केही समयअघि एक बालरोग विज्ञकहाँ एक जना बाबुले आफ्नो आठमहिने बच्चालाई जँचाउन लैजाँदा भनेछन्, ‘यसले सधैं खाना खान किचकिच गर्छ, के गर्ने होला ?’ बालरोग विज्ञले भनेछन्, ‘अब सेरेलेक ख्वाउनुस् ।’

‘सेरेलेकमा धेरै चिनी हुन्छ, एक वर्षमुनिको बच्चालाई त चिनी दिनु हँुदैन भन्छन् नि !’ बाबुको कुरा सुनेर बालरोग विज्ञले भनेछन्, ‘त्यस्तो होइन, सेरेलेक मज्जासँग खान दिनुस् । बच्चाको तौल पनि बढ्छ र गुलियो भएकाले मज्जासँगले खान्छ पनि ।’ बाबुले आफ्नो बच्चालाई सेरेलेक खुवाउन सुरु गरेछन् । तर, बालरोग विज्ञको सल्लाहअनुसार सेरेलेक दिएका ती बाबुजस्ता कति अभिभावकले आफू ठूला कम्पनीबाट ठगिएको महसुुस गरिरहेका होलान् !
शिशु भोजन, दूध आदि बनाउने विश्वप्रसिद्ध कम्पनी ‘नेसले’ को नीति नै ‘दोधारे’ छ । जबकि युरोपेली मुलुकका बच्चाहरूका लागि चिनी नहालेको ‘शिशु भोजन’ बनाइन्छ भने एसियाका गरिब देशहरूका लागि भरपुर चिनी प्रयोग गरेको ‘शिशु भोजन’ बनाइन्छ । यसरी, नेपालका बालरोग विज्ञहरू ‘बच्चाले अरू खाना नखाए सेरेलेक ख्वाउनुस् न’ भन्ने सल्लाह दिन्छन् । ठूला कम्पनीहरूले ‘शिशु भोजन’ मा विकसित देशका लागि एउटा र एसियाली मुलुकहरूका लागि भिन्दाभिन्दै मापदण्ड स्थापित गरेर शिशुको स्वास्थ्यमा खेलबाड गरिरहेका छन् ।
शिशुहरूलाई ६ महिनापछि आमाको दूधबाहेक बाहिरी खानेकुरा पनि खुवाउनुपर्छ । नेपाली चलनअनुसार ‘अन्नप्रासन’ वा ‘भात–खुवाइ’ पछि शिशुलाई जाउलो, मिचेको आलु, दालको झोल, हलुवा, लिटो बिस्तारै खुवाउने चलन छ । त्यसरी खुवाउँदा एकैचोटिमा शिशुले त्यस्ता खानेकुरा प्राय: मन पराउँदैनन् । अलिअलि गरेर स्वाद लगाउँदै जानुपर्छ । नेपाली भान्छामा विभिन्न अन्नहरू भुटेर शिशुलाई लिटो बनाउने चलन छ । यस्तो लिटो प्रोटिन र अन्य सूक्ष्म पोषकतत्वले भरिपूर्ण हुन्छ । यस्तो लिटोमा ‘चिनी नहाल्नु’ भनेर कति विज्ञले भन्छन् । एक वर्षभन्दा मुनिका शिशुलाई ‘चिनी दिनु हँुदैन’ भनिन्छ ।
भोजनमा प्रोटिनको कमी भयो भने बच्चाहरूमा सुकेनास र फुकेनासको समस्या हुन सक्छ । लौह तत्वका साथै प्रोटिनकै कमी भएमा रक्तअल्पता हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । प्रोटिनको धेरै कमी हुँदा जोर्नीसमेत दुख्न सक्छ, किनभने प्रोटिनले जोर्नीमा हुने तरल पदार्थको निर्माणमा भूमिका खेल्छ ।
मांसाहारी र शाकाहारी दुवै भोजनमा प्रोटिन पर्याप्त पाइन्छन् । माछा, मासु, अन्डाका साथै शाकाहारी स्रोतहरूमा सोयाबिन, पनिर, दाल, गेडागुडी, ड्राइफ्रुट्स, दूध, फर्सीको बियाँ, तिल, आलस, गहुँ, चामल, कोदो, फापर, ब्रोकाउलीलगायत पर्छन् । साथै, सिमी प्रोटिन र रेसादार तत्वको निकै राम्रो स्रोत हो । पोषणविद्हरू यसलाई प्रोटिनको ‘पावरहाउस’ पनि भन्छन् । सुकाइएको र हरियो सिमीमा प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन ए, सी, के र बी–६ पाइन्छ । एक कप उमालेको सिमीमा करिब ७ ग्राम प्रोटिन हुन्छ । साथै, अङ्कुरित चना, मुङको दालमा पनि प्रोटिन पाइन्छ । टुसा उमारेको गहुँ, चना, गेडागुडीजस्ता सस्ता र सहज तरिकाले पाइने वस्तुहरू पनि प्रोटिनका स्रोत हुन् । मासु नखानेले पनि दाल, बेसन, गेडागुडी, पनिर, तोफु, कोदो, फापर, जौ आदि मिलाएर खाँदा प्रोटिनको जरुरत पूरा हुन्छ ।
अचेल मलाई कतिपय स्कुलमा खानपानबारे बोल्न आग्रह गरिन्छ । पछिल्लो एक वर्षमा मलाई पाँचवटा निजी र एउटा सरकारी स्कुलका शिक्षकहरूले भने, ‘बालबालिकाको पोषण कस्तो हुनुपर्छ भनेर अभिभावकलाई भन्दिनुपर्यो । अभिभावकले बेवास्ता गरेर पत्रु खाजा पठाउँछन् । हाम्रा कुराप्रति विद्यार्थीले वास्तै गर्दैनन् ।’ बालबालिकालाई स्कुलमै खाजा दिने ती स्कुलका शिक्षकहरूले अभिभावकहरूले आफ्ना सन्तानको स्वास्थ्यप्रति बेवास्ता गरेको कुरा सुन्दा म छक्क र दु:खी दुवै भएँ ।
एक स्कुलकी शिक्षिकाले भनिन्, ‘मेरो स्कुलमा अध्ययनरत ६ वर्षीय एउटा बच्चाले चपाउनै जान्दैनन् । उसलाई दालभात सबै मिसाएर पिसेर दिनुपर्छ । उनका आमाबुबाले बच्चालाई खुवाउन गाह्रो हुने भनी सबै कुरा मिक्सरमा पिसेर खान दिँदा रहेछन् । बच्चाको दाँतको पनि राम्रो विकास भएको छैन ।’

मलाई लाग्यो, ती बालकले आमाबाबुको ‘विषालु प्रेम’ को फल भोगिरहेका छन् । भविष्यमा झन् बढी भोग्ने देखिन्छ । मैले भनेँ, ‘बच्चाका मातापितालाई भनिदिनुस्, यसरी बच्चालाई सबै कुरा पिसेर दिइयो भने उसको दाँत बिग्रिन्छ र पाचन शक्ति पनि कमजोर हुन्छ । दाँतले चपाउँदा अनुहारका मांसपेशीहरू बलिया हुन्छन् । चपाएर खाइएका खानाको स्वादको आनन्दबाट बच्चा वञ्चित त हुन्छ नै, ठूलो हुन्जेलसम्म चपाउन नजानेपछि असर पर्छ ।’
ती शिक्षकहरूको कुरा सुनेर मलाई लाग्यो, उनीहरूले बालबालिकालाई अस्वस्थ बनाउँदै छन् । त्यो ‘माया’को नाममा एक प्रकारले भिन्दै विषको बीजारोपण हो । यसरी बालबालिकालाई सबै कुरा पिसेर खुवाउँदा शारीरिक र मानसिक दुवै समस्या निम्त्याउँछ । दाँतले चपाउने प्रक्रिया हुर्कंदो शिशुको सामान्य प्रक्रिया हो । समस्या कहाँ पर्छ भने स्वास्थ्यकर्मीले पनि बालबालिकालाई हर्लिक्स, सेरेलेक ख्वाउनुस भन्ने गर्छन् र आमाबुबाले महँगो कुरा खुवाएर ‘रोग’ किन्छन् ।
मैले कतिपय निजी स्कुलका अभिभावकहरूसँग छलफल गर्दा ‘बच्चाले चिउरा र मकै चपाउन नसक्ने हुनाले दूधमा कर्नफ्लेक्स र मुसेली हालेर खान दिने गरेको’ कुरा पनि सुनेँ । ‘कर्नफ्लेक्स’ दिँदा बच्चालाई ‘बढी पौष्टिक तत्व भएको’ खाना दिइएको भन्ने आमाबुबाले ठान्दा रहेछन् । ‘कर्नफ्लेक्स’ मकैबाट बन्छ भन्ने कतिपयलाई ज्ञान छैन । एउटी महिलाले छलफल हुँदा भनेकी थिइन्, ‘मकैको च्याँख्ला र चिउरा त गाउँघरकाले खाने कुरा हुन् । ‘कर्नफ्लेक्स’ मा रेसादार पदार्थ र लौह तत्व पनि मिसाइएको हुन्छ भनी लेखिएको हुन्छ । त्यो त मकैभन्दा राम्रो होला नि !’ मकैमा रेसादार पदार्थ मिसाउनै पर्दैन, त्यो त प्राकृतिक रूपमा मकैमा हुन्छ नै । तर, कम्पनीहरूले विज्ञापन गर्दा भ्रम छरेको पाइन्छ । मैले ती महिलालाई भनेँ, ‘कर्नफ्लेक्स मकैबाट बन्ने मात्र होइन कि त्यसलाई प्रोसेस गरेर प्याकेटबन्द भएपछि त्यो महँगो पर्ने हुँदा त्यसको महत्व बढ्न गएको हो ।’
गाउँमा जाँदा एउटी महिलाले भनेकी थिइन्, ‘हाम्रा बच्चा भात–खाजा खान मान्दैनन्, तर कसैले बाहिरबाट ल्याइएको राइसफ्लेक्स दिँदा मजासँग खान्छन् ।’ मैले भनेँ, ‘राइसफ्लेक्स र चिउरामा उस्तै पौष्टिक तत्व हुन्छन् । तपाईंले ‘राइसफ्लेक्स’ नपाए, चिउरा खुवाए पनि हुन्छ ।’ दुवै वस्तु एउटै हुन् भन्ने सुनेपछि उनी चकित परिन् ।
गाउँघरमा छलफल हुँदा म आफ्ना अनुभव बाँड्दै भन्छु, ‘मोलासेस एक पौष्टिक खाना हो, जसमा पर्याप्त क्याल्सियम र लौह तत्व हुन्छ भन्ने कुरा अमेरिका जाँदा थाहा पाएँ । सो वस्तु किनेर नेपालमा पनि लैजानुपर्यो भन्दा एक परिचितले भने— मोलासेस नेपालमा सजिलै पाइने ‘चाकु’ हो ।’ विदितै छ, हामीकहाँ माघे सङ्क्रान्तिको दिन चाकु खाने चलन छ ।
चनाको सातु प्रोटिनले भरिपूर्ण भोजन हो । योे बच्चा, वयस्क, वृद्ध सबैका लागि उत्तम मानिन्छ । घरमै भुटेर पिसिएको चनामा कागती र वीरे नुन हाली पानीसँग घोलेर खान सकिन्छ । चनाको सातुलाई दूधमा मिसाएर पनि खान सकिन्छ । बदाम पनि प्रोटिनयुक्त एक उत्तम भोजन हो । प्रोटिन पाउनका लागि भुटेको बदामलाई पीठो बनाई दूधमा हालेर खान सकिन्छ । बदाम र चनाको सातु पनि मिसाएर अनेक तरिकाले खान सकिन्छ । तर, भटमास वा बदाममा ‘एलर्जी’ हुनेलाई प्रयोग नगर्ने सल्लाह दिइन्छ । कोदाको पीठोलाई भुटेर वा हलुवा बनाएर दूधमा हाली खान सकिन्छ । दूधमा पनि प्रोटिन पाइन्छ तर कतिपयले दूध पचाउन सक्दैनन् । त्यसो हुँदा दहीमा प्रयोग गर्नु ठीक हुन्छ ।

बालबालिकालाई पत्रु खाना दिँदा उनीहरूलाई प्रोटिन कमी भएर कुपोषण हुन सक्छ । त्यस्तो अवस्था नआओस् भनी घरमा सहजै पाइने प्रोटिन र सूक्ष्म पौष्टिक तत्वले भरिएको भोजन प्रयोग गर्दा राम्रो हुन्छ । अन्य सूक्ष्म पोषकतत्वका साथमा पर्याप्त प्रोटिन पाइने अन्नहरू कोदो, फापर, जौ, लट्टे दाना, चिनोजस्ता खाद्य वस्तु हुन् ।
प्रोटिन पाइने तरकारीहरूमा पालुङ्गो, बकुल्ला (हरियो र सुकेको) लाई तरकारी वा दालमा मिश्रण गरेर खान सकिन्छ । रोटी बनाउँदा पनि अनेक अन्नहरूले मिश्रणयुक्त पीठो बनाएर हरियो तरकारीसँग खान सकिन्छ । प्रोटिन पाइने खानेकुराहरू वरिपरि भएर पनि बालबालिकालाई प्रोटिनको कमी हुनुको कारण अभिभावकलाई जानकारी कम हुनु हो । यसका लागि हजुरआमाहरूको ज्ञान लिए अहिलेका शिशु, बालक, युवाहरूको भोजनमा प्रोटिन कमी हुन पाउँदैन ।
यस्ता अनेक पौष्टिक भोजन छन् । अलिकति ज्ञान प्राप्त गर्न सके हाम्रै भोजन स्वस्थकर र राम्रा छन् । बालबालिकालाई सहज तरिकाले बनाउन र खुवाउनका लागि आमाबाबाले अलिकति मात्र ध्यान दिए पुग्छ । पैसा खर्च गरेर पत्रु खाना खुवाउँदा एक दिनका लागि त सजिलो होला तर जीवनभरिका लागि मधुमेह, उच्च रक्तचाप, मोटोपन भयो भने त्यस्ता पत्रु खाना खुवाएर बच्चालाई एकछिन खुसी पारेको के काम भयो र ! आमाबाबुले बालबालिकालाई पत्रु खाना खुवाउने, बाहिर गएर खेल्नमा प्रोत्साहित नगर्ने र मोबाइल, कम्प्युटर र टिभीको अगाडि बस्न दिइँदा बालबालिकाहरू धेरै रोगका सिकार बनिरहेका छन् । अभिभावक शिक्षामा बच्चालाई माया गरेर खुवाउनुपर्छ मात्र नभनी ‘माया गरेर नचाहिने कुरा नखुवाउनुस्, माया गर्दा अनुशासन नबिगार्नुस्’ भनेर पनि छलफल गर्नैपर्छ ।
००



Leave a Reply