जेन जेडको काँधमा मिस नेपालको मुकुट


भदौ २३ गते बिहान ९ बज्दा–नबज्दै माइतीघर मण्डलामा जेनरेसन जेड अर्थात् जेनजी पुस्ताका प्रदर्शनकारीहरू भेला हँदै थिए । कांग्रेस एमालेको गठबन्धन सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि असन्तुष्ट यो पुस्ता भ्रष्टाचारविरुद्धको अभियानसहित सो प्रतिबन्ध हटाउनुपर्ने माग राखेर सडकमा ओर्लिएको थियो । त्यति नै बेला माइतीघरबाट करिब आधा घण्टा दूरीमा रहेको पाटन म्युजियमभित्रको सुन्दरी चोकमा केही सुन्दरीहरू…

भदौ २३ गते बिहान ९ बज्दा–नबज्दै माइतीघर मण्डलामा जेनरेसन जेड अर्थात् जेनजी पुस्ताका प्रदर्शनकारीहरू भेला हँदै थिए । कांग्रेस एमालेको गठबन्धन सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि असन्तुष्ट यो पुस्ता भ्रष्टाचारविरुद्धको अभियानसहित सो प्रतिबन्ध हटाउनुपर्ने माग राखेर सडकमा ओर्लिएको थियो । त्यति नै बेला माइतीघरबाट करिब आधा घण्टा दूरीमा रहेको पाटन म्युजियमभित्रको सुन्दरी चोकमा केही सुन्दरीहरू ‘फोटोसुट’ को तयारीमा व्यस्त थिए ।

ती सुन्दरीहरू थिए, सन् २०२५ को मिस नेपाल प्रतियोगिताका विजेता । मिस नेपाल वल्र्ड लुना लुइँटेल, मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी, मिस नेपाल अर्थ सोनी घले र मिस नेपाल कस्मो दीपशिखा नेपाल । चारै जना मिस नेपालका विजेताहरूबीच एउटा समानता थियो । यी सबै जेनजी पुस्ताका प्रतिनिधि थिए । सायद त्यसैले होला, तिनको मन ‘फोटोसुट’ तिर कम र माइतीघर मण्डलातिर अधिक थियो ।

‘सामाजिक सञ्जाल बन्द गरेर आफूचाहिँ भिपिएनबाट चलाउने यो सरकार र राजनीतिक नेतृत्वलाई के भन्ने खोइ ?’, मेकअपको पालो कुरेर बसेकी मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले असन्तुष्टि पोखिन् । उनले भनिन्, ‘फोटोसुटको यो सेड्युल नपरेको भए हामी आजको आन्दोलनमा ऐक्यबद्धता जनाउन प्रोटेस्टमा जान्थ्यौँ ।’

वाह ! जिन्दगीको ‘फोटोसुट’ चलिरहँदा यसरी जेनजी प्रोस्टेन्ट अनौपचारिक कुराकानीको विषय बनेको थियो । विजेता सुन्दरीहरूको जेनजी आन्दोलनप्रति चाख देखेपछि मैले सोधे, ‘अहिले जेनजी पुस्ताको आक्रोश र असन्तुष्टिको खास कारणचाहिँ के हो ? के सोच्छ यो पुस्ता ?’ यो प्रश्नको ‘डिल’ गर्न कस्सिइन, मिस कस्मो दीपशिखा नेपाल । ‘यस्तो प्रश्न त मलाई अहिलेसम्म कसैले सोधेको थिएन’, उत्साहित हुँदै उनले भनिन्, ‘मेरो विचारमा हाम्रो पुस्ताको मुख्य असन्तुष्टि सिस्टमसँग हो । विश्व जुन स्पिडमा दौडिरहेको छ, जुन स्पिडमा विश्वमा परिवर्तनहरू भइराखेका छन्, नेपालले त्योसँग आफूलाई एकाकार गर्न सकेको छैन । जेनजी सोसियल मिडिया र इन्टरनेटसँगै हुर्केबढेको पुस्ता हो । उसले विश्वमा भइरहेका परिवर्तनलाई देखेको छ र नेपालले एडप्ट गर्न नसकेको पनि देखेको छ । जुन स्तरको सोसियल मिडिया एक्स्पोजर जेनजीहरूले पाएका छन्, त्यस हिसाबले त यसखाले विद्रोह पहिले नै आइसक्नुपथ्र्यो । ढिलो भयो भन्छु म त ।’

उनी रोकिइनन् । भन्दै गइन्, ‘हाम्रो बाबुआमाको पुस्ताले पनि निकै परिवर्तन देख्यो तर हाम्रो पुस्ताले फास्ट मुभिङ वल्र्ड देखेको छ र नेपाललाई त्यससँग तुलना गर्दा निकै पछि परेको पाउँछ । आक्रोशको जड ढिलो र कामचलाउ सिस्टम हो ।’

हालसालै मिस नेपाल विजेता भएका यी सुन्दरीहरूलाई पनि सामाजिक सञ्जाल प्रतिबन्धले कहीँ न कहीँ असर गरेको थियो । उनीहरूको परिचय सोसियल मिडियामार्फत विस्तारित हुँदै थियो । सोसियल मिडियामा भएको प्रतिबन्धले त्यसमा केही विराम लाग्यो । तर, कसैले पनि यो प्रभावलाई व्यक्तिगत तहसँग जोडेर त्यसअनुरूप धारणा बनाएनन् । बरु, तिनको बुझाइ परिपक्व लाग्दो थियो ।

मिस नेपाल वल्र्ड लुना लुइँटेलले भनिन्, ‘मेटा भनेको अन्तर्राष्ट्रिय स्तरको विलियन डलरको कम्पनी । उसले पनि आफ्नो कम्पनीलाई विस्तार गर्न चाहन्छ । बरु, सरकारले नै पनि ती कम्पनी किन दर्तामा आएनन् भनेर रिभ्यु गर्नुपथ्र्यो होला । १ सय १० देशमा दर्ता भएको फेसबुक नेपालमा किन भएन भनेर आन्तरिक समीक्षा गर्ने कि हठात प्रतिबन्ध नै लगाउने ? यो गलत भयो ।’

मिस अर्थ सोनी घलेले पनि सामाजिक सञ्जालबाट उत्पन्न हुन सक्ने जोखिमको विश्लेषण नगरी सरकारले प्रतिबन्ध लगाउनु त्रुटिपूर्ण भएको बताइन् ।

सरकारले त्रुटि मात्रै होइन, ‘ब्लन्डर’ नै गरेछ भन्ने कुरा जेनजी प्रोटेस्टपछिको परिदृश्यले साबित गरिसकेको छ । भदौ २३ गते ‘फोटोसुट’ नसकिँदै शान्तिपूर्ण विरोध प्रदर्शन हिंसात्मक बनिसकेको थियो । सुरक्षा प्रशासनले सडक प्रदर्शनलाई नियन्त्रण गर्ने नाममा दमन गर्दा प्रदर्शनकारीहरू मारिएका खबरहरू आइरहेका थिए । आखिर, एकै दिन १९ जना जेनजी पुस्ताका प्रदर्शनकारी मारिएपछि मुलुकको माहौल नै बदलियो । भदौ २४ गते मुुलुकमा यसअघि कहिल्यै नभएको हिंसा र अराजकता निम्तियो । आगजनी र तोडफोडमा प्रशासनिक केन्द्र सिंहदरबार जलाइयो । न्यायालय खण्डहर बनाइयो अनि दुईदिने आन्दोलन र अराजकतामा ७२ जना मारिए । सयौँ घाइते भए । खर्बौं धनजनको क्षति भयो ।

मुलुकले चर्को मूल्य बेहोरेपछि राजनीतिक सत्ता बदलियो । र, नागरिक सरकार बन्यो । जहाँनेर जेनजी पुस्ता निर्णायक देखिए । हुन त जेनजीको आवरणमा यसबीच थुप्रै अराजकता भए, घुसपैठहरू भए अनि विभिन्न दृश्य–अदृश्य शक्तिकेन्द्रहरूले खेले । ती सबैका बाबजुद जेनजी पुस्ताले आफूहरू प्रविधिमा जानकार मात्रै होइन, सचेत र परिवर्तनकामी भएको पनि देखायो । एकाएक मुलुकमा देखिएको ‘जेनजी ज्वरो’का एउटा मुख्य सन्देश हो, आगामी दिनमा नयाँ सोच, दृष्टिकोण र गहिरो जिम्मेवारीसहित यो पुस्ता अघि बढ्न चाहन्छ ।

जेनजी पुस्ताका प्रतिनिधि सुन्दरी विजेताहरूको कुरा सुन्दा पनि त्यस्तै आस जाग्ने रहेछ । कुनै बखत नेपालमा सुन्दरी प्रतियोगिता सौन्दर्यको चमकदमकमा सीमित हुन्थ्यो । एउटा निश्चित वर्गका युवतीहरूको सहभागिता, आयोजक, सहभागी र समाज सबैजसोले मिस नेपालको मुख्य मानक ‘ग्ल्यामर’ भन्ठान्थे । अहिले ती मानक भत्किएका छन् । विभिन्न बर्गको सहभागिताले यो समावेशी मात्रै बनेको छैन, विविधतापूर्ण पनि देखिन्छ । सबैभन्दा मुख्य कुरा, विजेता/सहभागीहरू यो मञ्चमा आफ्नो उपस्थितिको औचित्य खोज्छन् र त्यसलाई पुष्टि गर्न लागिपर्छन् । मिस नेपालको ताजलाई उनीहरूले जिम्मेवारीकै रूपमा ग्रहण गरिरहेका छन् ।
जस्तो कि, मिस नेपाल वल्र्ड लुना लुइँटेलकै कुरा सुनौँ । उनी प्रस्ट एउटा उद्देश्य लिएर मिस नेपाल प्रतियोगितामा आइन् । उनको मूल मन्त्र हो, युवाले देशबाहिर गएर सिक्नुपर्छ, त्यहाँ कमाउनुपर्छ र अन्तत: स्वदेश फर्कनुपर्छ । यसलाई उनले लयबद्ध नारा बनाएकी छिन्, ‘लर्न, अर्न, रिटर्न ।’ उनी आफैँ पनि अस्ट्रेलियामा पढेर फर्केकी हुन् । सन् २०२२ पछि उनी आफ्नो सोचलाई कुनै ठूलो मञ्चमार्फत अघि बढाउन चाहन्थिन् । त्यसैले उनले त्यो मञ्च मिस नेपाल हुन सक्ने देखेर त्यता आकर्षित भइन् । र, मिस नेपाल भइन् पनि । अब उनको लक्ष्य हो, विदेशमा रहेका नेपालीलाई देश फर्किन प्रेरित गर्ने । अस्ट्रेलियाबाट पब्लिक हेल्थमा मास्टर गर्दै गरेकी उनी जनस्वास्थ्य क्षेत्रमा पनि परिवर्तकारी काम गर्न चाहन्छिन् ।

आफ्ना कुरा धाराप्रवाह राख्न सक्ने खुबी भएकी लुनाले बिट मार्दै भनिन्, ‘म लगाम नभएको घोडाजस्तै निरन्तर बोलिरहन्छु । कसैले ब्रेक लगाइदिनुपर्छ ।’ यति भनेर उनले आफैँ ब्रेक लगाइन र निष्कर्ष सुनाइन् । भनिन्, ‘मिस नेपालको ताज मेरा लागि ग्ल्यामर होइन, सामाजिक उत्तरदायित्वको प्रतीक हो ।’

चारै जना विजेता सुन्दरीहरूमा आत्मविश्वास र प्रस्टता तारिफयोग्य नै रहेछ । मिस कस्मोमा छानिएकी दीपशिखा वातावरण संरक्षणको क्षेत्रमा सशक्त हिसाबले काम गर्न चाहन्छिन् । उनी यो प्रतियोगितामा भाग लिनुअघि नै जलवायु परिवर्तनको क्षेत्रमा अभियन्ता र अनुसन्धान कर्ताको रूपमा क्रियाशील थिइन् । स्थानीय निकायमार्फत गाउँ–टोलका बालबालिकालाई वातावरण संरक्षण र प्रभावका विषयमा चेतनामूलक कार्यक्रम गर्ने, जलवायु संवादहरू मार्फत समुदायसँग जोडिने लगायतको ‘एक्टिभिज्म’मा थिइन् । भन्छिन्, ‘म प्यासनेट भएर जलवायु परिवर्तन र वातावरणको क्षेत्रमा काम गर्दै आएकी छु । अनुसन्धान र अभियान सीमित दायरामा थियो । अब यसलाई देशव्यापी मात्रै होइन, अन्तर्राष्ट्रसम्म लैजाने अवसर मिलेको छ ।’

जलवायु परिवर्तन विश्वव्यापी संकट हो । यो संकट हाम्रो कारणले निकै कम र विकसित राष्ट्रका कारण बढी भएको हो । अर्थात् जलवायु परिवर्तनमा विकासशील र धनी भनिएका राष्ट्रहरूको योगदान अधिक छ । त्यसैले गरिब र कम कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले क्लाइमेट जस्टिसको मुद्दा उठान गर्ने गर्छन् । दीपशिखाले पनि यस्तो मुद्दा लिएर अन्तर्राष्ट्रिय मञ्च जाने अवसर पाएकी छन् । भियतनाममा हुने कार्यक्रममा उनी वातावरण संरक्षण र जलवायुका मुद्दासहित निकट भविष्यमा सहभागी हुँदै छिन् । भन्छिन्, ‘मैले पहिलो चोटि मिस कस्मोको टाइटल जितेको हुँ । मलाई कसैको लिगेसी फलो गर्नु छैन, बरु लिगेसी सेट गर्नु छ । त्यसैले मेरो सामु चुनौती र अवसर दुवै छ । जलवायु परिवर्तन र वातावरणीय संरक्षणमा म डटेर लाग्नेछु ।’

मिस नेपाल इन्टरनेसनलको उपाधि पाएकी उरुषा भण्डारीको झुकाव चाहिँ समाजसेवा र मोडलिङतिर छ । डेन्टल सर्जरीमा स्नातक गर्दै गरेकी यी सुन्दरी दन्त–चिकित्सालाई पेसा बनाउँदै ‘समाजसेवी मोडेल’ बन्न चाहन्छिन् । भन्छिन्, सौन्दर्य केवल देखिने कुरा होइन । यसको असली अर्थ अरूको जीवनमा सकारात्मक प्रभाव पार्न सकिन्छ कि सकिँदैन भन्ने हो । म त्यसमै लागिपर्नेछु ।’ अगाडि थप्छिन्, ‘मोडलिङ मेरो अभिव्यक्ति हो भने सेवा मेरो उद्देश्य हो ।’
चार जनामध्ये पनि रसुवाकी सोनी घलेले शोकलाई शक्तिमा बदलेको कथा मर्मस्पर्शी त छँदै छ, सँगै साहसी पनि छ । लाग्छ, सोनीले पाएको मिस नेपालको ताज गाउँले आवाजको प्रतिनिधि हो । सोनीले मिस नेपाल अर्थको उपाधि पाउँदा उनी बाहिर खुसी थिइन्, तर मनभित्र भयंकर पीडा र शून्यता बोकेर । उपाधि पाउनु १५ दिनअघि मात्रै उनको पिताको देहावसान भएको थियो । भन्छिन्, ‘जीवनले मलाई खुसी र पीडाको वास्तविक अर्थ एकैचोटि बुझाइदियो । मिस नेपालको ताज लगाउँदा जति खुसी थिएँ, भित्रभित्रै बुवा गुमाउँदाको पीडा उत्तिकै गहिरो थियो । आज पनि म यी दुई भावनाबीच बाँचेकी छु ।’

पीडा र खुसीबीच सोनीले कृषि र शिक्षा क्षेत्रमा काम गर्ने अठोट लिएकी छन् । आफूले सार्वजनिक स्कुल पढ्दा जुन विभेद उनले भोगिन्, त्यसलाई कम गर्ने लक्ष्य उनले लिएकी छन् । ‘शिक्षामा समानता र कृषिमा फोकस हुन्छु । निजी र सरकारी शिक्षाबीचको खाडल पुर्न आफ्नो क्षमताले भ्याएसम्म प्रयत्नशील रहन्छु ।’ उनले ‘खुसी कोपिला’ नामक संस्थामार्फत सक्रिय हुने बताइन् ।

मिस नेपालका चारै विजेताहरूको कुरा सकारात्मक लाग्छन् । उनीहरू परिपक्व कुरा गर्छन् । आत्मविश्वास पनि देखिन्छ । तर, यी कुरा व्यवहारका के कति प्रस्फुटित हुन्छन्, त्यो भने समयसँगै थाहा हुँदै जानेछ । मिस नेपाल अब केवल सौन्दर्यको उपाधि मात्रै होइन, नेतृत्व, सामाजिक उत्तरदायित्व र प्रेरणाको स्रोत पनि हो । जेनजी पुस्ताका विजेता सुन्दरीहरू स्वयंले मिस नेपालको ताज पहिरिएपछि यस्तै निचोड निकालेका छन् । त्यसमा उनीहरू खरो उत्रन सक्लान् अथवा विगतकै कतिपय मिस नेपालहरूजस्तो गुमनाम होलान् ?

मेकअप तथा हेयरस्टाइल : पूनम ब्युटी क्लब, बानेश्वर

Poonam Beauty Academy 


पहिरन : उमा नेमकुल, काब्य बुटिक, पाटनढोका

www.kaavyaboutique.com

लोकेशन : पाटन म्युजियम

क्रियटिभ दि स्टुडियो, मैतिदेवी

Creative D Studio Pvt Ltd

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *