पर्यावरणीय चिन्तनसँगै ब्युँझिएको स्वर


आज बढ्दो पर्यावरणीय एवम् पारिस्थितिक सङ्कटका कारण मानव जाति मात्र नभई धर्तीका अधिकांश जीव–जगत्का निम्ति चुनौती थपिँदै गएको छ । प्राकृतिक स्रोत–साधनका अति दोहन एवम् असीमित उपयोग, तथाकथित विकास र प्रगतिका कारण सिङ्गो विश्व दिनप्रतिदिन व्याकुल बन्दै गइरहेको छ । मानव जातिले आफ्नो स्वार्थअनुरूप प्रकृतिलाई अनावश्यक रूपमा दोहन गर्ने उपक्रम भएसँगै पृथ्वी जीवन प्रतिकूल बन्दै…

आज बढ्दो पर्यावरणीय एवम् पारिस्थितिक सङ्कटका कारण मानव जाति मात्र नभई धर्तीका अधिकांश जीव–जगत्का निम्ति चुनौती थपिँदै गएको छ । प्राकृतिक स्रोत–साधनका अति दोहन एवम् असीमित उपयोग, तथाकथित विकास र प्रगतिका कारण सिङ्गो विश्व दिनप्रतिदिन व्याकुल बन्दै गइरहेको छ । मानव जातिले आफ्नो स्वार्थअनुरूप प्रकृतिलाई अनावश्यक रूपमा दोहन गर्ने उपक्रम भएसँगै पृथ्वी जीवन प्रतिकूल बन्दै जानु स्वाभाविकै थियो, जसका कारण आज पर्यावरणीय सङ्कटले गहिरो स्वरूप लिँदै छ ।

पर्यावरणीय सङ्कट अब सर्वव्यापी भइसक्यो र यसले चिन्ता र चिन्तनको क्षेत्राधिकार बढाउँदै लगिरहेको छ । पर्या–सङ्कटलाई सम्बोधन गर्न अनेक क्षेत्र/विधा अग्रसर भएसँगै अब यो सङ्कट साहित्य लेखनको क्षेत्राधिकारभित्र समेटिइसकेको छ । पर्या–साहित्य लेखनमा दक्खल राख्दै आएका कवि विजय हितानको सद्य: कविताकृति ‘मलाई आर्यघाट लगेर नजलाउनू’ पर्यावरणीय सङ्कटद्वारा उत्पादित सबैजसो समस्या सम्बोधन गर्न केन्द्रित देखिन्छ ।

पर्या–साहित्य, पर्यावरणीय सङ्कटले निम्त्याएको सिर्जन संसार हो । पर्यावरणीय सङ्कटले विस्तारित रूप लिएसँगै पृथ्वीका समग्र प्राणी, वनस्पति, खाद्य बालीहरूसमेत प्रभावित बन्दै आए । अझ पृथ्वीको सौन्दर्यलाई आलोकित तुल्याउने वनजङ्गलहरू तीव्र फँडानी, डढेलोको प्रकोप, बाढी–पहिरोजस्ता प्राकृतिक विग्रह र क्षयका सिकार बन्दै छन् । यस्ता समस्याका नाभिमा मानव समुदाय नै जिम्मेवार रहँदै आएको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन । कविको आह्वान छ, ‘म हुँ वन जङ्गल/लोप हुन थालेँ म त/बाँचे हरियाली छर्थें/पैरोबाट जोगाइराख्थेँ ।’

तीव्र संवेदनालाई ब्युँझाएर पर्यावरणको अनुपम स्नेहप्रति नतमस्तक देखिन्छन्, कवि । पर्यावरण संरक्षणको डिङ हाँक्ने जनप्रतिनिधिहरूका निर्देशनअनुरूप सडकवरपरका साँघुरा पेटीमा रोपिएका लघुवृक्षहरूका दरिद्र अवस्था देख्दा उनी द्रविभूत हुन्छन् र लिलिपुट शैलीमा उभिएका ती निरीह बिरुवाले आफूसँग जल र मलको माग गरिरहेको अनुभूत गर्छन् ।
उनी विश्वमा पर्यावरणीय सङ्कट गहिरिँदै जानुमा पुँजीवादी अर्थव्यवस्थाको भूमिका रहेको निचोड सामुन्ने छन् । ‘मैले भन्या छु’ मा शिष्ट भाषा–शैलीमा उनी चेतावनी दिन्छन्, ‘मैले भन्या छु/तिमी विमानस्थल निर्माण गर कि भ्युटावर ठड्याऊ/अक्सिजन दिने यी रुखहरूलाई काट्दै नकाट्नू…।’

महानगरीयकरणले पूरै प्रदूषित र सौन्दर्यविहीन भइसकेको छ, बागमती नदी । बागमतीले झेल्नुपरिरहेको दु:स्वप्नका दिनहरूप्रति उनको काव्य–चिन्ता फराकिलो बनेको छ । बागमतीलाई ‘लागूऔषध दुव्र्यसनले पीडित युवती’ को उपमा दिन चाहने उनमा केही आशावादी स्वर ध्वनित हुन्छन् र लन्डनस्थित सफा र स्वच्छ थेम्स नदीसँग सैना (मितेरी) साइनो गाँसिदिन उद्यत देखिन्छन् । काठमाडौँ उपत्यकामा व्याप्त वातावरणीय प्रदूषणलाई बगाउन मिथकीय पात्र मञ्जुश्री फेरि चोभारमा आएको उद्घोष गर्दै उनी लेख्छन्, ‘जब सन्तुलनमा आउन सुरु गर्नेछ पारिस्थितिक प्रणाली/तब मात्र फर्केर आउनेछन् मञ्जुश्री चोभार फेरि/र, खोलिदिनेछन् त्यो गल्छेडोको ढोका…।’

पर्यावरणप्रति असीम श्रद्धा र प्रेमभाव रेखाङ्कित कविता हो, ‘मलाई आर्यघाट लगेर नजलाउनू ।’ कुनै प्राणीलाई जलाइँदा हावामा उत्सर्जन हुने विषालु कार्बनले अरूका फोक्सोलाई प्रदूषित तुल्याउने यथार्थप्रति चिन्तित उनी आह्वान गर्छन्, ‘म बाँचुन्जेल कार र प्लेन चढेर/वायुमण्डलको अक्सिजनमा यति धेरै कार्बन घोलेँ हुँला कि/ऋणमुक्त बनेर मर्न देऊ मलाई/म कार्बन न्युट्रल भएर स्वर्ग जान चाहन्छु ।’

अब विकासको पर्याय विनाश बन्दै गएको छ । विकासको भाष्यलाई फेरबदल गर्ने गरी पहाडका छातीहरूमा डोजर कुदाइँदा त्यसले विनाशका गाथा मात्र कहेका छन् । मूलत: महानगर/उपमहानगरीय क्षेत्रमा बढ्दो वायु र ध्वनि प्रदूषण, दुर्गन्धले व्याप्त सहरी इलाकाका साथै नदी–उपनदी क्षेत्र, पहाडी सुन्दरतामाथि धावा बोलिरहेका दोहनकारी शक्ति/जमात र सिङ्गो पृथ्वीमाथि चुनौती बनिरहेको वर्तमान पुँजीवादी व्यवस्थाप्रति उनको चिन्ता र असन्तुष्ट स्वर यो काव्य–कृतिको केन्द्रीय स्वर बन्न पुगेको छ । धर्तीप्रति तीव्र चिन्ता भाव र मानव जातिको भविष्यप्रति केन्द्रित हितानका कविताहरू पठनीयका साथै चिन्तनग्राह्यसमेत छन् ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *