प्रेमको कुनै सटीक परिभाषा छैन । प्रेम यस्तो मनोभाव हो, जसलाई परिभाषारूपी सीमित शब्द संसारमा अटाउन सकिँदैन । जब कसैप्रति गहन लगाव एवं समर्पण–भाव व्याप्त हुन्छ, त्यही बिन्दुबाट उदाउँछ प्रेम–भाव । एक जना भारतीय कविले लेखेका थिए,
‘खुसरो दरिया प्रेम का, उल्टी वा की धार
जो उभरा सो डूब गया, जो डुबा सो पार ।’
साहित्यका पाठकहरूले लैला–मजनू, हीर–राँझा, सोहनी–महिवालजस्ता महान् प्रेमी–प्रेमिकाका कथा अवश्य नै पढेका छन् । आजपर्यन्त आदर्श प्रेमी–प्रेमिकाको उदाहरण दिनुपर्यो भने यिनै पात्रहरू सामुन्नेमा आउँछन् ।
लैला–मजनू वा हीर–राँझाका प्रेमकथाका आफ्नै स्वाद छन् । तर, आधुनिक समाजमा पनि केही प्रेमी–प्रेमिकाका कथा कम रोमाञ्चक छैनन् ।
१. ज्याँ पाल सात्र्र–सिमोन द बोउवा
सात्र्र र बोउवाको प्रेमकथा निकै रमाइलो र हृदयस्पर्शी छ । महान् अस्तित्ववादी दार्शनिक थिए— ज्याँ पाल सात्र्र । सिमोन द बोउवा थिइन्, प्रखर नारीवादी लेखिका ।

सात्र्र वैवाहिक सम्बन्धका विरोधी । उनी जीवनमा धेरै महिलाका सम्पर्कमा पुगे । बोउवासँगको प्रेमसम्बन्ध भने सधैँ चर्चित रहिरह्यो । उनीहरूबीचको बौद्धिक सम्बन्ध बाँचुन्जेल कायम रह्यो ।
पहिलो पटक सन् १९२९ मा उनीहरूबीच संवाद भएको थियो । सम्बन्ध गहिरिँदै जाँदा सात्र्रले एक दिन बोउवासामु विवाहको प्रस्ताव राखे । सात्र्रको प्रस्ताव अति नै अनौठो थियो, दुई वर्षका लागि मात्रै विवाह गर्ने । सिमोनले सात्र्रको बिहे–प्रस्तावलाई अस्वीकार गरिन् । उनले भनिन्, ‘मसँग विवाहका लागि दिने कुनै दाइजो छैन ।’
वैवाहिक सम्बन्धमा नबाँधिए पनि सात्र्र–सिमोनबीचको प्रेमसम्बन्ध बाँचुन्जेलसम्म भावनात्मक र बौद्धिक सम्बन्धका रूपमा रहिरह्यो ।
२. अलेक्जेन्डर पुस्किन–नतालिया गन्जारोभा
अलेक्जेन्डर पुस्किन थिए, रुसी साहित्यका महान् कवि । उनले ‘महाकवि’ को उपाधि नै पाएका थिए । रुसी साहित्यलाई विश्वव्यापी रूप दिन उनले विशिष्ट योगदान दिए ।

पुस्किनको आफूभन्दा आधा उमेरकी प्रेमिका थिइन्, नतालिया गन्चारोभा । त्यस समय पुस्किन ३० वर्षका भइसकेका थिए, नतालिया भने १६ वर्षीया । पुस्किनले नतालियालाई मन पराए । उनीहरूबीचको प्रेम यति गहिरो भइदियो, नतालियालाई पाउनका निम्ति पुस्किन हरेक पक्षमा सङ्घर्ष झेल्न चाहन्थे । वैवाहिक सम्बन्धमा जोडिने बेलामा पुस्किन–नतालियाले धेरै बाधा र अड्चन झेल्नुपर्यो । उनीहरूबीच प्रेमका पालुवा मौलाउँदै गर्दा हैजाको महामारी फैलिएको थियो । महामारीको त्रासदीका कारण मानिसहरू बिहे गर्नै डराउँथे ।
पुस्किन–नतालियाको विवाह हुँदा पुस्किनसँग चर्चमा जाने पैसासमेत थिएन । उनीहरूबीचको वैवाहिक सम्बन्धलाई रोक्नका लागि अनेक हल्ला फैलाइए पनि त्यसको नतालियाले खण्डन गर्दै गइन् ।
पुस्किनले नतालियालाई अति नै प्रेम गर्थे भन्ने कुरा पुस्किनका कविता पढ्दा थाहा हुन्छ । पुस्किनले कविताको प्रतीक र विम्बको संसारमा उभिएकी थिइन्, नतालिया ।
पुस्किन छोटो समय मात्र बाँचे । पुस्किनको मृत्यु भएको थियो, शुक्रबारको दिन । पुस्किनको मृत्यु भएपछि नतालियाले हरेक शुक्रबारलाई शोक दिवसका रूपमा मनाउन थालिन् र सो दिन उनी भोजन पनि गर्दैनथिन् । हरेक शुक्रबार नतालिया पुस्किनको समाधिस्थलमा पुगेर प्रार्थना गर्थिन् ।
३. भ्ला.ई. लेनिन–क्रुप्सकाया
बीसौँ शताब्दीलाई हल्लाउने अक्टोबर क्रान्तिका नायक थिए— भ्ला.ई. लेनिन ।
कम्युनिस्टहरूले प्रेमको उत्कृष्ट उदाहरण दिनुपर्यो भने लेनिन र क्रुप्सकायाको प्रेमलाई उदाहरण दिने गर्छन् । लेनिन–क्रुप्सकायाबीच पहिलो भेट पार्टीको बैठकमा भएको थियो । क्रुप्सकाया लेनिनको भाषण गर्ने शैली देखेर अत्यन्तै प्रभावित भइन् । त्यसयता लेनिन र क्रुप्सकायाबीच प्रेमका बिजहरू अङ्कुराउँदै गए ।

जारकालीन रुसमा जार–शासन निकै चर्को थियो । सत्ताविरुद्ध लागेकाहरूलाई कठोर सजाय दिन ‘कालापानी’ पठाइने गरिन्थ्यो । लेनिनले जार शासनविरुद्ध सङ्गठित आन्दोलन गरेको कुरा थाहा पाएपछि जार शासकले उनलाई गिरफ्तार गर्यो र सर्वियाको कालापानीमा पठाउने आदेश दियो ।
क्रुप्सकाया पनि गिरफ्तारीमा परिन्, त्यही समयताका । लेनिनले पाएको कालापानी–सजाय र क्रुप्सकायाको गिरफ्तारीपछि उनीहरूबीच हुर्किंदै गएको प्रेमको पालुवा अपेक्षाकृत रूपमा झाँगिन पाएन । कालापानी सजाय काटिरहेका लेनिनले क्रुप्सकायालाई पत्र लेख्दै भने, ‘तिमी सर्विया आउन सक्छ्यौ ?’ लेनिनले सरकारसामु आफ्नो कुरा प्रस्ट राखे, ‘मेरो र क्रुप्सकायाबीच प्रेमसम्बन्ध छ, उनलाई पनि सर्वियामा नै पठाइदिनू ।’
लेनिनको प्रस्तावलाई सरकारले स्वीकार गर्यो । क्रुप्सकाया सर्वियामा गइन् । त्यसपछि दुवै जना वैवाहिक सम्बन्धमा बाँधिए ।
४. एडवर्ड सप्तम–वैलिस
प्रेमको जादुमयी संसारले जोकोहीलाई लठ्याउँछ । प्रेमले छँदाखाँदाको उच्चपदीय जिम्मेवारी एवं मूल्य–मान्यताबाट मानिसलाई कसरी च्युत तुल्याउँछ ? बेलायतको राजकुमार एडवर्ड सप्तम र वैलिसबीचको प्रेम–प्रकरणलाई नियाल्दा प्रस्टै बुझिन्छ । वैलिसको प्रेममा राजकुमार एडवर्डले अन्तत: राजगद्दी नै त्यागे ।

राजकुमार एडवर्डको एक अमेरिकी महिला वैलिस सिम्पसनसँग घनिष्ठ प्रेमसम्बन्ध जोडिन पुगेको थियो । वैलिस भने विवाहित थिइन् । सन् १९३१ मा राजकुमार एडवर्डले वैलिसलाई एउटा पार्टीमा देखेका थिए । त्यो पार्टीमा वैलिसका पति अर्नेस्ट सिम्पसन पनि सँगै थिए । त्यो पार्टीमा देखेपछि राजकुमार एडवर्ड वैलिसप्रति औधी मोहित बन्न पुगे ।
सन् १९३६ मा राजकुमार एडवर्डका पिता अर्थात् बेलायतका राजाको मृत्यु भयो । र, एडवर्ड सप्तम नयाँ राजा बने । जेजस्तो परिस्थिति सिर्जित भए पनि राजा एडवर्ड वैलिससँगै विवाह गर्न चाहन्थे ।
नयाँ राजा भएपछि एडवर्डले केही जनकल्याणकारी काम गरे । उनको कामप्रति जनता सन्तुष्ट भएनन् । जनताले भन्न थाले, ‘कि त विदेशी पत्नीलाई छाड, कि त सिंहासन ।’ प्रेमसामु सिंहासन तुच्छ लाग्यो, राजा एडवर्डलाई । उनले सिंहासन छाडे र वैलिससँग विवाह गरे ।
५. अमृता प्रीतम–इमरोज
पञ्जावकी प्रसिद्ध लेखिका अमृता प्रीतमले युवाकालीन समयमा प्रेम गर्थिन्, साहिर लुधियानवीलाई । साहिर थिए, प्रसिद्ध कवि, गजलकार । साहिरसँगको उनको प्रेमसम्बन्धले कुनै मूर्त आकार लिन सकेन ।

साहिरको प्रेममा आकण्ठ डुबेकी अमृताले पछिल्लो समय आफ्नो प्रेम–सहयात्री बनाइन्, इमरोजलाई । इमरोजलाई चित्रकारितामा प्रसिद्धि मिल्दै थियो । अमृताभन्दा धेरै कान्छा थिए, इमरोज । प्रेममा उमेरले तगारो नहाल्दो रहेछ भन्ने दृष्टान्त बन्न पुगे, यी जोडी ।
अमृता–इमरोजको प्रेमकथाका आफ्नै समृद्ध क्षितिज छन् । अमृताका हरेक पुस्तकको आवरण सजिन्थे, इमरोजको चित्र–सिर्जनाले । अमृताले पनि लेखनमा उभ्याउँथिन् इमरोजको अन्तस्करणलाई । चित्रकारितासँगै कविता पनि लेख्थे, इमरोज । उनले अमृताको सम्झनामा कैयाँै कविता लेखे ।
००
कहाँ कसरी मनाइने गरिन्छ ‘भ्यालेन्टाइन डे’ ?
कुनै–कुनै संस्कृति वा उत्सवहरू एउटा निश्चित क्षेत्र/भूगोलमा बसोबास गरिरहेका जाति–जनजातिहरूमा मात्र सीमित हुन्छन् भने कुनै संस्कृति वा उत्सव हुन्छ, सर्वदेशीय । हरेक वर्षको फेब्रुअरी १४ तारिखमा मनाइने ‘भ्यालेन्टाइन डे’ अब सर्वदेशीय संस्कृतिका रूपमा स्थापित भइसकेको छ । कुनै खुला समाज होस् वा कट्टर समाज, ‘भ्यालेन्टाइन डे’ नमनाइने देश वा समाज सायदै होलान् !

आखिर, कसरी मनाउन थालियो भ्यालेन्टाइन डे ? अचेल भने कुन देशमा कसरी मनाइने गरिन्छ ? हेरौँ केही देशका दृष्टान्त :
–यो १८ औँ शताब्दीको प्रारम्भताकाको प्रसङ्ग हो । केही नवयुवाले आफ्नो पाखुरामा एउटा शब्द लेखेका थिए, ‘भ्यालेन्टाइन ।’ उनीहरूले केही हप्तासम्म यो शब्द नमेटाई पाखुरामा राखिरहे । यो शब्दको व्यापकतासँगै भन्न थालियो, ‘तपाईंहरूले पनि आफ्नो पाखुरामा आफ्नो हृदयलाई राख्नुस् ।’
–केही दशकपहिलेसम्म एउटा मान्यता थियो कि, यदि भ्यालेन्टाइन डेमा कुनै युवतीले राबिन पन्छी उडेको देखिन् भने उनको विवाह डुङ्गाचालकसँग हुन्छ र यदि कुनै युवतीले भँगेरा उडेको देखिन् भने उनको विवाह कुनै गरिब युवासँग हुन्छ । र, यदि कुनै युवतीले गोल्डफिंच उडेको देखिन् भने उनको विवाह कुनै धनाढ्य पुरुषसँग हुन्छ ।
–‘भ्यालेन्टाइन डे’ को अवसरमा सबैभन्दा धेरै बिक्री हुनेमा पर्छ, चकलेट । यो उत्सव चकलेट उद्यमीहरूका निम्ति मालामाल हुने अवसर पनि हो । अमेरिकाजस्ता मुलुकहरूमा हरेक वर्षको ‘भ्यालेन्टाइन डे’ को अवसरमा करोडौँ डिब्बा चकलेट बिक्री हुन्छन् ।
–‘भ्यालेन्टाइन डे’ मा हरेक देशका युवायुवतीले एकअर्कालाई उपहार दिने आ–आफ्नै तरिका अपनाउँदै आएका छन् । स्कटल्यान्डमा कागज वा रिबनबाट निर्मित ‘लवर्स नट’ दिइने चलन छ, जसलाई सो देशको पारम्पारिक उपहार मानिन्छ । त्यस्तै, डेनमार्कमा भने आफ्ना साथीहरूलाई सेतो रङका फूल पठाउने चलन छ ।
–जर्मनीमा भने ‘भ्यालेन्टाइन डे’ मनाउने केही बेग्लै तरिका छ, जुन दिन युवतीहरूले गमलामा प्याज रोप्छन् । र, उनीहरूले आफूले रोपेका हरेक प्याजलाई कुनै युवाको नाम दिने गर्छन् र फायरप्लेससामु राख्ने गर्छन् । सबभन्दा पहिले जुन नामाङ्कित प्याज अङ्कुरित हुन्छ, त्यसलाई नै ती युवतीले आफ्नो असल साथी मान्ने गर्छन् ।
–जापानमा वर्षभरि जति चकलेट बिक्री हुन्छन्, त्यसको ५० प्रतिशत त ‘भ्यालेन्टाइन डे’ को सन्दर्भमा बिक्री हुन्छ । अरू देशहरूमा ‘भ्यालेन्टाइन डे’ का दिन युवाले युवतीलाई कुनै उपहार दिएर प्रेम–प्रस्ताव राख्ने गर्छन्, तर जापानमा भने कुनै युवतीले युवालाई चकलेट दिएर प्रेम–भावना प्रकट गर्ने चलन छ । सन् १९५८ मा यस्तो चलनको सुरुवात मेरी चकलेट कम्पनीले गरेको थियो

–मलेसिया एक मुस्लिम मुलुक हो, जहाँ खुला रूपले ‘भ्यालेन्टाइन डे’ मनाउन पाइँदैन । तर, मलेसियाका युवा–युवती भने ‘भ्यालेन्टाइन डे’ का दिन अति उत्साहित मुद्रामा देखिन्छन् । सो दिन कुनै अविवाहित जोडीले होटल वा रिसोर्टहरूमा रात बिताउँदै ‘भ्यालेन्टाइन डे’ को आनन्द लिने गर्छन् ।
–हिन्दू संस्कृति/संस्कारमा विवाह वा व्रतबन्धजस्ता शुभकार्यका निम्ति कुनै निश्चित महिना र दिन तय गरिएका हुन्छन् । थाइल्यान्ड यस्तो देश हो, जहाँ ‘भ्यालेन्टाइन डे’ को दिन वैवाहिक सम्बन्धमा बाँधिनुलाई पवित्र मान्ने गरिन्छ र त्यस दिन धेरै वैवाहिक कार्यसमेत सम्पन्न हुने गर्छ ।
थाइल्यान्ड सरकारले ‘भ्यालेन्टाइन डे’ मनाउनुभन्दा पनि बौद्ध धर्मावलम्वीहरूको पवित्र दिन ‘माका बुचा’ को दिनलाई प्रेम–दिवसका रूपमा मनाउन आफ्ना नागरिकलाई आदेश दिएको थियो । किनभने सो दिन बुद्धले १२ सय ५० जना बौद्ध सन्न्यासीलाई धर्मोपदेश दिएका थिए । सो दिनको स्मरणमा बैङ्ककमा सयौँ जना वैवाहिक सम्बन्धमा बाँधिन्छन् । ‘भ्यालेन्टाइन डे’ मनाउनका निम्ति भने थाइल्यान्ड सरकारले बैङ्ककको एउटा जिल्ला बैङ्क रेवामा अनुमति दिएको छ ।
–केही दशकयता नेपालमा पनि ‘भ्यालेन्टाइन डे’ मनाइन थालिएको छ । नयाँ पुस्ताका युवायुवतीले ‘भ्यालेन्टाइन डे’ को सन्दर्भमा उपहारहरू आदानप्रदान गरी एकअर्काबीच अङ्कुरित प्रेमभाव प्रकट गर्न थालेका छन् । कतिपय कट्टर समाजमा ‘भ्यालेन्टाइन डे’ प्रति कट्टरवादी समूहहरूको वक्रदृष्टि पर्दै आए पनि नेपाली समाजमा भने यो उत्सव बिनारोकतोक सहज रूपमा मनाइने गरिएको छ ।
००



Leave a Reply