आर सुरेन्द्रको आशीर्वाद आज विमोचन हुँदै


मातृत्व, मातृभूमि र मानवताको सम्मानमा एक युग–आह्वान लेखक सुरेन्द्र रेग्मी (आर सुरेन्द्र) को यात्रा–संस्मरण कृति आशीर्वाद आज सार्वजनिक हुँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान मा फागुन १७ गते आयोजना हुने विशेष समारोहबीच पुस्तकको लोकार्पण गरिनेछ। भुँडीपुराण प्रकाशन द्वारा प्रकाशित कृतिले मातृत्व, मातृभूमि र मानवताको सम्मानलाई केन्द्रीय भाव बनाएको छ। तीर्थाटनको बहानामा सभ्यताको पुनर्जागरण कूटनीतिक मामिलाका जानकारसमेत रहेका…

मातृत्व, मातृभूमि र मानवताको सम्मानमा एक युग–आह्वान

लेखक सुरेन्द्र रेग्मी (आर सुरेन्द्र) को यात्रा–संस्मरण कृति आशीर्वाद आज सार्वजनिक हुँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान मा फागुन १७ गते आयोजना हुने विशेष समारोहबीच पुस्तकको लोकार्पण गरिनेछ। भुँडीपुराण प्रकाशन द्वारा प्रकाशित कृतिले मातृत्व, मातृभूमि र मानवताको सम्मानलाई केन्द्रीय भाव बनाएको छ।

तीर्थाटनको बहानामा सभ्यताको पुनर्जागरण

कूटनीतिक मामिलाका जानकारसमेत रहेका लेखक सुरेन्द्रले तीर्थाटन र कर्मस्थलका अनुभवलाई केवल बाह्य आवरणका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार आशीर्वाद यात्रा–वृत्तान्त मात्र नभई सनातन सभ्यताको संरक्षण र पुनर्जागरणका लागि गरिएको चेतनात्मक आह्वान हो।

उनी भन्छन्, “तीर्थाटन र कर्मस्थलको अनुभवको वृत्तान्त केवल बहाना मात्र हो। आशीर्वाद भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासन प्रत्याभूतिको पक्षमा उभिएको कृति हो।” भदौ २३ र २४ मा सम्पन्न जेनजी विद्रोहमा प्राण आहुति दिने नवयुवकका आमाहरूलाई सम्मान अर्पित गर्दै लेखिएको यो कृतिले समकालीन असमानता र व्यवस्थागत विकृतिमाथि प्रश्न उठाएको छ।

आध्यात्मिक भाष्यमा नयाँ दृष्टि

लेखकले आध्यात्मिक चेतनाको वर्तमान भाष्य परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सर्वपक्षीय एकताबाट मात्र विश्वव्यापी अस्थिरताको निवारण सम्भव हुने उनको धारणा छ। पुस्तकले सामाजिक न्याय, सुशासन र सांस्कृतिक अस्मिताको पक्षमा सशक्त विमर्श प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

पाल्पाबाट विश्वमञ्चसम्म

पश्चिम नेपाल, पाल्पाको विकट गाउँ चिर्तुङमा जन्मिएका सुरेन्द्र प्रकृतिप्रेमी, देशभक्त र राष्ट्रिय एकताका पक्षधर व्यक्तित्वका रूपमा चिनिन्छन्। दुई दशकभन्दा बढी समय उनले विश्वका दुई दर्जनभन्दा बढी देशमा प्राकृतिक विपद् तथा युद्धपीडित समुदायका लागि राहत तथा मानवीय सहायता पुर्‍याउने कार्यमा समर्पित गरेका छन्।

बेलायत, जापान, अमेरिका, भारत र नेपालका प्रतिष्ठित विश्वविद्यालयबाट पाँच विषयमा उच्च शिक्षा हासिल गरेका सुरेन्द्रका लेख तथा कविताहरू राष्ट्रिय दैनिक तथा ब्रोडसिट पत्रपत्रिकामा प्रकाशित छन्। विश्व कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सुरक्षाजस्ता विषयमा दख्खल राख्ने उनका अर्को पुस्तक पनि प्रकाशनको तयारीमा रहेको बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *