अचेल सामाजिक सञ्जाल अस्वस्थ हुँदै गइरहेको छ


म सामाजिक सञ्जाल खासै चलाउँदिनँ । कहिलेकाहीँ यस्तो लाग्छ, सामाजिक सञ्जालसँग नजोडिँदा अहिलेको समाजबाट अलग पो भइएला कि ! समाजमा भइरहेका गतिविधि, साथीभाइ र आफन्तका कुराहरू केही थाहा नपाइने हो कि जस्तो लाग्छ । म लगातार मोबाइल चलाउँदिनँ । विश्रामका बेला मात्र मोबाइल हेर्छु । सामाजिक सञ्जालले मलाई देश–विदेशमा रहेका साथीहरू र आफन्तसँग सम्पर्कमा रहन,…

म सामाजिक सञ्जाल खासै चलाउँदिनँ । कहिलेकाहीँ यस्तो लाग्छ, सामाजिक सञ्जालसँग नजोडिँदा अहिलेको समाजबाट अलग पो भइएला कि ! समाजमा भइरहेका गतिविधि, साथीभाइ र आफन्तका कुराहरू केही थाहा नपाइने हो कि जस्तो लाग्छ ।

म लगातार मोबाइल चलाउँदिनँ । विश्रामका बेला मात्र मोबाइल हेर्छु । सामाजिक सञ्जालले मलाई देश–विदेशमा रहेका साथीहरू र आफन्तसँग सम्पर्कमा रहन, उनीहरूको गतिविधिबारे अपडेट हुन र विभिन्न जानकारीहरू बटुल्न सहज बनाएको छ ।

कहिलेकाहीँ भने मोबाइल हेरिरहँदा समय बितेको थाहा हुँदैन । म लामा लेख–रचनाहरू मोबाइलमा पढ्न सक्दिनँ । पठनका निम्ति पुस्तक र पत्रपत्रिका नै सहज लाग्छ । मोबाइल मेरा लागि तत्काल सूचना लिने, शब्दकोश हेर्ने र मौसमबारे जानकारी लिनेजस्ता कामका लागिमात्र सीमित छ ।

मैले मोबाइल र इन्टरनेटको नकारात्मक पक्षबारे बुझेको छु । कहिलेकाहीँ लाग्छ, मोबाइल र सामाजिक सञ्जालबाट केही समय टाढा बस्न पाए कति आनन्द आउँदो होला ! आजको समयमा त्यो सम्भव छैन । बरु प्रयोगको समय घटाउने सोचमा छु । नत्र भने लेखनकै लयमा असर पर्ला कि भन्ने चिन्ता लाग्छ । खासगरी साहित्यिक गतिविधिसम्बन्धी अपडेटहरूका लागि सामाजिक सञ्जालबाट अलग रहन सकिरहेको छैन ।

नौ कक्षामा अध्ययनरत मेरा नातिको पाठ्यपुस्तकमै इन्टरनेटको फाइदा–बेफाइदासम्बन्धी अध्याय राखिएको रहेछ । कसरी यो दुव्र्यसनबाट बच्ने भनी सन्देश दिइएको छ । त्यो पढ्दा मलाई अझै सजग बनायो ।

सामाजिक सञ्जाललाई सही रूपमा प्रयोग गर्न सके यो निकै उपयोगी माध्यम हो । तर, आजभोलि धेरै मानिस आफ्ना काम बिर्सेर सञ्जालमै झुन्डिन थालेका छन् । मलाई यसमा दु:ख लाग्छ ।

म नियमित रूपमा फेसबुक मात्रै चलाउँछु । एक्स (ट्विटर) ले खासै तानेन मलाई । कतिपयले ‘तपाईंजस्तो मान्छेले एक्स चलाउनुपर्छ’ पनि भने । मैले आफूलाई फेसबुकमै सहज महसुस गरेँ । ह्वाट्सएप त फोटो र भिडियो साट्ने माध्यम बनेको छ । गुगल सर्चचाहिँ धेरै प्रयोग गर्छु । युट्युब भने म टिभीमै हेर्छु । हप्तामा दुई–तीन पटक फिल्म हेर्छु, जसमा इतिहास, विज्ञान र खेलकुदका सामग्री हेर्न मन लाग्छ ।

आजभोलि सामाजिक सञ्जाल धेरै अस्वस्थ देखिन्छ । गालीगलौज, असत्य प्रचारका साथै समाजलाई विखण्डित तुल्याउने उद्देश्यका सामग्रीहरू बढी आउँछन् । रचनात्मकभन्दा नकारात्मक कुरा बढी भइरहेकाले मलाई सामाजिक सञ्जाल गञ्जागोलझैँ लाग्न थालेको छ । त्यसैले म सकेसम्म कम समय मात्र त्यसमा दिन चाहन्छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *