उद्यमी कमला लामाले व्यवसायका प्रारम्भिक दिनहरूमा कुनै ठूलो व्यापारिक योजना, लगानी एवम् अन्तर्राष्ट्रिय बजारबारे कल्पनासम्म गरेकी थिइनन् । उनले देखेकी थिइन् , गाउँघरतिर फ्याँकिने प्रयोगविहीन फलफूलका बोक्राहरू । आफूवरिपरिका सीप, स्वाद र सस्ता स्रोतहरूबारे भने जानकार थिइन् उनी । तिनै जानकार विषयबाट सुरु भएको उनको यात्रा आज देश–विदेशमा ‘झ्याम्भल कृषि फार्म’ को रूपमा परिचित बन्दै छ, जहाँ स्वाद, सिर्जना र साधनको अनौठो सङ्गम बटुल्न पाइन्छ ।

कमलाले बनाएका अमिला , पिरा स्वादका क्यान्डी, स्वस्थकर जाम, ड्राई फ्रुट र हर्बल चिया अब नेपालबाहिरका बजारहरू जस्तै : अमेरिका, अस्ट्रेलिया, जापान, दुबईजस्ता ठाउँसम्म पुगिरहेका छन् । नेपाली स्वादको मौलिकता बोकेका यी उत्पादनले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि मात्र नभई स्थानीय उपभोक्ताका मनसमेत जित्न थालेका छन् ।
कमलाले आफ्नो मिहिनेत, श्रम र निरन्तर अभ्यासद्वारा फलफूलका बोक्रामा जीवन भरेकी छन्, जसले उनलाई घरेलु उत्पादनकर्ताबाट एक अग्रणी महिला उद्यमीको स्थानसम्म पुर्याएको छ । आज उनको फार्म स्थानीय स्रोतको उपयोग, महिला सशक्तीकरण, खाद्य सुरक्षाको चेतना र निर्यात सम्भावनाको जीवित उदाहरण बनेको छ ।
गाउँबाट सुरु यात्रा
‘कहिलेकाहीँ फोहोर ठानिएको चिज पनि अवसर बन्छ,’ कमला मुस्कुराउँदै भन्छिन् । उनले काभ्रेको भैँसीपाटीस्थित ‘झ्याम्भल कृषि फार्म’ सन् २००६ मा सुरुवात गरेकी हुन् । ३ हजार रुपियाँको लगानीमा सुरु भएको मस्यौरा बनाउने यात्राले आज ६० लाखबराबर कारोबार गरिरहेको छ ।
उनले सुरुवाती दिनमा आफ्नै घरवरपरका फलफूलको बोक्रा जम्मा गर्न थालिन् । गाउँघरमा पाइने भोगटे, निबुवा, जलबिरे, ज्यामिरजस्ता फलफूलका बोक्रा त्यत्तिकै फालिन्थ्यो । त्यसरी फालिएका बोक्रालाई कमलाले ‘मूल्य’ दिए र तिनै बोक्राहरूलाई मीठो क्यान्डी बनाए । ‘कुभिन्डोको मिठाई खाँदा लाग्यो , भोगटेको पनि बनाउन मिल्ला कि ? त्यसपछि मैले प्रयोग गर्न सुरु गरेँ,’ उनी सम्झिन्छन् ।

लकडाउन, युट्युब र व्यावसायिक मोड
जब कोरोना महामारीको समय सिङ्गो संसार थन्किएको थियो, कमला भने आफ्नो भान्साकोठामा प्रयोग गर्दै थिइन् , केही नयाँ स्वाद र सम्भावनाको खोजी । सधैँ नयाँ प्रयोगमा रुचि राख्ने उनले युट्युबमा खानाका परिकार हेर्दै जाँदा भोगटेको तीतो बोक्राबाट मीठो क्यान्डी बनाउन सकिन्छ भन्ने आइडिया भेटिन् ।
कुनै औपचारिक तालिम नलिईकन केवल अनुभव, निरन्तर अभ्यास र धैर्यको भरमा उनले क्यान्डी बनाउने सीप सिकिन् । सुरुवातमा परिवार र छरछिमेकका साथीभाइलाई चाख्न दिइन् । सबैले रुचाएपछि मात्रै उनले व्यावसायिक उत्पादनतर्फ पाइला चालिन् ।


सोही सीपले उनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाएको छ । उनले उत्पादन गर्ने क्यान्डी, जाम र अन्य खाद्यवस्तुहरू जापान, अस्ट्रेलिया, अमेरिका, दुबईजस्ता १० भन्दा बढी देशमा निर्यात भइसकेका छन् । कमला भन्छिन्, ‘बजारमा मूल्य नभएका चिज नै मेरो लागि स्रोत बन्यो ।’ लकडाउनलाई अवसरमा रूपान्तरण गरेकी उनको क्षमता प्रत्येक उत्पादनमा झल्किन्छ ।
कमलाको सोच आफूसम्म मात्र सीमित छैन । ‘हामी किसानसँग केवल सामान किन्दैनौँ, उनीहरूलाई फलफूल खेतीका लागि प्रेरितसमेत गर्छौं,’ उनी भन्छिन् । उनी सिक्न चाहनेलाई नि:शुल्क सीप साटासाट गर्ने गर्छिन् । ‘जे जानेको छु, त्यो अरूलाई बाँड्दा मलाई खुसी लाग्छ,’ उनी सरलतापूर्वक भन्छिन् ।





सामाजिक उत्तरदायित्व र महिला सशक्तीकरण
झ्याम्भल फार्ममा १५ जना महिला कार्यरत छन्, उनीहरूले सिजनअनुसार काम गर्छन् । कोही मासिक र कोही दैनिक पारिश्रमिकमा कार्यरत छन् । कसैले फलफूल काट्छन्, कसैले पकाउँछन् र कसैले प्याकिङ गर्छन् । ‘स्थानीय महिला दिदीबहिनीलाई आफूजस्तै आर्थिक रूपमा सक्षम बनाउने मेरो सानो प्रयास हो यो,’ कमला सुनाउँछिन् ।
उनको लक्ष्य स्पष्ट छ , गुणस्तरयुक्त, अर्गानिक र नेपाली स्वाद बोकेको उत्पादनलाई विश्व बजारमा स्थापित गर्नु । ‘हामीले बनाएको चिज खाने जोकोही दोहोर्याएर, तेहेर्याएर आउनुहुन्छ,’ उनी दाबी गर्छिन्, ‘स्वाद, स्वच्छता र सादगी नै हाम्रो बल हो ।’


सर्वोत्कृष्ट उद्यमीको सम्मान
कमलाको प्रयासलाई केवल बजार र ग्राहकले मात्र होइन, राज्यले पनि उच्च मूल्याङ्कन गरेको छ । सातौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८२ को अवसरमा ‘राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार’ अन्तर्गत बागमती प्रदेश प्रतिनिधिका रूपमा कमला सम्मानित भइन् । त्यस्तै कमलाको सिर्जनशीलता र प्रभावको मूल्याङ्कनस्वरूप बागमती प्रदेश सरकारले उनलाई ‘सर्वोत्कृष्ट उद्यमी’को सम्मानसमेत प्रदान गरिसकेको छ । १ लाख रुपैयाँसहितको सो सम्मान–पुरस्कारले उनमा अझ हौसला बढेको देखिन्छ ।
‘अहिले लाग्छ, व्यापार भनेको केवल बिक्री होइन, समुदायसँग जोडिने, आफूसँग भएको सीप अरूलाई दिन सक्ने प्लेटफर्म पनि रहेछ,’ उनी भन्छिन् ।
उनीद्वारा रुचाइएका उत्पादनहरू

भोगटे, निबुवा, जलबिरे, किबी, हलुवावेदको क्यान्डी
आरु, नासपाती, हलुवावेदको जाम
पिँडालुको मस्यौरा
विभिन्न अर्गानिक हर्बल चिया
तितौरा, ड्राइफुड र अमिलाजन्य परिकारहरू

बच्चाबच्चीका लागि गुलियो स्वाद र ठूला उमेर, समूहका लागि अमिलो, पिरो स्वादका परिकार उत्पादन गरेर उनले नेपाली स्वादको विविधता जोगाएकी छन् । ‘ठूलो सपना देख्नै पर्दैन, जुन चिज तपाईंको वरिपरि छ, त्यसैलाई चिनेर उपयोग गर्न सकियो भने त्यहीबाट परिवर्तन सुरु हुन्छ,’ उनी भन्छिन् । उनी अहिले नेपालका विभिन्न नगरपालिका, गाउँपालिकाहरूमा प्रशिक्षकका रूपमा समेत व्यस्त छिन् । काठमाडौँ युनिभर्सिटीबाट समेत उद्यमीको सम्मान पाइसकेकी कमला नयाँ नयाँ उत्पादनका लागि प्रयोग गरिरहन रुचाउँछिन् ।
कमलाको कथा ‘एक उद्यमी महिलाको कथा मात्रै होइन, यो गाउँबाट ग्लोबल पुग्ने आत्मनिर्भरताको कथा पनि हो, जहाँ सिर्जनशीलता, श्रम र सोच मिलेर बनेको छ, स्वाद, सम्मान र सम्भावनाको मीठो कथा ।



Leave a Reply