल्यो ।
गीतसँगै हुर्किएको बाल्यकाल
तृष्णाको बाल्यकाल साङ्गीतिक माहोलबाट टाढा रहेन । घरमा बुबाले कहिलेकाहीँ बाँसुरी बजाउँथे र दाइहरूचाहिँ गितार लिएर ‘ज्यामअप’ गर्थे । त्यो वातावरणले उनलाई सङ्गीततिर तान्दै लग्यो । उनले २ कक्षादेखि नै गाउन र बजाउनतिर रुचि देखाइन् । दाइहरू बाहिर जाँदा उनी गितार समाएर उनीहरूकै धुन दोहोर्याउने गर्थिन् । ३ कक्षामा टेक्दा उनले सिकिसकेकी थिइन्, गितारका कर्ड ।

अरू बालबालिका डाक्टर, पाइलट, इन्जिनियर बन्ने सपना देख्थे । त्यति बेला तृष्णाको मनमा खेलिरहन्थ्यो, ‘म गायिका बन्छु ।’ उनको इच्छा सुनेर हाँस्नेहरू धेरै थिए । तर पनि उनी डगमगाइनन् । उनलाई भविष्यमा गायिका नै बन्नु थियो ।
एसएलसीको परीक्षा दिएपछि काठमाडौँ घुम्ने क्रममा उनी रिबेल क्रिएसनमा पुगिन् । त्यहीँ स्याडोज ब्यान्डका गायक ‘११:३० बसन’ सँग भेट भयो । त्यहाँ उनले गितार देखिन् र गाइन् पनि । उनको स्वर र गायनप्रतिको लगाव देखेर सबै दङ्ग परे । सोही समयताका उनको पहिलो गीत ‘दैव जानोस्’ रेकर्डसमेत भयो । स्लो–रक शैलीको सो गीत युवापुस्तामाझ लोकप्रिय भयो । गीत हिट भएपछि ‘करियर’ ले गति समात्ने बेलामा भने तृष्णा गुमनाम भइन् । ‘टिनएज’ दिनहरू काटिरहेकी थिइन् र कसरी अगाडि बढ्ने भन्ने स्पष्ट सोच थिएन । पढाइमै घोटिइन् । उनी करिब ६ वर्षजति साङ्गीतिक माहोलबाट हराइन् । तर, उनमा गायनप्रतिको चाहना र लगाव उत्तिकै थियो । उनलाई लाग्थ्यो, ‘समय लाग्छ, सिर्जनशीलता कहिल्यै मर्दैन ।’


करिब ६ वर्षपछि उनले युट्युबमा एउटा गीत अपलोड गरिन्, ‘खनी हो यामु ए कान्छा…।’ न त ठूलो प्रचार, न त बजारको हिसाब ! यो गीतले छिट्टै श्रोताको मन–मस्तिष्कलाई दह्रो गरी स्पर्श गर्यो । यो गीतको कथावस्तु तृष्णाको पारिवारिक स्मृतिसँग जोडिएको छ । सानो छँदा दाइ मनिष गुरुङ गितार बजाउँदै ‘खनी हो यामु ए कान्छी’ गुनगुनाउँथे । धुन त थियो, शब्द भने अधुरो ! दाइ ‘लाहुर’तिर लागेपछि त्यो धुन तृष्णाको मनमै अड्किरह्यो । एक साँझ पानी परेको बेला उनी गीत गुनगुनाउँदै गीत लेख्न बसिन्, गीतले पूर्णता पायो । गीत पूरा भएपछि दाजुलाई सुनाउँदा उनी भावुक भए । सोही गीतले तृष्णालाई चिनायो ।

तृष्णाका गीतहरूको विशेषतामा स्वर मात्र गाँसिएको छैन, उनका गीतमा प्रयोग हुने शब्दहरूको उत्तिकै भूमिका देखिन्छ । उनी आफैँ गीत लेख्छिन् । गाउँले बोली, पुराना शब्द, आमा–बोजुले प्रयोग गर्ने भाषा— उनको गीति–आत्मा यही नै हो । ‘गाइने दाजै…’ लाई एउटा उदाहरण मान्न सकिन्छ । चक्रपथमा गाउँदै हिँड्ने गन्धर्वलाई देखेपछि घर आएलगत्तै लेखिएको यो गीतले उनको यात्रामा अर्को सिँढी थप्यो । लोकधुनमा पप र वेस्टर्न फ्युजन मिसाउँदा उनका गीत थप जीवन्त बन्दै गए र ‘माया पिरती’, ‘रेलैमा’, ‘साँझको बेला’ त्यसका उदाहरण हुन् । पछिल्लो समय रेकर्डिङ स्टुडियोमा मात्रै होइन, लाइभ कन्सर्टमा पनि तृष्णाको माग बढ्दो छ । हङकङ, कोरिया, अस्ट्रेलिया, बेलायत, कतार, युएई हुँदै रोयल अल्बर्ट हलसम्म उनको स्वर पुगिसकेको छ ।

‘हिट’ को दबाबबाट टाढा
लगातार हिट दिएपछि धेरै कलाकार बजारको दबाबमा पर्छन् । तृष्णा भने त्यस्तो दौडमा छैनन् । उनी भन्छिन्, ‘मेरा लागि युट्युब भ्युज मात्र अब्बलताको मानक होइन ।’ उनी हरेक गीतलाई उत्कृष्ट बनाउन मिहिनेत गर्छिन् र बजारभन्दा पहिले आफ्नो मनलाई सुन्छिन् । त्यसैले उनका गीतमा भीडभन्दा आत्मा बढी बोल्छ ।
विगत ११ वर्षदेखि ‘द कोल्याब ब्यान्ड’सँग आबद्ध छिन्, उनी । लोकजीवनको माटो बोकेर युवाको मनमा बस्न सक्नुलाई नै उनको वास्तविक सफलता मान्न सकिन्छ । जेन–जी पुस्ताले उनका गीत सुन्छन्, गुनगुनाउँछन् र आफ्नै भाषाप्रति गर्व गर्न सिक्छन् । ‘तृष्णा एन्ड द कोल्याब’ ब्यान्डमार्फत देश–विदेशमा आफ्ना प्रस्तुति दिँदै आएकी उनी गाउँको गीत लेख्न र गाउन बढी रुचाउँछिन् । तृष्णाका लागि गाउँ बस्ने ठाउँ मात्रै नभई अनुभूतिको अनगिन्ती स्रोतसमेत हो । उनी सकेसम्म गाउँ पुगेर गीत लेख्न चाहन्छिन् । पुग्न नसके गाउँको कल्पनामा डुब्छिन् । ‘गाउँ सम्झँदा मात्र पनि स्वर्णिम अनुभूति हुन्छ,’ उनी भन्छिन् ।
आवाजमा स्थानीय माटोको स्वर

आज तृष्णा नेपाली भाषामाथि विश्वास गर्ने, मौलिकतामाथि अडिने र बजारभन्दा आत्मालाई प्राथमिकता दिने आधुनिक लोक–आवाज बोकेकी गायिकाका रूपमा स्थापित छिन् । लोकको माटो बोकेर युवाको मनमा बस्न सक्नु नै उनको वास्तविक सफलता बन्न पुगेको छ ।
००



Leave a Reply