प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ ।
शनिबार (चैत ७) काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. दयाराम श्रेष्ठले गीतकार खरेललाई सम्मानपत्र समर्पण गरे । उनलाई सम्मानसाथ नगद राशि एक लाख १११ रुपैयाँ समेत प्रदान गरियो ।
प्रा. डा. श्रेष्ठले गीतकार खरेललाई बधाई दिँदै आख्यानकार प्रधानको कथाकारिताको चर्चा गरे । उनले प्रधानका कथाहरूको पुनर्मूल्यांकन गरिनुपर्नेमा जोड दिए । गीतकार रमण घिमिरेले गीत सिर्जना किरण खरेलको एक मात्र ‘लत’ भएको बताए । उच्च शिक्षा हासिल गरेर पनि अरू पेसामा नगएर उनी गीत सिर्जनामा नै निरन्तर लागिरहेको घिमिरेले उल्लेख गरे ।
कार्यक्रममा साहित्यरकार शैलेन्द्र साकारले परशु प्रधानसँगका केही स्मृति साझा गरे । उनले किरण खरेल र परशु प्रधानको सम्बन्धको चर्चा गर्दै भने, “किरण दाइले नै दाजु (परशु प्रधान)का कथाहरूलाई गीतिकथाका रूपमा रेडियो नेपालमा प्रसारण गर्न सहयोग गर्नुभएको थियो ।”

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले आफ्ना पिताजी (परशु प्रधान)को स्मृतिमा आफूहरू चार दिदीभाइ मिलेर यो सम्मानको स्थापना गरेको बताए । उनले भने, “हामीलाई यो अवस्थामा ल्याइपुर्याउनुमा पिताजीको साहित्य सिर्जनाको नै योगदान छ । पिताजीको जीवन साहित्य सिर्जनाले नै अगाडि बढेको हो र त्योसँगै हाम्रो जीवन पनि । साहित्यकार भनेको समाजका रत्न हुन् भन्ने हामीले पिताजीबाटै बुझेका हौँ ।”
समाजका अध्यक्ष एवं साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले धेरै किताब प्रकाशन गरेरभन्दा पनि पाठकलाई छुने उत्कृष्ट साहित्य लेखेर स्रष्टा लामो समय बाँच्ने चर्चा गरे । उनले भने, “राम्रो लेख्नेहरू पनि बाँचेका छन् त ? त्यो पनि होइन । जसले आफ्नो उत्तराधिकारी बनाउन सक्यो, त्यस्ता स्रष्टा सशरीर नभए पनि युगौँयुग बाँचेका छन् । परशु दाइले धेरै काम गर्नुभएको छ । उहाँ अनुज पुस्तालाई प्रोत्साहित गर्नुहुन्थ्यो । यो समाज पनि परशु दाइकै परिकल्पनामा स्थापना भएको हो ।”
सम्मानित स्रष्टा खरेलको पहिलो गीत ‘ए दूरका सितारा मेरो चाँदनी कहाँ छ…’ ०१४ सालमा रेकर्ड भएको थियो । त्यसपछि उनी निरन्तर अगाडि बढे ।
उनका ‘हिमालको काखमा छ सानो मेरो गाउँ’, ‘तिमीले चुमेका पाइला’, ‘उसको मायाले मार्यो थाहा पाएन’, ‘यो मौसम यो हरियाली रंगीबिरंगी फूलहरू’, ‘नमान लाज यस्तरी कि…’, ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’, ‘ऐना नभए आफ्नो अनुहार कहाँ हेर्छौ तिमी’, ‘चाँडै आऊ है…’, ‘सोधूँ सोधूँ लाग्छ तिमीलाई केही कुरा साउती गरेर’, ‘मेरो बिटुलो विश्वास तिमीलाई चोखै ठान्छ’, ‘तारा मात्र हैन तिमीलाई जूनै दाइजो दिइदिउँला’, किन सस्तो जिन्दगी यस्तोे’, ‘तिमीले चुमेका औँलाहरू तिमी नै लिएर जाऊ’, ‘तिमी सुन्दर छौ तिमीलाई अझ सुन्दर पार्न मन लाग्यो’ लगायत ७०० भन्दा बढी फिल्मी र गैरफिल्मी गीतहरू छन् ।



Leave a Reply