म आफूलाई ‘घरको अभिभावक हुँ’ भनी देखाउन खोज्छु तर इमानदारीसाथ भन्नुपर्दा घरमा म बच्चा हुँ भन्ने लाग्छ । मेरा दुई जना छोरा छन् । उनीहरूसँग बच्चाजसरी नै खेल्छु । बाह्य जिम्मेवारीबाट उम्किएर घरभित्र छिर्दा म सहारा खोजिरहेको हुन्छु । फिल्म सुटिङको दौरान एक–दुई महिनासम्म घरबाहिरै हुन्छु । मेरी श्रीमती र बच्चाहरूले अभिभावक चाहन्छन् । घर आएपछि घरायसी योजनाहरूका साथै बच्चाका समस्याहरू सुन्नुपर्छ । ‘हे, यो त भइहाल्छ नि !’ भनी ती सबैलाई ‘स्किप’ गर्छु । मैले कसैको सहारा खोज्दा मेरी श्रीमतीले ढाडस दिन्छिन् ।
म आफ्ना फिल्म र बाहिर अभिभावक र निडरजस्तो देखिन्छु । केही काम भएन भने तत्काल मिटिङ राखेर त्यो भूमिका निर्वाह गर्ने प्रयास गर्छु । थिएटरमा पनि अभिभावककै रूपमा रहन्छु । घरमा भने म त्यत्रो भूमिका निर्वाह गर्न सक्दिनँ । सायद घरका लागि मैले थोरै समय दिएकोले हुनुपर्छ ।

मैले धेरै फिल्ममा बुबाको भूमिका निर्वाह गरेँ । तर, वास्तविक जीवनमा ठूलो बाबु जन्मिँदा संसार जितेजस्तो अनुभव भयो । फिल्म त फिक्सन हो, जसको कथा–संसारभित्र एउटा पात्रको ‘ड्राफ्ट’ हुन्छ । फिल्मभित्रका सुख–दु:ख ड्राफ्टमार्फत थाहा हुन्छ र जसले वर्तमान समयको ‘इमोसन’ मात्र दिन्छ । पहिलो पटक बुबा हुँदा ‘म ठूलो जिम्मेवारी बोकेको व्यक्ति हुँ’ भन्ने महसुस भएको थियो । प्रेग्नेन्ट हुँदा श्रीमती जति खुसी थिइन् तर मलाईचाहिँ ‘म आफ्नो जिम्मेवारी पूरा गर्न सक्छु कि सक्दिनँ ?’ भन्ने डर पैदा भएको थियो । ‘के भइरहेको छ तिमीलाई ? गाह्रो भएको त छैन ?’ यस्ता प्रश्न मनभरि उब्जिए पनि सोध्न सकिरहेको थिइनँ । यस्ता प्रश्न सोध्नुपर्ने रहेछ भन्ने अहिले महसुस हुन्छ । उनले भनेका कुराप्रति प्रतिक्रियाचाहिँ दिन्थेँ । उनले भनिसकेपछि ‘यो त मैले सोध्नुपर्ने कुरा थियो नि’ भनी पश्चात्ताप महसुस हुन्थ्यो । मेरो व्यस्तताले पनि यस्ता समस्या निम्त्याएजस्तो लाग्छ ।

फिल्म सुटिङकै क्रममा दिमागमा श्रीमती र बाबुहरू आइराखेको हुन्छ । विशेष गरी परिवारमा कोही बिरामी भएको थाहा पाए घरबाहिर वा सुटिङ सेटमा बच्चाहरू रोएको दृश्य आउँदा मलाई पीडा हुन थाल्छ । फोन गरिसकेपछि मन ढुक्क हुन्छ । घरको अवस्थाबारे त श्रीमतीको आवाजबाटै थाहा हुन्छ । श्रीमती खुसी मुडमा छे भने मलाई अर्को एक हप्ताका लागि खुसी थपिन्छ । कहिलेकाहीँ ‘के छ ?’ भनी सोध्दा ‘ठीकै छ’ भन्दाखेरि अलिकति मुड अफ हुन्छ । जहाँसुकै होस्, दिनमा दुईचोटि फोन वा टेक्स गरेर ‘तिमीहरूलाई कस्तो छ, म ठीक छु’ भनेर जानकारी गराउँछु । अरू जिम्मेवारी पूरा गर्न नसके पनि योचाहिँ पूरा गरेको छु ।
फिल्मै सुटिङको बेला बाबुहरू र परिवारलगायत व्यक्तिगत जीवनका अनुभूतिहरू आउँछन्, जसले पात्रको गहिराइमा पुग्न सघाउँछ । तर, यो घातक पनि हुन सक्छ । व्यक्तिगत जीवन र अनुभवहरूलाई म तत्कालका लागि स्किप नै गर्छु । इमोसनल्ली धेरै अट्याच भएमा आफैँलाई गाह्रो हुन्छ । कुनै फिल्ममा बालबच्चाहरूसँग रुनुपर्ने दृश्य आयो र मैले छोराहरूलाई सम्झेर रोएँ भने त्यसले मलाई पछिसम्मै दिमागमा झट्का हानिरहन सक्छ । तसर्थ ‘यो त कथा हो’ भनी म आफूलाई तत्काल पात्र–संसारमा उभ्याउने प्रयास गर्छु ।

बुबाको रूपमा मेरो यात्रा निकै सुन्दर छ । पहिलो पटक बुबा बन्दाखेरिको केही अनुभूति छन् । सानो छोरा जन्मिँदा १० वर्षको अन्तर थियो । ‘१० वर्ष ग्याप’ भनेर अरूले भनिदिँदा सामाजिक रूपमा अलिकति अप्ठ्यारो बनाउने रहेछ । रमाइलो कुराचाहिँ ठूलो छोरा स्कुल गएर साथीहरूसँग आफ्नै संसार बनाइरहेको बेला उसको बालापनको खाली ठाउँ भर्न अर्को सन्तान आउँदा झन् सुन्दर यात्रा गरिरहेको महसुस भयो । तर, दुई सन्तानबीच लामो जन्मान्तर भएकाले दुई जनाको सम्बन्ध कस्तो हुन्छ होला भन्ने डर पनि लाग्दो रहेछ ।
दसदेखि पाँचसम्मको ड्युटी गर्ने अन्य पुरुषहरूजस्तो भूमिका हाम्रो क्षेत्रमा नहुँदो रहेछ । छिट्टै घर जाने मन भए पनि काम गर्ने समयको सीमितता नहुँदा त्यो सम्भव नै हुँदैन । ढिला घर पुग्ने कुरा बच्चाहरूले ‘एडप्ट’ गर्ने रहेछ । मेरा दुइटै बाबु ढिलासम्म सुत्दैनन् । सानो त अहिले पनि म घर फर्किने थाहा हुँदाखेरि राति १२ बजेसम्म सुतेका हुँदैनन् । ठूलो बाबुचाहिँ बुझ्ने भएका छन् । अधिकांश बुबाले छुट्टी लिएरै आफ्ना बालबच्चालाई समय दिनुहुन्छ होला, तर फिल्म क्षेत्रमा सुटिङको स्पट र समय–सेट तय गरिएका हुन्छन् । काठमाडौँबाहिर हुँदाखेरि घरमा आउने सम्भावना नै हँुदैन । यो हिसाबले मैले चाहेजस्तो जिम्मेवारी निर्वाह गर्न सकेको छैन । काठमाडौँभित्रै हुँदाचाहिँ सकेसम्म कोसिस गर्ने गरेको छु ।
एकपटक ठूलो छोरा बिरामी भएर कान्ति बाल अस्पतालमा राख्नुपरेको थियो । मेरा फिल्मकै अन्य साथीभाइहरू भेट्न जानुभयो तर म सुटिङमा व्यस्त रहनुपरेको कारण जान सकिनँ । दुवै छोरा गर्भमा हुँदा श्रीमतीसँगै केही पटकबाहेक हस्पिटल जान सकिनँ । दुवै सन्तान जन्मिँदा भने हस्पिटलमै बसेँ । दुवै बच्चा असोज महिनामा जन्मिएका हुन् । असोज महिना सुटिङको राम्रो सिजन हो, जसले गर्दा मैले उनीहरूका जन्मदिनलाई छुटाइरहेको हुन्छु । कहिले त दुवैको जन्मदिन एकैचोटि मनाइदिएको छु । ठूलो छोरा हुर्किंदै गर्दा श्रीमतीले ‘नजानु न, अलि बस्नु न’ भन्थिन् । अहिले मेरो पेसाको सीमा बुझेकी हुँदा गुनासो गर्न छाडेकी छे । अहिले ‘डिजिटल लाइफ’ले अलि सहज हुँदै गएको छ ।


मण्डला थिएटरमा धेरै भाइबहिनी छन् । त्यहाँ पुगेपछि ममा अभिभावकत्व महसुस हुन्छ । मेरो कला–यात्रा रङ्गमञ्चबाट प्रारम्भ भयो । आफूलाई स्थापित तुल्याउने र अभ्यासको क्रममा कति साथीभाइहरू भए । हामी सबैले एउटै सपना बुन्यौँ । त्यो सपनामय यात्रा थालनी गरेको पनि १६/१७ वर्ष भइसक्यो । आजको समय–रेखासम्म आइपुग्दा मलाई एउटा प्रश्नले घोचिरहन्छ, ‘मैले आफ्नो सपनामात्र पूरा गरेँ कि अरू साथीहरूको पनि सपना पूरा भइरहेको छ ?’ तर मैले र मेरो टिमले देखेको सपना रङ्गमञ्च र ‘मण्डला’ नै थियो । भोलिका दिनमा सुख–दु:ख जे होला, ‘मण्डला’ आनन्दपूर्वक र नियमित रूपमा नाटक मञ्चन र सिक्ने थलो बनेको छ । कतिपय नयाँ कलाकारहरू मेरो यात्रा र सपनाका कुरा सुनेर थिएटरमा आबद्ध भएका छन्, भोलि त्यो सपना पूरा होला कि नहोला ? डर लाग्छ । मेरो यात्रा शून्यबाट भएको हुँदा हिजो म जहाँबाट आएको थिएँ, भोलि त्यहीँ फर्किन मलाई कुनै विस्मात हुनेछैन । नयाँ भाइबहिनी (कलाकार) हरूले बुझेर तयारी गरिरहेका छन् कि छैनन् ? भनी हेरिरहेको हुन्छु र कतिपयले ‘अब के गर्ने ?’ भनी सोध्छन् पनि ।



पछिल्ला १०/१२ वर्षदेखि पारिवारिक/सामाजिक उत्सव वा पर्वहरूमा म निकै कम उपस्थित भएको छु । म उपस्थित हुँदा उहाँहरू खुसी देखिनुहुन्छ, जसले मलाई अप्ठ्यारो महसुस गराउँछ । केही समयअघि दुई/तीनवटा उत्सवहरूमा रहरले समूहसँगै ‘साकेला’ नाच्ने प्रयास गरेँ तर मेरो नाच बिग्रिएर माहोल नै बिग्रियो । यस्तो बेला आफ्नै र आफैँबाट अलग भएँ कि ? भनी नराम्रो महसुस हुँदो रहेछ । सामाजिक अनुहार भएपछि अरूको दायित्व धेरै लिनुपर्दो रहेछ । परिवार, टोल, जिल्ला, प्रदेश, गाउँ, बस्ती सबैको बढी अपेक्षा हुँदो रहेछ । आफूले चाहिँ पूरा गर्नै गाह्रो ।
मेरा लागि जिम्मेवारी एउटा मीठो भोगाइ हो । कतिपय कुरा मेरा सपनासँग जोडिएर अगाडि बढेकाले मेरा लागि मीठो यात्रा पनि हो । पारिवारिक जिम्मेवारीलाई हेर्ने हो भने मेरा लागि जीवन प्रक्रिया हो ।


तसर्थ, मैले कति जिम्मेवारी निर्वाह गरेको छु भन्ने कुरा मेरा लागि अर्को प्रश्न हुन सक्छ । सबैतिर एउटा व्यक्तिले सन्तुलन मिलाउन गाह्रो कुरा रहेछ । मेरी श्रीमतीको भूमिका म शब्दमा व्यक्त गर्न सक्दिनँ । यस्तो लाग्छ, उनी नभइदिएकी भए म आजको भूमिकामा हुने नै थिइनँ । म उनका गुण तिर्नै सक्दिनँ ।
००



Leave a Reply