कविताको रङ्ग


कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी मनभित्रको भावना निस्किन्छ—म जे भन्छु त्यसलाई त्यही गहिराइमा बुझ्ने साथी ड्राइभिङ सिटको दाहिनेपट्टि हुन्छ, ऊ जे भन्दैछ म त्यसरी नै बुझ्न सकिरहेको हुन्छु; नागबेली बाटो असी माइलको गतिमा उडेर माथि…

कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो।

कविता जस्तो यात्रा? हो।

जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी मनभित्रको भावना निस्किन्छ—म जे भन्छु त्यसलाई त्यही गहिराइमा बुझ्ने साथी ड्राइभिङ सिटको दाहिनेपट्टि हुन्छ, ऊ जे भन्दैछ म त्यसरी नै बुझ्न सकिरहेको हुन्छु; नागबेली बाटो असी माइलको गतिमा उडेर माथि पहाडको टुप्पोमा पुग्छ र बादल तल नदीको खोंचतिर देखिन्छ, हिउँद सुरु हुनु अघि मेपलका पातहरूमा रङ पोतिन थालेको हुन्छ—यस्तो यात्रा कविता जस्तै भएन त?

तपाईंलाई पक्कै लाग्यो, म बहकिएँ। सायद अलि-अलि। अर्केष्ट्राको धुनमा कविता वाचनको अनुभव आफैँमा नौलो थियो, कम्तिमा मेरो लागि। काठमाडौंमा सङ्गीतको सुरमा केही कार्यक्रममा कविता वाचन गरेको थिएँ, तर त्यहाँ कविताको भाव बोकेर सङ्गीतको नोटेसन कोरिएको थिएन। सङ्गीत बाधकहरूले लेखिएको नोटअनुसार धुन सिर्जना गर्नुपर्थेन, र म जस्ता कविलाई त्यसको फ्लोमा कविता पछ्याउनुपर्थेन।

कविता र सङ्गीतको मिलनपूर्ण मञ्चनको जुन नौलो अनुभव हुन गइरहेको थियो, त्यत्तिकै गजबको अनुभव थियो—कविता सुनाउनै बोस्टन, म्यासाचुसेट्सदेखि बफेलो, न्यूयोर्कसम्मको झन्डै पाँच सय माइलको आठ घण्टा लामो यात्रा।

यति धेरै अनुभवहरू एकैचोटि संक्षेपमा सुनाउन खोज्दा सायद अलि-अलि बहकिन्छु म।

गन्तव्य महत्वपूर्ण कुरा होइन, यात्राको प्रक्रिया सबैभन्दा महत्वपूर्ण हुन्छ।

सन्तोषले यति भन्दा हामी स्प्रिङफिल्ड कट्न लागेका थियौं। म्यासाचुसेट्स राज्यको अर्को ठूलो सहर, जनसंख्याको आधारमा बोस्टन र वुस्टरपछि। हाइवे ९० मा छौं। गाडीको स्टेरिङ मेरो हातमा छ, यात्राको स्टेरिङ सन्तोषको हातमा। पछाडिको सिटमा मनोज गफ सुनिरहेको छ—अहिलेसम्म गफ सुन्ने मात्रै मुडमा।

यता सर्नुअघि तीनैजना पत्रकारितामा कर्मरत थियौं। सन्तोष आरआर क्याम्पस पढ्दादेखिको सहपाठी, मनोज रेडियो सगरमाथामा रेडियो पत्रकारिता गर्दादेखिको सहकर्मी। डाटाको मेमोरी लेन पुरानै हो—राजनीति, समाज, व्यवस्था हाम्रा साझा भोगाइ। गफ नमिल्ने कुरै भएन।

बाइस–तेइस वर्षअघि हिउँदको काठमाडौं कुहिरोको घुम्टो ओढेर बिहान सुस्ताउँथ्यो। स्मार्टफोनको जमाना थिएन, टेलिभिजन पनि एउटा मात्रै च्यानल—नेपाल टेलिभिजन। कलेज जानुअघि बिहानको खाना तयार पार्दा रेडियोमा गीतसँगै साहित्य, संगीत, समाजका छोटा टिप्पणीहरू मीठो लागेर सुनिन्थे। त्यही बेला म रेडियो सगरमाथामा बिहान नौदेखि दस बजेसम्म ‘मिर्मिरे भाका’ चलाउँथेँ।

‘चिठ्ठी कति आउँथ्यो?’ सन्तोषले सोध्यो।

‘सयौं, सायद हजारौं,’ मैले सम्झिएँ—बोराभरि हुन्थे प्रत्येक दिन आउने चिठीका चाङ।

माओवादी द्वन्द्व चरम अवस्थामा हुँदा दिनदिनको हिंसा र बेथिती अक्षरमा पोखिएका निबन्धजस्ता चिठीहरू आउँथे। कति वाचन गरें, कति थन्किए। अहिले सम्झिँदा लाग्छ—सुन्दर चिठी लेख्नेहरूमध्ये नुवाकोट चौघडाका डा. विक्रम तिमल्सिना, चाल्नाखेल छम्पितिरका विनोदविक्रम केसी—सबै आ-आफ्नो बाटोमा अघि बढिसके।

हामी कनेक्टिकट नदी पार गरिसकेका थियौं। बर्कसिअर माउन्टेनको सुन्दर पहाडी रेन्ज तल हुइँकिँदै थियौं। मेपल र ओकका रुखले भरिएको पहाड आकाशको कुनासम्म पुगेर टुंगिन्थ्यो। प्लेटुजस्तो डाँडामाथि पुग्दा पश्चिमपट्टि हड्सन रिभरको विशाल फाँट देखियो। त्यही फाँटबाट अझै पर—बफेलो पुग्नु थियो।

मनोजले ‘युवामञ्च’को कथा सुनायो—राजेश हमाललाई फोन गरेको स्मृति। नाम जस्तै युवामाझ चर्चित पत्रिका। ‘हेलो’ भन्ने ध्वनि सुन्नासाथ ऊ फ्रिज भएको कथा हामी हाँस्दै सुन्यौं।

कविताबारे बहस फेरि सुरु भयो।

‘यस्तो हुनुपर्छ, फलानो जिन्दाबाद खाले कविता नारा जस्तो लाग्छ,’ सन्तोषले भन्यो। ‘व्यक्तिगत भोगाइका कविता मन पर्छन्।’

‘कविता चैं सुन्ने मात्रै हो म,’ मनोज पर सरेजस्तो गर्‍यो।

‘निजी अनुभवको अभिव्यक्ति हो मेरो कविता,’ मैले थपेँ। ‘जुन चिजले मनको कुनामा मीठो वा नमिठो गरी घोच्छ, त्यो कवितामा बुन्छु। जसले दिमागमा घोच्छ, त्यो आख्यान वा लेखमा।’

‘कवितामा शब्द र शब्दबीचको दूरी नै गहिराइ हो,’ मैले भनेँ। ‘त्यो “पोएटिक जम्प” नै कविताको स्वाद हो। अर्थहरूको ग्यापमा रिदम हुन्छ—पेन्टिङमा पोतिएको रङको टोनजस्तै।’

बफेलोमा रात परिसकेको थियो। आयोजक लामिन तामाङको दैलो टेक्दा जीवनका अनेक रङ भेटिए। भोलिपल्ट कविता मञ्चन थियो। बिहान होटलको बुफे ब्रेकफास्ट, दिउँसो नायग्रा झरना। विशाल नदिको पानी तल खस्दा निस्कने निरन्तरको नाद—कविता भन्दा कम थिएन। झरनाको फुहार अनुहारमा परिरहँदा लाग्यो—ध्यानस्थहरूले सुन्ने ‘ओमकार’ यही हुनुपर्छ।

साँझ जीसीआर स्टुडियोमा भेला भयौं। डा. जेन मेरिटले कम्पोज गरेको धुनअनुसार अभ्यास भयो। जेसिका एन्थोनी (भायोलिन), एन्ड्र्यु व्रुकावस्की (चेलो), प्रज्वल लाम (पियानो) सँगै रिहर्सलमा मिसिँदा शब्दहरू पानाबाट उठेर हिँड्न थालेजस्तो लाग्यो। गिटार, भायोलिन, चेलो र पियानोको झंकारबीच कविता फुत्त-फुत्त उड्थ्यो। कहिले अर्थ मिल्थ्यो, कहिले बेमेल नै अर्थपूर्ण हुन्थ्यो। म मेडिटेटिभ मुडमा पुगें।

पाँचवटा कविता मञ्चन गरें। कुनै द्वन्द्वबाट शान्तिकालमा रूपान्तरणका, कुनै कोभिडको त्रासदीका—

… प्वाँख उखेलिएको घामजस्तो
अन्धकारको घुम्टिमा बन्द छ घर
उभिएका छौं आफ्नो समयलाई पर्खेर,
सायद मृत्युलाई पर्खेर।

नदिशले सुनायो—

सवैतिर छुटेको छु अलि-अलि
सानै झोंकाले सजिलैसित मेटिदिने गरी।

कविता मञ्चनको त्यो संयोग भव्य र सभ्य दुवै भयो। राति होटलमा फर्कँदा सन्तोषले हाँस्दै लिडलाइन सुझायो—“पत्रकार नारायण श्रेष्ठले माइक टेस्ट गर्दा दर्शक पंक्तिले ठाने, यिनी कार्यक्रम सञ्चालक रहेछन्।”

बस्, कविता मञ्चनको मीठो अध्यायको सम्झना यस्तो रह्यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *