आज बढ्दो पर्यावरणीय एवम् पारिस्थितिक सङ्कटका कारण मानव जाति मात्र नभई धर्तीका अधिकांश जीव–जगत्का निम्ति चुनौती थपिँदै गएको छ । प्राकृतिक स्रोत–साधनका अति दोहन एवम् असीमित उपयोग, तथाकथित विकास र प्रगतिका कारण सिङ्गो विश्व दिनप्रतिदिन व्याकुल बन्दै गइरहेको छ । मानव जातिले आफ्नो स्वार्थअनुरूप प्रकृतिलाई अनावश्यक रूपमा दोहन गर्ने उपक्रम भएसँगै पृथ्वी जीवन प्रतिकूल बन्दै जानु स्वाभाविकै थियो, जसका कारण आज पर्यावरणीय सङ्कटले गहिरो स्वरूप लिँदै छ ।
पर्यावरणीय सङ्कट अब सर्वव्यापी भइसक्यो र यसले चिन्ता र चिन्तनको क्षेत्राधिकार बढाउँदै लगिरहेको छ । पर्या–सङ्कटलाई सम्बोधन गर्न अनेक क्षेत्र/विधा अग्रसर भएसँगै अब यो सङ्कट साहित्य लेखनको क्षेत्राधिकारभित्र समेटिइसकेको छ । पर्या–साहित्य लेखनमा दक्खल राख्दै आएका कवि विजय हितानको सद्य: कविताकृति ‘मलाई आर्यघाट लगेर नजलाउनू’ पर्यावरणीय सङ्कटद्वारा उत्पादित सबैजसो समस्या सम्बोधन गर्न केन्द्रित देखिन्छ ।
पर्या–साहित्य, पर्यावरणीय सङ्कटले निम्त्याएको सिर्जन संसार हो । पर्यावरणीय सङ्कटले विस्तारित रूप लिएसँगै पृथ्वीका समग्र प्राणी, वनस्पति, खाद्य बालीहरूसमेत प्रभावित बन्दै आए । अझ पृथ्वीको सौन्दर्यलाई आलोकित तुल्याउने वनजङ्गलहरू तीव्र फँडानी, डढेलोको प्रकोप, बाढी–पहिरोजस्ता प्राकृतिक विग्रह र क्षयका सिकार बन्दै छन् । यस्ता समस्याका नाभिमा मानव समुदाय नै जिम्मेवार रहँदै आएको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन । कविको आह्वान छ, ‘म हुँ वन जङ्गल/लोप हुन थालेँ म त/बाँचे हरियाली छर्थें/पैरोबाट जोगाइराख्थेँ ।’
तीव्र संवेदनालाई ब्युँझाएर पर्यावरणको अनुपम स्नेहप्रति नतमस्तक देखिन्छन्, कवि । पर्यावरण संरक्षणको डिङ हाँक्ने जनप्रतिनिधिहरूका निर्देशनअनुरूप सडकवरपरका साँघुरा पेटीमा रोपिएका लघुवृक्षहरूका दरिद्र अवस्था देख्दा उनी द्रविभूत हुन्छन् र लिलिपुट शैलीमा उभिएका ती निरीह बिरुवाले आफूसँग जल र मलको माग गरिरहेको अनुभूत गर्छन् ।
उनी विश्वमा पर्यावरणीय सङ्कट गहिरिँदै जानुमा पुँजीवादी अर्थव्यवस्थाको भूमिका रहेको निचोड सामुन्ने छन् । ‘मैले भन्या छु’ मा शिष्ट भाषा–शैलीमा उनी चेतावनी दिन्छन्, ‘मैले भन्या छु/तिमी विमानस्थल निर्माण गर कि भ्युटावर ठड्याऊ/अक्सिजन दिने यी रुखहरूलाई काट्दै नकाट्नू…।’
महानगरीयकरणले पूरै प्रदूषित र सौन्दर्यविहीन भइसकेको छ, बागमती नदी । बागमतीले झेल्नुपरिरहेको दु:स्वप्नका दिनहरूप्रति उनको काव्य–चिन्ता फराकिलो बनेको छ । बागमतीलाई ‘लागूऔषध दुव्र्यसनले पीडित युवती’ को उपमा दिन चाहने उनमा केही आशावादी स्वर ध्वनित हुन्छन् र लन्डनस्थित सफा र स्वच्छ थेम्स नदीसँग सैना (मितेरी) साइनो गाँसिदिन उद्यत देखिन्छन् । काठमाडौँ उपत्यकामा व्याप्त वातावरणीय प्रदूषणलाई बगाउन मिथकीय पात्र मञ्जुश्री फेरि चोभारमा आएको उद्घोष गर्दै उनी लेख्छन्, ‘जब सन्तुलनमा आउन सुरु गर्नेछ पारिस्थितिक प्रणाली/तब मात्र फर्केर आउनेछन् मञ्जुश्री चोभार फेरि/र, खोलिदिनेछन् त्यो गल्छेडोको ढोका…।’
पर्यावरणप्रति असीम श्रद्धा र प्रेमभाव रेखाङ्कित कविता हो, ‘मलाई आर्यघाट लगेर नजलाउनू ।’ कुनै प्राणीलाई जलाइँदा हावामा उत्सर्जन हुने विषालु कार्बनले अरूका फोक्सोलाई प्रदूषित तुल्याउने यथार्थप्रति चिन्तित उनी आह्वान गर्छन्, ‘म बाँचुन्जेल कार र प्लेन चढेर/वायुमण्डलको अक्सिजनमा यति धेरै कार्बन घोलेँ हुँला कि/ऋणमुक्त बनेर मर्न देऊ मलाई/म कार्बन न्युट्रल भएर स्वर्ग जान चाहन्छु ।’
अब विकासको पर्याय विनाश बन्दै गएको छ । विकासको भाष्यलाई फेरबदल गर्ने गरी पहाडका छातीहरूमा डोजर कुदाइँदा त्यसले विनाशका गाथा मात्र कहेका छन् । मूलत: महानगर/उपमहानगरीय क्षेत्रमा बढ्दो वायु र ध्वनि प्रदूषण, दुर्गन्धले व्याप्त सहरी इलाकाका साथै नदी–उपनदी क्षेत्र, पहाडी सुन्दरतामाथि धावा बोलिरहेका दोहनकारी शक्ति/जमात र सिङ्गो पृथ्वीमाथि चुनौती बनिरहेको वर्तमान पुँजीवादी व्यवस्थाप्रति उनको चिन्ता र असन्तुष्ट स्वर यो काव्य–कृतिको केन्द्रीय स्वर बन्न पुगेको छ । धर्तीप्रति तीव्र चिन्ता भाव र मानव जातिको भविष्यप्रति केन्द्रित हितानका कविताहरू पठनीयका साथै चिन्तनग्राह्यसमेत छन् ।
००



Leave a Reply