सामाजिक सञ्जाल : मेरो यात्राको साथी


मेरो दैनिकीको केही हिस्सा मोबाइलमा बित्ने गर्छ । अमेरिका आएपछिको जीवनशैली, समयको गतिशीलता र यहाँको परिवेशमा आफूलाई ढाल्दै जाँदा सामाजिक सञ्जाल मेरो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । जब म स्वास्थ्य समस्याका कारण बाहिरी गतिविधिमा त्यति सक्रिय रहन सकिनँ, तब डिजिटल संसार मलाई पुन: समाजसँग जोड्ने पुल बन्न पुग्यो । मेरिल्यान्ड राज्यमा रहेका नेपाली समुदायसँग…

मेरो दैनिकीको केही हिस्सा मोबाइलमा बित्ने गर्छ । अमेरिका आएपछिको जीवनशैली, समयको गतिशीलता र यहाँको परिवेशमा आफूलाई ढाल्दै जाँदा सामाजिक सञ्जाल मेरो जीवनको अभिन्न हिस्सा बनिसकेको छ ।

जब म स्वास्थ्य समस्याका कारण बाहिरी गतिविधिमा त्यति सक्रिय रहन सकिनँ, तब डिजिटल संसार मलाई पुन: समाजसँग जोड्ने पुल बन्न पुग्यो ।

मेरिल्यान्ड राज्यमा रहेका नेपाली समुदायसँग म सामाजिक सञ्जाल मार्फत निरन्तर सम्पर्कमा छु । यहाँको नेपाली समाजसँग नजिकिँदै उनीहरूलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने, सामाजिक तथा सांस्कृतिक गतिविधिहरू प्रचारप्रसार गर्ने र एकअर्कालाई सहकार्यमा ल्याउने काममा म पूर्ण रूपमा संलग्न छु ।

‘मेरिल्यान्डका हामी नेपाली’ नामक अभियान अन्तर्गत मैले ‘हामी जोड्दै छौँ’ भन्ने एउटा सन्देश अभियान चलाएको थिएँ र अझै पनि त्यसलाई निरन्तरता दिइरहको छु । त्यससँगै Team 8848.86 , इनेप्लिज, नाम्लो अन एयरजस्ता सञ्चार माध्यमहरूसँग म आबद्ध छु । साथै, सात वर्षदेखि मेरिल्यान्डमा निर्माणाधीन हिन्दू–बौद्ध मन्दिर निर्माण अभियानमा मिडिया कोअर्डिनेटर को रूपमा लागिपरेको छु ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, नेपा कम्युनिटी युएसएलगायत संस्थाहरूमा पनि म सक्रिय रूपमा संलग्न छु । यी कारणहरूले पनि सामाजिक सञ्जालसँग आत्मीय सम्बन्ध गाँस्न पुगेको छु ।

शारीरिक रूपमा उपस्थित हुन नसक्दा पनि म मानसिक र भावनात्मक रूपमा समाजसँग जोडिइरहन सकेको छु । डिजिटल युगको यो वरदानले आज हामी जहाँ भए पनि हाम्रो दूरी घटाइदिएको छ, भावना जोडिदिएको छ ।

चिनी धेरै खाँदा तीतो हुने यथार्थलाई स्विकार्दै यो माध्यमको प्रयोगमा पनि सीमा हुनुपर्छ । म बिहान ब्रेकफास्टपछि मात्र मोबाइल चलाउँछु र सुत्नुअघि कम्तीमा आधा घण्टा मोबाइल बन्द गर्छु । यसरी सन्तुलित प्रयोगले मेरो मानसिक स्वास्थ्य, समय व्यवस्थापन र आत्म–अनुशासन लाई सुदृढ बनाएको छ । सामाजिक सञ्जाल मेरो लागि केवल समय कटाउने माध्यम मात्र नभई मेरो आवाज, सम्पर्क, सहकार्य र सेवाको माध्यमसमेत बन्न पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *